- Home
- Show Content
१११. जेष्ठ नागरिकको सम्मान गरौँ
१११. जेष्ठ नागरिकको सम्मान गरौँ
जेष्ठ नागरिकहरु यथार्थपरक इतिहासका वक्ता हुन् । नेपाली सभ्य समाज र असल संस्कारका ज्वलन्त उदाहरण हुन् । उनीहरुसँग हाम्रो असल संस्कृृति र संस्कारका बारेमा लामो भोगाइको अनुभव छ । उनीहरुसँग धेरै तीता, मीठा आश्चर्यलाग्दा घटनाक्रमहरुको भण्डार छ । यसलाई भोग्न र अनुभव गर्न हामीहरुलाई वर्षौं लाग्छ, अझ लामो समयसम्म बाँचिन्छ भने । र, केही यस्ता ऐतिहासिक घटनाक्रमका अनुभवहरु हुन्छन्, जुन हामीले चाहेर लामो समयसम्म बाँचेर पनि भोग्न र अनुभव गर्न सक्दैनौँ ।
हो, यथार्थमा जेष्ठ नागरिकहरु ऐतिहासिक व्यक्तित्व हुनुहुन्छ । उहाँहरुबाट असल संस्कृति, संस्कार, ऐतिहासिक कुरा, अत्यन्तै मह¤वपूर्ण ज्ञान, सीप, कला, क्षमता आदि हाँसिल गर्न सकिन्छ । उहाँहरु यस सभ्य समाजका धरोहर हुनुहुन्छ । उहाँहरुबाट नै हामीहरुले सकारात्मक संस्कार सिक्न र त्यो पछि भावी सन्ततिहरुलाई सिकाउन सकिन्छ । यदि हामीले उहाँहरुबाट यस्ता मह¤वपूर्ण कुराहरु सिक्न सकिएन भने हाम्रा सन्ततिहरुलाई पछि सिकाउन पनि सकिँदैन ।
तर, अत्यन्तै दुःखका साथ भन्नुपर्दछ, आज हाम्रो सभ्य नेपाली समाजमा जेष्ठ नागरिकको सम्मान होइन, अपमान भएको छ । हामीले जानेर वा नजानेर पश्चिमा संस्कृतिको सिको गरिरहेका छौँ । आधुनिक सभ्यता एवं स्वतन्त्रताका नाममा हामीले हाम्रो सभ्य संस्कृतिमाथि खेलबाड गरिरहेका छौँ र नेपाली समाजलाई बिस्तारै विकृतितिर डो¥याइरहेका छौँ । यो तपाईं हामी सबैले वर्तमान अवस्थामा देखे भोगेको तीतो यथार्थ हो । यदि हामीले यस्तो संस्कारलाई बेलैमा सच्याएनौँ भने हाम्रो नेपाली समाजको सभ्य र असल संस्कार एकादेशको कथा बन्न पुग्नेछ ।
सुन्दा, पढ्दा अलिकति नमीठो लाग्न सक्छ । केही जेष्ठ नागरिकहरु बाहेक अधिकांश जेष्ठ नागरिकहरु आज आफ्नै घरपरिवार, समाज र राज्यबाट अपमानित भैरहेका छन् । आफ्नै सन्तानबाट जेष्ठ नागरिकहरु घृणाको पात्र बन्नु परेको छ । आज हामीहरुले हामीलाई जन्म दिने, पाल्ने, हुर्काउने, उचित शिक्षा–दीक्षा दिने आमाबाबुलाई उहाँहरु वृद्ध भई असक्त भएपछि उहाँहरुको सेवा नगरेर वृद्धाश्रममा पठाउन हामी लालायित हुन्छौँ । उमेर छउन्जेल हाम्रो निम्ति सबै गर्नेलाई उमेर ढल्केपछि हामीले उहाँहरुलाई दुःख दिने कार्य गर्छौं । जतिबेला उहाँहरुले हाम्रो अर्थात् आफ्ना सन्तानहरुको स्नेह र सेवा पाउनु पर्ने हो, त्यतिबेला उहाँहरुलाई घृणाको पात्र बनाउँदै अनेकौँ बहानामा वृद्धाश्रममा पठाउने वा यो या त्यो बहाना बनाउँदै उहाँहरुका बारेमा हेक्का नराख्ने र उहाँहरुप्रति असल व्यवहार नगर्नेजस्ता कार्यहरु हामीले गरिरहेका हुन्छौँ । यस्ता कुकार्यबाट उहाँहरुको मन कति दुख्दो होला ! सायद, यसको पीडा भोग्नेहरुलाई मात्र थाहा होला !
अझै सुन्दै कहाली लाग्ने यीभन्दा घृणित कार्य आफ्ना वृद्ध आमाबाबुलाई आफ्नै सन्तानले उपचार गराउने बहानामा हस्पिटलमा बेवारिसे अवस्थामा छाडेर आफू भाग्ने, अनि आफ्ना वृद्धा आमाबुबाहरुलाई तीर्थ गराउने बहानामा तीर्थस्थानसम्म पु¥याउने र त्यहीँ बेवारिसे अवस्थामा छोडेर हिँड्ने र वृद्धाहरुलाई घरबाटै निकालिदिनेजस्ता अत्यन्तै अमानवीय घृणित कार्यहरु गर्नसम्म हामी पछि पर्दैनौँ । यस्ता घटनाका उदाहरणहरु देवघाटधाम, पशुपति मन्दिर, सरकारी हस्पिटल आदि ठाउँहरुमा प्रशस्त रुपमा देख्न सकिन्छ । यो हाम्रो नेपाली सभ्य समाजका निम्ति निकै लाजमर्दो कुरा हो र डरलाग्दो विषय पनि हो । किनकि, आज हामीले आफ्ना बाबाआमाहरुको सम्मान गरेनौँ भने भोलि हाम्रा सन्ततिहरुले हामी वृद्ध, अशक्त अवस्थामा हुँदा हाम्रो पनि सम्मान गर्ने छैनन् ।
आज जसरी जेष्ठ नागरिकहरु अपमानित हुन पुगेका छन्, भोलिका दिनहरुमा हामी योभन्दा अझै बढी अपमानित हुँदै अत्यन्तै पीडादायी जीवनयापन गर्नुपर्ने छ । यो आजको तीतो सत्य हो ।
जहाँ अग्रजहरुको सम्मान हुँदैन, त्यहाँ अराजकताको भुमरी मडारिन्छ र सामाजिक विचलन आई सभ्य समाज ध्वस्त हुन पुग्छ । आज हामीले आफ्ना आमाबाबालाई देवतासरह मान्ने, मातृ देवो भवः, पितृ देवो भवः को भावना करिब मृत अवस्थामा पुगेको छ । आज अधिकांश वृद्धहरु आफ्ना सन्तान हुँदाहुँदै बेसहारा बन्न पुगेका छन् । उहाँहरुको उचित सेवा र सम्मान त कता हो कता, पेटभरि खान पनि नपाई भोकभोकै सडक पेटीमा भौँतारिरहनु परेको छ । उहाँहरु अर्थात् वृद्धहरुप्रति उचित सम्मान र आदर गर्ने हाम्रो असल संस्कारलाई चटक्कै छाडेर आज हामी पश्चिमा संस्कृतितिर लम्किरहेका छौँ । हाम्रो संस्कार त वृद्ध आमाबाबालाई आफैँले उचित स्याहारसुसार गर्ने हो, तर यसको ठीकविपरीत आमाबाबु वृद्ध भएपछि उहाँहरुप्रति अपमानजन्य कार्य गर्ने यो या त्यो बहानामा उहाँहरुलाई दुःख दिने कार्य गरिरहेका छौँ, जुन हाम्रो सभ्य समाजका लागि निकै चुनौतीका रुपमा खडा भएको छ ।
हो, घरपरिवार र समाजले मात्र होइन, राज्यले पनि जेष्ठ नागरिकहरुप्रति उचित सम्मान गर्नतर्फ कुनै अग्रसरता देखाएको छैन । जेष्ठ नागरिकहरुको संख्या दिनानुदिन निकै द्रुत गतिले वृद्धि भैरहनु, हाम्रो परम्परागत मूल्य र मान्यताहरुको अवसान हुँदै जानु, संयुक्त परिवारको विखण्डन द्रुत गतिमा बढ्नु, जमिनको खण्डीकरण हुनु, अर्थात् स–साना टुक्रा बनाई एकापसमा भागबन्डा लगाउनु र मुलुकमा पश्चिमी संस्कृति मौलाई सांस्कृतिक विचलन नै आउनुजस्ता कारणहरुले मातृ देवो भवः पितृ देवो भवः को भावना निकै कमजोर अवस्थामा पुगेको छ । यसका कारण वृद्धहरु घरघरमा बेसहारा बनी निकै कष्टपूर्ण जीवनयापन गरिरहनु परेको छ । उहाँहरुको उचित सम्मानको त कुरै छाडौँ, पेटभर खान पनि नपाउने अवस्थामा उहाँहरु बाँचिरहनु परेको छ ।
जेष्ठ नागरिकको कुनै विशेष अधिकार छैन । उमेर छउन्जेल राज्यले उनीहरुबाट कुनै न कुनै रुपमा सेवा लिइरहेको हुन्छ, तर उमेर ढल्केपछि उनीहरुका बारेमा केही सोच्दैन । राज्यले जेष्ठ नागरिकहरुलाई पूर्ण निःशुल्क स्वास्थ्य सेवा, सार्वजनिक यातायातमा यात्रा गर्दा भाडामा छूटको व्यवस्था गरिदिने एवं उनीहरुको हक र अधिकारको संरक्षण गर्नु राज्यको दायित्व हो । जेष्ठ नागरिकहरुको हक र अधिकारको पहिचान, उचित सेवा तथा संरक्षण एवं स्रष्टा सम्मानको निम्ति राज्यले तत्काल उचित नीति बनाउनु जरूरी छ । यस विषयमा राजनीतिक दलहरुले उचित ध्यान दिनुपर्छ र उनीहरुले जेष्ठ नागरिकको हक र अधिकारको पहिचान, उचित सेवा, संरक्षणको निम्ति नीति बनाउन प्रतिबद्धता जनाउनुपर्छ र जेष्ठ नागरिकहरुलाई विशेष अधिकार दिने नीति बनाउनेका निम्ति विलम्ब नगरी नीति निर्माण गर्नु राजनीतिक दलहरुको कर्तव्य हुन आउँछ ।
र, अन्त्यमा तपाईं हामी सबै आखिर एक दिन वृद्ध अवस्थामा पुग्नैपर्छ । यदि हामीले जेष्ठ नागरिकहरुप्रति उचित सम्मान गरिएन भने हाम्रा सन्ततिहरुले हामीमाथि सम्मान गर्ने छैनन् र हाम्रो जीवनलाई अहिलेका जेष्ठ नागरिकहरुको भन्दा थप दयनीय अवस्थामा जिउनु पर्नेछ । त्यसैले, आजैदेखि जेष्ठ नागरिकहरुको सम्मान गर्ने संस्कारको विकास गरौँ, यसैमा हामी सबैको कल्याण हुनेछ । अनि, हाम्रो सभ्य संस्कृतिमा कुनै विकृति घुल्ने छैन । जेष्ठ नागरिकको सम्मान गर्नु तपाईं, हामी, राज्य सबैको दायित्व हो । यसलाई सबैले आत्मसात् गरौँ र जेष्ठ नागरिकको सम्मान गरौँ ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review