१५७. चार सहिदहरुको स्मरण

१५७. चार सहिदहरुको स्मरण

१५७. चार सहिदहरुको स्मरण

आफ्नो व्यक्तिगत स्वार्थलाई परित्याग गरेर देश, जनता र परिवर्तनका लागि आत्मोत्सर्ग गर्ने वीर व्यक्तिलाई सहिद भनिन्छ । सहिदहरुको योगदानस्वरुप नेपालमा प्रजातन्त्र आएको हो । उनीहरुले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो ज्यानको बलिदान दिएका छन् । नेपालमा १९०३ मा जङ्गबहादुर राणाले कोतपर्वमार्फत आफ्ना सम्पूर्ण विरोधीहरुलाई समाप्त पारी जहानियाँ व्यक्तिहरुले आवाज उठाए । जङ्गबहादुरको शासनविरूद्ध बोल्नेलाई फाँसीको सजाय सुनाइएको थियो, त्यसरी सहादत प्राप्त गर्ने विभिन्न सहिदहरु छन् ।


नेपालको प्रमुख र पहिलो सहिदका रुपमा लखन थापालाई लिइन्छ । इतिहासलाई अध्ययन गरेर हेर्ने हो भने दुईवटा लखन थापा भेटिन्छन् । लखन थापा प्रथम गोरखाका राजा राम शाहकी रानी मनकामना देवीका अवतार मानिने मनकामना देवीका अनुचर पुरूषार्थी सिद्ध पुरूष मानिन्छ । लखन थापा द्वितीयको जन्म वि.सं. १८९१ मा गोरखामा भएको थियो । यिनले लामो समयसम्म सैनिक जीवन बिताएका थिए । यिनले आपूmलाई लखन थापा प्रथमका अवतार घोषणा गरी अत्याचारी जङ्गबहादुरलाई मार्न मनकामना भगवतीबाट वरदान पाएको छु भन्दै केही अनुयायीहरु बटुली खुकुरी, भाला, बञ्चरो आदि शस्त्रले सुसज्जित भई एक ठूलो पल्टन खडा गरी जङ्गबहादुरविरूद्ध विद्रोह गरेका थिए । यिनको विद्रोह दमन गर्न जङ्गबहादुरका भाइ धीरशमशेरले ठूलो सैनिक कसरत गर्नु परेको थियो । यसरी केन्द्रबाट खटी गएको सरकारी फौजले लखन थापा, सन्त ज्ञानदिलदास, कालु लम्साल, अजिर सिंह अछामी मगरलाई पक्राउ गरी बाँसको पिँजडा र खोपीमा थुनेर काठमाडौँ चलान गरियो र उनका हातहतियार कब्जामा लिइयो । पछि यिनीहरुलाई पुनः गोर्खा नै पठाइयो । सन्त ज्ञानदिलदास साधु भएकाले र कालु लम्साल ब्राह्मण भएकाले मृत्युदण्डबाट बचे । उनीहरुलाई जेलमा नै राखियो भने लखन थापासहित ६ जनालाई मनकामना मन्दिरअगाडि फाँसी दिइयो । यिनका अन्य सहयोगीलाई समेत कठोर दण्ड दिइयो । लखन थापाले खुसीसाथ फाँसीको डोरी आफ्नो घाँटीमा राख्दै जङ्गबहादुर मेरो लासका साथ सती जानेछ भनी घोषणा गरेका थिए भन्ने भनाइ छ । गोर्खामा लखन थापालाई फाँसी दिएको दिनमा पत्थरघट्टामा जङ्गबहादुरको मृत्यु भएको थियो ।

जहानियाँ राणाशासन अन्त्य गर्ने प्रमुख भूमिका खेली सहादत प्राप्त गर्न सफल व्यक्तिमा चार सहिदहरुको मुख्य योगदान छ । प्रजातन्त्र प्राप्तिका लागि माघ १० गते सहादत प्राप्त गर्ने प्रमुख व्यक्ति शुक्रराज शास्त्री हुन् । भारतमा बसी संस्कृतमा शास्त्री उत्तीर्ण गरेका उनलाई काठमाडौँको इन्द्रचोकमा धार्मिक प्रवचन दिँदा जनचेतना जगाउने भाषण गरेको भनी प्रवचन मण्डपबाट नै पक्राउ गरी ६ वर्षको कठोर जेलसजाय दिइयो । जेलमा यिनीविरूद्ध राजकाज र राजद्रोह गरेको अभियोगमा टेकु पचलीमा खरीको बोटमा झुन्ड्याई मृत्युदण्ड दिइयो । यिनका पिता माधवराज जोशीले छोराको फाँसीमा झुन्डिइरहेको लासलाई हेरेर “स्याबास छोरा ! तँ धन्य छस् । तैँले बाबुआमाको मात्र होइन देशकै गौरव बढाएको छस, छोरा हुनु त तैँजस्तो हुनू” भनी आफ्नो श्रद्धाञ्जली प्रकट गरेका थिए ।


नेपाल आमाकी अर्का सपूतका रुपमा धर्मभक्त माथेमा पनि हुन् । वि.सं. १९६५ मा जन्मेका उनी पितासँगै प्रवासमा रहँदा व्यायाम र शारीरिक संगठनको शिक्षाबाट बंगाल च्याम्पियन बन्ने गौरव पाएका थिए । काठमाडौँमा घोडेजात्राका दिन आफ्नै व्यायाम कौशलद्वारा सबै दर्शकहरुलाई चकित पारेका थिए । यिनी श्री ५ त्रिभुवनका समेत व्यायाम शिक्षक नियुक्त भएका थिए । श्री ५ त्रिभुवन र राष्ट्रविरोधीहरुको सम्पर्क बढाउने काम गरेको र आफूसमेत राजद्रोहको काममा लागेको अभियोगमा मुद्दा चलाई मृत्युदण्डको घोषणा गरियो । उनलाई वि.सं. १९९७ माघ १२ मध्यरातमा सिफलमा झुन्ड्याई मृत्युदण्ड दिइएको थियो ।


राणाशासन अन्त्य गर्ने अर्को व्यक्ति हुन्, गंगालाल श्रेष्ठ । उनको जन्म वि.सं. १९७५ मा रामेछाप जिल्लामा भएको थियो । प्रवासमा रहँदा भारतीय स्वतन्त्रता संग्राममा सहभागी भएका थिए, उनी । पछि यिनी नेपाल आई महावीर इन्स्टिच्युटमा सरिक भई राणाविरोधी क्रियाकलापमा लाग्न थाले । यिनी दशरथ चन्द्रको सामीप्यमा रही राणाशासनको अन्त्य गरी नेपालमा प्रजातन्त्र स्थापनार्थ सक्रिय भएर लाग्न थाले । यिनले असन र इन्द्रचोकका सभाहरुमा नागरिक हकअधिकारसम्बन्धी जोडदार भाषण गरेका थिए । यिनी राणाविरूद्ध प्रचाबाजी गर्दा पक्राउमा परे । जेलमा यिनलाई मरणासन्न हुनेगरी पिट्दा पनि “राणाशासन मुर्दावाद” भनी नारा लगाएका थिए । वि.सं. १९९७ माघ १४ गते मध्यरातमा शोभा भगवतीमा विष्णुमती र माचाकुसीको दोभानमा रहेको एक बोटमा दशरथ चन्दसँगै बाँधेर पटकपटक गोली हानेर निकै दुःखकष्ट दिई मृत्युदण्ड दिइएको थियो ।


२००७ सालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो ज्यानको बलिदान दिने अर्का सहिद हुन्, दशरथ चन्द । उनको जन्म वि.सं. १९६० मा बैतडीमा भएको थियो । भारतमा चलेको स्वतन्त्रताको आन्दोलनबाट प्रभावित भई राणाशासनको पतन गराउन विद्यार्थीहरुलाई उत्प्रेरित गरेका थिए । तसर्थ, गंगालालसँगै दशरथ चन्दलाई पक्राउ गरी राजद्रोहको आरोप लगाई विष्णुमती र माचाकोसीको दोभान शोभा भगवतीमा गंगालालसँगै एउटै रुखमा बाँधेर कष्टपूर्ण तरिकाले वि.सं. १९९७ माघ १४ गते मध्यरातमा गोली ठोकेर मृत्युदण्ड दिएको थियो ।


राष्ट्रमा प्रजातन्त्र, स्वतन्त्रता, स्वाधीनता र समानताका लागि अन्धकाररुपी १०४ वर्षसम्म चलेको निरूङ्कुश अन्धकाररुपी क्रूर शासन व्यवस्था फालेर उज्यालोरुपी प्रजातान्त्रिक व्यवस्था ल्याउन यिनै ४ सहिदहरुले ठूलो त्याग र वलिदान दिएका छन् । यिनको कार्यलाई सबैले सम्मान गरौँ र उनको सपना साकार पार्ने दिशामा हामी सबै अघि बढौँ । नेपाल आमाले यस्तै महान् सन्ततिलाई फेरि–फेरि जन्म दिऊन् । देशमा प्रजातन्त्र अमर रहोस् ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login