९८. प्रकृति र मानव

९८. प्रकृति र मानव

भनिन्छ, यस पृथ्वीमा मानिस सबैभन्दा चेतनशील प्राणी हो । यस धर्तीमा जति पनि अस्वाभाविक परिवर्तनहरु भएका छन्, त्यसको श्रेय मानवजातिलाई नै जाने गर्दछ । हामीले यस परिवर्तनलाई आफ्नो अनुकूल सुहाउँदो नाम पनि दिएका छौँ, ‘विकास’ भनेर । आफ्नो बुद्धि र विवेक प्रयोग गरेर मानिसले जति पनि विकास गर्दै गयो, त्यो सबै मानवजातिको हितका लागिमात्रै सीमित भयो । मानिस बढी स्वार्थी हुँदै पनि गयो । प्रकृतिले अमूल्य वरदानस्वरुप दिएका असीमित स्रोत र साधनहरुको अनियन्त्रित रुपमा आफूअनुकूल प्रयोग, उपयोग र कब्जा गर्दै गयो । आफू र आफ्नो सन्ततिका लागि आजमात्रै नभएर भोलिका लागि पनि सञ्चित गर्दै गयो । कालान्तरमा यो संस्कारको रुपमा विकसित भएर आयो । त्यसैले त एउटै धर्तीमा पनि कोही आफूलाई चाहिनेभन्दा बढी सञ्चय गरेर राखेका छन् भने कोही भोकभोकै मर्न बाध्य छन् । भनिन्छ नि, संसारमा दुई प्रतिशत कथित धनाढ्यहरुको कारणले गर्दा बाँकी ९८ प्रतिशत मानिसहरुको जीवन अप्ठ्यारोमा परेको छ । विवेकी हुँदाहुँदै पनि मान्छेले आफूले कब्जा गरेको प्राकृतिक स्रोत र साधनहरु बाँडेर वा दिएर जानुभन्दा छोडेरै मर्नु उत्तम ठान्दछ ।

प्रकृति आफैँ एक नियम हो । प्राकृतिक स्रोत र साधनहरु आफ्नै नियममा चलिरहेका हुन्छन् । मानिसमा भएको विवेकले नै मानिसलाई घमण्डी, लोभी, स्वार्थी र मह¤वाकांक्षी बनाएको छ । मानिसमात्रै त्यस्तो जीव हो जसले प्राकृतिक नियमलाई नजरअन्दाज गर्दै आएको छ । अरु जीवजन्तुको भागमा परेको जन्मसिद्ध अधिकार खोस्दै आएको छ । मानिसले कब्जा नगरेको ठाउँ कहाँ नै बाँकी होला र अब ! वनजंगल, जलस्रोत, वायुमण्डल, अरु ग्रह र उपग्रह पनि । अब मान्छेको लालचको केही सीमा रहेन । आफू बसेको पृथ्वीलाई नै सुन्दर बनाउनु त कता हो कता, अरु ग्रह तथा उपग्रहहरुलाई समेत कसरी प्रदूषित बनाउने भन्ने दाउपेचमा लागिपरेका छन् ।

मान्नुहोस् या नमान्नुहोस्, यस पृथ्वीमा रहेका हरेक जीव, जन्तु, वनस्पति या निर्जीव वस्तुहरु एकअर्काका परिपूरक हुन् । यस पृथ्वीलाई सन्तुलित राख्न सबैको उत्तिकै मह¤वपूर्ण योगदान रहेको हुन्छ । हावा, पानी, खाना, ताप, प्रकाश, वनजंगल, ढुंगा, माटो हाम्रो लागि उत्तिकै मह¤वपूर्ण छन् । यिनीहरुबिना हाम्रो जीवन असम्भव छ । मानौँ, यो पृथ्वी मान्छेका लागिमात्रै हो भनेझैँ गरेर मान्छेले स्रोत र साधनहरुलाई तोडमोड गर्दै र अन्धाधुन्ध उपयोग गर्दै आएको छ । विकाशको नाममा अनगिन्ती आविष्कारहरु पनि भएका छन् । त्यसमध्ये कैयन आविष्कारहरु मानिसलगायत यस धर्तीकै लागि पनि अत्यन्तै घातक मानिन्छन् ।

विकाससँगसँगै हामीहरुमा असीमित चाहनाहरु पनि विकसित भएका हुन्छन् । तिनले असीमित अपेक्षाहरु र अपेक्षाहरुले असीमित दुःख निम्त्याएका हुन्छन् । मान्छेको बुद्धि र विवेकबिना विकास सम्भव छैन । तर, हामीले गरेको विकासको दूरगामी असर हामी, हाम्रो आगामी पुस्ता र यो धर्तीमा रहेका अरु जीवजन्तु, वनस्पति कोही वा कसैलाई पर्नु भएन ।

प्रकृतिका हरेक अंशहरुले नियम पालना गरेका हुन्छन् । प्रकृतिबाट मानिसले अनगिन्ती जीवनोपयोगी मार्गदर्शन पाउन सक्दछ । यदि मानिसले आफूलाई जस्तै प्रकृतिका हरेक अंशहरुलाई सम्मान र माया गर्ने हो भनेमात्रै यस धर्तीमा उसको अस्तित्व सम्भव रहन सक्दछ, अन्यथा कालान्तरमा मानिसको अस्तित्व नै मेटिन पनि सक्दछ । यसो घोत्लिएर सोच्ने हो भने प्रकृतिका हरेक अंशहरुले मानिसहरुलाई सहयोग र समर्थन गरेको पनि देखिन्छ । प्रकृतिले व्यक्त गर्न सक्दैन, तर मान्छेले प्रकृतिले व्यक्त गर्न खोजेको कुरा बुझ्नु जरूरी हुन्छ ।

मानवले जीवन जिउने क्रममा केही असहज महसुस गरेमा वरिपरि रहेका बोटबिरूवाहरुमात्रै बाट पनि धेरै ठूलो प्रेरणा र जीवन जिउनुका आधारहरु फेला पार्न सक्दछ । मान्छेलाई दिक्दारी लागेको अवस्थामा एकान्त चाहिन्छ । वास्तवमा त्यो एकान्त होइन, मात्र प्रकृतिको साथ हो जसले मान्छेलाई चुस्त, दुरूस्त र फूर्तिलो बनाउन मद्दत गर्दछ । उदाहरणका लागि हामीलाई केही काम गर्दै जाँदा असफलता मिल्यो भने अरु केही पनि गर्न जाँगर नै चल्दैन ।

सबैभन्दा मह¤वपूर्ण कुरा हामी बाँच्नका लागि चाहिने अत्यावश्यक अक्सिजन रुखबिरूवाले दिएको छ । वास्तवमा रुखबिरूवाबिना हाम्रो जीवन सम्भव नै छैन, तर हामीबिना रुखबिरूवाको जीवन अवश्य पनि सम्भव छ । यी सबै कुराहरु सोच्दै गर्दा जस्तोसुकै परिस्थितिमा पनि धैर्यधारण गर्नु, आफ्नो काम गर्दै जानु र फलको आशा नगर्नु, आफ्नो लागिभन्दा पनि अरुका लागि बाँच्नु, समय र परिस्थितिअनुरुप आफूलाई प्रस्तुत गर्दै जानु भन्नेजस्ता जीवनोपयोगी मर्गदर्शनहरु मात्र एउटा वृक्षबाट प्राप्त गर्न सकिन्छ ।

वास्तवमा जीवजन्तु र वनस्पतिले आफ्नो अस्तित्व कायम गर्न एकअर्कालाई आफूअनुकूल प्रयोग गर्ने गर्दछन् र आफ्नो वृद्धि, विकास र विस्तार पनि गर्दै आएका छन् । शाकाहारी, मांसाहारी, सर्वभक्षी र परजीवी प्राणीहरु यसका केही ज्वलन्त उदाहरणहरु पनि हुन सक्छन् । रुखबिरूवाहरुले आफ्नो वृद्धि, विकास र विस्तार नगरेको भए घना जंगलहरु पनि हुने थिएनन् होला । त्यसैगरी, मानिसले आफ्नो वृद्धि, विकास र विस्तार नगरेको भए घर, गाउँ हुँदै ठूल्ठूला सहरहरुको पनि सम्भावना थिएन होला । त्यसैले त आफ्नो विस्तार गर्नु सजीव हुनुको एउटा विशेषता पनि हो । भन्न खोजेको कुरा के हो भने हामी विवेकशील प्राणी हुनुको नाताले प्रकृतिले हामीलाई उपहारस्वरुप प्रदान गरेका हरेक अंशहरुको अस्तित्वलाई आफूसरह सम्मान गर्नु नै विवेकशील मानवको प्रमुख धर्म हो ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login