- Home
- Show Content
१०९. मानव स्वास्थ्यमा विषादीको कुप्रभाव
१०९. मानव स्वास्थ्यमा विषादीको कुप्रभाव
विश्वमा भएको विषादीको अत्यधिक प्रयोगले नेपाल पनि अछूतो रहन सकेन । खासगरी, भारतमा भएको हरित क्रान्तिले नेपाली कृषिमा पनि ठूलो प्रभाव पारेको देखिन्छ । भारतको अर्बौ जनतालाई भोकमरीबाट बचाउनका लागि हरित क्रान्ति सत्य सावित भए पनि हरित क्रान्तिपश्चात् भारतमा अपनाइएको आधुनिक खेती प्रणालीले विषादीलाई अत्यधिक प्रोत्साहन दिएको पाइन्छ । त्यसैको असरका कारणले आज करोडौँ भारतीय जनता एवं दक्षिण एसियाली जनताहरु हरित क्रान्तिको दुर्गामी असरको चपेटामा फसेको पाइन्छ ।
नेपालमा खासगरी विदेशबाट १९५० देखि १९७० सम्मको दशकमा सयौँ विषादीहरु भित्रिएको तथ्य भेटिन्छ । सामान्यतया हेर्ने हो भने १९५० को दशकमा अर्गानोक्लोरिन र अर्गानो फोस्फेटले डेरा जमाएको थियो भने १९६० पश्चात् सेन्थेटिक पाइरिथ्रोइट्स प्रकारका विषादीले डेरा जमाएको थियो । विश्वको मानचित्रमा हेर्ने हो भने अत्याधिक खतरनाक विषादीहरु १९६० भन्दा पहिले नै खपत भई अत्यधिक प्रयोग भएको तथ्य भेटिन्छ ।
विषादीले मानव स्वास्थ्यमा र वातावरणमा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा असर पारेको पाइन्छ । खासगरी, विषादीको प्रभाव बच्चाबच्ची, गर्भवती एवं बूढाबूढीमा बढी देखिन्छ । बच्चाबच्चीहरु स्वभावैले बढी लडीबुडी गरी खेल्ने भएकाले जमिनसँगको सम्पर्क बढी हुन गई विषादी शरीरभित्र पस्ने बढी सम्भावना हुन्छ । अर्कोतर्फ, बच्चाबच्चीले हावाबाट आफ्नो शरीरको तुलनामा बढी श्वासप्रश्वास गर्दछन्, तसर्थ विषाक्त हावाहरु सजिलै शरीरभित्र प्रवेश गर्दछन्, त्यसैगरी विषादी यदि गर्भवती महिलामा प्रवेश ग¥यो भने उक्त विषादीले जन्मँदै गरेको बच्चाको स्वास्थ्यमा असर गर्दछ । त्यसका अलावा वृद्धवृद्धाहरुको शारीरिक शक्ति पनि कम हुने भएकाले थोरै विषादीको मात्राले पनि असर गर्दछ ।
खासगरी, विषादीले प्रत्यक्ष रुपमा टाउको दुख्ने, भोमिट हुने, आँखा चिलाउने, शरीरबाट पसिना आउने, मांसपेशीहरु बटारिने र थोरै बढी विषादी शरीरभित्र पस्यो भने मान्छेको मृत्यसम्मको घटना हुने गर्दछ । हामी सबैले सुन्ने गरेको होऊँला, भारतको भूपाल राज्यमा विषादी भण्डारण गरिएको भण्डारणबाट चुहिएर हजारौँ मान्छेहरु मरेको घटना ताजै छ । यसका साथसाथै नेपालमा नै ठूलो मात्रामा भण्डारण गरिएको विषादीले पनि केही समस्या ल्याइरहेको हामी अखबारहरुमा पढ्न सक्दछौँ । त्यसैगरी, हामीकहाँ प्रत्येक वर्ष विषादीको कारणले हजारौँ मान्छेले प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा ज्यान गुमाइरहेका छन् भन्ने घटनाहरु विषादीका मानव स्वास्थ्यमा हुने प्रत्यक्ष असरहरु हुन् ।
त्यसैगरी, विषादीले अप्रत्यक्ष रुपमा गर्भवती महिलाबाट जन्मने बच्चा लुलो, लङ्गडो एवं सुस्त मनःस्थितिको हुने, मान्छेमा रक्त क्यान्सर हुने र अन्त्यमा यस्तै क्यान्सरजस्ता भयावह समस्या ल्याउने विषादीका दीर्घकालीन असरहरु हुन् । त्यसैगरी, विषादीले वातावरणमा पनि थुप्रै नकारात्मक असरहरु पर्ने गर्दछन् भन्ने गरिन्छ । सर्वप्रथम विषादी पानीमा मिसियो भने पानीमा रहेको अक्सिजनलाई घटाइदिन्छ र पानीमा हुने जीवजन्तुहरु जसले पानीमा रहेर अक्सिजन लिई बाँच्ने गर्दछ, तिनीहरुलाई प्रत्यक्ष असर गर्दछ । यसको ज्वलन्त उदाहरण हामी आज पानीमा भएका जीवहरु जस्तो माछा, भ्याकुता एवं अन्य जीवहरु लोप हुँदै गएको अवस्थामा देख्छौँ ।
त्यसैगरी, विषादीका कारणले प्रकृतिमा भएका मित्रजीवहरु जस्तै माकुरा, आँखाफोरूवा, गाइनेकीरा, स्त्रीजन्य खपटे, मौरीजन्य जीवहरु लोप हुँदै गइरहेका उदाहरणहरु देख्न सक्दछौँ । विषादीले परागसेची जीवहरुलाई समेत लोप गरेकाले अन्य बालीमा परागसेचन राम्रोसँग नभई उत्पादन घट्दै गइरहेको भेट्न पाउँछौँ । कतिपय अवस्थामा खाद्य श्रृंखलाका एक कुनै जीवलाई नष्ट गरिदिँदा उचित सन्तुलन नभएका कारणबाट कहिले कुनै कीराको समस्या त कहिले कुनै रोगको समस्या वर्षैपिच्छे बढ्दै गइरहेको देख्न तथा सुन्न पाउँछौँ ।
साँच्चै भन्ने हो भने विषादीले थुप्रै मित्रजीवहरु, खोलानालामा पाइने माछाहरु, सर्पहरु, भ्याकुताहरु जसले प्रकृतिमा जैविक विविधता संरक्षण गर्न ठूलो मद्दत गर्दछन्, ती जीवहरुलाई नष्ट पारेको पाइन्छ । माटोमा हुने सूक्ष्म जीवहरु विषादीको सिकार हुन गई ती सूक्ष्म जीवहरु लोप हुँदै गइरहेका छन् र हाम्रो माटोको भौतिक एवं रासायनिक गुणहरु नष्ट हुँदैछ । तसर्थ, विषादीको असरलाई न्यूनीकरण गर्नका लागि हामीले आइ.पी.एम. पद्धति अपनाई खेतीबाली प्रणाली सुरू गर्न र प्राङ्गारिक खेतीलाई प्रोत्साहन गर्नु आजको टड्कारो आवश्यकता हो ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review