- Home
- Show Content
१४८. समाचारपत्र
१४८. समाचारपत्र
१४८. समाचारपत्र
हाल सालैको ताजा खबर, सन्देश वा सूचना छापिएको कागजलाई समाचारपत्र भनिन्छ । दैनिक जनजीवन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटना तथा विविध विषयवस्तुलाई समेटेर नियमित रूपमा प्रकाशन गरिने कागजपत्र नै खासमा समाचारपत्र हो । तत्काल घटेका घटनाहरूलाई पत्रपत्रिका अर्थात् समाचारपत्रको माध्यमबाट सार्वजनिक गरिन्छ । समाचारपत्रले संसारका जुनसुकै कुनाकन्दरामा घटेका घटनाहरूलाई सम्प्रेषण गर्ने कार्य गर्दछ।
समाचारपत्रलाई खबर तथा सूचना आदानप्रदान गर्ने माध्यमका रूपमा लिइन्छ। समाचारपत्रले मानिसलाई समसामयिक घटना, सूचना तथा विदेशसँग साक्षात्कार गराउँछ । नियमित खबर तथा सूचनासँग नजिक गराउने भएकाले समाचारपत्रलाई मानिसले आफ्नो साथीको रूपमा लिन्छन्। सूचना पाउनु मानिसको नैसर्गिक अधिकार हो । देशको कानुनले पनि सूचना पाउने अधिकारलाई सुनिश्चित गरेको हुन्छ । राज्यले आफ्नो नागरिकहरूलाई सूचना दिन प्राचीन कालदेखि नै विभिन्न तरिकाहरू अपनाउँदै आएको पाइन्छ ।
प्राचीन कालमा दमाहा बजाएर, झ्याली पिटेर तथा कर्नाल फुकेर सूचना दिइने गरिन्थयो। यति मात्र नभई परेवालाई उपयोग गरेर खबर आदानप्रदान गर्ने चलन पनि रहेको थियो। बिस्तारै लिपिको विकास हुन पुग्यो । यसको विकाससँगै भित्तामा टाँसेर सूचना दिने चलन पनि चलेको थियो । मुद्रणको थालनी भएपछि मात्र पत्रिकाको विकास भएको पाइन्छ । सरकारी सूचना प्रकाशन गर्न ‘गजेट' वा 'राजपत्र' तथा सैनिक सूचनाका बुलेटिन प्रकाशन गर्ने कार्यको विकाससँगसँगै समाचारपत्रको विकास भएको पाइन्छ । नेपालमा पनि सरकारी बुलेटिनको अवधारणा लिएर गोरखापत्रको प्रकाशन थालिएको मानिन्छ। गोरखापत्रको प्रकाशन भएपछि मात्र अन्य पत्रपत्रिकाहरूको विकास भएको हो।
नेपालमा दैनिक, हिक, पाक्षिक, मासिक, चौमासिक, अर्द्धवार्षिक तथा वार्षिक गरी सयौं पत्रपत्रिकाहरू प्रकाशित हुने छन् । गोरखापत्र, कान्तिपुर, नेपाल समाचारपत्र, नागरिक, नयाँ पत्रिका, राजधानी, अन्नपूर्ण पोस्ट, हिमालयन टाइम्स जस्ता प्रातःकालीन दैनिक पत्रिकाहरू नेपालमा सुप्रसिद्ध रहेका छन् । साप्ताहिक तथा पाक्षिक पत्रिकाले पनि ठूलो स्थान ओगटेका छन् । नेपालभित्र नेपाली मात्र नभई मैथिली, भोजपरी नेवारी अङ्ग्रेजी लगायतका भाषाका समाचारपत्रहरू छापिने गरेका छन्। समाचारपत्र सत्यतथ्य र निष्पक्ष हुनुपर्छ । एकतर्फी नभएर सकरकारका राम्रा कार्यको प्रशंसा तथा नराम्रा कार्यको आलोचना गर्ने पत्रपत्रिका मात्र जीवन्त बन्छन् ।
हरेक समाचारपत्रले मानवअधिकार, सुशासन, स्वतन्त्रता, समानता, राष्ट्रियता तथा कानुनीराजलाई केन्द्रमा राखेर कार्य गर्नुपर्दछ । पत्रपत्रिका अथात समाचार पत्रले ज्ञानविज्ञानका विभिन्न क्षेत्रलाई समेटेर पाठकलाई ज्ञान, सन्देश तथा मनोरञ्जन दिन सक्नुपर्छ । व्यापारिक दृष्टिबाट प्रेरित भएर भ्रामक समाचार छाप्ने पत्रपत्रिका खराब प्रवृत्तिका हुन्। जातीय गौरव तथा धार्मिक सहिष्णुतामा आँच आउने गरी पीत पत्रकारिता कसैले पनि गर्नुहुँदैन ।
राष्ट्रिय अखण्डतालाई अक्षुण्ण राख्न समाचारपत्रले उत्प्रेरित गर्नुपर्छ । प्रातः कालीन स्वच्छ हावा समान भएर पत्रकारिताको धर्म र मर्यादा पालन गरी स्वस्थ समाचार सम्प्रेषण गर्ने समाचारपत्र मात्र राष्ट्रको रक्षक हुन सक्छ । सत्ताको चाकरी गरी शक्तिको पूजा गर्ने पत्रिकाभन्दा जनताको आवाज सत्ताको कानमा सही ढङ्गबाट पुऱ्याउने पत्रिका नै वर्तमान युगमा प्रिय बन्छन्। राष्ट्र निर्माणमा समाचारपत्रले महत्त्वपूर्ण योगदान पुऱ्याउँछ । यसलाई अत्यन्त उपयोगी माध्यमको रूपमा लिइन्छ । कुनै सामान्य स्थानमा बसेर संसारका गतिविधिहरूका बारेमा समाचारपत्रबाट जानकारी पाउन सकिन्छ ।
आजको युगमा यसको महत्त्व अझ फराकिलो बन्दै हरेक विषयका बारेमा ज्ञानार्जन गर्न समाचारपत्र आवश्यक पर्दछ तसर्थ हरेक समाचारपत्रले आफ्नो साख बचाउन निष्पक्ष सत्यतथ्य तथा विश्वसनीय समाचार सम्प्रेषण गर्न जरुरी देखिन्छ । यसो भएको खण्डमा हरेक अखबार जीवन्त र भरपर्दो बन्न सक्तछ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review