- Home
- Show Content
११३. सामाजिक कूरिति : बोक्सी
११३. सामाजिक कूरिति : बोक्सी
विज्ञान–प्रविधिको आजको युग, एक्काइसौं शताब्दीका मान्छे हामी अझै पनि विभिन्न कूप्रथा, कुरितिलाई अङ्गालेर बसेका छौँ । मान्छे चन्द्रमामा पुगिसके, कति प्रविधिको आविष्कार गरिसके, मान्छेले नै कति प्रगति गरिसके, हामी भने रुढीवादको पट्टी आँखामा बाँधेर बसेका छौँ । यस्ता सामाजिक कूरितिले अझै पनि जरो गाडेको देख्दा हाँसो छुट्छ । गहिरिएर हेर्ने हो भने मुटु कँुडिन्छ । समाजमा यस्ता अनेकौं अन्धविश्वासले जरा गाडेर बसेका छन् । तीमध्ये एक हो—बोक्सी प्रथा । विज्ञानले गलत सावित गरेको यो कूरितिप्रति शिक्षित भन्नेहरुकै किन मोहभङ्ग हुँदैन ? गरीब, दुखी, एकल महिला, बृद्धा, सामाजिक रुपमा अपहेरित, समाजमा दबिएर बोल्न नसक्नेहरुलाई लगाइने आरोप हो बोक्सी ।
सामान्यतया बोक्सी भन्नाले एकल तथा बृध्दा महिला जसले टुना-मुना, तथा तन्त्र विद्धा जानेकि हुन्छिन् । यो एक सामाजिक कुरिति तथा अन्धविश्वास हो ।जसको आडमा आजको दिनमा पनी नेपालि नारिहरु पिडित हुदै आएका छन् साधारण भाषामा भन्नु पर्दा आफ्नो शरीरमा विभीन्न देवी देउताको आह्वान गरी तिवाट विशेष कार्य लीन सक्ने स्त्री लाई बोक्सी भनिन्छ'' भनि अर्थ्यायिएको पाईन्छ । नेपाली समाजमा परम्परादेखि नै बोक्सी शब्दको प्रयोग गर्दै आएकोले पनि अहिलेसम्म यो कु-प्रथाको भुत मानिस मा हटेको देखिदैन । तन्त्रमन्त्र प्रतिको बिश्वास भनौ वा बोक्सी माथिको अन्धविश्वासले भनौ । देशमा वषौर्ंदेखि यसैको कारणले डरलाग्दा घटना घटिरहेका छन् ।
बच्चा बिरामी भयो, गाइवस्तुले दुध दिएन वा कम दियो भने बोक्सी लाग्यो, फलिरहेको बोट एक्कासी सुक्यो बोक्सी लाग्यो, बोटमा फल लागेन बोक्सी लाग्यो । राति सुत्दा बिस्तारा असजिलो भयो, शरीरमा एलर्जी भयो । यी सबै कुरामा भनिन्छ, ‘बोक्सी लाग्यो ।’ यदि साँच्चिकै बोक्सी हुन्थे भने आफूलाई हिंसा गर्ने, तिरस्कार र अपमान गर्ने व्यक्तिलाई दुख दिन्थे होला, किन निर्दोष पशुचौपाया, बोटविरुवा, बालबालिकालाई दुख दिन्थे होला ?
बिरामी भएको बच्चालाई औषधी उपचारको लागि अस्पतालतर्फ नलगी झारफुक र झाँक्रीकोमा लगिन्छ । कहिलेकाहीँ सामान्य जडिबुटीले ठीक भइहाल्छ । यदि केही तलमाथि भयो भने झाँक्रीले भन्छ, बोक्सीले कलेजो नै खाई सकिछे, कडा छ, बचाउन सक्दिनँ ।’ अनि, स्नातकोत्तरको खोस्टो दराजमा थन्काएका विद्धान पनि समर्थनमा टाउको हल्लाउँछन् । कतिलाई लाग्छ, यो गलत हो । तर, कूरितिले जेलिएको समाजसामू नतमस्तक हुन्छन् ।
गाईवस्तुलाई समय र मात्रा मिलाएर उनीहरुलाई आहारबिहार दिइएन । पशु स्वास्थ्यको ख्याल गरिएन, विभिन्न संक्रमणप्रति सचेत भइएन भन्ने ठान्दैनन् । बरु, झारफुकतिर लाग्छन् । प्राणी सबै स्वास्थ्यमा गडबडी आउँदा बिरामी हुन्छन् । बोटविरुबालाई पनि हामीलाई जस्तै पोषक तत्व चाहिन्छ, हाम्रो ध्यान त्यता जाँदैन, हाम्रो दिमागले भन्छ, ‘फूल फुलेर फल लागेन, बोक्सी लागेकै हुनुपर्छ ।’ हाम्रा बा–आमा अन्नको पीण्ड पार्छन् र डिग्री होल्डर छोरालाई भन्छन्, ‘जा बाबू, झाँक्रीकहाँ गएर फुकेर ले ।’ छोरो सवाल जवाफ आवश्यक ठान्दैन, पीण्ड बोकेर हिँड्छ झाँक्री बाकहाँ ।
झाँक्रीले आफ्नो पेशा जोगाउन तिनै बोल्न नसक्ने आफ्नो आवाज उठाउन नसक्नेमाथि दोषको भारी थुपारिदिन्छ । अनेक आरोप प्रत्यारोप लगाउँछ, अनि समाज भन्छ, ‘उ बोक्सी नै हो ।’ कुटपिट गर्ने, दिशा खुवाउने, गाउँ निकाला गर्नेजस्ता अमानवीय अत्याचार त्यही झाँक्रीको आदेश र शिक्षित भन्नेहरुको रोहवरमा हुन्छ । नेपालमा कतै कम र कतै बढी होला । तर, सबै ठाउँमा यो कूरिति र बर्वरता कायमै छ ।
किन लाग्दैन धनी, प्रतिष्ठित, शिक्षित व्यक्तिहरूलाई बोक्सीको आरोप ? यस्तो व्यवहार किन सधैं अशिक्षित, गरीब, दुखी, एकल महिलामाथि गरिन्छ ? किनकि, उनीहरु आवाज उठाउन सक्दैनन् । बोल्न सक्दैनन्, प्रतिकार गर्न सक्दैनन् । समाजमा त्यसको फाइदा उठाउँछ झाँक्रीले । आफ्नो पेशा जोगाउँछ, अनि समाजलाई बनाउँछ मूर्ख । अनि, भन्छ, ‘फलानीले बोक्सीको मन्त्र सिकिछे, फलानीले मन्त्र सिकाउँछे । सबैलाई डस्न, मार्न, दुख दिन सक्ने बोक्सीले झाँक्रीले ढ्याङ्ग्रो ठोक्दा, झीरले रोप्दा चाहिँ के हेरेर बस्छिन् होला ? बोक्सी भनिएका महिलासँग त्यो मन्त्र र क्षमता हुन्थ्यो भने सबैभन्दा पहिला झाँक्री मार्ने थिइनन् होला ? आफूलाई दुख दिनेलाई केही गर्न नसक्ने महिलाले आफ्नै साथी, इष्टमित्रलाई चाहिँ कसरी डस्न सक्छे ? आजसम्म कसैले यसरी सोचेको छ त ?
महिलालाई बोक्सीको आरोप लगाउनु , सताउनु , अपहेलना बहिष्कार गर्नु , आक्रमण गर्नु र सामाजिक बेइज्जती गर्नु लाई जघन्य अपराध हो । नेपालको संविधानमा सबै नागरिकलाई कानुनको दृस्ठि मा समान बनाएको छ । धर्म , परम्परा ,संस्कार , प्रचलन वा अन्य कुनै आधारमा कुनै पनि किसिमले शोषण गर्न नपाइने भनिएको छ ।
बोक्सी प्रथा हाम्रो सामाजिक संरचनासँग अन्तर्सम्बन्धित छ । किनभने जहाँ गरिबी र अभाव, अशिक्षा र पिछडिएको बस्ती छ, त्यहाँ बोक्सी प्रथा मौलाएको देखिन्छ । एकल महिला, दलित, मधेसी समुदाय, शारीरिक दुर्वलता भएका महिला बढी प्रताडित भएका पाइएका छन् । हुनेखाने, पहुँच र प्रभाव भएका उपल्लो वर्गका महिला बोक्सी ठहरिएको कहीँ कहिल्यै सुनिँदैन । कमजोर वर्गमाथि आफ्नो शक्ति कायम राख्न बोक्सीको आरोप लगाएर शोषण गर्ने प्रवृत्तिले महिला पीडित हुनुपरेको हो । यस्तो अन्धविश्वास हटाउने दायित्व राज्यको हो । तसर्थ, राज्यले यस्ता अन्धविश्वास र कुप्रथाहरुलाई निरुत्साहित गर्न अभियान नै सञ्चालन गर्नु अपरिहार्य भएको छ ।
अन्धविश्वासले यतिविध्न पराकाष्ठा नाघिसकेको छ कि आजको जमानामा पनि बोक्सीको आरोपमा परिवारकै सदस्यबाट महिला पीडित हुनु विडम्बना हो । यो सबै महिलालाई दबाउनलाई रचिएको रिवाज हो । हुन त आज जति बोक्सीको आरोपमा महिला पीडित भएका छन् । त्यसको कारण पुरुष मात्रै होइनन्, महिलाहरुलाई नै महिलामाथि शोषण गर्ने माध्यम बनाइँदैछ । बोक्सी प्रथा जस्तो अन्धविश्वास विरुद्ध तपाई हामी एक जुट होऔं । समाजमा विद्यमान रहेका यस्ता कार्यको अन्त्य गर्ने जिम्मेवारी तपाईं हाम्रो अनि राज्यको हो ।
अन्त्यमा बोक्सी प्रथा एउटा सामाजिक कुरिती, कुसंस्कार हो । हामी भित्र रहेको अन्धविश्वास मात्रै हो । त्यसैले यस्तो अन्धविश्वास लाई हामीले बाहिर ननिकालेसम्म समाज बोक्सीको समस्या बाट मुक्त हुन सक्दैनन् । यस्ता अन्धविश्वास लाई त्यागी भ्रमित कुरामा नलागि महिला माथि हुने जस्तोसुकै हिंसा विरुद्ध सबै लागौ । समाजमा सचेतता जगाउ ,बोक्सी जस्तो कु-प्रथालाई उखेलेर फालौ ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review