इकाई ठीक कि एकाइ ?

इकाई ठीक कि एकाइ ?

नेपालमा सङ्घीय व्यवस्थाको कार्यान्वयन गर्दै जाने सन्दर्भमा धेरैजसो जिल्ला कार्यालयहरूको नाम फेरिएको छ । त्यसै सिलसिलामा साबिकका जिल्ला शिक्षा कार्यालयहरू‘शिक्षा विकास तथा समन्वय इकाइ’ मा परिणत भएका छन् । यसरी परिवर्तित कार्यालयहरूको अन्तमा उल्लेख गरिएको ‘इकाइ’ शब्दको प्रयोगमा पनि एकरूपता पाइँदैन । धेरैजसो कार्यालयहरूले ‘इकाइ’ लेखेका छन् भनेकेही कार्यालयले ‘इकाई’ लेखेको पनि भेटिन्छ । लेटर प्याडमा ‘इकाइ’ लेख्ने कार्यालयले पनि हस्ताक्षर गर्ने कार्यालय प्रमुखको स्टाम्पमा ‘इकाई प्रमुख’ उल्लेख गरिएको देखिन्छ भने इकाइ प्रमुखको परिचय राखिएका बेभ साइटहरूमा पनि धेरैजसो कार्यालयले ‘इकाई प्रमुख’ लेख्न रुचाएका छन् ।

जिल्लाभित्र सञ्चालित विश्वविद्यालयसँग सम्बद्धबाहेकका सबैजसो शैक्षिक संस्थाहरूलाई नियमन र समन्वय गर्ने कार्यालयकै साइनबोर्ड, लेटरप्याड, स्टाम्प र प्रमुखको परिचयात्मक विवरण (प्रोफाइल) मा एउटै लेखिनुपर्ने ‘इकाइ; र ‘इकाई’ शब्दका बीचमा नियमन र समन्वय हुन नसकेको देख्ता नेपाली भाषामा चासो राख्ने सेवाग्राहीहरू अन्योलमा पर्नु अस्वाभाविक होइन । शैक्षिक नेतृत्व सम्हाल्ने जिल्लाकै कार्यालयबाट समान अर्थ दिने एउटै शब्दलाई यसरी दोहोरो तरिकाले प्रयोग गर्दै जाँदा त्यसको असर जिल्लास्थित सम्पूर्ण विद्यालय र तिनमा पठनपाठन गर्ने शिक्षक वर्गमा एवम् विद्यार्थी वर्गमा समेत अन्योल हुँदै जान्छ भन्ने कुरामा हालसम्म नेपालका कुनै पनि जिल्ला शिक्षा तथा समन्वय एकाइको ध्यान जान सकेको देखिँदैन ।

‘इकाइ’ वा ‘इकाई’ शब्दले नेपाल प्रज्ञा प्रतिष्ठानको ‘नेपाली बृहत् शब्दकोश’मा हालसम्म प्रविष्टि पाएको देखिँदैन र अन्य नेपाली शब्दकोशहरू पनि यसबारे मौन नै रहेका छन् । नेपाली शब्दकोशहरूलेस्थान नदिए पनि नेपालका विभिन्न संघसंस्था र लेखनमा समेत ‘इकाई’ शब्दको प्रयोग असावधानीपूर्वक हुँदै आएको धेरै वर्ष भइसक्यो । नेपालका विभिन्न विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा गठित प्राध्यापक संघले अभैm पनि ‘इकाई समिति’ लेख्न रुचाउँदै आएका छन् भने त्यसकै सिको गरेर कर्मचारी र विद्यार्थीका संघसङ्गठनले समेत ‘इकाई समिति’ लेख्न छाडेका छैनन् ।

‘हिन्दी शब्दसागर’ (शब्दकोश)का अनुसार हिन्दीमा ‘इक’ शब्दले एक भन्ने बुझाउँछ र ‘इकाई’ शब्दले एकको मान वा भावलाई बताउँछ । विशेषतः भारतीय शिक्षण संस्थाहरूमा अध्ययन गरेर नेपालका शैक्षिक तथा प्रशासनिक निकायमा काम गर्ने उच्च पदस्थ व्यक्तिहरूले ‘एकाइ’ शब्दलाई भन्दा ‘इकाई’ शब्दलाई बढ्ता सुने र प्रयोग भएको पनि देखे होलान् । फलस्वरूप ‘एकाइ’ शब्दको सट्टा ‘इकाई’ शब्दको प्रयोगले बढ्ता प्रश्रय पाउँदै गएको हुनुपर्छ । जुन शब्द धेरै सुनियो र प्रयोग भएको देखियो त्यही शब्दलाई शुद्ध ठानेर प्रयोग गर्न अग्रसर हुनु अस्वाभाविक पनि होइन तर ‘इकाई’ शब्दको सट्टाआप्mनै नेपाली भाषामा मौलिक ‘एकाइ’ शब्द छ भनेर ध्यानाकर्षण गराइदिने व्यक्ति पनि नदेखिएकाले नेपालीमा ‘एकाइ’को सट्टा ‘इकाई’ शब्दको प्रयोग हुन गएको हो ।

‘नेपाली बृहत् शब्दकोश’ (२०४०, पृ. १६८) ले पहिलो संस्करणदेखि हालसम्म ‘एकाइ’ शब्दलाई प्रविष्टि दिँदै आएको छ । उक्त शब्दकोशले ‘एकाइ’ शब्दका मुख्यतः दुई अर्थ दिएको छ: “१. सङ्ख्या वा गन्तीमा एक हुनाको भाव वा अवस्था र २. कुनै राशिलाई साना–साना अंशमा बाँड्दा बनेको वा समूहभित्र रहेको एउटा सानो तर पूर्ण खण्ड ।” नेपालका शिक्षा विकासतथा समन्वय एकाइ कार्यालयहरू र संघसङ्गठनका एकाइलाई अथ्र्याउन दोस्रो अर्थ सान्दर्भिक देखिन्छ ।

हिन्दीमा भाववाचक ‘आई’ प्रत्यय दीर्घ हुन्छ तर नेपालीमा भाववाचक ‘आइ’ प्रत्यय ह्रस्व हुन्छ । त्यसैले ‘इकाई’लाई ‘इकाइ’ लेख्न खोजिए पनि ‘इकाई’ वा ‘इकाइ’का तुलनामा ‘एकाइ’ शब्द नै मौलिक रहेको हुँदा ‘इकाई’ वा ‘इकाइ’ शब्दको सट्टा ‘एकाइ’ शब्दको प्रयोग गर्नु उपयुक्त देखिन्छ । त्यसैगरी ‘बधाई शब्द पनि हिन्दीकै प्रभावमा अन्तमा दीर्घ लेखिएकाले नेपालीमा ह्रस्व ‘आइ’ प्रत्ययको अस्तित्वलाई स्वीकार गरी ‘बधाइ’ शब्द पनि ह्रस्व प्रयोग गर्नु युक्तिसङ्गत देखिन्छ ।

डा. मतिप्रसाद ढकाल (सहप्राध्यापक, नेपाल संस्कृत विश्वविद्यालय)

 



  • Reviews (1)
  • kpsharma
  • 4 Years, 3 Weeks ago

Only rated.

Leave a review

To leave a review, please login to your account. Login