१३५. गाउँले जीवन

१३५. गाउँले जीवन

१३५. गाउँले जीवन

जीवनलाई विभिन्न किसिमले अर्थ्याइन्छ । कोही जीवनलाई सुख र दुःखको मेल मान्छन्। कोही जीवनलाई सङघर्षको कथा भन्छन् । कोही चाहिँ जीवनलाई दैवको खेल भन्छन् । यसरी एउटा परिभाषामा बाँध्न नसकिने जीवनको बारेमा कुरा गर्नु सजिलो छ र गाह्रो पनि छ । तर जब जीवनको कुनै कालखण्ड गाउँघरको उकाली ओरालीमा आइपुग्छ, खेत, खलिहान र मेलापातमा आइपुग्छ तब त्यस्तो जीवनलाई गाउँले जीवन भनिन्छ । अर्को शब्दमा, सहरिया सभ्यताभन्दा परको गाउँघरतिर गुज्रने जीवन नै गाउँले जीवन हो। गाउँले जीवनका सेता र काला दुबै पाटाहरू छन् ।

 

गाउँले जीवन स्वच्छ वातावरणको जीवन हो । यहाँ बग्ने खोलानाला कञ्चन हुन्छन् । यहाँ बहने हावा प्रकृतिको सुगन्ध बोकेर बहन्छ । वनजङ्गल, भीडभाडविहीन मानवबस्ती आदि स्वच्छ वातावरणका कारक हुन् । परिश्रम गाउँले जीवनको आत्मा हो । बिहान पृथ्वीमा उज्यालो खसेदेखिन् बेलुका आँखाले भेउ पाउन्जेल गाउँघरका मानिसहरू केही न केही गरिरहेका हुन्छन् । खेतबारीमा पसिना खन्याइरहेका हुन्छन् । अन्नअनाज उब्जाइरहेका हुन्छन् । घाँसदाउरा र मेलापात गरिरहेका हुन्छन् । आफ्नै बारीमा उब्जेका ताजा सागपात र अन्न खान्छन् , त्यसैले गाउँघरका मानिसहरू मोटाघाटा नदेखिए पनि स्वस्थ र तन्दुरुस्त हुन्छन् ।

 सहयोग र सद्भाव गाउँले जीवनको परिचय हो । कसैलाई अप्ठेरो परेको छ भने सारा गाउँलेहरू सहयोग गर्न तयार हुन्छन् । कसैको मृत्यु भयो भने गर्दै गरेको सारा काम छाडेर मलामी जान्छन् । कसैको बिहे भयो, सारा गाउँ उल्टेर जन्त जान्छन् । चारकोस भन्दा बढी फैलिएको गाउँ भए पनि एकले अर्कालाई चिन्छन् । यस्तो साथ र सम्बन्ध हुन्छ गाउँलेहरूमा। गाउँले जीवनका केही काला पाटाहरू पनि छन् । सुविधाको अभाव छ गाउँघरमा । यातायात र सञ्चारको पर्याप्त विस्तार हुन सकेको छैन ।

सबैले चाहेजस्तो शिक्षणसंस्थाहरू छैनन् । किनमेलका लागि चाहेजस्तो बजारको व्यवस्था छैन । मनोरञ्जनका स्थलहरू छैनन् । अस्पताल तथा पर्याप्त सरकारी कार्यालयहरू हुँदैनन् । अन्धविश्वास छ, बेरोजगारी समस्या छ। निष्कर्षमा जतिसुकै अभाव र अप्ठेराहरू भए पनि गाउँले जीवन जीवन्त हुन्छ। असुविधाहरूमाझ पनि मानवताले भरिएको हुन्छ । सानासाना तर स्वाभाविक सपनाहरू हुन्छन् । त्यसैले मलाई गाउँले जीवन मन पर्छ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login