- Home
- Show Content
दुई मितको कथा -पाठ १ (Note )
दुई मितको कथा -पाठ १ (Note )
सप्रसङ्ग व्याख्या गर्नुहोस् :
प्रश्नः मेरा प्यारा मित, त्यसरी मर्नुभन्दा अगाडि नै खुट्टा तान्न तपाईं जस्ता वीरलाई सुहाउँदैन।(पृष्ठ ५, अनुच्छेद ३७ को उद्धरण)
मेरा प्यारा मित................. सुहाउँदैन।
' प्रस्तुत गद्यांश कक्षा ९ को नेपाली पाठ्यपुस्तकअन्तर्गत पर्ने ‘दुई मितको कथा' लोककथाबाट साभार गरिएको हो । यस कथाका रचयिता यस पाठ्यपुस्तकका लेखक/सम्पादक नै हुन् । बाँच्ने आशा मारिसकेको कर्णकान्तलाई हिम्मत जुटाइदिने सन्दर्भमा माथिको भनाइ नेत्रलालमार्फत् आएको हो । माथिको कथांशले मर्नुभन्दा अगाडि नै खुट्टा तान्नहुँदैन भन्ने सन्देश मितलाई प्रवाह गरेको छ।
जन्म र मृत्यु प्रकृतिको नियम हो । प्राण वा ज्यान भएका सबैले बाँचुन्जेल दुःख र सुखको अनुभव गरिरहन्छन् । आपतविपतको सामना हरेकले गर्नैपर्छ । यस कथामा पनि कर्णकान्तले एक्कासि आपतविपतको सामना गर्नुपर्यो । आफ्ना मितसंग बिदावारी भई आहारको खोजीमा निस्किएका बेला कर्णकान्त राक्षसहरूको घेराबन्दीमा पर्यो। मितलाई भेटेर अन्तिम बिदा मागी घर फर्किने जुक्ती कर्णकान्तले निकाले पनि समस्याबाट पार पाउने उपाय उसले देखेन । उसले बाटामा भेटिएका जरायो र अर्नाबाट पनि कनै समाधान पाएन । कर्णकान्त झन निराश हुँदै गयो । उसको दयनीय स्थिति देखेर नेत्रलाललाई असाध्यै माया लाग्यो । उसले मितलाई हिम्मत नहार्न भन्यो । त्यसैले सास रहुन्जेल आश हुन्छ, समय छदै उपायको खोजी गर्नुपर्छ भन्ने सोचेर नै नेत्रलालले तपाईं जस्ता वीरले हिम्मत हारेर मर्नुभन्दा अगाडि नै खुट्टा छोड्नुहुन्न भन्ने सल्लाह दिएको छ।
दुःख र विपत्को सामना धैर्य राखेर गर्नुपर्ने विचार माथिको कथांशमा नेत्रलालले व्यक्त गरेको छ । त्यसैले मानवेत्तर पात्रले मात्र होइन, हामीले पनि मर्नुभन्दा अगाडि खुट्टा तान्न हुँदैन।
घटनाहरूको क्रम (पेज न. ४ ,अभ्यास ४ )
१. (ख) कर्णकान्त र नेत्रलाल असाध्यै मिल्ने मित हुनु
२.(च) दुई मितलाई ठुलो आपत् आइलाग्नु
३.(ग) कर्णकान्तको भेट राक्षससित हुनु
४. (ज) राक्षसले कर्णकान्तलाई खान्छु भन्नु
५. (घ) कर्णकान्तले नेत्रलाललाई सबै कुरा भन्नु
६. (झ) कर्णकान्त र नेत्रलाल राक्षसकहाँ जानु
७. (छ) नेत्रलालले राक्षसलाई राजकुमारीसित बिहे गर्छ भन्नु
८.(क) नेत्रलालले जुक्ति लगाई कर्णकान्तको ज्यान जोगाउनु
९.(ङ) राक्षसहरू निल्ल हुनु
तार्किक प्रश्न
प्रश्न : लाटोकोसेरो र हात्तीमा तपाईंलाई कुन चलाख जस्तो लाग्यो ? तर्क दिएर लेख्नुहोस्।(लेखाइ, प्र. नं. ७)
नमुना उत्तर: दुई मितको कथा' कक्षा ९ को पाठ्यपुस्तकभित्र सङ्गृहीत लोककथा हो । यस कथाका मख्य पात्र लाटोकोसेरो र हात्ती नै प्रेम र सद्भावको सम्बन्ध भएका असल मित्र हुन् । यी दुवै सुखमा मात्र होइनन्, दुःखमा पनि एक अर्काका सहारा बनेका छन् । यस कथामा मितकै मायाका कारण लाटोकोसेरोलाई भेटने जक्ती निकालेर हात्ती राक्षसहरूको बिचबाट फर्किएको छ । यता बाँच्नै आशा मरिसकेको मितलाई मर्नुभन्दा अगाडि खुट्टा तान्नहुँदैन भनेर सम्झाउने काम लाटोकोसेरोले गरेको छ । म पनि सँगै जान्छु, तिनीहरूले तपाईंलाई खान पाउँदैनन् भन्ने विश्वास पनि लाटोकोसेरोले दिलाएको छ । यस घटनाले हात्तीभन्दा लाटोकोसेरो नै बढी चलाख भएको प्रस्ट हुन्छ।
यसरी नै लाटोकोसेरोले पनि मितलाई राक्षसहरूबाट जोगाउनका लागि सपनामा राजकुमारीसँग बिहे भएको तर्क राख्दै सपनामा देखेको कुरो बिपनामा पाइँदैन भन्ने पुष्टि पनि गरिदिएको छ । कथामा वर्णित यी घटना शृङ्खलालाई आधार मान्ने हो भने मलाई हात्तीको तुलनामा लाटोकोसेरो बढी चलाख जस्तो लाग्यो।
विवेचनात्मक उत्तर
प्रश्न : तलको कथांश पढी सोधिएको प्रश्नको विवेचनात्मक उत्तर दिनुहोस् :
नेत्रलाल के मान्थ्यो ? उसले भन्यो, “एक त तिनले तपाईंलाई नै पनि खान पाउँदैनन् र तपाईंलाई खान नपाएपछि मलाई खाने कुरै उठ्तैन । लौ, तिनले तपाईंलाई खान पाएछन् रे । तपाईंलाई त्यसरी खाइसकेपछि मैले यस संसारमा किन बाँचिरहने ? बाँच्यौं भने दुवै बाँचौंला, मौं भने पनि सँगसँगै दुवै मरौंला।"
प्रश्नः अ) असल मित्रले निर्वाह गर्नुपर्ने कर्तव्यलाई ‘दुई मितको कथा' मा कसरी प्रस्तुत गरिएको छ ? विवेचना गर्नुहोस्।
डा. सुधा त्रिपाठी र अन्यद्वारा लेखन तथा सम्पादन गरिएको 'दुई मितको कथा' एउटा लोककथा हो । कर्णकान्त र नेत्रलाल यस कथाका मानवेत्तर पात्रहरू हुन् । कर्णकान्त जनावर र नेत्रलाल पन्छी भए पनि यी दुई पात्रमा देखिएको विश्वास, भरोसा, प्रेम र सद्भाव अनुकरणीय छ । लोकमा विद्यमान मित लगाउने परम्परा र संस्कारलाई मित्रताको आधार बनाएर आपतविपतमा एउटा मितले अर्को मितलाई साथ र सहयोग गर्नुपर्छ भन्ने सन्देश यस कथाले दिएको छ।
हात्ती र लाटोकोसेरोले एक अर्कासित मान्छेको भाषामा कुरा गर्न र मान्छेले जस्तै व्यवहार गर्न आफ्ना नाम कर्णकान्त र नेत्रलाल राखे । आहारको खोजीमा जाँदा देखेभोगेका कुराहरू एक अर्कालाई बेलीबिस्तार लगाए । कर्णकान्त अबेरसम्म घर आइनपुग्दा नेत्रलाल छट्पटायो । मितको मायाले गर्दा राक्षसहरूलाई पुनः फर्केर आउने वचन दिएर कर्णकान्त पनि घर आयो । उसले मित नेत्रलाललाई घटना सविस्तार बतायो । घटना विवरण सुनेपछि बाँच्ने आशा मारेको मितलाई आँट र भरोसा नेत्रलालले दियो । कथाका यी घटना शृङ्खलाले नेत्रलाल र कर्णकान्त असल मित्र मात्र होइनन्, असल मित्रले निर्वाह गर्नुपर्ने कर्तव्य र दायित्व पूरा गर्न तयार हुने पात्र पनि हुन् भन्ने प्रस्ट पारेको छ।
त्यसैगरी यस कथामा कर्णकान्तले दुःखका बेला नेत्रलाललाई सहयोग गर्यो । आफ्नो टाउकोमा राखेर जङ्गल घुमायो । पखेटाको छेउमा घाउ हुँदा स्याहारसुसार गर्यो । दुखाइ कम होओस् भनेर मिठा मिठा कुरा गर्यो । आफू आपत्मा परेका बेलामा पनि मितकै मायाका कारण ऊ फर्किएर आयो। यसरी एउटा मितले निर्वाह गर्नुपर्ने कर्तव्य कर्णकान्तले पूरा गर्यो । उता नेत्रलालले पनि मितलाई सधैं साथ दिएको थियो । ज्यानको बाजी थापेर नेत्रलालले कर्णकान्तलाई राक्षसको पन्जाबाट जोगायो । फर्किंदा पनि कर्णकान्तले नेत्रलाललाई टाउकामा चढाएर नै फर्कियो । यसरी यी दुवै मितले एक अर्काप्रति गरेको सहयोग र मद्दत एउटा असल मित्रले मात्र निर्वाह गर्न सक्छ भन्ने आशय यस कथामा प्रस्तुत गरिएको छ।
कर्णकान्तले नेत्रलाललाई र नेत्रलालले कर्णकान्तलाई दुःख र सुखमा साथ र सहयोग गरेका छन् । दुःखका बेलामा मात्र असल मित्र चिन्न सकिन्छ भन्ने भनाइलाई यस कथाले सार्थक तुल्याएको छ । सरल भाषाशैलीको प्रयोग गरेर लेखिएको यस कथाले दुःखमा साथ दिने चलन मानवीय पात्रमा मात्र होइन, मानवेत्तर पात्रमा पनि हुन्छ भन्ने सन्देश दिएको छ । अतः हामीले पनि असल मित्रले निर्वाह गर्नुपर्ने कर्तव्य र जिम्मेवारी पूरा गर्न सक्नुपर्छ।
वाक्यमा प्रयोग
- आतेस = भाइ बजारमा हराएपछि मेरो मन आतेसले छट्पटायो।
- अभिन्न = विद्यालय र समाजका विच अभिन्न सम्बन्ध रहेको हुन्छ ।
- गति = तीव्र गतिमा सवारी चलाउनाले दुर्घटनाको डर हुन्छ।
- नाङ्लाकाने = मेरा कान ठूला भएकाले साथीहरुले मलाई नाङ्लामने भनेर जिस्क्याउँछन्।
- जम्का भेट = बजारमा मेरो मामासंग जम्का भेट भयो ।
- अगावै = बुबा घर आउनु अगावै म विद्यालय हिंडे।
- वाचा बाध्नु - आमाले परीक्षा सकिएपछि मलाई पोखरा घुमाउन लैजाने वाचा बाध्नुभएको छ।
पाठका सहायताले तलका उखानहरुको अर्थ लेख्नुहोस् :
(क) सपनामा खोले खाएको भनेको यही हो।
= कल्पनामा रमाउन
(ख) हात्ती आयो, हात्ती आयो, फस्सा भनेको यही हो।
= ठूलो कुराको आस गर्नु तर नमिल्नु
(ग) चम्केको घोडाले लम्केको हात्तीलाई भेट्न सक्तैन ।
- आफ्नो क्षमताभन्दा बढी केही गर्न नसकिनु
(घ) मर्नु भन्दा अगाडि नै खुट्टा तान्न सुहाउँदैन ।
= समस्यासँग पहिले नै डराउनु , हिम्मत हार्नु
facebook :


- Reviews (0)
Nothing Found...Leave a review