- Home
- Show Content
नेपाली व्याकरण : वादविवाद
नेपाली व्याकरण : वादविवाद
वादविवादको परिचय
निश्चित विषय वा शीर्षकको पक्ष वा विपक्षमा रहेर गरिने तर्कपूर्ण प्रस्तुतिलाई वादविवाद भनिन्छ। वादविवाद भनेको कुनै विषय वा शीर्षकको पक्ष र विपक्षमा हुने तार्किक बहस हो । यस्तो वहसमा पक्ष वा विपक्षका व्यक्तिले आ -आफ्ना कुराहरुलाई तार्किक रुपले प्रस्तुत गरिरहेका हुन्छन् । यो एक किसिमको बौद्धिक कला हो, एक किसिमको वौद्धिक मन्थन हो । यसरी तर्क गर्दैगर्दै जाँदा ,वहस गर्दैगर्दै जाँदा सत्यको नजिक पुगिन्छ अन्तिम सत्यसम्म पुगिन्छ । जव कसैलाई कुनै विषयमा चित्त बुझदैन तब उसले आफ्नो तर्क राख्छ त्यही विषयमा चित्त बुझने अर्को व्यक्ति पनि हुन्छ । उसले पनि आफ्ना विचार वा तर्कहरु राख्छ ।यसैगरी ' एउटा बहसको अवस्था सिर्जना हुन्छ र वादविवाद ' बन्दछ । वाद विवाद भए पनि यो झगडा होइन । यो त शिष्ट र मर्यादापूर्वक आफ्नो भनाइ राख्ने शैली मात्रै हो । पहिले पहिले पनि यस्तो बहस हुन्थ्यो त्यसलाई शास्त्रार्थ भनिन्थ्यो ।
कुनै निश्चित विषय वा शीर्षकमा पक्ष र विपक्षबाट गरिने तर्कपूर्ण प्रस्तुतीकरणलाई वादविवाद भनिन्छ । वादविवादमा आफ्ना पक्षको समर्थन र पुष्टि (मण्डन) तथा विपक्षका तर्कसँग असहमति राख्दै तिनको शिष्टतापूर्वक खण्डन गरिन्छ । वादविवाद एकतर्फी वा दुइतर्फी हुन्छ । दुइतर्फी वादविवादमा पक्ष वा विपक्षको सृजना गरेर तार्किक कुराहरू अगाडि सारिन्छ भने एकतर्फीमा चाहिँ पक्ष वा विपक्षबाट मात्र आफ्ना तर्कहरू राखिन्छन् । सामान्यतया विद्यार्थीका लागि एकतर्फी वादविवाद नै उत्तम हुन्छ ।वादविवादबाट निश्चित समयमा बोलिसक्ने सीपको विकास हुन्छ भने विपक्षीका तर्कहरूलाई खण्डन गर्न सक्ने सामर्थ्यको वृद्धि पनि हुन्छ ।
वादविवादमा सम्बोधनका साथ तर्क र त्यसको पुष्टि गर्दा भाषालाई कलात्मक, शृङ्खलाबद्ध र प्रभावकारी बनाउनुपर्छ । आफ्नो विषयको प्रस्तुतिका साथै विपक्षका तर्कहरूमाथि प्रहार गरी तिनलाई खण्डन गर्न सक्नुपर्छ ।वादविवादमा विषयले स्वीकार गरेको कुरालाई पक्ष र त्यसको उल्टो कुरालाई विपक्ष भनिन्छ ।
वादविवादको महत्त्व :
' वादविवाद एउटा बौद्धिक कला हो । यसबाट व्यक्तिमा तर्कशक्ति बढ्छ । आफ्ना भनाइ वा विचारलाई कलात्मक तरिकाले शिष्ट शैलीमा अरुसमक्ष राख्ने क्षमताको पनि विकास हुन्छ । आफ्ना कुराहरु अघि सारेर अरुको मन जित्ने मान्छेहरु नै सफलताको शिखरमा पग्छन । त्यसकारण यस्ता खालका बहसहरुमा बारम्बार अभ्यास गरिरहनुपर्छ । यो एक किसिमको बोलाइ सिप हो।
बोलाइ कला
- बोल्नेको पीठो बिक्छ नबोल्नेको चामल पनि विक्दै
- मुख छ कि मुलुक छ
- बोल्नलाई पैसा तिर्नुपर्दैन
- हने मर्छ ,वोले टर्छ
- शत्रुता र मित्रताको जड नै बोली हो।
वादविवादमा पक्ष र विपक्ष
वादविवादमा विषयले स्वीकार गरेको कुरालाई पक्ष र त्यसको उल्टो कुरालाई विपक्ष भनिन्छ ।वादविवादका विषयमा पक्ष र विपक्ष हुन्छ । पक्षमा सत्यता हुन्छ र विपक्षमा असत्यता हुन्छ भन्ने होइन । सत्यताको मात्रामा मात्रै फरक हुन्छ । कतिपय विद्यार्थीको धारणा पक्षमा बोल्न पाए जितिन्छ तर विपक्षमा बोल्नुपर्दा हारिन्छ भन्ने मानसिकता हुन्छ । तर कुरा त्यस्तो होइन। आफ्नो बौद्धिक क्षमता र तार्किक अभिव्यक्ति कला मात्रै हो।
वादविवाद लेख्ने तरिका : निश्चित विषय वा शीर्षकको पक्ष वा विपक्षमा रहेर गरिने तर्कपूर्ण प्रस्तुतिलाई वादविवाद भनिन्छ।
क) सर्वप्रथम आफूले लेख्नुपर्ने विषयको पक्ष वा विपक्षका बारेमा गभ्भीरतापूर्वक मनन गर्नुपर्छ वा आफूले लेख्नुपर्ने विषयको पक्ष र विपक्षका रूपमा आउन सक्ने महत्वपूर्ण बुँदाहरू तयार पार्ने
ख) बुँदाहरूलाई तार्किक र प्रभावपूर्ण बनाउने अनि तिनलाई क्रममा मिलाएर लेख्ने
ग) उदाहरणका रूपमा प्रस्तुत गरिने तर्क वा भनाइहरू आधिकारिक र प्रामाणिक हुनुपर्छ।
घ) औपचारिक रूपमा सभापति, निर्णायक मण्डल, गुरुहरू, उपस्थित व्यक्तिहरू तथा प्रतिस्पर्धीहरूलाई सम्बोधन गरेर समयको सीमालाई ख्याल गर्दै लेख्न सुरु गर्नुपर्छ।(आफू सहभागी भएर) ।
ङ) प्रथम पुरुष शैलीमा पहिले आफ्नो पक्ष बताउने र त्यसका तर्फबाट तर्कहरू प्रस्तुत गर्ने ।
च) विपक्षीका मतको खण्डन गर्दा उच्च आदरका साथ वाक्यको संयोजन गर्नुपर्छ, कुनै व्यक्तिको नाम तोक्ने, व्यक्तिगत लाञ्छना लगाउने वा पारिवारिक प्रसङ्गहरू जोड्ने काम गर्नुहुँदैन ।
छ) अभिव्यक्ति अत्यन्त शिष्ट, शालीन र कलात्मक हुनुपर्छ, रुखो, झर्रो र आक्रोश पोख्ने खालको हुनुहुँदैन।
ज) पूर्ववक्ताले विपक्षबाट तर्कहरू राखेको कल्पना गरी तिनलाई काट्न आफ्नो तर्क प्रस्तुत गर्ने ।
झ) बोल्दा पात्रहरूको प्रयोग गर्न सक्ने हाउभाउ इत्यादि कोष्ठकमा लेख्ने ।
ञ) शीर्षक र सम्बोधनबाहेक कम्तीमा तीन अनुच्छेदमा लेखिएको हुनुपर्छ ।
ट) जनाउ र समाप्तिको सङ्केतक घन्टीको स्पष्टसँग उल्लेख गर्दै अन्त्यमा धन्यवाद ज्ञापनसहित समापन गर्नुपर्छ।
छ) निष्कर्षका रूपमा आफ्ना पक्षका तर्फबाट बलियो दृष्टान्त (उदाहरण) सहित धन्यवाद दिएर समाप्त गर्ने ।
वादविवादका नियमहरू
वादविवादमा सहभागी हुने व्यक्तिले बोल्दा निम्न कुरामा ध्यान दिनुपर्छ
(क) प्रत्येक वक्तालाई ५ मिनेटको समय दिइने छ । चार मिनेटमा जनाउ घन्टी र पाँच मिनेटमा अन्तिम घन्टी बज्ने छ । अन्तिम घन्टी बजेपछि वक्ताको समय सकिने छ । त्यसपछि बोलेको कुरालाई मूल्याङ्कनमा समावेश गरिने छैन ।
(ख) वक्ताले कुनै पनि जाति, वर्ग, समुदाय, धर्म, क्षेत्र, लिङ्गप्रति भेदभाव हुने, आक्षेप लगाउने र आपसी कलह र विद्वेष फैलाउने भावना व्यक्त गर्न पाइने छैन ।
(ग) विभेद ल्याउने ,साम्प्रदायिक भावना फैलाउने र लैङ्गिक समताको भावनालाई उपेक्षा गर्ने किसिमका कुनै पनि सन्दर्भहरू ल्याउन पाइने छैन ।
(घ) विपक्षका भनाइलाई खण्डन वा असहमति प्रकट गर्दा शिष्ट र मर्यादित भाषाको प्रयोग गर्नुपर्छ ।
(ङ) बोल्दा कुनै पनि किसिमको लिखित सामग्री हेर्न पाइँदैन ।
(च) निर्णायक मण्डलको निर्णय अन्तिम हुने छ।
वादविवादका विषयहरु (केही शीर्षकहरू)
-विदेशको बसाइभन्दा स्वदेशको बसाइ राम्रो
-स्थानीयकरणभन्दा विश्वव्यापीकरण बेस
- इन्टरनेट अभिशाप होइन वरदान हो
- धनभन्दा विद्या ठुलो
- शस्त्र बलभन्दा शास्त्र बल ठूलो
-राम्रो लाउनुभन्दा मिठो खानु बेस
-विज्ञान अभिशाप नभई वरदान हो,
- भू-कम्प विनाश मात्र होइन अवसर पनि हो
-वैदेशिक रोजगारभन्दा स्थानीय रोजगार जाती
- छोरीलाई अंशभन्दा शिक्षा दिनु बेस
- नेपालमा कृषिमा भन्दा उद्योगमा जोड दिनुपर्छ
facebook :


- Reviews (0)
Nothing Found...Leave a review