- Home
- Show Content
१४५. पुष्प व्यवसाय
१४५. पुष्प व्यवसाय
१४५. पुष्प व्यवसाय
नेपाली समाजमा पुष्पको महत्त्व र प्रयोग दिनानुदिन बढ्दै गएको पाइन्छ। हिन्दू धर्मअनुसार सम्पन्न हुने यावत् धार्मिक कार्यहरूमा फूलहरू अत्यावश्यक मानिने चलन प्राचीन कालदेखि चल्दै आएको हो। कतिपय सामाजिक चाडपर्वहरूमा पनि फूल नभई हुँदैन। घर, कोठा, आँगन, बैठक, सभा, पार्टी, समारोह आदिमा पनि सजावटका लागि फूल नै चाहिन्छ। विवाह, ब्रतबन्ध, जन्मदिवस, पदोन्नति, आगमन तथा बिदाइका अवसरमा पुष्पगुच्छा उपहार दिने चलन वर्तमान समयमा व्यापक हुँदै गएको छ।
बिरामीलाई भेट्न जाँदा पनि उसका सु-स्वास्थ्यको कामनास्वरूपं फूलको गुच्छा उपहार दिने चलन क्रमशः बढ्दै गएको पाइन्छ। फूलको उपहारमा आत्मीयता झल्कने र स्नेहबन्धन कसिने अनुभूतिले प्रश्रय पाउँदै गएको हुँदा अब फूल स्नेह, विश्वास र आत्मीयताको प्रतिबिम्ब बनेको छ। हाम्रो देश नेपालको भौगोलिक अवस्था र हावापानी पुष्पव्यवसायका लागि निकै उपयुक्त रहेको मानिन्छ। कम आयश्रोत भएका किसानहरूले यस व्यवसायबाट प्रशस्त आर्थिक लाभ लिन सक्ने सम्भावना बढ्दै गएको छ।
नेपालका मौलिक किसिमका फूलहरू जस्तो सुनाखरी, गुराँस, सुनगाभा आदिको व्यावसायिक उत्पादन बढाउन निकै आवश्यक भएको छ किनभने हाम्रा यी जातिका फूलहरूलाई विदेशीहरूले निकै मन पराएका छन् । यस्ता मौलिक जातका फूलहरूको विकास गरी विदेश निकासी गर्न सकिने सम्भावना बढ्दै गएको छ। यसबाट विदेशी मुद्रा आर्जन हुने र व्यवसायीको आर्थिक हैसियत बढ्दै जाने कुरा निर्विवाद छ।
पुष्पव्यवसायलाई केही वर्षयता बढ्दै गएको पुष्पमेला तथा प्रदर्शनीले निकै सहयोग पुयाएको छ। यस्ता मेला र प्रदर्शनीहरू हरेक वर्ष आयोजना हुन थालेका छन् । यस व्यवसायमा लाग्नेहरूका लागि यो निकै खुसीको कुरा हो। यस्तो मेला र प्रदर्शनीहरूले नयाँ व्यवसायीहरूमा उत्साह बढाएको छ भने व्यावसायिक विकासलाई अझ आधुनिक पुष्पव्यवसायले पनि शिर उठाउन थालेको छ। वातावरणीय प्रदूषण हटाई स्वच्छता कायम गर्न, पर्यटन व्यवसायलाई संबर्द्धन गर्न र विदेशी मुद्रा आर्जन गर्न यो व्यवसाय निकै फलदायी सावित हुनेछ भन्ने कुरामा दुईमत हुन सक्तैन।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review