९३. वातावरण संरक्षण : हामी सबैको दायित्व

९३. वातावरण संरक्षण : हामी सबैको दायित्व

वातावरण सम्पूर्ण प्राणीका लागि घर हो । वातावरणमा नै प्राणीको अस्तित्व अडिएको छ । वातावरणका प्राकृतिक स्रोतहरुको प्रयोगबाट नै जीवन प्रक्रिया अगाडि बढेको हुन्छ । मानिस आज जुन अवस्थामा छ त्यो सम्पूर्ण रुपमा वातावरणको देन हो । वास्तवमा भन्नुपर्दा वातावरणको अत्यधिक शोषणका कारण विश्वको यो विकास सम्भव भएको हो । मानवजीवनको अस्तित्व वातावरणमा अडिएको छ । चाहे त्यो भौतिक वातावरण होस् वा अभौतिक वातावरण । व्यक्ति वा समुदायको विकास प्रक्रियामा वातावरणीय परिस्थितिको मह¤वपूर्ण भूमिका रहन्छ ।

वातावरणलाई विशेषगरी दुई भागमा बाँड्न सकिन्छ, जसमा प्राकृतिक वातावरण र सामाजिक÷सांस्कृतिक वातावरण पर्दछन् । साधारण अर्थमा हामी मानवसमाजका आसपासमा रहेको हावापानी, माटो, वनजंगल, पशुपक्षी, तापक्रम, खनिज आदिलाई प्राकृतिक वातावरण भनेर बुझ्छौँ भने मूल्य, मान्यता, रीति, परम्परा, धर्म, सामाजिक संगठन, सम्बन्ध, लेनदेन आदिलाई सामाजिक÷सांस्कृतिक वातावरण भनेर बुझ्छौँ । मानवबाहेक पृथ्वीका सम्पूर्ण प्राणी प्राकृतिक वातावरणमा बाँचेका हुन्छन् भने मानवलाई दुवै वातावरणको उत्तिकै आवश्यकता पर्दछ । ‘वातावरणले जीवनका लागि आवश्यक स्रोतहरु उपलब्ध गराउँछ र वातावरण सम्पूर्ण प्राणीका लागि घर हो’ भनेर वातावरणको मह¤वका विषयमा समाजशास्त्री दुनलप र काटोनले बताएका छन् । यो भनाइबाट पनि मानवजातिका लागि वातावरणको मह¤व प्रस्ट हुन्छ ।

वातावरण जीवनको अस्तित्वसँग जोडिएको विषय हुँदाहुँदै पनि आज विश्वमा मानवकै कारण थुप्रै समस्या उत्पन्न भई वातावरणमा प्रतिकूलता थपिएका छन् । प्रकृतिले मानव उपयोगी वातावरण सुम्पिएको अवस्थामा आज मानिसले विकासको होडमा वातावरणमाथि ठूलो शोषण गरेको छ र आफ्नो जीवनको अस्तित्वलाई दाउमा राखेको छ । क्षणिक फाइदालाई मात्र हेर्दा वातावरण मानवको प्रतिकूल बन्दै गइरहेको छ । अझ पनि मानिसको ध्यान पूर्णरुपमा वातावरण संरक्षणमा जान सकेको छैन । वातावरणमा रहेका प्राकृतिक स्रोत र साधनको अत्यधिक शोषणले आज मानव अस्तित्व नै संकटमा परेको छ । ओजन तहको विनास, त्यसको परिणामस्वरुप सूर्यबाट अत्यधिक मात्रामा परावैजनिक किरण पृथ्वीमा आउने गरेको कारण पृथ्वीमा विश्वव्यापी उष्णता, जलवायु परिवर्तन, मरूभूमीकरणजस्ता समस्या विश्वव्यापीरुपमा अत्यधिक जल्दोबल्दो समस्याका रुपमा देखिएको छ । विकासका क्रममा वातावरण प्रदूषणजस्ता समस्या टड्कारोरुपमा देखिएको छ । वायु प्रदूषण, जल प्रदूषण, ध्वनि प्रदूषणले मानिसमा क्यान्सर, मानसिक रोगलगायतका विभिन्न घातक रोगहरु निम्त्याएको छ ।

पछिल्लो समयमा वातावरण संरक्षणसहितको विकास दिगो विकास हो भन्ने अवधारणा पनि अगाडि सारिएको छ । सोही विषयलाई लिएर अन्तर्राष्ट्र्रियस्तरमा सन् ५ जुन १९७२ मा संयुक्त राष्ट्रसंघीय पर्यावरण कार्यक्रमसमेतको स्थापना भएको छ भने नेपालमा पनि वातावरण संरक्षण ऐन २०५३ र वातावरण संरक्षण नियमावली २०५४ ल्याइएको छ । त्यस्तै, नगर विकास समिति ऐन २०१९, नगर निर्माण योजना कार्यान्वयन ऐन २०३९, गाउँ विकास समिति ऐन २०४७, नगरपालिका ऐन २०४७ तथा स्थानीय स्वायत्त शासन २०५५, नियमावली २०५६ लगायतका ऐन–नियममा पनि वातावरणसँग सम्बन्धित विषयवस्तु समेटी कानुनी व्यवस्थाको उल्लेख गरेको पाइन्छ । त्यस्तै, वातावरण मन्त्रालयको समेत स्थापना गरी चासो दिएको देखिन्छ । राष्ट्रिय र अन्तर्र्रािष्ट्रयस्तरमा वातावरण संरक्षणका विषयमा कदम चालिए पनि ती प्रयासहरु पर्याप्त मात्रामा छैनन् र प्रभावकारी बन्न पनि सकेका छैनन् ।

वातावरण व्यक्तिको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने विषय हो । यही आज विश्वसामु जल्दोबल्दो समस्याको रुपमा रहेको छ । विकासका क्रियाकलापले पनि वातावरणलाई विनास गरेको हुन्छ । आजका विकासले भावी पुस्ताको जीवन प्रक्रियामा असर नपुग्ने विकास दिगो वा वास्तविक विकास हो । विकासका नाममा कुनै पनि प्राणीको बाँच्न पाउने अधिकारलाई हनन गर्नुहुँदैन, तर यसो भइरहेको छ । अब ढिलो नगरी वातावरण संरक्षणका लागि सरकारीस्तरबाट पनि अझ प्रभावकारी नीति निर्माण गरी कार्यान्वयन गर्न जरूरी छ । जसका लागि प्राकृतिक स्रोतसाधनको अति प्रयोगलाई नियन्त्रण गर्ने, विकासका क्रियाकलाप सञ्चालन गर्दा वातावरणीय प्रभावको पूर्वमूल्यांकन गरेरमात्र सञ्चालनको अनुमति दिने, अत्यधिक वायु प्रदूषण, ध्वनि प्रदूषण गर्ने सवारीसाधनहरु, कलकारखानाहरु, रासायनिक भट्टीहरु आदिलाई तिनीहरुबाट हुने प्रदूषणको मात्राका आधारमा मापदण्ड तयार गरी कार्यान्वयन गर्नेजस्ता कार्य सरकारीस्तरबाट हुन आवश्यक छ । साथै, सरकारी निकायको प्रत्येक अंगमा वातावरण सेल स्थापना गर्न सकिन्छ । जसबाट वातावरण संरक्षणका लागि स्थानीय समुदायसँग सहकार्य गर्दै मानवअनुकूलको वातावरण निर्माणमा सहयोग जुट्छ ।

जनस्तरबाट पनि वातावरण संरक्षणमा जुट्नु उत्तिकै आवश्यक छ । फोहोरमैला व्यवस्थापन, वृक्षरोपण र संरक्षण, प्राकृतिक स्रोतसाधनको समुचित प्रयोग, वातावरण प्रदूषणसम्बन्धी चेतनामूलक कार्यक्रम स्थानीयस्तरबाट सञ्चालन गर्न सकिन्छ । स्वच्छ वातावरण भावी पिँढीलाई हस्तान्तरण गर्नु हाम्रो कर्तव्य हो । स्वच्छ वातावरण हाम्रोमात्र नभई हाम्रा भावी सन्तानको समेत अधिकार हो । यस विषयमा बेलैमा सोचौँ, होइन भने हामी त समस्याको सिकार बन्छौँ ।

amritkafle09@gmail.com



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login