१३७. वनजङ्गल र यसको महत्त्व

१३७. वनजङ्गल र यसको महत्त्व

१३७. वनजङ्गल र यसको महत्त्व

कुनै निश्चित भूभागसम्म फैलिएर रहेको रुखबिरुवा मात्र भएको भूमिलाई वन वा जङ्गल भनिन्छ। वन वा जङ्गलमा अनेक किसिमका रुखपात, झ्यास र झाडीहरू रहेका हुन्छन् । यो अनेक किसिमका जङ्गली जनावर, चराचुरुङ्गी र किराफट्याङ्ग्राहरूको वासस्थल पनि हो । स्याल, मृग, बाघ, गैंडा, हात्ती, घोरल, ब्वाँसो, खरायो, जराया, बनेल जस्ता जनावरहरूदेखि लिएर अजिङ्गर, सर्प, बिच्छी, माकुरो आदि पनि जङ्गलमै रहन्छन् । कोइली, चिबे, सारौं, धनेस, ढुकुर, लाटोकोसेरो, मुजुर, काग जस्ता अनेकानेक पन्छीहरू पनि जङ्गलमै रमाउँछन् ।

जङ्गल आफैमा प्राकृतिक सम्पदा हो । त्यसैले यसको विशेष महत्त्व त भइ नै हाल्छ । आजकल एकातिर विज्ञानको बोलवाला बढ्दै गइरहेको छ र अर्कोतिर विश्वमा दिनप्रतिदिन जनसङ्ख्या पनि दत गतिमा बढिरहेको छ । यसले गर्दा प्राकृतिक सम्पदाहरू दिनानुदिन लोप हुँदै वा घट्तै गइरहेका छन् । यसरी प्राकृतिक सम्पदाहरू विनाश हुँदै गएको सन्दर्भमा त जङ्गलको महत्त्व झन्झन् बढ्दै गइरहेको छ । एकातिर यो वन्यजन्तु तथा पन्छीहरूको साझा आश्रयस्थल हो, त्यसैले यस्ता पशुपन्छीहरूको संरक्षण र प्रवर्द्धनका लागि जङ्गलको छुट्टै र विशिष्ट महत्त्व रहेकै छ । अर्कोतिर हामी मान्छेका कतिपय दैनिक आवश्यकताहरू पनि वनजङ्गलसँग सोझै गाँसिएका हुन्छन् र हाम्रो विकासनिर्माणको कतिपय क्रियाकलापमा पनि जङगलको सोझो सम्बन्ध हुन्छ । त्यति मात्र नभएर वातावरणीय सन्तुलन कायम राख्ने काममा पनि वनजङ्गलको उत्तिकै महत्त्वपूर्ण भूमिका रहेको हुन्छ ।

नेपाल एउटा कृषिप्रधान देश हो त्यसैले यहाँका अधिकांश जनताहरू कृषिकर्ममा लागेका छन्। कृषिकर्ममा लाग्ने किसानहरूले गाईबस्तु पनि पालेका हुन्छन् । यस्ता गाईबस्तुका लागि घाँसपात चाहिन्छ र चरन पनि चाहिन्छ। जङ्गलबाट घाँसपात र स्याउला आदि प्राप्त गर्न सकिन्छ र जङ्गललाई चरनको लागि पनि उपयोग गर्न सकिन्छ । वनजङ्गल नै मानिसहरूले खाना पकाउन उपयोग गर्ने दाउराको स्रोत पनि हो। त्यति मात्र नभएर कतिपय कारखाना वा उद्योगहरूको सञ्चालनमा वनजङ्गलको प्रत्यक्षअप्रत्यक्ष सम्बन्ध हुन्छ । काठमिल र जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रहरू पूर्णरूपमा वनपैदावरमाथि निर्भर हुने उद्योग कारखानाहरूका उदाहरण हुन् । बाढी, पहिरो, खण्डवृष्टि, अल्पवृष्टि वा अतिवृष्टि आदि प्राकृतिक प्रकोपका उदाहरण हुन् । यस्ता प्राकृतिक प्रकोपहरू मानिसको नियन्त्रणभन्दा बाहिरका कुरा हुन् तैपनि त्यसबाट पर्नसक्ने क्षतिलाई कम गर्ने वा न्यूनीकरण गर्ने कार्यमा वनजङ्गलको ठूलो भूमिका हुन्छ ।

बढ्दो जनसङ्ख्या तथा वैज्ञानिक उन्नतिको कारण संसारबाट विभिन्न किसिमका जीवजन्तुहरू लोप हुँदै गइरहेका छन् । यसबाट उत्पन्न हुने वातावरणीय असन्तुलनको खतराबाट विश्वलाई जोगाउने काममा पनि जङ्गलको विशिष्ट भूमिका हुन्छ । यसदेखि बाहेक सम्पूर्ण प्राणीलाई सास फेर्न आवश्यक पर्ने अक्सिजनको मात्राको थपघट हुने कुरा पनि जङ्गलको स्थितिमा निर्भर हुन्छ। वनजङ्गल मासिँदै जाँदा सिंह, बाघ, हात्ती, गैडा जस्ता दुर्लभ तथा प्रकृतिका अत्यत्तम् सुन्दर रचनाहरूको अस्तित्वमाथि प्रश्नचिन्ह खडा हुन थालेको छ ।

जीवजन्तु मात्र नभएर वनस्पति जगत्का कयौँ प्रजातिहरू लुप्तप्राय भइसकेका छन् । यसले गर्दा वातावरणीय प्रदूषणको स्थिति भयावह बन्दै गइरहेको छ र मानिसहरू श्वासप्रश्वास तथा अन्य वातावरणीय समस्याबाट उत्पन्न हुने रोगका सिकार हँदै गइरहेका छन् । वनपैदावरमाथि निर्भर हुने उद्योग कलकारखानाहरू सङ्कटमा परेका छन्।

मानिसको कतिपय दैनिक उपभोग्य सामग्रीहरूको आपूर्तिमा समस्या आउन थालेको छ । बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपको घटना र त्यसबाट हुने धनजनको क्षति बर्सेनी बढ्दै गइरहेको छ । दिनप्रतिदिन बढ्दै जाने यस्ता समस्याहरूको कारण सिङ्गो मानवजातिको अस्तित्व नै सङ्कटमा पर्न थालेको छ। यसरी समस्त मानव तथा प्राणीजगत्को भलाइका लागि समर्पित जङ्गलको अत्यन्त ठूलो महत्त्व हुने भएकाले हामीले यसको संरक्षण र संवर्द्धनमा चासो बढाउनुपर्छ ।

 प्राकृतिक सम्पदा नाश गर्न सजिलो भए पनि नाश भएका सम्पदालाई फिर्ता ल्याउन अत्यन्तै कठिन हुने भएकाले बेलैमा सचेत भएर वनविनाश रोक्न कदम चाल्नुपर्दछ । पृथ्वी सबै प्राणीको साझा आश्रयस्थल भएकाले वन्यजन्तु तथा पन्छीहरूको आश्रयभमिलाई हामीले बिथोलिदिनुहुँदैन भन्ने बुझी जथाभाबी वनप्रवेश तथा वनविनाश गर्नुहुँदैन । यति मात्र गर्न सकेको खण्डमा पनि मानवजाति संसारकै श्रेष्ठ प्राणी हो भन्ने परिचय प्रस्तुत हुन्छ अन्यथा मानवजातिलाई श्रेष्ठ प्राणीको दर्जा दिनु आडम्बरी कार्य मात्र हुन जान्छ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login