- Home
- Show Content
१२१. विद्यालय शान्तिक्षेत्र
१२१. विद्यालय शान्तिक्षेत्र
१२१. विद्यालय शान्तिक्षेत्र
नियमितरूपमा विद्या अध्ययन अध्यापन गर्ने स्थान विद्यालय हो भने शान्तिक्षेत्र भनेको युद्ध वा कुनै प्रकारको विवादरहित क्षेत्र हो । विद्यालयमा अध्ययन गर्ने बालबालिकाको कोमल मस्तिष्कमाथि प्रदूषण थोपर्न हुँदैन ।ईश्वरको नयाँ रूप हुन् बालबालिका । अबोध सुकोमल तिनै बालबालिका वास्तवमा शान्तिको द्योतक हुन् । बालबालिकाको मन अत्यन्त सफा सुग्घर र निर्माणमुखी हुने भएकाले उनीहरूलाई विद्रोह, होहल्ला, खलबली, रडाको, कोलाहल, प्रदूषण र युद्धबाट पूर्णत टाढा राख्नुपर्दछ ।
शान्ति सिर्जनाको स्रोत हो । शान्ति सुख र समृद्धिको द्योतक हो । शान्तिपूर्ण वातावरणमा मात्र एकअर्कासँग मत्राभाव र समझदारी राख्न सकिन्छ । शान्तिमा नै सिर्जना जन्मन्छ , हुर्कन्छ र फुल्दछ । शान्तमय वातावरणमा नै सुधार र निमाण सम्भव हुन्छ । ईर्ष्या, द्वेष, रिस, राग, हिंसा, प्रतिहिंसा, युद्ध, त्रास र आतङ्क फैलाएर बालमस्तिष्कलाई प्रदषित पानुहुदैन । यस्तो असभ्य, अशिष्ट र अमानवीय कार्यको अन्त्य गर्नुपर्दछ । वास्तवमा विद्यालय शान्तिक्षेत्र हो । विद्यार्थी शान्ति क्षेत्र हुन् । बालबालिका भनेका गिलो माटोजस्तै हुन्छन् । उनीहरूलाई जस्तो आकारमा ढाल्न खोजियो त्यस्तै बनाउन सकिन्छ । बाल्यावस्थामा परेको प्रभाव लामो समयसम्म रहिरहन्छ । बालबालिकालाई वातावरणले असाध्यै चाँडै प्रभाव पार्दछ । अरूका व्यवहार, आचार, तथा क्रियाकलापको सिको गर्न विछट्टै, सिपालु हुन्छन् बालबालिका । देशका कर्णधार उत्पादन गर्ने विद्यालयमा सदैव सकारात्मक, सुधारात्मक र निर्माणात्मक एवम् सकारात्मक वातावरण कायम गराउनुपर्दछ । बालबालिकाको भविष्य निर्माण गर्ने थलो विद्यालयमा होहल्ला र कोलाहलबाट टाढा राख्नुपर्दछ । विद्यालयमा भौतिक तथा मानसिक रूपमा शान्त वातावरण कायम गर्न लागिपर्नुपर्दछ ।
विद्यालयलाई राजनीति र युद्धबाट बचाएर राख्नुपर्दछ । विद्यालयमा राजनीतिक गतिविधि सञ्चालन गरेर विद्यार्थीहरूको ध्यान अन्यत्र मोड्नु हुँदैन । चक्काजाम, हड्ताल, बन्द आदि विरोधका कार्यक्रमले विद्यालयलाई नकारात्मक असर पारेको छ । विद्यालयले समयमा पाठ्यक्रम पूरा गर्न नसक्ने कुरा एकातिर छ भने अर्कातिर त्यस्ता राजनीतिक प्रदर्शनीमा बालबालिकाको मन आकर्षित हुन्छ र उनीहरूमा पनि त्यस्तै नकारात्मक छाप पर्दछ । विद्यार्थीहरूको पढाइ त प्रभावित हुन्छ नै मानसिकरूपमा समेत उनीहरू पीडित बन्न पुग्दछन् ।
विद्यालयमा अशान्ति फैलियो भने, हत्या हिंसा र आतंक फैलाइयो भने विद्यालयमा शिक्षा लिनदिन सक्ने अवस्था रहँदैन । विद्यालय वरिपरि द्रुत गतिमा सवारी साधन चलाउनु हुँदैन । ध्वनिप्रदूषणबाट पूर्णतः मुक्त राखेर वातावरणीय स्वच्छतामा विशेष ध्यान दिनुपर्दछ । भौतिक शान्तिका अतिरिक्त मानसिक शान्ति विद्यालय क्षेत्रमा कायम हुनुपर्दछ । यी दुवै प्रकारको शान्ति भए मात्र विद्यालयमा उपयुक्त किसिमको शैक्षिक वातावरण कायम हुनसक्छ र बालबालिका भविष्य निर्माण हुनसक्छ ।
बालबालिकालाई जुलुस, धर्ना तथा अन्य राजनीतिक विरोधका कार्यक्रममा जबर्जस्ती सहभागी गराउने राजनीतिक दल सबैभन्दा बढी जिम्मेवार भएर विद्यार्थीको पढ्न-लेख्न पाउने नैसर्गिक अधिकारको संरक्षणा गर्नुपर्दछ । राजनीतिक स्वार्थपूर्तिका लागि बालमस्तिष्कको दुरुपयोग गर्ने, हत्या, हिंसा, र आतङ्कमा सहभागी गराउने, बालिबालिकालाई विद्यालयमा नै जबर्जस्ती गरी राजनीतिक सिद्धान्त अबिलम्बन गर्न दवाब दिनेजस्ता कार्यहरू तुरुन्त अन्त्य गरिनुपर्दछ र विद्यालयमा राजनीतिक गतिविधि कुनै पनि हालतमा सञ्चालन गरिनुहुन्न ।
कुनै पनि किसिमका राजनीतिक वा गैरराजनीतिक क्रियाकलापले विद्यालयलाई असर गर्नुहुन्न र विद्यालय र. बालबालिका शान्ति क्षेत्र हुन् भन्ने अन्तर्राष्ट्रिय मान्यतालाई आत्मसात् गर्दै देशका कर्णधार निर्माण गरिनुपर्दछ । सदैव शैक्षिक वातावरण कायम गरी शान्तिपूर्वक शिक्षा आर्जन गर्ने बालबालिकाको अधिकारको संरक्षण गर्नपर्दछ । विश्वका अन्य द्वन्द्वग्रस्त मुलुकहरूमा समेत विद्यालयलाई धार्मिक, राजनीतिक, जातीय विद्रोहमा, विद्यालयलाई शान्तिक्षेत्र मानेको यथार्थताबाट पाठ सिकेर शिक्षालाई मानवअधिकारका रूपमा स्वीकार गरी बालबालिकाको सुरक्षा र संरक्षण गर्दै विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरी त्यसको कार्यान्वयन गर्नुपर्दछ ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review