- Home
- Show Content
८२. शैक्षिक भ्रमणको त्यो दिन
८२. शैक्षिक भ्रमणको त्यो दिन
विद्यालयबाट शैक्षिक भ्रमणको सूचना सुनाएको दिन म अर्कै दुनियाँमा पुगें । त्यो दुनियाँ थियो, ललितपुर जिल्लामा अवस्थित लेलेको मनकामना पवित्र धार्मिक स्थल । मिति थियो २०७५ साल मंसिर २३ गते आइतबार । आफूले आफैंलाई भाग्यमानी ठानेँ । धन्य म नगएको ठाउँमा फस्ट टाइम मेरा गुरुहरु र साथीहरुको भीडमा जाँदैछु । त्यो बेला म आफ्नो आफ्नै मनोवादमा मग्न हुँदै थिए , अँ ! साच्चै विद्यालयको पोशाकमा जाने हो या अर्कै पोशाकमा ? मेरो मनमा प्रश्न उव्जियो । मैले उत्साहित हुँदै प्रश्न सोधे तर त्यो प्रश्नरुपी उत्तरले अलि मन धमिलो मनलाई सङ्लो बनाई अनुहारमा उज्यालो रङ्ग भर्दै घर गएँ । त्यही दिनमै उत्साहित हुँदै आफ्नो पोशाक धोएँ ताकि अरुको भन्दा सफा होस् ।
मेरी ममतामयी आमा बेलुकीको खाना तयार गर्दै हुनुहुन्थ्यो । म आफ्नै कल्पनाको सागरमा चुर्लुम्म डुबुल्की मार्न पुगेछु । फेरि उही कुरा, त्यो दिन कहिले आउँला? त्यो ठाउँ कस्तो होला ? कति रमाइलो होला ? त्यो दिन वाउ यस्ता प्रश्नहरुको विशाल काल्पनिक भीड जम्मा भयो । कयौं रमाइला गर्ने पलहरु दिमागी आँखामा नाँच्न पुगेँ । मानौं , म संसारभर काही नपुगेको ठाउँमा पुग्दैछु । अचानक आमाको आवाज मेरो कानमा ठोकियो । नानी खाना खान आइज ! – आमाको आज अलि रिस उठिरहेको छ किनकी अरुबेला म मेरी आमालाई खाना बनाउन सहयोग गर्थे ) हवस ! भन्दै छिटो खाना खान गएँ । एकैछिन आमालाई काममा सघाएँ फेरी अब आफ्नो ओछ्यानमा आएर पल्टेँ । ( घुमिफिरी रुम्जाटार भने जस्तै फेरि उहिँ कुरा मनमा खेलिरहेका छन् । सबै साथीभाई तथा विद्यालय परिवारकै अनुहार पालैपालो जाँतो नाँचे जस्तै नाँचीरहेछन् । झसङ्ग भएछ । लाग्यो सपना पो हो कि ? विडम्वना आँखामा निन्द्रा परेको रहेछ ।मलाई एक रातका समय पनि बर्षै जस्तो लाग्यो । कहिले कोल्टे फेर्दै त कहिले उत्तानो पर्दै ओछ्यानमा लडिबुडी गर्दा गर्दै मध्यरात सम्ममा नजानिदो गरी निन्द्रामा हराएको चाल पाईनछु । अपसोच ! मेरी आमालाई मैले बिहान सबेरै उठाइदिनु भनेकी थिएँ । नभन्दै आमाले मलाई भालेको डाँकमा उठाइदिनुभयो । अब त मेरो पर्खाइको घडि आइ पो सकेछ । मलाई लाग्यो महिनौ देखि नउदाएको सूर्य बल्ल आज उदाउँदै छ । म छुट्ने डरले हतार हतार गर्दै तयारी बनेर गाडी चढ्ने स्थानमा पुगेँ । त्यहाँ पुग्दा मैले कसैलाई देखिन, मेरो मन त्यहाँ पनि केहि बेर बरालिन पुग्यो । मन उराठिदैं थियो तर अरु साथीहरु र गरुहरु समेत आउनुभयो । धन्य ! म छुटेकी रहेनछुु, सबैभन्दा पहिला म पो पुगेकी रहेछु ।
त्यहाँबाट बनभोजका लागि आवश्यक सामानहरु लिएर बिरुवा बसपार्कबाट अगाडि गुड्यो । त्यहाँबाट बालकोटका साथीहरुलाई लिदैँ कौशलटारमा पुग्यौं । त्यहाबाट सबै शिक्षकहरु गाडीमा चढ्नुभयो । सघैं जस्तो व्यस्त थियो सडक । सयौं मोटर गाडी, मानिसको खचाखच भीड । धुलो ,धुँवा । हर्नको टिटि टुटु आवाज । तर त्यो भीड ,धुँवा,हल्ला एवम् ट्राफिक जामले छाएको थिएन हामीलाई । हामी गाडीमा नाच्दै गाउँदै फोटाहरु आफ्नो ग्यालरीमा सम्झना स्वरुप कैद गर्दै जाँदा उकालो ओरालो र गल्ठयाङ–गुल्ठुङ बाटाहरुमा मथ्न लागेको दहि बनेको पत्तै नपाई कोटेश्वर, सातोदोबाटो ,चापागाउँ हुँदै आफ्नो गन्तव्यमा पुगि सकिएछ । कन्डक्टर कुर्लिए ! ल अब हाम्रो यात्रा यहीं सम्म हो । अनि हामी आफ्ना झोला झ्याम्टा बोकेर गाडीबाट ओर्लियौं ।
जब म गाडीबाट ओर्लेर त्यो स्थानलाई नियाल्न पुगें । देख्छु वरिपरि आँखाले नभ्याउन्जेल माइलौं माइल धर्ती छोप्ने सुन्दर, सालिन अनि शान्त वातावरण , तल केही समतल भूमि माथि अग्लो डाँडामा सल्लाका रुखहरुमा बिहानी पखको मन्द हावाले सुसेलीको भाका हालेको आहो ! म त्यही सौन्दर्य छटाहरुले भरिएको खुला आकाशमुनि चार खुट्टे खाटमा हरियाली अनि बुट्टेदार बृक्षहरुलाई नै तन्ना र सिरानी बनाएर सानका साथ आफ्नो शरीरलाई चिस्याएर त्यो निश्चल बगीरहेको कलकलाउँदो पानीमा डाइफ हानौं जस्तो । त्यो मनमोहक दृश्यमा लोभिरहे । म आफैलाई धिकार्न पुगें । सोचेँ । हामी किन त्यस्तो प्रदुषितै प्रदुषित भएको ठाउँमा, कोलाहल वातावरण बसेका ? जहाँ पानीको अभाव स्वच्छ वातावरणको खड्किदो अवस्था छ । म त्यही काल्पनिक संसारमा हराइ रहेकी थिए । अचानक नेपथ्यमा माइकबाट आवाज आयो । हामी पहिला मनकामना माताको दर्शन गर्न जादैछौ । मेरो कानमा त्यो आवाज ठोकिए पछि त्यही कतैको झरनाबाट खसे जस्तै झसङग भएँ अनि म हतार हतार गर्दै सबैको साथ आफ्नो मनको कामना माग्न माताको दर्शन गर्न गएँ । त्यो भन्दा माथि फुलचोकी माताको, राधा कृष्णको मूर्तिका साथै पोखरीमा रङ्गीविरङ्गी माछाहरु पौडिरहेको दृश्य नियाल्दै अनि साथी समूहका तस्विरहरु खिचिक खिचिक पार्दै ग्यालरी मा सेभ गर्यौ । हामीलाई भोकले गाँज्दै थियो । त्यहाँभन्दा अझ माथि पाथिभरा माताको दर्शन गर्न जाने आँट आएन । हामी तल झर्यौ । झर्दा हाम्रो नास्ता तयारी रहेछ । सबैले नास्ता गर्याै । त्यसपछि हामी चिसो मौसमलाई न्यानो पार्न सङ्गीत बजाएर झुम्न थाल्यौ । खानाका परिकार पाकिरहेका थिए ।
अभिभावकको उपस्थिति , गुरुहरुको न्यानो माया र साथीहरुको साथले फुरुङ्ग हुँदा लाग्यो बल्ल हिजोको मेरो सपना आज विपनामा साकार हुदैछ । हामीले त्यस क्षणमा रमाइला खेलहरु पनि खेल्यौं, खेल खेल्दाका कयौं रमाइला, किस्साहरुलाई मोबाइलका मेमोरीमा सुरक्षित राख्न पनि छुटाएनौं । आहा! कति फेन्टास्टिक ।हामीले संसारलाई बिर्सिरहेका थियौं ।
अचानक । बनभोजका परिवार पकाएको ठाउँबाट स्वावाँ स्वावाँ गर्दै ग्याँसको पाइपबाट आवाज बाहिर आयो । हामी चिच्याउदैं परपर भाग्यौं । मुटु भयभित भयो । आँखाहरुमा त्रास फैलियो, धड्कनको चाल रफतारमा उकालो उक्लेको जस्तो ढुकढुक भयो । लाग्यो अबहाम्रै अगाडि आज ठूलो दुर्घटना हुँदैछ । कतै आज हाम्रो अन्तिम दिन पो हो कि ! भय मनको भाँडामा दुध उम्लिएर बढे जस्तै भएको थियो । धन्य ! हामा्रे प्र.अ. सरको बुद्धिमय साहसले र मनकामना माताले सबैको रक्षा गरिदिनुभयो । सौभाग्य ! हामी सुरक्षित रह्यौं तर हाम्रा चालक दाईलाई सामान्य तापले भेटेको रहेछ । केहि क्षण भावुक भयौं ।
समयले नेटो काट्न लागेको थियो । सबैजनालाई त्यो रमाइलो माहोलबाट छुट्टिएर फर्कने मन त थिएन नै तापनि ............. (बेलुकीको हाम्रो तयारी खाना खाएर पुनः हामी आ आफ्नो बासस्थान तर्फ फर्कन गाडीतिर लाग्यौं । गाडीमा पनि हामीले दिवा समयको थकानलाई बिर्सेर रमाइलो गर्दै करिव साझको ८.०० बजे तिर म आफ्नो बासस्थानमा आइपुगें । घरमा आएर अभिभावकलाई त्यो ठाउँको वर्णन गरेर सुनाउँदा झनै दङ्ग पर्नुभयो । मेरो यस लेले मनकामना शैक्षिक भ्रमणको संस्मरणत्मक यात्रा टुङ्ग्याउनु अघि म विद्यालय परिवार प्रति आभार प्रकट नगरी बस्न सक्दिन, आगामी शैक्षिक सत्रमा पनि यस्ता स्थलगत भ्रमण अवलोकन गर्न पाउने अवसर जुटोस । अन्त्यमा ः सबैको मनको कामना लेले मनकामना माताले पुरा गरिदिऊन , मेरो लागि त्यो दिनको यात्राका अनगिन्ती पलहरु जीवनकै अविस्मरणीय दिन रहनेछ । त्यो दिनलाई मैले भुल्न चाहेर पनि भुल्न सक्नेछैन भन्दै यात्रा वर्णन टुङ्ग्याउँछु ।
भगवती आधारभूत विद्यालय, बिरुवा, भक्तपुरमा अध्ययरत विद्यार्थीले लेखेको
facebook :


- Reviews (0)
Nothing Found...Leave a review