- Home
- Show Content
१२५. परिवारप्रति मेरो कर्तव्य
१२५. परिवारप्रति मेरो कर्तव्य
१२५. परिवारप्रति मेरो कर्तव्य
प्रकृतिकी रानी नेपाल आमाको कोखबाट जन्मन पाएकामा मलाई निकै गौरव छ । यहाँको प्राकृतिक सौन्दर्यको रसास्वादन गर्न पाएकामा आफैंलाई बिर्सन्छु र नेपाल आमाका काखमा आफूलाई स्वर्गीय आनन्द प्राप्त गरेको पाउँछु । भौगोलिक, सामाजिक, सांस्कृतिकरूपले चिटिक्क सिँगारिएकी मेरी आमाका हामी सम्पूर्ण देशवासी नेपाली परिवार कथित गरिबीभित्र सुखी छौँ । भूगोलमा विकटता देखिएजस्तो लागे पनि मनले निकट छौँ । पारिवारिक वातावरण देवभूमिभित्रको शान्ति र ऐश्वर्य प्राप्तिमा मख्ख छ । शिक्षाका उज्याला किरणहरूले बामे सरिरहेको मेरो परिवारको मुहार फेरिने क्रमलाई निरन्तरता दिन, विकास र निर्माण गर्दै नेपाल आमाको मुहार हँसिलो बनाई परिवार सुखी राख्नु मेरो एकमात्र उद्देश्य हो । म मेरो देशका निम्ति केही गर्न सक्षम छु भन्ने धारणामा म अडिग छु । मेरा परिवारका प्रत्येक सदस्यमा रहेको यो अवधारणालाई मूर्त रूप दिन हातमा हात मिलाई, काँधमा काँध मिलाई अघि बढ्ने र बढाउने कर्तव्य मेरै हो ।
मेरो घरको संरक्षण गर्नका लागि मैले साँध सिमाना पहिचान गरेर सुरक्षित राख्नुपर्छ । वनपाखाका जडीबुटी जोगाएर परिवारका निम्ति चाहिएका बखत उपचारमा सहयोग पुयाउनुपर्दछ । स्वच्छ पानी ,कुलो, नहर तथा पानी घट्टलगायतका हरेक कार्यका लागि मेरै जग्गामा बगिरहेका नदीको उपयोग तथा संरक्षण गरेको उदोग व्यवसाय खोलेर स्थानीय स्रोत र साधनको समुचित उपयोग गरी आम्दानीस्तर उकास्न अघि सर्नु परेको छ । मेरो परिवारको एउटै सपना म शिक्षित बनी घर बनाउनु भन्ने हो ! मेरा पूर्वजहरूका अधुरा सपनाहरू पूरा गर्नु मेरो कर्तव्य हो । विद्या, बुद्धि र अनुभवले मेरी आमाको सपना पूरा गर्नु एउटै कर्तव्य हो । सबल, सक्षम र जिम्मेवार व्यक्ति बनेर सिंगै नेपालको छानो गतिलोसँग छाउनुपरेको छ । परिवारका लाखौं सदस्यको एक मुटु एक धड्कन बनाई थोपाथोपा मिलाई समुन्द्ररूपी विकासको लहर सिर्जना गर्नुछ ।
कोइलीको कुहुकुहुको तालमा मैले पाखा र पखेरा, खेत र खोरिया खोस्रनुछ । पारिवारिक स्वास्थ्यका लागि स्वच्छ वातावरण निर्माणमा जोड दिनु मेरो कर्तव्य हो । कलापूर्ण बुट्टा र मन्दिरहरूले घर सजाएर छिमेकीहरूलाई पर्यटन गर्ने थलो बनाउनुछ । मेरी आमा मेरै देश हो, जसको प्रशंसा गरेर हामी थाक्दैनौँ । वीर र वीराङ्गनाहरू जन्माउने मेरी आमाको सहस्रधारा दूधको ऋण तिर्नुछ । त्यसका लागि अविकासले चाउरिएका आमाका गालामा लाली भर्नु मेरो कर्तव्य हो, - दायित्व हो । आदिम ऋषिमुनिहरूको तपोभूमि, प्रकृतिको क्रीडाभूमि, एकताको अविरल प्रवाहमान भएको मेरो घर मेरा परिवारका लागि स्वर्गतुल्य छ । यसलाई कृत्रिमताबाट जोगाई, बाहिरी देखावटीपनबाट बचाई भित्री गुणको विकास गर्नु मेरो परम कर्तव्य हो । वीरता, शूरता, बहादुरी र क्रान्तिकारिताको प्रतीक मेरो परिवार हो । पूर्णिमाको जूनजस्तो मेरा घरका । सम्पूर्ण सदस्यहरू मेरा बन्धुबान्धव हुन् ।
आपसी मेल, नवीनतम सोचाइ र परिवर्तनकारी भावनाले मलाई सङ्घर्ष गर्न सिकाएको छ । भोक, रोग र शोकका विरुद्ध गरिबी र अशिक्षा परिवारबाट हटाउन मैले यथाशक्ति कोसिस गर्नुपर्छ । लाखौँ कोसको दूरी पार गर्नका लागि पनि पहिलो पाइला दोस्रो पाइला गर्दै एकाएक गरी अघि बढ्नुपर्दछ । त्यसैले नेपाली जातीय स्वाभिमान कायम गर्दै उँचो बनाउन शिष्ट, सभ्य र सुसंस्कृत बन्नु र बनाउनु मेरो कर्तव्य हो । परिवारप्रतिको नेपालरूपी सिङ्गो घरको लाखौँ पारिवारिक सदस्यबीचको कर्तव्यनिष्ठ, कर्मठ, इमानदारी, अनुशासित व्यक्ति बन्नु र पुर्खाको नाक राखेर मेरो घर सिँगार्नु मेरो प्रमुख कर्तव्य हो । खेतमा कुलो लगाउनु, घरमा टुकी होइन बिजुलीबत्ती बाल्नु ,घरमा सडक पुयाउनु अनि नेपालआमाका आँखाका कसिङ्गर हटाएर स्वच्छ र स्वस्थ जीवन जिउने वातावरण सृजना गर्ने प्रण मैले गरेको छु । पारिवारिक मायाममतामा जसरी मलाई हुर्काइयो र बढाइयो त्यसको ममतामयी ऋण चुकाउन मैले आफ्नो दायित्वबोध तथा कर्तव्य भुल्नुहुन्न र भुल्नेछैन ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review