- Home
- Show Content
७८. ग्रामीण विकासको लागि ग्रामीण पर्यटन
७८. ग्रामीण विकासको लागि ग्रामीण पर्यटन
ग्रामीण पर्यटन धार्मीक, प्रकृति र संस्कृतिमा आधारित छ । प्रकृति र संस्कृति ग्रामीण क्षेत्रमा नै रहेको हुन्छ । त्यसैले पनि ग्रामीण पर्यटनका सम्भावनाहरु गाउँमा नै हुन्छ । ग्रामीण पर्यटनबाट हुने आम्दानीले बिकासबाट पछाडी परेको ग्रामीण क्षेत्रको बिकास हुन्छ । ग्रामीण पर्यटनबाट आर्थिक लाभ लिन सक्ने सम्भावना धेरै रहेको हुन्छ । फुर्सदको बेला भ्रमणमा निस्कने मानिसहरु अहिले शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्र रुचाउछन । एक सर्वेक्षणअनुसार अहिले झण्डै ८० प्रतिशत पर्यटक शहरीक्षेत्र भन्दा ग्रामीण क्षेत्रमा जान चाहन्छन । धुवाँ, धुलो, फोहोरजस्ता प्रतिकूल वातावरणका कारण पर्यटकहरुले ग्रामीण वातावरण रुचाउन थालेका छन ।
नेपाल पर्यटनको अधिक संभावना बोकेको मुलुक हो। विश्वको सर्वोच्च शिखर सगरमाथा देखि गौतम वुद्ध जन्मेको देश नेपाल भनेर विश्वमा नेपाल चिनिन्छ। कैयौं उच्च हिमशृङखला सहित प्राकृतिक हिसाबले सुन्दर देश नेपालमा पुरातात्त्विक सम्पदाले समेत भरिपुर्ण छ। जल, स्थल, हिम पर्यटनको क्षेत्र भएकोले नेपालमा पर्यटनहरु आइरहने गर्दछ्न। २०७२ को भुकम्प पछि पनि नेपाल विश्वमा घुम्नै पर्ने १० देश भित्र परेको छ। विश्व जल सम्पदाको दोस्रो धनी, ताल, झरना, गुफा पनि नेपालका ग्रामिण भेगमै छन् । नेपालमा ६ सय भन्दा बढी नदीनाला, ८ वटा अग्ला हिमाल तथा विभिन्न सानासाना गरी १७ सय ९७ वटा हिमाल, १ सिंगे गैडा, बाघ, भालु, सिंह, हिम चितुवा लगायत प्रकृतिका अनुपम उपहारलाई ग्रामिण पर्यटन र सम्बृद्धिको आधार बनाउन सकिन्छ । ४० प्रकारका सर्प, ८७२ प्रकारका चरा, १८० प्रकारका माछा, ६०० प्रकारका पुतली, ३२ प्रकारका लालीगुराँस, ७०० प्रकारका जंगली जडीबुट्टी, लोपोन्मुख जिवजन्तु पनि नेपालमा पाईन्छन् । पर्यटकिय विविधताले समेत नेपालको प्राकृतिक सौन्दर्य को वयान गर्ने शब्दहरु निकै कम छन।
विकास भनेको सकारात्मक रुपान्तरण हो । चाहे त्यो जुनसुकै क्षेत्रभित्र नै किन नहोस् । रुपान्तरण भन्नाले कुनै विषय वस्तुको रही आएको अवस्थाबाट सकारात्मक मार्गतर्फ परिवर्तन भएको अवस्था भन्ने बुझिन्छ । जहाँ जे कुराहरुको अभाव छ, ती चिजहरु प्राप्त हुनु नै विकासको पथमा लम्कनु हो भन्न सकिन्छ । अभावको परिपुर्ती हुँदा मानिसहरुले सन्तुष्टि प्राप्त गर्दछन। जब मानिसहरुमा सन्तुष्टि प्राप्त हुन्छ, उनिहरुमा सकारात्मक परिवर्तनप्रती अपेक्षाकृत गतिशीलता पैदा हुन्छ। विकासको लागि राज्यले दीर्घकालीन योजना बनाएर काम गर्नुपर्दछ। सुशासन र पार्दर्शिता कायम गरेर विकास कार्यलाई अगाडि बढाउन सकिन्छ।
हरेक स-साना उपलब्धिको समष्टिगतरुप नै दीर्घकालमा पूर्ण विकासको अवस्था बन्न सक्छ । हुम्लामा भोको पेटका लागि एक छाक खानाको सुनिश्चितता विकास हुन सक्छ भने तराईको प्रचण्ड गर्मीमा खाली खुट्टा धुलोमा आफ्ना भाइ बहिनीसँग खेल्दै गरेकी बालिकाका लागि एक जोडी चप्पल र खेल्नलाई व्यवस्थित स्थान, विकासको सूचक हुन सक्दछ । विकास समय, भुगोल, परिस्थिती अनुसार गतिशील हुन्छ। साधरण मुलुकहरु रातारात विकसित बन्न सक्दैनन। विकासले गुणात्मक फड्को मार्नको लागि सिङ्गो मुलुक भित्र रहेको स्रोत र साधनको उच्चतम सहि सदुपयोग हुनु पर्दछ। नेपालमा विशेष गरेर ग्रामीण भेगको विकासमा राज्य उदासिन रहदै आएको छ। लामो समयसम्म देशमा चलेको द्वन्द्व, राज्यको सामन्ती केन्द्रीकृत विकास नीति तथा स्रोत र साधन पहिचान र परिचालनमा देखिएको उदासिनताको कारण नेपाल विकास कार्यमा पछि पर्यो भने ग्रामीण विकास कार्य त धेरै नै पछि पर्यो। ग्रामीण विकास नभैकन कुनै पनि देशमा वास्तविक रुपमा विकास भएको मानिदैन। विकास भनेको चिल्ला सडकहरु मात्र होइन, विकासलाई समग्रतामा बुझ्नु पर्दछ। गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, मनोरन्जन जस्ता आधारभुत आवश्यकता सहज रुपमा परिपुर्ती नभएसम्म त्यो देश विकास भएको मानिन्न। ग्रामीण क्षेत्रका विभिन्न पक्षहरु जस्तैः सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, प्राविधिक, पूर्वाधार, संस्थागत जस्ता विविध पक्षहरुकोे गुणात्मक तथा सकारात्मक सुधार हुनु नै ग्रामीण विकास हो । यस्तैगरि वृद्धि, आम्दानी र उपलब्धी भन्दा माथि उठेर पोषण, स्वास्थ्य, लैङ्गिक तथा असमानतामा अन्त्य, वातावरण संरक्षण साथै ग्रामीण जीवनस्तरमा दीर्घकालीन परिवर्तन ल्याउने कुरासंग पनि ग्रामीण विकासले सरोकार राख्दछ । आजको सवाल नै ग्रामीण विकाससङ्ग छ। ग्रामीण विकास नभैकन देशले वास्तविक विकासको गति निर्धारण गर्न सक्दैन।
नेपाल ग्रामीण पर्यटनले भरिपुर्ण छ भन्दा अतियुक्ती नहोला। एकातिर जातिय, धार्मिक, भाषिक विविधता र अर्कोतर्फ भौगोलिक रुपमा विविधता सहित विविधताले पर्यटनको क्षेत्र चम्किलो छ। स्थानी समुदायको कला, संस्कृति, भेषभुषा, भाषा, धर्म, रीतिरिवाज, चाललचन तथा त्यस समुदायहरू बस्ने स्थलबाट अवलोकन गर्न सक्ने प्राकृतिक दृश्यावलोकनको माध्यमबाट त्यस ठाउँको प्रचार प्रसार तथा आयआर्जन गर्ने पर्यटन ग्रामीण पर्यटन हो । मूलतः ग्रामिण जनताका लागि उनीहरू स्वयम्को सक्रियतामा गरिने पर्यटन व्यवसाय नै ग्रामिण पर्यटन हो । विश्वको सर्वोच्च शिखर सगरमाथा र शान्तिका दुत गौतम बुद्वको देश भनेर परिचित हाम्रो देश नेपाल पर्यटन उद्योगको प्रचुर सम्भावना बोकेको राष्ट्र हो । विश्वका नै प्रख्यात हिम शृङ्खलाहरूको बाहुल्यता मात्र होइन, प्राकृतिक सुन्दरताले भरिपूर्ण, जातीय, भाषिक, धार्मिक, तथा भौगोलिक रूपमा समेत विविधताले निपूर्ण, जनजातीय समुदायहरूमा रहेको सांस्कृतिक सौन्दर्यता तथा संस्कारहरूले पर्यटनको माध्यमबाट स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रलाई समृद्व बनाउन सक्ने आधारहरू भएको देश नेपाल हो । पर्यटनको माध्यमबाट मुट्ठिभर मानिसको हित होइन कि समग्र राष्ट्रको समृद्वि हुनका लागि स्थानीय जनताको प्रत्यक्ष सहभागितामा उनीहरू कै योजना र सक्रियतामा ग्रामिण समुदायको विकासका लागि अपनाइने पर्यटन व्यवसायलाई ग्रामिण पर्यटनभन्दा अत्युक्ति हुने छैन ।
नेपालको प्राकृतिक सुन्दरता, भौगोलिक विविधता, सांस्कृतिक विशिष्टता एवम् नेपालीहरुको अतिथिलाई सत्कार गर्ने मधुरतम व्यवहारले ग्रामीण पर्यटन क्षेत्रलाई विस्तार गर्न सकिने धेरै सम्भावनाहरु रहेको छ । नेपालमा पर्यटकलाई आकर्षित गर्ने भौगोलिक अवस्था, सांस्कृतिक विविधता, धार्मिक सहिष्णुता, परम्परागत कलाकौशल, ऐतिहासिक, पुरातात्विक सम्पदा, हिमाली श्रृंखला महाभारत पहाड, पहाडी ग्रामीण पहाडहरु, तराईका मैदानी उर्वर फाँटहरु, तालतलैया, नदीहरु, वन्यजन्तु आरक्ष तथा राष्ट्रिय निकृञ्जहरु रहेका छन् । पहाडी क्षेत्रमा पदयात्रा नदीहरुमा रोमाञ्चक जलयात्रा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरु पर्यटकहरुलाई आकर्षित गर्ने क्षेत्र हुन् । पर्यटनको क्षेत्रमा ग्रामीण पर्यटन एक गतिशिल क्षेत्र र व्यवसाय हो । ग्रामीण पर्यटकहरुले पनि खासगरी नेपालको संस्कृति, प्रकृति र परम्पराको अध्ययनमा रुचि देखाउन थालेका छन । यश अधारमा ग्रामीण विकासको लागि ग्रामीण पर्यटनको भुमिका र महत्त्व झन बढेर गएको छ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review