सर ! लकडाउन खुल्यो रे हो ?

सर ! लकडाउन खुल्यो रे हो ?

"कृपया घरीघरी नसोध"

सर ! लकडाउन खुल्यो रे हो ?
के फरक पर्छ र लकडाउन खुल्नु र नखुल्नुले, जबकि
मेरा पेटमा लात्ती हानिसकिएको छ ।
कलिला सन्तानको मुखको माड खोसिसकिएको छ।
सर स्कुल कहिले लाग्छ ?
"कृपया घरीघरी नसोध"

मेरा डिग्रीका सर्टिफिकेट बिक्रीमा छन् ।
मेरो अस्मिता लिलामीमा परेको छ ।
फेरि ठडिएलान तिम्रा व्यापारिक शिक्षालय त तर,
मेरो अस्तित्व निकै तल झरेको छ।
सर, तपाईंको कमाइ राम्रो होला नि ?
"कृपया घरीघरी नसोध"

सुन्नुस त सर, चार महिना भएछ भाडा नतिरेको ।
साँच्ची अस्ति ग्याँस किन्न दिएको सापटी
अनि आमा बिरामी हुँदा हस्पिटललाई तिरेको बिल ।
सोच्छु किन ढुङ्गाको हुन सकेन मेरो दिल ।
सर, यो सबै हिसाब कहिले चुक्ता गर्ने ?
"कृपया घरीघरी नसोध"

जवाफ त छन् नि दबिएर बसेका,
पेसा र मर्यादा कुरि-कुरि गर्छन ।
मानौं जन्मजात सरकारी जस्ता साथीहरु
घुमाउरो व्यंग्य गर्दै चुरी फुरि गर्छन र भन्छ्न् - सर तपाईंको तलब आयो ?
"कृपया घरीघरी नसोध"

सर लु अब स्कुल खुल्छ!!!
तयार रहनुस है ?
जवाफ देउ म तिम्रो स्कुलको नोकर हुँ या मनोरञ्जनको साधन ?
यदि अलिकती नैतिकता तिमीमा बचेको छ भने
"कृपया घरीघरी नसोध"।

- सुजन पाण्डे



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login