१५८.शिक्षामा लगानी, समृद्धिको थालनी

१५८.शिक्षामा लगानी, समृद्धिको थालनी

१५८.शिक्षामा लगानी, समृद्धिको थालनी

 
शिक्षालाई पूर्वाधारहरुको पनि पूर्वाधार भनिन्छ ।जब शिक्षा क्षेत्रमा उच्च प्राथमिकता दिएर लगानी गरिन्छ तब प्रत्येक घरभित्र उज्यालो किरण प्रवेश गराउन सकिन्छ। चेतनाको विकास नै समुन्नत समाजको आधारशिला हो र चेतनाको मुहान शिक्षा हो । शिक्षाले मानव मस्तिष्कलाई उजिल्याउने काम गर्ने मात्रै होइन उत्पादनशीलताको बीउ पनि छर्ने गर्छ । मानवको नैतिक आचरण र असल व्यवहारको धरहरा त्यही शिक्षाको जगबाट मात्रै ठड्याउन सक्दछ । मानिसलाई मेहनती परिश्रमी र आत्मनिर्भरताको बाटो देखाउने मूलमार्ग नै शिक्षा हो ।

नेपालको वर्तमान शिक्षाले यी यावत विषयलाई सम्बोधन गर्न सकिरहेको छ वा छैन भन्ने विषयमा बहस गर्न सकिन्छ । हामी कहाँ चुक्यौ र किन सोचे अनुसारका परिणामहरू प्राप्त भएनन् भन्ने कुरामा बृहत् छलफल गर्न जरुरी छ तर पद्घति र प्रणालीगत त्रुटिलाई कारण देखाएर शिक्षाको गरिमा र महत्वलाई नजरअन्दाज गरेर यसको विकास र बिस्तारमा ध्यान नदिनु पश्चगामी सोच हो, समाजमाथिको अन्याय हो र नागरिकको नैसर्गिक अधिकार हननको चरमोत्कर्ष हो ।

हाम्रो समाजमा मध्यम बर्ग र विपत्र वर्गका मानिसहरूको बाहुल्यता रहेको छ । उनीहरू दैनिक गुजारा चलाउन र हातमुख जोर्ने उपायहरूको खोजीमा भौँतारिनु उनीहरूको दैनिकी हो जसको कारण उनीहरू आफ्ना सन्तानहरू शिक्षादीक्षा, पौष्टिक भरणपोषण र आधुनिक विश्वसँग अनुकुलित हुने आवश्यकता पहिचान गर्न सक्तैनन् सक्नेहरूसंग पनि आर्थिक क्षमता छैन जसका कारण कयौँ स्टेफन हकिङ्गहरु सडकमै सकिएका छन भने कयौँ भानुभक्त, देवकोटा, महावीर पुन, अब्राहम लिङ्कन र नेल्सन मन्डेलाहरु धुलोको कणसँगै माटोमा समाधिस्थ भैरहेका छन् । जबसम्म मानव संसाधनको विकासको आधार शिक्षा हो भन्ने हेक्का नीति निर्माताको मानसपटलमा भरिदैन तबसम्म समृद्धिको सपना बालुवाको पुल जस्तो हुन्छ तासको सुन्दर महलको परिकल्पना मात्रै हुन्छ ।
 
मानिसमा भएको अन्तरनिहित क्षमताको पहिचान गर्ने र त्यसलाई जीवन्त बनाउन सहयोग गर्ने शिक्षा नै हो । शिक्षाले नै मानिसलाई सङ्घर्षशील बनाउन, अवसरको पहिचान गर्न, क्षमता विकास गर्न, लगनशील बनाउन प्रेरित गर्ने गर्दछ । अझ एक वाक्यमा भन्ने हो भने मानिसको सर्वाङ्गीण विकासको आधार शिक्षा हो । तसर्थ अहिले स्थानीय सरकारहरूको बजेट निर्माणको समय भएको र तल्लिन रहेको परिवेश भएकोले विकासको पहिलो खुट्किला हाल्ने हो भने प्रत्येक झुपडीभित्र रहेको अबोध बालबालिकाको सुन्दर भविष्य निर्माण गर्ने शैक्षिक नीति तथा कार्यक्रम तय गरि अधिकतम लगानीको लागि मन फुकाउन सक्नुपर्दछ ।

बद्री कार्की, स. प्र .अ. महेन्द्ररत्न मा बि कमल-२



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login