धर्मको मर्म

धर्मको मर्म

एक साधु आफ्ना शिष्यहरूका साथमा कुम्भमेलाको भ्रमणमा थिए। भ्रमणका क्रममा उनले एक बाबाले आँखा चिम्लेर माला जपिरहेको देखे। तर, ती बाबा पटक-पटक आँखा खोलेर यात्रुले कति दान दिएछन् भनेर हेर्ने गरिरहेका थिए । यो सब देखेपछि साधु मुसुक्क मुस्कुराएर अघि बढे ।

केही अगाडि पुगेपछि उनले वरिपरि चेलाहरूलाई राखेर एक पण्डितले भागवत पाठ गरिरहेको देखे। पण्डितको अनुहार यन्त्रवत् थियो । उनको शब्द र भावबीच कुनै संगति थिएन । पण्डितलाई देखेर साधु खितखिताउँदै हाँसे र अघि बढे। अलिकति अघि पुगेपछि उनले एक व्यक्तिलाई रोगीको सेवा गरिरहेको अवस्थामा देखे। ती व्यक्तिले रोगीको घाउ मनतातो पानीले धोएर सफा गरिरहेका थिए। उनले आफ्नो मिठो बोलीले ती रोगीलाई वेलावेलामा सान्त्वना पनि दिइरहेका थिए। यो दृश्य देख्दा साधुका आँखा रसाए। उनी चेलाहरूले नदेखून् भन्ने सोचेर अर्कापट्टि फर्केर आँसु पुछेर अघि बढे।

केही समय कुम्भमेलाका विविध दृश्यावलोकनपछि साधु र उनका शिष्य आश्रम फर्किए। आश्रम पुगेपछि उनका एक शिष्यले हात जोडेर प्रश्न गरे- गुरुदेव, मेलामा घुम्दै गर्दा माला जपेको र भागवत पाठ गरेको स्थानमा हजुर हाँस्नुभयो । पछि, रोगीको सेवा गरिरहेको स्थानमा पुग्दा भने रुनुभयो । यसको कारण के हो ? हामी यसको रहस्य थाहा पाउन चाहन्छौं । शिष्यको जिज्ञासा सुनेपछि साधुले मन्द मुस्कानका साथ उत्तर दिए- मेला भ्रमणको क्रममा मैले जे देखें, तिमीहरूले पनि सायद त्यही देख्यौ होला ।

पहिलो दुई स्थानमा भगवानका  नाममा आडम्बरसिवाय केही थिएन । त्यसैले, उनीहरूको आडम्बर देखेर मलाई हाँसो उठ्यो । तर, जब मैले ती रोगीको सेवामा खटिएका व्यक्तिलाई देखें, तब उनको सेवाप्रतिको समर्पण देख्दा मेरा आँखा आँसुले डम्म भरिए। यथार्थमा धर्मको मर्म मानव सेवा नै हो । तेस्रो व्यक्ति यस तथ्यबाट पूर्णत: परिचित थिए। त्यसैले, उनी भगवानका सच्चा भक्त हुन् ।

 

साभार : नयाँ पत्रिका 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login