- Home
- Show Content
८९. इन्टरनेटको बढ्दो दुरूपयोग
८९. इन्टरनेटको बढ्दो दुरूपयोग
सूचना र सञ्चारको यस युगमा इन्टरनेट नै सबैभन्दा विशाल क्रान्ति हो । इन्टरनेट २१औँ शताब्दीको उपज हो । इन्टरनेटलाई नेट अथवा साइबर स्पेस पनि भन्ने गरिन्छ । इन्टरनेट भनेको विश्वव्यापी सञ्जालहरुको अन्तरसम्बन्ध हो । सूचना र सञ्चारको युगमा हामी इन्टरनेटविना एक पल पनि बाँच्न नसक्ने भएका छौँ । इमेल, इन्टरनेट र मोबाइलको आविष्कारसँगै आवश्यकताहरु सहज बन्दै गएका छन् ।
पछिल्लो समयमा विज्ञानले आविष्कार गरेका विद्युतीय माध्यमको फाइदासगँसँगै बेफाइदाहरु पनि बढ्दै गएका छन् । विज्ञानको युगमा प्रकृतिको न्यानो काखलाई त्याग्दै बच्चाहरुले मोबाइललाई आफ्नो नजिकको साथी बनाएका छन् । इन्टरनेटभित्रको संसारमा बच्चाहरु बिस्तारै–बिस्तारै हराउँदै जान थालेका छन् । प्रकृतिमा रमाउने र प्रकृतिको न्यानो काखमा हुर्किंदै अगाडि बढ्ने उमेरका आजका बालबालिकाहरु मोबाइल, इन्टरनेट र कम्प्युटरमा आफ्ना खुसीहरु औँलाले थिचिरहेका छन् । मोबाइल इन्टरनेटबाट धेरै फाइदा भएता पनि पछिल्लो समयमा धेरै बेफाइदाहरु पनि बढ्दै गएको छ । जति–जति यसले जीवनयापन गर्न सहज बनाएको छ, त्यति–त्यति पारिवारिक बेमेल र परिवारको मेलमिलापमा दूरी पनि पैदा गरेको छ । ३–४ वर्षका उमेरका बालबालिकाहरु आफ्ना अभिभावकका न्यानो काखमा रमाउँदै सिक्ने बेलामा मोबाइल र कम्प्युटरमा रमाइरहेका हुन्छन्, जसले गर्दा बालबालिकाको बौद्धिक विकासमा बाधा पर्नसक्छ भने आफ्नो अभिभावकको न्यानो मायाभन्दा इन्टरनेटको साथलाई बढी प्यारो देख्न थालेका छन् । यसले गर्दा सन्तानको रेखदेखमा पनि ध्यान कम हुँदै गएको छ । जागिर खाने, सम्पत्ति कमाउने मोहमा अभिभावकहरुले आफ्ना सन्तानको आवश्यकता बुझ्न सकेका छैनन् । विकल्पमा सजिलो र भुलाउने माध्यम मोबाइल, कम्प्युटर बच्चाको हातमा सुम्पेर आफ्नो दायित्व पूरा गरेको सम्झन्छन् उनीहरु । यसले गर्दा बच्चाहरु आफ्ना आमाबाबुलाई भन्दा कम्प्युटर र मोबाइललाई बढी माया गर्न थालेका छन् ।
प्रकृतिको सुन्दर काखमा बस्दै चरा उडेको दृश्यलाई हेर्दै आफ्नो बाल्यकाल बिताउने समयमा विद्युतीय साधनभित्र ती मह¤वपूर्ण पलहरु बिताइरहेका छन् । इन्टरनेटको दुरूपयोगले सबैभन्दा बढी बालबालिकाहरुमा असर पारेको छ । काँचो माटोलाई जस्तो आकृति बनाइयो उस्तै बन्छ भने जुन संस्कार र संस्कृति सिकाइयो, बालबालिकाहरुले त्यस्तै संस्कार अनि संस्कृति अभिभावकहरुबाट सिक्छन् । समाज र परिवारले सिकाउने संस्कार, संस्कृतिहरु विद्युतीय माध्यम मोबाइल, इन्टरनेटमा सर्च गरेर पाउन सकिँदैन । ९–१० कक्षामा पढ्दै गरेका आफ्नो भविष्यको सुनौला पाइला चाल्ने तयारीमा रहेका बालबालिकाहरु प्रकृतिको बगैँचा र अभिभावकको न्यानो काख बिर्सिएर गुगलमा अश्लील तस्बिरहरु हेर्ने र रमाउन व्यस्त छन्, जसले गर्दा देशका कर्णधारहरुको भविष्य अन्योलपूर्ण बन्दै गएको छ ।
मोबाइल, इन्टरनेटबाट फाइदा धेरै छन्, तर पछिल्लो समयमा मोबाइल, इन्टरनेटको दुरूपयोग धेरै मात्रामा भएका छन् । फेक आइडी बनाउने, आफ्नै साथीलाई झुक्याउने, आफ्ना दुश्मनलाई फेसबुकको माध्यमबाट ऊसँग बदला लिने, च्याट गरेर झुक्याउने र धम्क्याउने, बच्चाहरुलाई अपहरण गर्ने माध्यम बनाउने, श्रीमान्श्रीमतीबीच असमझदारी पैदा गरिदिने, आफूले मन पराएको व्यक्तिले प्रेमप्रस्ताव अस्वीकार गरेमा उसको तस्बिर बिगार्ने, चरित्र हत्या गर्ने र उसलाई आत्महत्यासम्म गर्न बाध्य बनाउन सक्ने अवस्थामा पु¥याउन इन्टरनेटको ठूलो हात छ । इन्टरनेटको बढी प्रयोगले आफ्नो परिवारभित्रका सदस्यहरु के गर्दैछन् भनेर हालखबर सोध्ने, खोज्ने र सँगै बस्ने समय कसैसँग हुँदैन । पछिल्लो समयमा आफ्नो घरपरिवार एउटै छतमुनि बस्दा पनि हालखबर सोध्ने चलन हराउँदै गयो । एउटै घरभित्र पनि छोराछोरी कोठाभित्र मोबाइलमा व्यस्त हुन्छन् भने अरु परिवारले आफ्नो समाज कुन दिशामा चल्दैछ, समाजमा के–कस्ता गतिविधि भइरहेका छन् भन्ने चासो दिनै छोडेको छ । यस्तोसम्म भैसक्यो कि छिमेकीको मृत्यु हुँदा छिमेकीले थाहा नपाउने तर फेसबुकमा हार्दिक श्रद्धाञ्जली पढेर थाहा पाउने अवस्था आएको छ । त्यसरी नै समाजमा पहिलाका संस्कार र संस्कृतिहरु हराउन थालेका छन् ।
पछिल्लो समयमा व्यक्तिगत रुपमा अनैतिक कार्यहरु र साइबर अपराध बढ्दै गएका छन् । सूचना, समाचार र इन्टरनेटविना हामी बाँच्न नसक्ने अवस्था आएको छ, तर साइबर सुरक्षा भने हुन सकेको छैन । नेपालमा साइबर सुरक्षासम्बन्धी कारबाही अगाडि बढेता पनि नियम कानुनहरु असक्षम छन् । देशको राजनीति आन्दोलनमा केन्द्रित छ भने प्रविधिहरु सामाजिक सञ्जालहरुमा मात्र केन्द्रित भैरहेछन् । अहिलेको जमानामा कम्प्युटर सबैको घरघरमा हुन्छ । कम्प्युटरले मान्छेलाई सपार्न पनि सक्छ र बिगार्न पनि सक्छ । इन्टरनेटमा आफ्नो व्यक्तिगत नितान्त कुराहरुलाई बढवा दिने चलनले पनि साइबर अपराधले प्रश्रय पाएको छ ।
प्रविधिको नयाँ प्रयोगसँगै आफ्ना व्यक्तिगत विवरणहरुसहित स्टाटस् राख्दा अपराध बढ्दै जान्छ । आफ्नो व्यक्तिगत सम्पत्ति विवरण र परिवारसँगको सम्बन्धका बारेमा खुलासा गर्दा अपराधीहरुले अपराध गर्ने मौका पाउँछन् । आफ्ना मिल्ने साथी, आफ्ना दुश्मन र आफ्ना कमजोर पक्षहरुका बारेमा खुलासा नगर्दा साइबर अपराध कम हुन सक्छ । साइबर अपराधको बढ्दो जोखिमका बारेमा हामी सबै इन्टरनेटको पहुँच भएकाहरु सचेत बन्न आवश्यक छ ।
इन्टरनेटलाई नयाँ कुरा सिक्ने र सिकाउने चौतारीका रुपमा लिने, त्यसको दुरूपयोग नगर्ने, फेक आइडी बनाएर अरुलाई दुःख दिनेजस्ता कार्यहरु कम गर्नुपर्छ । साइबर अपराधबाट सुरक्षित रहने उपायहरु हुँदाहुँदै पनि हामी बेवास्ता गरेर अपराधको सिकार बनिरहेका हुन्छौँ । साइबर अपराधबाट सुरक्षित रहने उपायहरु पनि छन् । सबैलाई सजिलै थाहा हुने प्रकृतिको पासवर्ड नराख्ने हो भने सत्यतथ्य सबैका लागि खुल्ला हुँदैन । त्यस्तै, इन्टरनेटमा आएका सबै कुराको विश्वास गर्न हुँदैन । इन्टरनेटलाई सुरक्षित तरिकाले प्रयोग गर्न सकेमा साइबर अपराध कम हुँदै जान्छ र इन्टरनेटबाट धेरै फाइदा लिन सकिन्छ ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review