- Home
- Show Content
१५६. मनकामना : एक आकर्षक पर्यटक गन्तव्य
१५६. मनकामना : एक आकर्षक पर्यटक गन्तव्य
१५६. मनकामना : एक आकर्षक पर्यटक गन्तव्य
नेपाल संसारकै सुन्दर देशहरुमध्ये एक हो । प्राकृतिक सुन्दरता, अनौठो भौगोलिक अवस्थिति, धरातलीय विविधता आदिले यस देशलाई सुन्दर बनाएको छ । समुद्र सतहबाट ६० मिटरको उचाइदेखि ८८४८ मिटरसम्मको उचाइ १५० मिटरको दूरीभित्र नै यहाँ पाउन सकिन्छ । यहाँ बाह्रै महिनामा, एकै पटक सबै खालको हावापानी पाइन्छ । यहाँका जैविक तथा पर्यावरणीय विविधताहरु पनि अद्वितीय खालका छन् । आकाश चुम्ने अनेकौँ हिमश्रृङ्खलाहरु र समुद्र छुने सयौँ नदीनालाहरुले आकाश र धर्तीबीच मितेरी लगाइदिएका छन् । नेपाल विचित्रता, विविधता र अनेकताभित्र एकता भएको देश हो । यही विशेषता नै पर्यटन व्यवसायको पूर्वाधार हो ।
पर्यटन, देशाटन तथा तीर्थाटनका रुपमा यहाँका हिन्दूमार्गीहरुले वैदिक कालदेखि नै पर्यटनलाई अँगालेको पाइन्छ । गोरखा जिल्ला ऐतिहासिक रुपमा प्रसिद्ध त छँदैछ, धार्मिक र सांस्कृतिक पर्यटनका लागि पनि यो उत्तिकै प्रसिद्ध छ । मनकामना, गोरखा दरबार, गोरखकाली, बाबा गोरखनाथ, मनास्लु संरक्षण क्षेत्र आदि यहाँका प्रमुख आकर्षणका केन्द्रहरु हुन् ।
यिनीहरुमध्ये मनकामना प्रसिद्ध धार्मिक पर्यटनको केन्द्र–बिन्दु हो । यो क्षेत्र १७औँ शताब्दीदेखि नै एउटा धार्मिक आस्थाको केन्द्र–बिन्दु बनेको छ । मनकामना माई नेपालभरि प्रसिद्ध छिन् । यिनको लोकप्रियता दक्षिण एसियामा विशेषतः भारतीयहरुमा बढ्दै गएको छ । मनकामना माईले भतmहरुको मनोकामना पूरा गर्दछिन् भन्ने जनविश्वास पाइन्छ ।
मनकामना क्षेत्रको भौगोलिक उचाइ समुद्र सहतबाट ९०० मिटरदेखि २५०० मिटरसम्म पाइन्छ । मनकामना मन्दिर १३१५ मिटर उचाइमा रहेको छ । मनकामनामा रहेका प्रमुख जातिहरुमा मगर, गुरूङ, नेवार, ब्राह्मण र अन्य छन् । यहाँ विभिन्न किसिमका गीत, संगीत र नृत्यहरु पाइन्छन् । जस्तैः रोदी, घाटु, लोक दोहोरी, सोरठी, भैलो, देउसी, चुड्का आदि ।
वक्रेश्वर महादेव र वक्रेश्वरी माईको मन्दिर मनकामना गा.वि.स. को वार्ड नं. १ मा पर्दछ । यो मन्दिर मनकामना माईको ३ किमी उत्तर दिशामा पर्दछ । उक्त मन्दिरमा वक्रेश्वर महादेव र वक्रेश्वरी माईका ठूला–ठूला शिला रहेका छन् । यसै थलोमा बाबा गुरू गोरखनाथले लखन थापालाई वरदान दिएको किंवदन्ती रहेको छ । तीजको पर्वमा यहाँ विशेष मेला लाग्दछ । कोही बालबालिकाको समयमै वाक्य नफुटेको अवस्थामा वक्रेश्वरी माईको पूजा–अर्चना गरी प्रसाद ग्रहण गराएमा वाक्य फुट्ने जनधारणा रहेको पाइन्छ ।
वक्रेश्वर महादेवको उत्तरपट्टि डाँडामा सिद्ध लखन थापाको गुफा छ । यो गुफामा उनी अलप भएकाले यसलाई सिद्ध गुफा भनिएको हो । गुफाको भित्र दुई ठूला दुलाहरु छन् । यहाँबाट गोरखाको गोरखनाथको गुफामा पुगिने जनविश्वास छ । यसको तथ्य त अनुसन्धानकै विषय बन्न पुगेको छ । यो गुफा समुद्र सतहबाट १५०० मिटरको उचाइमा रहेको छ ।
राजा रामशाह (वि.सं. १६७१–१६९३) की रानी मनकामना माईका रुपमा उत्पत्ति भएकी हुन् भन्ने जनविश्वास पाइन्छ । राजा रामशाहका सेवक लखन थापा दैवी शक्तियुक्त रानी लीलावतीका भक्त थिए । लखन थापा स्वयं सिद्ध पुरूष पनि थिए । राजा रामशाहको मृत्यु भएपछि रानी लीलावती आफू सती जानुअघि राजाको मृत्युले विह्वल भएका सिद्ध लखन थापालाई सान्त्वना दिँदै आफू सती गए पनि ७ महिनापछि “कफेक” गाउँमा शिलाका रुपमा अवतरित भई “मनकामना” भगवतीका रुपमा प्रकट हुने कुरा बताइन् । रानीले भनेअनुसारको समयमै कफेक गाउँको एउटा किसानले हलो जोत्दा जमिनमा हलोको फाली अड्कन गएको र उक्त स्थानमा खनी हेर्दा सो ठाउँमा शिला भेटिएको अनि उक्त शिलाबाट रगत पसिनासमेत आएको कथन छ । सो खबर लखन थापालाई पनि भयो । यसबारे लखन थापा र रानीबीच भएको वार्ताको अरु कसैलाई जानकारी थिएन । उनले यसअघि महालक्ष्मी देवी स्थापना गरी पूजाआजा गरेको स्थानमा नै तान्त्रिक विधिअनुसार उक्त शिलालाई देवीका रुपमा स्थापना गरे । हालको मन्दिर सोही स्थानमा अवस्थित भक्तहरुको मनोकामना पूरा गर्ने देवीका रुपमा यिनको प्रसिद्धि बढ्दै गएको छ ।
मनकामना मन्दिर ३–४ घन्टाको पैदल यात्राबाट अथवा केबुलकारबाट वा मोटर मार्गबाट घुम्न सकिन्छ । मनकामना धार्मिक आकर्षणको केन्द्र त छँदैछ, यसका अलावा यहाँका प्राकृतिक दृश्यहरुले पर्यटकहरुलाई थप रोमाञ्चकारी बनाउँदछन् । मनकामना परिसरबाट दक्षिणतर्फ छिम्केश्वरी तथा महाभारत पर्वत श्रृङ्खला, उत्तरतर्फ अन्नपूर्ण र मनास्लु, पूर्वतर्फ इच्छाकामनाको पहाड र पश्चिमतर्फ देउराली, मिरकोट थुम, लिलिग थुम आदि देख्न सकिन्छ ।
केबुलकार मनकामना क्षेत्रको पर्यटनका लागि थप आकर्षणको केन्द्र हो । यस क्षेत्रका हरेक गाउँहरु प्राकृतिक सुन्दरता, मौलिक परम्परा र सांस्कृतिक रुपमा धनी छन् । यिनीहरु पनि पर्यटकका आकर्षणहरु हुन् । गोरखकाली र देवघाट क्षेत्रको बीचमा मनकामना पर्दछ । भविष्यमा देवघाटदेखि गोरखासम्मको क्षेत्रलाई पर्यटन केन्द्रका रुपमा विकास गर्न सकिन्छ ।
मनकामना क्षेत्र मनमोहक क्षेत्र हो । यहाँ पर्यटन उत्पादनका प्रशस्त साधनहरु छन् । यहाँ धार्मिक पर्यटनका साथसाथै गाउँ पर्यटनको अवधारणालाई पनि विकास गर्न सकिन्छ । तर, यसका लागि उपयुक्त अनुसन्धान र प्रचारको खाँचो देखिन्छ ।
मनकामना केबुलकारबाट हजारौँ पर्यटकहरु मनकामना जान्छन्, तर तिनीहरुमध्ये अधिकांशले एक रात पनि यो क्षेत्रमा बिताउँदैनन् । त्यसैले, यो क्षेत्रका आर्थिक क्रियाकलापहरु जस्तैः होटल व्यवसाय, व्यापार, रोजगार आदि प्रभावित छन् । केबुलकारको विकासले आँबुखैरेनी–मनकामना पैदलमार्गमा चल्ने व्यवसायहरु धाराशायी भएका छन् । यसको विकासका लागि मनकामना क्षेत्रमा पार्कहरुको निर्माण, वक्रेश्वर महादेव मन्दिरको प्रचार, सुस्ता, सुलभ र सुविधायुक्त होटलहरुको व्यवस्था, धर्मशालाको व्यवस्था, मनकामना मन्दिरदेखि वक्रेश्वर महादेवको मन्दिरसम्म सडक निर्माण गरी साना सवारीहरुको व्यवस्था आदि गर्न सकिन्छ । थानडाँडामा भ्यू–टावरको विकास, प्याराग्लाइडिङको व्यवस्थाको विकास भएमा पर्यटकहरुको आकर्षण बढाउन सकिन्छ । पर्यटन पूर्वाधारहरुको थप विकास गर्नसके मनकामनामा यात्रुहरुको बसाइँ अवधि लम्ब्याउन सकिन्छ ।
नेपालमा विकासका अन्य पूर्वाधारहरु कमजोर छन् । पुँजीको अभाव, उन्नत प्रविधिको अभाव आदिको कारणले विकासका अन्य सम्भावनाहरु कमजोर देखिन्छन् । त्यसैले, नेपालमा मनकामनाजस्ता पर्यटकीय दृष्टिले उपयुक्त क्षेत्रहरुको छनोट गरी पर्यटन विकास गर्न सकेमा देशको विकासले गति लिन सक्ने देखिन्छ ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review