- Home
- Show Content
वैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्दाका चुनौतीहरु
वैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्दाका चुनौतीहरु
-
अनलाइन, रेडियो तथा टेलिभिजनका कक्षाहरुमा अभिभावकहरुको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । यही कारणले पनि हुनसक्छ निर्देशिकामा पनि अभिभावकहरुको भूमिकालाई सम्बोधन गरिएको छ । निर्देशिकाको दफा १४ मा प्रदेशको भूमिका अन्तर्गत् "प्रदेशको शिक्षा तालिम केन्द्र मार्फत् शिक्षक अभिभावकका लागि घरायसी विद्यालय ( होम स्कुलिङ्) कार्यक्रम सञ्चालन गर्ने , गराउने" भनिएको छ । तर, यसअनुसार भएको छ त? यही प्रश्न नै चुनौतीपूर्ण छ । शिक्षाको बारेमा चिन्ता र चासो लिइरहँदा बालबालिकाको पहिलो पाठशालामा सिकाउने पहिलो गुरु "अभिभावक" लाई पनि शिक्षा दिनुपर्छ भन्ने सोच हामीले कहिल्यै पनि राख्न सकेनौँ । काम गर्न सकेनौँ । अभिभावक शिक्षाको अभावमा यो कार्यक्रम सफल होला र ?
-
कतिपय विद्यार्थीको घरमा रेडियो, टेलिभिजन पनि छैनन् । रेडियो बज्ने मोवाइलबाट सुनौँ न त भने पनि मोवाइल अभिभावकहरुले आफूसँगै काममा लिएर जाने हुँदा रेडियो कक्षाबाट बञ्चित हुनुपरेको गुनासो बालबालिकाहरुबाट सुनिएको छ ।
-
अभिभावकहरुले बालबालिकालाई समय नदिनु, रेडियो तथा टेलिभिजनबाट कक्षा भैरहेको छ भन्ने कुरा विद्यार्थी र अभिभावकहरुलाई जानकारी नै नहुनु, रेडियो तथा टेलिभिजनबाट भैरहेका कक्षाहरुको समयतालिकाबारे अभिभावकले आफ्ना बालबालिकालाई सचेत नगराउनु, आवश्यक सामाग्रीहरुको व्यवस्था नगरिदिनु जस्ता कुराहरुले पनि अरू चुनौती थपिदिएका छन् ।
-
विद्यार्थीहरु स्वभावैले चञ्चल खालका हुन्छन् । कक्षाकोठामा त उनीहरुको ध्यान खिच्न गाह्रो हुन्छ । अनलाइन, रेडियो, टेलिभिजनको एकतर्फी शिक्षणबाट उनीहरुको ध्यान पढाइमा कति जाला ? उनीहरुलाई अनलाइन, रेडियो टेलिभिजनसँगै बस्ने बनाउनु नै चुनौतीपूर्ण छ ।
-
संयोगले सरकारले लकडाउन खुकुलो बनाउने अनि वैकल्पिक विधिबाट सिकाइ सहजीकरण गर्ने दिन लगभग सँगसँगै जस्तो भयो । लकडाउन खुकुलो भएसँगै अभिभावकहरु आ आफ्नो काम, जागिर तथा व्यापार , व्यवसायमा लागे भने विद्यार्थीहरु अभिभावकविना घरमै । बालबालिकाको अनुगमन तथा निगरानी गर्ने, पढाइमा सहयोग गर्ने कोही नहुँदा रेडियो कक्षाको प्रभावकारिता हामीले सोचेजस्तो नभएको अनुमान लगाउन सकिन्छ ।
-
निर्देशिकाले स्वयंसेवकको परिकल्पना गरेको छ । र स्वयंसेवक भन्नाले "विद्यार्थीको सिकाइलाई सहजीकरण गर्ने कार्यमा समुदायमा रही स्वेच्छिक रुपमा योगदान गर्ने स्थानीय तह वा विद्यालयले तोकेको व्यक्ति हो । तर, लेखकको जानकारीमा स्थानीय तह र विद्यालयहरुले यस्तो व्यवस्था गर्न सकेका छैनन् ।
-
विभिन्न राजनीतिक दलसँग आस्था राख्ने एवम् स्वतन्त्र रुपमा स्थापना भएका शिक्षककसँग सम्बन्धित विभिन्न नामका २ दर्जनभन्दा बढी संघ, संगठन, समिति तथा समाज छन् । तिनीहरूले शिक्षकको पेशागत विकास तथा सूचना, प्रविधि सम्बन्धी तालिमहरु सञ्चालन गरिरहेका त छन्। तर, यी यस्ता तालिमहरु शिक्षकमुखी बढी अनि विद्यार्थीमुखी कम भएको हो कि भन्ने पनि सुनिन थालेको छ । दु:खका साथ भन्नुपर्छ अनलाइन तालिममा सरकारले अघि सारेको वैकल्पिक विधिलाई कसरी प्रभावकारी बनाउने सम्बन्धी खासै चासो र छलफल देखिन्न । अनलाइन तालिममा पनि आसन ग्रहण, आफ्नै अनि आफूसम्बद्ध राजनीतिक दलका नेताहरुको भाषण समावेश गर्नुपर्छ र ? त्यो समय सरकारको कार्यक्रममा बहस गरी उपाय सुझाउन सकिन्न र ? त्यो पनि पेशागत धर्म हैन र ?
facebook :


- Reviews (0)
Nothing Found...Leave a review