१०८. ‘डिजिटल’ र ‘रोबर्ट’हरुको युग

१०८. ‘डिजिटल’ र ‘रोबर्ट’हरुको युग

केशव भट्टराई
यो सूचना प्रविधिको युग हो, अर्थात् डिजिटल पुस्ताको जमाना हो । पुरानो जुगले नेटो काटेपछि आजभोलि समयअनुसार चल्न नजान्ने मान्छेले डिजिटल पुस्तालाई कलियुगको संज्ञा दिएर चित्त बुझाउने गरेका छन् । डिजिटल पुस्ता भन्नाले न्यू जेनेरेसनलाई बुझाउँछ । अहिले विश्व नै ग्लोबल भिलेजमा रुपान्तरण भइसकेको अवस्था छ । र, विश्वका गतिविधि कोठाभित्र सीमित हुँदै गइरहेका छन् । आजभोलि जे पनि तीव्र गतिमा दौडिरहेको छ । पुराना पुस्ता बदलिन नजानेर हो या डिजिटल पुस्तासँग कुद्न नसकेर हो, मरीच चाम्रिएझैँ चाम्रिन बाध्य छन् । समय दिनानुदिन बदलिरहेको र विश्व साँघुरिँदै गएको अवस्थामा डिजिटल पुस्ताको बोलीचाली, चालढाल, भेषभूषा, लवाइखवाइ र संस्कार–संस्कृतिसमेत भिन्न हुनु स्वाभाविकै हो कि जस्तो लाग्न थालेको छ ।


हुलाक युगका हाम्रो पुस्ताले इन्टरनेट पुस्तासँगै बदलिन नजानेर नयाँ परिवेशलाई कलियुगको संज्ञा दिनु परेको छ । यसबाट हाम्रा नियरेस्ट एण्ड डियरेस्ट युवामाथि अन्याय भइरहेको छ । पहिले पो लभ लेटरको जमाना थियो । मुटुदेखि मुटुसम्म सन्देश आदान–प्रदान गर्ने र मनको कुरा व्यक्त गर्ने गतिलो माध्यम बनेको थियो । देश–विदेशमा रहेका आफन्त तथा साथीभाइहरुलाई हुलाकमार्फत रजिष्टर गरेर चिठ्ठी पठाउँदा र प्राप्त गर्दा स्वर्गीय आनन्द आउँथ्यो । अझ गाउँघरमा पढेलेखेको कहलिएर चिठ्ठी वाचन गरिदिँदा खुसी भएका निर्दोष अनुहार देखेर भावविभोर भइन्थ्यो । अहिले कहाँ त्यो जमाना रह्यो र ? अचेल त सबै कुरा डिजिटलले नै खाइदिएको छ । प्रेम गर्नेलाई पार्कको आवश्यकता पर्न छाडिसकेको छ । डेटिङ गर्नेहरुलाई कटेज र रिसोर्टहरुको अभाव हुन छाडिसक्यो । अहिले त लभ अफेयरदेखि डेटिङ, लिभिङ र हनिमुनसमेत स्काइप, फेसबुक र भाइभरजस्ता सामाजिक सञ्जालमार्फत हुन थालेको छ ।


अहिलेका डिजिटल जोडीलाई आँखाले देख्नु जरूरी छैन । हातले स्पर्श गर्नु वा ओठले चुम्बन गर्नु पनि जरूरी छैन । अचेल प्रेम पनि प्रविधिअनुसार नै कुदिरहेछ । प्रेमका लागि त्याग, बलिदानी र समर्पणजस्ता कुराहरु पनि ‘डेट एक्सपायर्ड’ भइसक्यो । डिजिटल युगको नयाँ परिभाषाअनुसार अहिलेको प्रेममा क्षणिक आकर्षण, तृष्णा र रोमान्स हुनैपर्छ । आधुनिक शैलीमा प्रेमलाई घुमघाम गर्ने, रमाइलो गर्ने डेटिङका रुपमा बुझिएको छ । पुराना पुस्ताहरु डिजिटल पुस्तालाई कलियुग र आधुनिक युवाहरुकोे रोमान्सलाई ‘कलियुगको लीला’ भनेर आरोप लगाइरहेछन् ।


धार्मिक मान्यताअनुसार चार युगमध्ये अहिलेको युग मध्यकलिमा दौडिरहेको छ । मध्यकलिलाई एक्काइसौँ शताब्दी भनेर बुझ्नुपर्छ । सत्ययुगलाई सृष्टिकर्ता शिवको युग मानिएको छ । त्रेतायुगमा श्रीराम भगवान् कहलिए । यस्तै द्वापरयुग श्रीकृष्ण र सिद्वार्थ गौतमहरु भगवान् मानिए । र, रह्यो कलियुग । त्यसैले, यो युगलाई माइकल ज्याक्सनहरुको युग भन्न सकिन्छ । माइकल ज्याक्सन त मरेर गए । तर, उनको छाप हाम्रो हृदयमा गडिरहेको छ । र, यो कलियुगभरि रहिरहने निश्चित नै छ । पश्चिमा संस्कृतिको प्रभाव यति द्रुत गतिमा छ कि डिजिटल पुस्तेहरुले नेपाली संस्कृतिलाई नुन नहालेको अचारबराबर मानिसके । यस्तो समय या माहोललाई बुझ्ने भाषामा डिजिटल पुस्ताको युग भन्नु उपयुक्त नै हुन्छ ।


डिजिटल युगमा न्यू जेनेरेसनका युवाहरुको सरसंगत गरेपछि त्यसको प्रभाव पनि ब्लुटुथजसरी शेयर हुँदोरहेछ । मान्नेहरुले हाम्रा पुस्तालाई पनि प्रेम र रोमान्समा हराउने आधुनिक पुस्ताका युवासरह मान्दा हुन् । नढाँटी भन्ने हो भने जबर्जस्ती आधुनिक बनिएको हो । न प्रविधिबारे अपडेट हुन सकिएको छ, न त पुराना पुस्ताकै रुपमा चित्त बुझाउन सकिएको छ । यस्तो नयाँ र पुरानाबीचको मजस्तै पुस्तेहरुको साझा पीडा पनि मेरोजस्तै हुनु स्वाभाविकै हो । आज आधुनिक विचार र स्वतन्त्रतासँगै रोमान्समा हराउने र हराउन चाहनेहरुको संख्या ह्वात्तैै बढिरहेको छ । पुराना पुस्तेहरुले अझै पनि माइकल ज्याक्सन पुस्तेहरुको पाश्चात्य जीवनशैली देखेर नाक खुम्च्याउँछन् । आधुनिक जीवनशैली मन पर्न त पहिले मोडर्न हुनुप¥यो । यो जमाना गर्नेलाई भन्दा हेर्नेलाई लाज लाग्ने जमाना हो । हेर्न सकुन्जेल हेर्नु, नसके आँखा छोप्नु यो जमानाको विशेषता हो ।


केही न पुराना, न नयाँ युगका युवाहरु भन्ने गर्छन्– ‘नयाँ सभ्यता नचाहेर पनि आत्मसात् गर्नु परिरहेको छ ।’ प्रविधिलाई पछ्याउन नसक्नेहरुले नचाहेरै पनि आत्मसात् गर्नुपर्छ नै । अहिलेको युगलाई कसैले कलिमात्र भन्छ भने त्यो बहुलाएछ भनेर बुझ्नुपर्छ । यो सुपर कलि हो । यतिबेला खुला पहिरनमा हट फोटो सेसन गर्नेहरु देखेर रिमिक्स पुस्तेहरुले छ इन्चको जिब्रो निकाल्छन् । कहिलेकाहीँ त यो युग साँच्चै नै मल्लिका सेरावत र इमरानहरुकै हो कि जस्तो लाग्छ । आज गोरी अप्सरा ब्रिटेनी स्पेयर होस् कि ब्ल्याक ब्युटी रिहाना होस्, नचाहेर पनि उनीहरुले हामीलाई दिउँसै सपना देख्न बाध्य बनाइरहेछन् । यो तारादेवी र मीरा राणाहरुको युग कहाँ रह्यो र ? जेनेफर लोफेज र साकिराको नृत्यले बूढाहरुलाई पनि काउकुती लगाइदिने युग हो यो । आज विश्वका विजय माल्या, लीसा हेडन, केट अप्टनजस्ता हट मोडलहरुको नृत्यले हजुरबाहरुलाई लुकीलुकी हेर्न बाध्य बनाइदिएको छ । त्योभन्दा पनि ज्यादा के भन्नुप¥यो र ? पारखीहरु आफैँ भुक्तभोगी छन् ।


डिजिटल पुस्तालाई मात्र नयाँ युगले छोएको होइन । यस युगले चार बीस नाघेका पाका युवाहरुको समेत भोक र निद्रा हराएको छ । नयाँ र पुरानो पुस्तान्तरणलाई फ्युजन गरेर बीचका पुस्ताले पनि गर्नुसम्म रमझम गरेकै छन् । प्रविधिको विकासले पुराना पुस्ता पनि कम जोशिलो बनेको छैन । डिजिटल पुस्तेहरुजस्तो फ्रन्टमा नदेखिएका मात्र हुन् । उनीहरु डिजिटल पुस्तासमेतलाई छक्याएर फड्को मार्दै गएको कुरा पनि अब लुकाउनु आवश्यक छैन । अभिभावकको मर्म सन्ततिले नबुझ्ने र सन्ततिको मर्म अभिभावकले नबुझ्ने कारण जेनेरेसन ग्याप हो । यस्तो जेनेरेसन ग्यापले गर्दा घरघरमा कलह बढाइदिएको छ ।


बाहरु एभन साइकलबाट स्कुटरमा बदलिँदा छोराहरु स्प्लेन्डरबाट पल्सर÷बुलेटमा अपडेट हुनु कुनै नौलो कुरा होइन । नयाँ पुस्तेहरुलाई कसैकसैले पल्सर पुस्ते पनि भन्ने सुनिन्थ्यो । पल्सर अहिले नयाँ–पुरानो पुस्ते दुवैले आत्मसात् गरिसकेका छन् । यसबाट नयाँ पुस्तेहरुलाई पर्नुसम्मको टेन्सन भएको छ । त्यसैले, उनीहरु मोडिफाई गरेर नयाँ र पुरानाबीचको अन्तर छुट्याउने कोसिस गरेका छन् । सभ्यतासँग अपडेट हुन नसक्नेहरुले नयाँ प्रविधि र प्रयोगलाई कलियुगको लीला भन्न बाध्य भएका छन् । पश्चिमी संस्कारलाई कपी एण्ड पेस्ट, अर्थात् नक्कल गर्ने डिजिटल पुस्ता दिनहु“ महँगो बन्दै गएको पनि यही भएर नै हो ।


हामी जन्मिँदा मोबाइलको त कुरै छाडौँ, इमेल र इन्टरनेट कुन चराको नाउँ हो, केही पत्तो थिएन । हामीलाई थाहा थिएन, जानिएन भनेर युगलाई दोष दिन कहाँ मिल्छ र ? आज दुई वर्षको बच्चाले पनि टच–स्क्रिन मोबाइल खेलाउँछ । मोबाइलमै गेम खेल्छ । पाँच वर्षको बच्चाले फेसबुक एकाउन्ट खोलेर फ्रेन्ड रिक्वेस्ट पठाउँछ । यो त विश्व परिवेशअनुसार सामान्य कुरा हो । जमानाले कसरी कोल्टे फेरेछ भनेर अब पनि डिजिटल पुस्तासँग विमुख हुने मान्छे दोस्रो दर्जाको कहलिनेमा कुनै सन्देह छैन । आजकल किचेनमा फेसबुक नचलाउने गृहणी लोसे हुन्छिन् । फेसबुक एकाउन्ट नखोल्ने युवा हाँसोको पात्र बन्छन् । एउटा ल्यापटप चलाउन नजान्ने लेक्चर, अर्थात् बिजनेसम्यान औँठाछाप कहलिन्छ ।
बरू, एकैछाक खाएर भए पनि यो जमानामा डिजिटलाइज्ड हुनैपर्छ । हामीकहाँ पिर्कामा माटोले कोरेर अक्षरको सुरूवात गर्ने जीबा, बाहरु इतिहासका रुपमा हुनुहुन्छ । यस्ता इतिहासका कुरा सुन्दा हामीजस्ता रिमिक्स (पुराना–नयाँ) पुस्तेलाई अचम्म लाग्नु स्वाभाविकै हो । अहिलेका डिजिटल पुस्तेहरुलाई टाइपराइटरको कुरा सुनाउनु पनि जीबा, बाहरुका कुरा सुन्नुजस्तै भइसकेको छ ।

सिन्काले मोबाइलमा घोच्ने युग आइसकेको पनि एक दशक भइसक्यो । अब आँखाको इशाराले चल्ने, बोलीले चल्ने ग्याजेट्सहरु छ्यासछ्यासती भित्रिइसके । पिर्कामै अक्षर लेखेर उमेर बुढ्याएका बाहरुले सजिलै आइफोन चलाउने भैसके भने डिजिटल युग भनेर नाक खुम्च्याउनु बेकारको कुरा हो ।
डिजिटल युगले मान्छेहरुलाई एउटा बन्द कोठामा सीमित गरिदिएपछि सामाजिक कार्य, संस्कार–संस्कृति र चाडबाड पनि डिजिटलबाटै काम चलाइन थालेको छ । शारीरिक आवश्यकीय वस्तु तथा सेवाहरु पनि डिजिटलमार्फत नै उपभोग गर्ने चलन आइसकेपछि मान्छेको काम अब ‘रोबर्ट’ आफैँले गरिदिने भो । यो डेलिभरी र जायजन्मसम्बन्धी काम पनि अव मेसिनमार्फत नै हुने भइदिने हो भने ‘डिजिटल म्यारिज’ गर्नेहरुको भीड बढ्थ्यो होला । सूचना प्रविधिले असम्भव कुराहरु पनि सम्भव तुल्याइदिएको छ ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login