नेपाली भाषा

नेपाली भाषा

नेपाली भाषा

नेपाली भाषा नेपालका अधिकांश मानिसहरूले बोल्ने र बुझ्ने भाषा भएकाले यस भाषाका माध्यमबाट नेपालीहरूबिच एकता, भ्रातृत्व र भाइचाराको सम्बन्ध कायम गर्ने माध्यम बन्न गएको छ । नेपाली भाषा कथ्य रूपमा प्राचीनकालदेखि बोलिँदै आएको र यसको उत्पत्ति एघारौं शताब्दीमा भएको मानिन्छ । नेपाली भाषा संस्कृत भाषाबाट जन्मेको हो । संस्कृत भाषाबाट प्राकृत र अपभ्रंश हुँदै नेपाली भाषाले आधुनिक रूप लिएको हो । संस्कृतबाट विकसित अन्य आधुनिक भाषाहरूजस्तै एक आधुनिक आर्य भाषाका रूपमा नेपालीलाई पनि लिइन्छ ।

 

नेपाली भाषा संसारका नैसर्गिक वा प्राकृतिक भाषाहरूमध्ये एक हो । यो कुनै कृत्रिम भाषा होइन । यसको आफ्नो मौलिक स्वरूप छ । यसको आफ्नो इतिहास र सुदीर्घ परम्परा छ । यसका आफ्ना संरचनागत विशेषताहरू छन् । नेपालभित्र र बाहिर ठूलो सङ्ख्यामा यसका वक्ताहरू छन् । कथ्य र लेख्य अनि औपचारिक र अनौपचारिक सबै प्रकारका भाषिक अभिव्यक्ति यसका माध्यमबाट हुँदै आएका छन् । नेपालको एक प्रमुख राष्ट्रभाषाका रूपमा रहेको यस भाषाका विभिन्न क्षेत्रीय, सामाजिक र प्रयोजनपरक भेदहरू रहेका छन् । यी सबैका आलोकमा यसको मौलिक स्वरूपलाई ठम्याउन सकिन्छ ।

नेपाली भाषा नेपालको सम्पर्क भाषा तथा भारत, भुटान र म्यानमारको केही भागमा मातृभाषाको रूपमा बोलिने भाषा हो। यो भाषा भारोपेली भाषा परिवार समूहमा पर्दछ। यो भाषा नेपाल र भारतको आधिकारिक (सरकारी कामकाजको) भाषा पनि हो। नेपालका करिब आधा जनसङ्ख्याले आफ्नो मातृभाषाको रूपमा यो भाषा बोल्ने गर्दछन्। देवनागरी लिपिमा लेखिने यो भाषामा २ किसिमका वर्णमाला छन्। स्वरवर्णमा १२ र व्यञ्जनवर्णमा ३६ वटा वर्णहरू रहेका छन्। अक्षरको लेखन र उच्चारण एउटै हुने यो भाषा सिक्न निकै सजिलो भएका कारण यसको लोकप्रियता बढेको हो।

नेपाली भाषा विभिन्न समयमा विभिन्न नामले चिनिन्थ्यो; जस्तैखस कुरा, पर्वते भाषा तथा गोर्खाली भाषा आदि। यी मध्ये खस कुरा सबैभन्दा पुरानो नाम हो। खस जातिहरूले बोल्ने भाषा भएको हुनाले यसलाई खस भाषा भनिएको हो। यो भाषा पश्चिम नेपालको कर्णाली क्षेत्रमा विकसित भएर पूर्वतर्फ फैलदै गएको हो। खस कुरा पश्चिम नेपालको मगर जातिले बोल्ने भाषा खाम कुरा सँगै विकसित भएर अगाडि बढेको मानिन्छ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login