- Home
- Show Content
९९. बालबालिका र पोषण
९९. बालबालिका र पोषण
मानवजीवनका विभिन्न अवस्थाहरुमध्ये बाल्यवस्था एक मह¤वपूर्ण अवस्था हो । यो अवस्था सम्पूर्ण जीवनको जग बस्ने अवस्था भएकोले यस बेलामा बालकलाई विशेष हेरचाह र पालनपोषण गर्नुपर्ने हुन्छ । शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक हरेक पक्षको विकासक्रमका दृष्टिले पनि यो अवस्था मह¤वपूर्ण मानिन्छ । नेपालमा मानवजीवनको जन्मपश्चात्को सुरूको अवस्थादेखि १६ वर्षसम्मलाई बाल्यवस्था मानिन्छ भने अन्तर्राष्ट्रियस्तरमा १८ वर्षसम्मलाई बाल्यवस्था मानिन्छ ।
बाल्यवस्थाको पनि विभिन्न चरणहरु हुन्छन् र ती चरणहरुसँगै पोषणले पनि ठूलो भूमिका खेलेको हुन्छ । यदि गर्भवती महिलाले पोषणयुक्त खानेकुराहरु खाइरहेका छन् भने बच्चा र आमा दुवैको स्वास्थ्य स्थिति राम्रो हुन्छ । गर्भमा छँदाखेरि वा जन्मिसकेपछि शिशुलाई कुपोषण भएमा यसले मानसिक विकासमा प्रतिकूल असर पार्दछ । यस्ता शिशुहरुको ब्रेन सेल कुपोषण नभएका शिशुको भन्दा १५–२० प्रतिशत थोरै हुन्छ । यसले गर्दा यिनीहरुको बौद्धिक क्षमता पनि कम हुनु स्वाभाविक हो । यसले गर्दा शिशु उत्साहहीन हुने, एकान्तमा रहन नसक्ने, नयाँ कुरा सिक्न इच्छा नगर्ने, लोसे हुने, उत्सुक नहुने र जुनसुकै वातावरणमा पनि रमाउन नसक्ने हुनाका साथै उसका सहपाठीहरुभन्दा सधैँ पिछडिएको हुन्छ । यस्तो बालक पढाइमा पनि कमजोर हुन्छ र कुनै मौकाबाट लाभ उठाउन पनि असफल हुन्छ ।
साना शिशुहरुको शारीरिक बनोट उनीहरुले दिनहुँ प्राप्त गर्ने भोजनको स्तरमा निर्भर गर्दछ । गर्भदेखि नै उनीहरुलाई शरीर विकासका लागि पौष्टिक पदार्थ आवश्यक पर्ने हुनाले गर्भावस्थामा पोषिलो भोजन प्रशस्त खान पाएका आमाहरुबाट जन्मेका शिशुहरुको शारीरिक बनावट पनि अरु साधारण शिशुहरुको भन्दा पुष्ट र गहकिलो हुन्छ । पोषणयुक्त खाना भन्नाले ठोस र तरल पदार्थ रहेको हुन्छ, जुन पोषणबाट शक्ति दिने, शारीरिक वृद्धि गर्ने, विकास गर्ने, रोगसँग लड्ने शक्ति प्रदान गर्ने, संवेगात्मक विकास गर्ने र व्यक्तित्व विकास गर्ने कार्य निरन्तर भइरहेको हुन्छ, जस्तै :
कार्बोहाइड्रेटस् : शक्ति दिने चामल, गहुँ, मकै, जौ आदि ।
प्रोटिन : शारीरिक वृद्धि तथा कोषहरु वृद्धि गर्ने दूध, माछा, मासु, अण्डा, दाल, गेडागुडी ।
चिल्लो पदार्थ : यसबाट पनि शक्ति प्राप्त हुन्छ, जस्तैः घीउ, तेल आदि ।
खनिज : विभिन्न रोगहरुलाई खनिजको आवश्यकता पर्दछ, जस्तैः सागपात, माछा, मासु आदि ।
भिटामिन : भिटामिनले पनि शरीरको रक्षा गर्नुका साथै विभिन्न रोगहरुसँग बच्न मद्दत गर्दछ, जस्तैः फलफूल, सागपात, माछा आदि ।
पानी : पानी शरीरको तापक्रम सन्तुलन राख्न र खाएको पदार्थलाई शरीरमा पोषण गर्न आवश्यक पर्छ । पिउने पानी सफा र किटाणुरहित हुनुपर्छ ।
बच्चा जन्मेको छ महिनासम्म आमाको दूध खुवाउनुपर्छ । आमाको दूध प्राकृतिकरुपमा नै शिशुहरुको पौष्टिक आवश्यकता पूरा हुने किसिमबाट बनेको हुन्छ । विशेष परिस्थितिमा बाहेक सामान्य परिस्थितिमा बच्चालाई सकेसम्म आमाकै दूध खुवाउनुपर्छ । बिस्तारै ठोसयुक्त खानेकुराहरु सर्वोत्तम पिठो (लिटो), चामल, गहुँ, मकै, भटमास, काजु–बदाम मिसाएर र भुटेर आफैँ पनि बनाउन सकिन्छ ।
फलफूलका जूसहरु थोरै मात्रामा र त्यसका साथै जाउलो, सागपातहरु खुवाउँदै जानुपर्छ । ५ वर्षको उमेरसम्ममा ९० प्रतिशत मस्तिष्कको विकास हुने हुनाले बच्चाहरुको पोषणलाई अभिभावकहरुले एकदमै ध्यान दिनुपर्दछ । सकेसम्म घरमै बनाएका खानेकुराहरु खाने वातावरण बनाउनुपर्छ ।
कुनै कुनै बच्चाहरु रोइरहने, गनगन गरिरहने, ज्वरो आइरहने, पखाला लागिरहने, तौल पनि कम हुने हुन्छ भने त्यो कुपोषणको कारणले गर्दा हो । पोषण नपुगेर कुनै कुनै बच्चाहरुको पेट ठूलो हुने र टाउको ठूलो हुने हुन्छ । हाम्रो जस्तो देशमा खाद्यान्नको अभावले गर्दा खानेकुराहरुको उत्पादनमा कमी हुनु वा गरिबीको कारण खाद्यान्न खरिद गर्न नसक्दा ज्ञानको कमीले गर्दा पनि बच्चाहरुलाई कस्तो किसिमको पोषण खुवाउँदा राम्रो हुन्छ भन्ने थाहा हुँदैन । र, सम्पन्न परिवारका बच्चाहरु बिस्कुट, चकलेट, चाउचाउ, आइसक्रीमजस्ता खानेकुराहरु बढी रूचाउँछन् । यस्ता खानेकुराहरु खाएका बालबालिकाहरुमा भोक नलाग्ने, खानामा अरूचि हुने तथा तौल घट्ने हुन सक्छ ।
केटाकेटीहरु बढ्ने उमेरका हुने भएकोले वयस्कहरुको शरीरको तौलको अनुपातमा यिनीहरुको शरीरको तौलका लागि बढी क्यालोरी चाहिन्छ ।
भोजनबाट प्रत्येक शिशु, केटाकेटीहरुको क्यालोरीको आवश्यकता पुगेको छ वा छैन दाँज्न सकिने हुन्छ र त्यसअनुसार भोजनको योजना गर्न पनि सजिलो हुन्छ ।
नेपालमा कुल जनसंख्याको ४० प्रतिशत शिशुहरु छन्, यीमध्ये ७० प्रतिशत ५ वर्षमुनिका छन् । शिशु मृत्युको अत्यधिक सम्भावना ५ वर्षको उमेरसम्म नै हुन्छ । नेपालमा शिशुहरुको मृत्युदर प्रतिहजारमा १५० छ । यसरी यति ठूलो संख्यामा रहेका शिशुहरुको मृत्युको प्रमुख कारण कुपोषण नै हो ।
जुका पर्ने, पखाला लाग्ने आदि रोगहरुले शिशुहरुमा विद्यमान कुपोषणको यस समस्यालाई अझ जटिल पारेको छ । नेपालमा कुपोषण नभएका सामान्य स्थितिका शिशुहरु २३–३३ प्रतिशत र कुपोषण भएका शिशुहरु ६७.७७ प्रतिशत छन् । बाल कुपोषणको यस भयावह स्थितिलाई समयमा नै सम्हाल्न नसकेका खण्डमा आउँदो दुई दशकपछिको जनशक्ति कस्तो होला भन्ने कुरा सजिलैसँग अनुमान गर्न सकिन्छ ।
किशोरावस्थाको व्यक्ति भन्नाले १३–८ वर्षसम्मका केटा वा केटी भन्ने बुझिन्छ । केटा वा केटीहरुको निम्ति शारीरिक वृद्धिको सबैभन्दा अन्तिम चरण नै किशोरावस्था हो, यो अवस्थामा केटाकेटीहरुको शारीरिक विकास अत्यन्त तीव्र गतिमा हुन्छ । दैनिक भोजनमा उचित परिमाणमा तरकारी, दूध, फलफूल र खाद्यान्नहरु पुग्न नसकेको खण्डमा क्याल्सियम, लोहत¤व र भिटामिन ‘ए’ को पनि कमी हुन्छ । यो अवस्थामा केटाहरुभन्दा केटीहरुमा समस्या देखिएको छ, किनभने केटीहरुमा भन्न लाज मान्ने, एकैपल्ट पेटभरि खानुमा भन्दा दिनभरि कट्याककुटुक खाइरहने स्वभाव हुन्छ, जसले गर्दा उनीहरुलाई दैनिक आवश्यकताको परिपूर्ति हुन सक्तैन र उनीहरुलाई क्यालोरीका साथ पौष्टिक पदार्थ पनि कम हुन जाने हुन्छ । अघिल्तिर जे खानेकुरा देख्यो त्यो खाइहाल्नुपर्ने हुन्छ । त्यस कारण, उनीहरुलाई पौष्टिक भोजनहरु उपलब्ध गराइदिनुपर्छ । उनीहरुको खानामा क्यालोरी बढाउनका निम्ति चीज, मासु, फुलजस्ता प्रोटिन र क्यालोरी बढी हुने पोषिला भोजनहरु समावेश गरिदिनुपर्छ ।
यसलाई रोकथाम गर्नका लागि राज्यले पहल गर्दै आइरहेको छ, जस्तैः ६–६ महिनामा भिटामिन ‘ए’ खुवाउने, जुकाको औषधि खुवाउने गर्दै आइएको छ । प्रभावकारी बनाउनका लागि हरेक क्षेत्रमा, हरेक समुदायमा पोषणसम्बन्धी जनचेतना कार्यक्रमहरु गर्ने गरे अझ राम्रो हुन्थ्यो ।
बालबालिकालाई सानो उमेरदेखि नै पोषण स्थितिबारे ज्ञान दिलाउन आवश्यक देखिन्छ । पोषणसम्बन्धी जनचेतना अभिवृद्धि गर्न स्थानीयस्तरमा सम्बन्धित निकायहरुबाट तालिम, गोष्ठी तथा प्रचारप्रसारका कार्यक्रमहरु सञ्चालन गरिनुपर्छ । पोषण कार्यक्रममा निजी तथा गैरसरकारी क्षेत्रलाई सहभागी गराउन प्रोत्साहन गर्दै लैजानुपर्छ ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review