- Home
- Show Content
103. चेलीबेटी बेचबिखन रोकौँ
103. चेलीबेटी बेचबिखन रोकौँ
चेलीबेटी बेचबिखन भन्नाले महिला तथा केटीहरूको बेचबिखन भन्ने बुझिन्छ । गरिबी बेरोजगारी तथा असमदायी जीवन व्यतित गर्ने सपनाकै कारण चेलीबेटीहरू बेचिने कार्य हाम्रो देशमा लामो समयदेखि भइराखेको छ । राज्यले यस कार्यलाई नियन्त्रण गर्नका लागि अनेकौ उपायहरूको अवलम्वन गरे पनि अपेक्षित रुपमा चेलीबेटी बेचबिखन लाई रोक्न सकिराखेको छैन ।
मानवजीवनकै कलंकका रुपमा रहेको चेलीबेटी बेचबिखन नेपालमा अझै समस्याकै रुपमा रहेको छ । मानवजीवनको विकासको सेरोफेरोबाट सुरू भएको मानवीय हिंसाका प्रकृतिहरु फेरिए पनि सारमा यस्ता अपराधहरु झनै बढ्दै गएका छन् । मानिसभित्र मानवीयभन्दा बढी दानवीय व्यवहार हाबी हुँदा चेलीबेटी बेचबिखन, बलात्कार, यौनजन्य हिंसाजस्ता थुप्रै समस्याहरुको पुनरावृत्ति भइरहेका छन् । विगत केही समयदेखि वैदेशिक रोजगारीका लागि बाहिरिने तर त्यसबारे पर्ने समस्याका बारेमा चेतना नभएका चेलीहरु अधिकतम रुपमा बेचबिखनको उच्च जोखिममा छन् । हरेक क्षेत्रबाट चेलीबेटी बेचबिखन न्यूनीकरणका प्रयासहरु हुँदै आए पनि त्यसको प्रभावकारिता त्यति भएको पाइँदैन । नेपालमा भइरहेका दर्जनौँ आपराधिक घटनामध्ये चेलीबेटी बेचबिखन एउटा डरलाग्दो समस्याका रुपमा रहिआएको छ ।
नेपालका चेलीबेटी वर्षेनी ठूलो मात्रमा बेचिइरहनुको कारण गरिबी, अशिक्षा र बेराजगारी देखिएको छ । नेपालका चेलीबेटी बेचबिखन रोक्ने प्रयासमा सरकार, नागरिक र गैरसरकारी क्षेत्रका तर्फबाट प्रयास भइरहेका छन् तर ती सबै फलदायी बन्न सकेका छैनन् । यही अभियानमा माइती नेपाल र अन्य संघ संस्थाहरू चेलीबेटी बेचबिखन समस्या रोकथाम गर्न तथा त्यस्ता चेलीबेटीको उद्धार, संरक्षण र संबर्द्धन गर्न लागिरहेका छन् ।
माइती नेपाल, प्रहरी, सशस्त्र प्रहरी बल सेना सीमा सुरक्षा बल र अन्य संघ संस्थाहरू चेलीबेटी बेचबिखनका कुत्सित कार्य रोक्न तत्परताका साथ संलग्न हुँदाहुँदै पनि यो समस्या समाधान हुन सकेको छैन । यो समस्याले झन्झन् विकराल रूप लिएको छ। नचिनेका दलाल त संलग्न छन् नै त्यसभन्दा खतरनाक अवस्था यस्तो चेलीबेटी बेचबिखनमा कतिपय चेलीबेटीकै बुबाआमा, दिदीबहिनी, मामामाइजू, फूपूफुपाजु, गाउँघर छरछिमेकका इष्टमित्र कुलकुटुम्ब नै संलग्न देखिएको छ । आफन्त नै संलग्न भएपछि प्रहरी, सशस्त्र प्रहरी बल, सेना, सीमा सुरक्षा बल विभिन्न संघसंस्था र सङ्गठनको अभियान कामलाग्दो बन्न सकेको छैन ।
कमजोर आर्थिक अवस्था, शैक्षिक अवस्था, चेतनाको कमी, बेरोजगार, सीमा समस्या, छोटो समयमा धेरै पैसा कमाउने लालसाजस्ता कारणले प्रभावित बनेका महिलाहरु सुरूमा जीवनका सबै रहरहरु खोसिएको पत्तो पाउँदैनन् । यौन शोषण, दासता, मानव अंग प्रत्यारोपण, जोखिमपूर्ण श्रम, मनोरञ्जन, वैदेशिक रोजगारी तथा घरेलुलगायत विभिन्न शोषणजन्य कार्यहरुका लागि महिला तथा बालबालिकाहरुको बेचबिखन हुने गरेको छ । यसबाट अपराध नियन्त्रणमा थप जटिलताको सामना गर्नु परेको छ । यस्ता गिरोहको खोजी गरी कडा कारबाही गर्न सके यस्ता समस्या नियन्त्रण हुने देखिएको छ । चेलीबेटी बेचबिखन एउटा सामाजिक समस्या बन्दै गर्दा यसलाई नियन्त्रण गर्ने दायित्व राज्यको मात्र होइन, सबै नागरिकले आआफ्नो तह र तप्काबाट गम्भीर रुपमा सोच्नुपर्ने बेला आइसकेको छ ।आफ्ना चेलीहरूको सुरक्षार्थ अभिभावक सचेत र चेलीहरू स्वयं जानकार हुनुपर्छ । यता चेलीबेटी बेचबिखन गर्ने विरुद्ध कडा कारबाहीका लागि आवश्यक कानुन निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्नेतर्फ संवेदनशील भएर अगाडि बढ्नुपर्छ तबमात्र यो समस्या न्यून हुन सक्छ ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review