- Home
- Show Content
११२. स्वास्थ्यका लागि योग
११२. स्वास्थ्यका लागि योग
शारीरिक रूपमा स्वस्थ, मानसिक तवरले शान्त र अध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कला नै योग हो । परापूर्वकालमा योगलाई अदृश्य शक्तिसँग जोड्ने माध्यमका रूपमा लिइने गरिन्थ्यो । तर, समयक्रमसँगै योगको परिभाषा परिवर्तन हुँदै आएको छ ।
योग एक किसिमको अनुभूति र रूपान्तरण हो । जुन हरेक उमेर समूह, रोगी र निरोगी सबैका लागि आवश्यक छ । जसको माध्यमबाट रोगी व्यक्ति स्वस्थ र निरोगी हुन्छ भने, अन्य व्यक्तिमा पनि स्वस्थ जीवन पद्धतिका लागि योगले सघाउ पु-याउँछ । योगका विभिन्न प्रकार छन् । जसमध्ये याम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधि र त्याग मुख्य हुन् ।
योगका आसनहरूले मांसपेशीलाई बलियो बनाउँछ । योगले तनाव भगाउँछ, मीठो निद्रा लगाउँछ, भोक जगाउँछ र पाचनप्रक्रियालाई सही ढंगबाट चलाउँछ । प्राणायामले स्वासप्रश्वासको गति नियन्त्रण गर्छ ।विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्य भनेको केवल रोगबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रुपमा स्वस्थ हुनु हो । यो सबैको प्राप्तिको आधार योग नै हो । प्राचीन समयमा हठयोग, तन्त्रयोग, मन्त्रयोग, राजयोग, कर्मयोग, ज्ञानयोग जस्ता विभिन्न योग प्रमुख रुपमा रहेका थिए ।
योग नेपालको परम्परागत व्यायाम विधि हो । योगले धेरै कुरामा फाइदा गर्छ । योग स्वास्थ्यको लागि फाइदाजनक हुँदा विश्वभर यो विधि अपनाउन थालिएको छ । योगले मानसिक ,शारीरिक र नर्सर्ने खालको विभिन्न रोग नलाग्न र लागेको व्यक्तिहरुलाई पनि धेरै फाइदा पु-याउँछ । योग यस्तो महाज्ञान हो जसले धेरै रोगलाई नियन्त्रण गर्न सक्छ । चेतनाको स्तर बढाउनको लागि, शरीरलाई स्वास्थ राख्नका लागि र शरीरको विकार हटाउनको पनि योग सहयोगसिद्ध हुन्छ ।
आधुनिकताको नाममा विभिन्न किसिमको शारीरिक अभ्यासहरु गर्न छाडिसकेको अवस्था छ । जसले गर्दा मानसिक समस्या धेरै भएको देखिन्छ । त्यस्तो अवस्थामा योगले सहयोगी बन्न सक्छ । योगले शरीरको अङ्ग–प्रत्यङ्गलाई संचालनमा सहयोग गर्छ । शरीरको हार्डजोर्नी, नसा, ढाडसम्बन्धी रोग भएकालाई पनि योगले फाइदा पु-याउँछ । जो अल्छी मानेर बसिरहेका हुन्छन्, त्यस्ता व्यक्तिलाई मानसिक समस्या भने भइरहन्छ । यस्तो अवस्थामा योग गर्ने हो भने सकारात्मक बनाउने काम गर्छ । योगले मान्छेलाई मनोवल बढाउने र उत्साह जगाउने काम गर्छ ।
सबै उमेर समूह, सबै क्षेत्र र सबै वर्गका व्यक्तिले योग गर्न जरुरी रहेको छ । योगमा अन्तरमुखी र बाह्यमुखी अभ्यासहरु हुन्छन् । अन्तरमुखी योग भनेको भित्रभित्रै आफूलाई कस्तो खुशी पार्ने भन्ने तरिकाले गरिन्छ । भौतिक साधनले मात्रै मान्छे खुशी हुँदैन, जसलाई अन्तर मुखी अभ्यासले खुशी पार्न सकिन्छ ।
मनलाई खुशी र मानसिक समस्या हटाउनको लागि योगको ठूलो भूमिका हुन्छ । तनावको कारण पनि शरीरमा रोग लाग्छ । तनाव भयो भने त्यसले अल्सर हुन सक्छ । अल्सरपछि क्यान्सर पनि हुन सक्छ । यस्तै मधुमेह, ब्लड प्रेसर, हृदयघात हुने समस्या पनि हुन सक्छ ।
योग सबै उमेरका व्यक्तिले गर्न सकिन्छ । बालबालिकाको हकमा भने ३ देखि ४ वर्षको उमेरबाट नै योग सुरु गराउन सकिन्छ । योगले बालबालिकाको बौद्धिक क्षमता वृद्धि गर्नसहयोग गर्छ । यस्तै वृद्धवृद्धाले पनि गर्न जरुरी हुन्छ । रोगले सिकिस्त भएको मान्छेले पनि योग गर्न जरुरी छ ।
मिलाएर योग गर्न सकियो भने स्वास्थ्यको लागि राम्रो हुन्छ । शरीरका रक्तसंचार प्रणालीलाई व्यवस्थित गर्छ । मुटु र रगतका नलीलाई सफा गर्ने काम गर्छ । पाचन क्षमता बढाउँछ । शरीरमा धेरै क्यालोरी छ भने योग गर्दा घट्छ । शरीरको जोर्नीहरुलाई खुकुलो बनाउँछ । जसले गर्दा शरीरमा यूरिकेसिड, बाथजस्ता रोगहरुलाई नियन्त्रण गर्छ । समग्रमा भन्नु पर्दा रोग नलाग्नको लागि योगले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । शरीरलाई स्वास्थ राख्न र आयू लम्ब्याउने काम योगले गर्छ । मस्तिष्कलाई सफा बनाउँने काम गर्छ । मन स्वास्थ भएको खण्डमा हरेक कुराहरु सकारात्मक रुपमा अगाडि बढ्छ ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review