९५. भोजन र स्वास्थ्यको सम्बन्ध

९५. भोजन र स्वास्थ्यको सम्बन्ध

भोजनको रहस्य स्वाद र स्वास्थ्यसँग छ । भोजनको रसबाट मानिसको विशालकाय खडा भएको हो । जस्तो भोजन गरिएको छ त्यस्तै मन र बुद्धिको विकास हुन्छ । मन बुद्धिअनुसार सकारात्मक वा नकारात्मक स्वभावको विकास हुन्छ । पञ्चभौतिक शरीरलाई चाहिने भोजन प्रकृतिले नै उपलब्ध गराएको छ । परन्तु, समयको परिवर्तनले गर्दा बजारिया तयारी भोजनलाई स्वादिष्ट मान्नु परेको छ । प्राकृतिक भोजनले मानिसको आयु, शक्ति, आरोग्य र बल वृद्धि हुन्छ भने तयारी भोजनले आरोग्य नास गर्दछ । शास्त्रले प्राकृतिक भोजन गर्न बल दिएको छ, जुन भोजन बिहान खाएपछि साँझसम्म पाचन भइसकेको हुन्छ । किनभने, प्राकृतिक भोजन हल्का र सुपाच्य हुन्छ । तर, फास्टफुड र जंकफुडरुपी तयारी भोजन गरिष्ट एवं अपाच्य हुने भएकोले अनेक प्रकारका समस्या खडा गरी चिकित्सककोमा जान बाध्य गराउँछ, जसले गर्दा चिकित्सकको व्यापार पनि फस्टाउँदै गएको छ ।

आज द्रुततर गतिमा भएको टेक्नोलोजीको विकासले गर्दा विश्व टिभी र मोबाइलको पर्दामा अटाएको छ । कोठामा बसेर आफन्तसँग मुख हेरेर कुरा गर्ने गरिन्छ । विश्वमा भएका विविध घटना थाहा पाइन्छ । साथै, अनेक खानेकुरा तयार गर्ने र खाने तरिका पनि सिकाइन्छ र तिनै खाद्य बजारमा पठाइने हुँदा मानिसको ध्यान त्यतातिर खिचिएको छ । त्यसैले गर्दा वास्तविक र सभ्य मानिसले खानुपर्ने भोजन त्यो पो रहेछ भनेर तयारी भोजनलाई प्राथमिकता दिइरहँदा प्रतिष्ठित एवं सर्वश्रेष्ठ बन्न पुग्यो, जसले गर्दा शाकाहारी भोजन उपेक्षित बन्दै गएको छ । आज आहार स्वास्थ्य एवं पोषणको स्थानमा व्यवसायमा बदलिएको छ ।

अब के खाने, कति खाने, कसरी खाने ? त्यसको मापदण्ड बजारले तय गरिरहेको छ । यसरी महँगो अनि अस्वास्थ्यकर भोजन नै सौखिनहरुको रूचि बनेको देख्नमा आएको छ । बच्चादेखि युवायुवतीसम्म र विद्यालय, विवाह, भोजभतेर जहाँतहीँ पानीपुरी, चटपटे, आइस र पेय जाडो–गर्मी सबै सिजनमा अनिवार्य रहने गर्दछ । तयारी भोजनको आकर्षक विज्ञापनले विद्युतीय सञ्चारमाध्यमबाट मानिसको ध्यान खिचिएकोे छ ।

आजकल तयारी खानाको साथसाथै रीतिरिवाज, भेषभूषा शृङ्गारका सामग्री, धर्म, भाषा, परम्परा सबै विदेशकै राम्रो र सभ्य ठानेर त्यसैको नक्कल गरिएको देख्न पाइन्छ । अब सबै विदेशको मानेर त्यसलाई नक्कल गरिरहँदा खेरि आफ्नो धर्म, परम्परा, रीतिरिवाज, भाषा, भेषभूषा, इज्जत र सभ्यता विदेशीको नक्कल गरिरहँदा आफ्नोपन र सभ्यता नै लोप हुने त होइन ? यतातर्फ पनि ध्यान दिनुपर्ने होइन ? गुमेको धर्म–परम्परा, संस्कार, भाषा जति पनि आफ्नोपन छ त्यो सबै लोप भएको खण्डमा पुनः फर्काउन हम्मे पर्छ भनेर हेक्का पनि राख्नुपर्ने हो कि नयाँ पुस्ताले ?

खाद्यान्नदेखि लिएर तयारी सामग्रीको आयात गरेर व्यापारीको व्यापार व्यवसायमा करोडौँ लगानी गरेर व्यापार बहुतै फस्टाएको छ । जब कि, देशका ३ चौँथाइभन्दा अधिक जनता गरिबीको रेखामुनि बाँच्न बाध्य भएका छन् । यसरी तयारी सामग्रीमा लगानी गर्ने अर्थ स्वदेशमै लगानी गरी कृषि उत्पादन तथा उद्योग व्यवसाय सञ्चालन गरेको खण्डमा नेपालीले रोजगारीका लागि विदेशिन पर्ने थिएन । स्वदेशमै उत्पादन भएका ताजा सागपात, फलफूलका रस तथा अन्य मसलाजस्ता दैनिक उपभोग्य जीविकाका सामग्री उपभोग गरेर स्वस्थ जीवन जिउन पाउने थिए कि ?

स्टकहोक विश्वविद्यालयका शोधकर्ताका अनुसार एउटा आलु चिप्सको पोकामा ५ सय गुना एक्रियालाइड भएको थाहा लाग्यो र अनि त्यो स्टार्चयुक्त आलु आगोमा पकाएर एक्रियालायड मुसामा प्रयोग गर्दा मुसाको स्नायुतन्त्रमा नोक्सान गरेको स्वीडेनका वैज्ञानिकले सार्वजनिक गरेको पाइन्छ । आलु चिप्सले पशुचौपाया तथा पक्षीहरुमा पनि प्रभावित पारेको तथ्य खुलासा गरिएको थियो ।

प्राणीमात्रैलाई अहित गर्ने तयारी भोजन आयात गर्दा मानिसको स्वास्थ्यमा संकट पैदा हुने कुरा स्वतः सिद्ध भएन ? तसर्थ, यसबारे समाज बेलैमा सचेत हुनुपर्ने होइन ? कथंकदाचित् प्याक गरेको तयारी भोेजनले अलिकतिमात्रै भए पनि स्वास्थ्यलाई हित गर्ने भए त तयारी भोजन स्वीकार गर्न सकिने थियो । तर, सो भोजन हेर्न राम्रो र खान मीठो भए पनि परिणाम उच्च रक्तचाप, क्यान्सर, मधुमेहजस्ता नानाथरी घातक रोग लागेर मानसिक सन्तुलन गुमाई अकालमा ज्यान जाने हुँदा यस्तो संवेदनशील विषयमा व्यक्ति स्वयं जिम्मेवार हुनुपर्ने होइन ?
दीर्घजीवन जिउने मानिसको इच्छा अनादिकालदेखि रहिआएको छ । सय वर्ष बाँच्ने, सय वर्ष बोल्ने, सय वर्ष देख्ने, स्वस्थ रहने, पराश्रय लिन नपर्ने इच्छा सबैको हुन्छ । यो वेद बचन पनि हो, तर यस वाक्यलाई आत्मसात् गरेको पाइँदैन । जबसम्म आहारविहार र सदाचार पालना गरेर पवित्र बन्न सकिँदैन तबसम्म लामो आयु बाँच्ने कल्पना गर्नु व्यर्थ हुुन्छ । वैज्ञानिकहरु लामो समय बाँच्ने उपायको खोजीमा लागेका छन्, तथापि लामो आयु बाँच्ने उपयुक्त सूत्र भेट्न सकेका छैनन् । तसर्थ, अध्यात्मबिनाको खोज लङ्गडो हुन्छ ।

आद्यगुरू शंकराचार्यका अनुसार भोजन औषधिको रुपमा ग्रहण गर्नुपर्दछ । भोजन क्षुधापूर्तिको साधनमात्रै होइन । ग्रहण गरिएका भोजनले अन्नमय कोषको परिमार्जन गरी शरीरमा ऊर्जा प्रदान गरेर व्यक्तिको जीवन विकृत र विषाक्त हुनबाट बचाओस्, तसर्थ प्रकृतिप्रदत्त सा¤िवक आहारले नै सदाचार र भावशुद्ध गर्न सहयोग पु¥याउँछ । यसर्थ, आफ्नै देशमा उत्पादन भएका धान, गहुँ, जौ, कोदो, मकै, फापर आदि अनाज सिजनअनुसारका फलफूल, हरियो तरकारी, सागपात, गेडागुडी एवं दूध, दहीबाट शरीरलाई चाहिने पोषणयुक्त औषधिगुण भएका चीजबीज छन् । फास्टफुड र जंकफुडमा कुनै पनि शरीरलाई हित गर्ने गुण पाइँदैन । यस प्रकारको गलत आहारविहारबाट मानिसको मन–मस्तिष्कमा नकारात्मक प्रभाव पर्दछ नै । साथै, स्वास्थ्यमा पनि नानाभातीका रोग थपिँदै जाने हुनाले जीवन कष्टकर बन्दछ ।

अतः कुनै पनि चिकित्सक वा वैज्ञानिकले विभिन्न फलफूलका चित्र टाँसेर बोतलमा बन्द गरिएका जूस, भिटामिन, मैदाबाट तयार भएको खाद्य फास्टफुड जंकफुड, कोक आदि पेय खान सिफारिस गरेको पाइँदैन । खान सल्लाह दिँदैनन् पनि, तसर्थ तयारी बनिबनाउ भोजन गरिरहँदाखेरि मानिसमा काम, क्रोध, आलस्य बढाएर बल, बुद्धि र आयु क्षय गराउँछ । आजका सौखिन धनाढ्यहरुको प्रिय बन्दै गएको छ, तयारी भोजन । दाल, भात, रोटी, मकै, भटमासजस्ता चीजबीज बनाएर खान फुर्सद निकालिँदैन । अब नक्कली भोजनमै रमाएर रोग निम्त्याउने कि प्राकृतिक भोजन तयार गरेर दीर्घजीवन जिउने निर्णय गर्न मानिस स्वयं स्वतन्त्र छ । प्रकृतिप्रदत्त भोजनको स्वादको स्वास्थ्यसँग निकटतम सम्बन्ध रहेको छ भनेर पोषणविद्ले त्यसै भनेका त होइनन् ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login