१३१. सरस्वती पूजा

१३१. सरस्वती पूजा

१३१. सरस्वती पूजा

 सरस्वती विद्याकी देवी हुन् । उनलाई हामी ज्ञानकी अधिष्ठात्री देवीका रूपमा पूजा आरधना गछौँ । सरस्वतीको पूजा जहिलेसुकै गर्न सकिन्छ तर सरस्वतीको विशेष पूजा श्रीपञ्चमीका दिन गरिन्छ। 'श्री' को अर्थ लक्ष्मी वा धन भन्ने हुन्छ। माघ शुक्ल पञ्चमीका दिनदेखि सुरु गरेर प्रत्येक महिनाको शुक्ल पञ्चमीमा व्रत बस्नाले धनधान्यले पूर्ण भइन्छ भन्ने पौराणिक कथन छ । त्यसो हुनाले नै माघ शुक्ल पञ्चमीलाई श्रीपञ्चमी भनिएको हो। हुनत लक्ष्मी र सरस्वतीको बास सँगसँगै हुन सक्तैन भनिन्छ । जो धन कमाउन लाग्छ, उसले विद्या आर्जन गर्न सक्तैन भन्ने अर्थमा त्यसो भनिएको हो । तर विद्याधन सबै धनभन्दा प्रधान हुन्छ (विद्या धनम् सर्वधनम् प्रधानम्) भनेर विद्यालाई नै धन पनि भनिएको छ। जे होस्, विद्या रूपी धनको कामना गरेर मनाइने पर्व नै श्रीपञ्चमी हो भन्न सकिन्छ।

-श्रीपञ्चमीलाई वसन्त पञ्चमी पनि भनिन्छ । हाम्रो संस्कृतिअनुसार श्रीपञ्चमीकै दिनदेखि वसन्त ऋतु सुरु हुन्छ । वसन्त ऋतु सबै ऋतुमध्ये उत्तम ऋतु हो ।सरस्वती ज्ञान, विज्ञान, कला, प्रतिभा, बुद्धि, तर्कशक्ति आदिकी प्रतिनिधि हुन् । उनलाई वागीश्वरी पनि भनिन्छ। वाक् अथवा बोलीकी देवी भन्ने अर्थमा उनलाई वागीश्वरी भनिएको हो । सरस्वतीलाई हंसवाहिनी पनि भनिन्छ । हाँसलाई वाहन बनाउने हुनाले उनलाई त्यसो भनिएको हो। हाँसलाई दुध र पानी मिसाएर दियो भने दुध दुध छानेर खान्छ र पानी छोडिदिन्छ भनिन्छ । सरस्वती पनि असल खराब, राम्रो नराम्रो छुट्याएर सद्बुद्धि दिने देवी हुन् । यसरी सरस्वती देवी र उनको वाहनका बिचमा पनि लाक्षणिक सम्बन्ध रहेको छ।

हाम्रो संस्कृतिमा महाकाली, महालक्ष्मी र महासरस्वतीलाई त्रिदेवीका रूपमा पुजिन्छ। जसरी एउटै मान्छेमा शारीरिक, भावनात्मक र बौद्धिक शक्ति एकैसाथ रहन सक्छन्, त्यसरी नै यी तिन देवीहरू पनि एकाकार छन् भन्ने विश्वास गरिन्छ । त्यसैले शक्तिको उपासना गर्दा स्वतः सरस्वतीको पनि पूजा भइरहेको हुन्छ । विद्या स्वयम् एक शक्ति हो । सरस्वतीले हामीलाई त्यही ज्ञानशक्ति प्रदान गरून् भनी हामी सरस्वतीको पूजा गछौं ।

वेदव्यासले सरस्वतीको पूजा आराधना गरेर नै अठार पुराण रचना गर्ने सफलता प्राप्त गरेका थिए । सरस्वतीको आराधनाबाटै उनले एउटै दुरुह वेदलाई चार भागमा विभाजन गरी सर्वसुलभ बनाउन सकेका थिए । सरस्वती माताको पूजा गरेकाले नै आदिकवि वाल्मीकिलाई रामायण रचना गर्ने शक्ति प्राप्त भएको थियो । गुरु वैशम्पायनको आदेशअनुसार विद्या फिर्ता गर्न बाध्य भएका महर्षि यज्ञवल्क्यले पनि श्रीपञ्चमीका दिन सरस्वतीको पूजा गरेर नै सूर्यबाट दीक्षित भएर यजुर्वेदका मन्त्रद्रष्टा हुने अवसर पाएका थिए । यसरी हाम्रो परम्परामा सरस्वती पूजाको विशेष महत्त्व रहँदै आएको छ।

सरस्वती पूजाको दिन हिन्दुहरूले मात्र होइन, बौद्ध धर्म र अन्य धर्म मान्नेहरूले समेत सरस्वतीको पूजा गर्ने गर्छन् । स्वयम्भू पुराणअनुसार श्रीपञ्चमीका दिन मञ्जुश्रीको स्तोत्र पाठ गरी पूजाआजा गर्नाले निर्धन पनि धनी हुन्छ र अज्ञानी पनि ज्ञानी हुन्छ । श्रीपञ्चमीको अघिल्लो दिन मञ्जुश्री ल्हासाको बाटो भएर नेपाल आउँछन् भन्ने जन विश्वास छ। त्यसैले काठमाडौँ उपत्यकामा सरस्वतीको मूर्तिमा थकाइ मेटाउन तेल दलिदिने प्रचलन पनि छ। श्रीपञ्चमीकै दिन काठमाडौँ हनुमान ढोका दरबारको नासल चोकमा 'गीत गोविन्द' भन्ने कृति वाचन र श्रवण गर्ने गरिन्छ। यसलाई वसन्त श्रवण पनि भनिन्छ। श्रीपञ्चमीका दिन घरमा, स्थानीय मन्दिरमा, विद्यालय महाविद्यालयहरूमा औपचारिक वा अनौपचारिक रूपले सरस्वतीको पूजा गरिन्छ। काठमाडौँ उपत्यकामा स्वयम्भूको सरस्वती थान, लेलेको सरस्वती कुण्ड र गैरीधाराको नील सरस्वती थानमा श्रीपञ्चमीका दिन सरस्वतीको विशेष पूजा हुन्छ।

सरस्वती पूजा हाम्रो संस्कृति हो, हामी त्यसको अनुसरण गछौं । सरस्वतीको पूजा गर्नाले हामीलाई सद्भाव, सद्बुद्धि र शान्ति प्राप्त हुन्छ भन्ने कुरामा हामी विश्वास गछौं । त्यसो त सरस्वतीको मन्दिरमा गएर पूजा गर्दैमा सम्पूर्ण ज्ञान प्राप्त भइहाल्ने होइन भन्ने कुराको पनि हेक्का राख्नु जरुरी छ। जो फुलपाती र अबिरले सरस्वतीको मन्दिरमा पूजा त गर्छ तर विद्याध्ययनमा तन्मय भएर लाग्दैन, त्यो मान्छेले ज्ञान आर्जन गर्न सक्तैन । मिहिनेती र लगनशील व्यक्तिलाई नै सरस्वतीको आशीर्वाद प्राप्त हन्छ । पढाइ लेखाइमा भक्तिभावले लाग्नु नै सरस्वतीको वास्तविक पूजा हो, यो यथार्थ हामीले कहिल्यै भुल्नु हुँदैन।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login