वादविवाद नमुना

वादविवाद नमुना

वादविवाद लेखनको ढाँचा :

१.सम्बोधन

  • (सभाध्यक्षलाई, निर्णायक मण्डललाई, गुरुवर्गलाई र उपस्थित महानुभावहरूलाई, आफ्ना प्रतियोगी र अन्य साथीभाइहरूलाई)

२.आभार प्रकट र कुन पक्षमा बोलेको हो पुष्टि

३.विषय प्रवेश र शीर्षक सम्बन्धी परिचय पुष्टि

४.विषय शीर्षक सम्बन्धी

  • व्याख्या, तर्क,पूर्ववक्ताका भनाइहरू खण्डन, पुस्ट्याई सम्बन्धी ख"दिलो लेखन (करिब तिन मिनेटमा भनिने कुरा)

५.जनाउ घन्टी

६.निष्कर्ष

  • (विषयको सारभूत कुरा निचोडका रूपमा लेख्ने (करिब एक मिनेटको समयमा भनिसकिने कुरा)

 ७. धन्यवादसहित आफ्ना भनाइ टुङ्ग्याउने

 

 

 नमुना -१

विलासी जीवनभन्दा सादा जीवन र उच्च विचार महान् हुन्छ

(विषयको पक्षमा)

 

श्रद्धेय सभापतिज्यू,

निर्णायकमण्डल, गुरुवर्ग,

प्रतिस्पर्धी साथीहरू तथा उपस्थित महानुभावहरू ।  

 

आजको यस वादविवाद प्रतियोगितामा म विलासी जीवनभन्दा सादा जीवन र उच्च विचार नै महान हुन्छ भन्ने विषयको पक्षमा आफ्ना धारणाहरू प्रस्तुत गर्न लागेको छु । जीवनलाई खानलाउन र मोजमस्तीमा उडाउन मात्र केन्द्रित गरेकाहरूले आफूलाई जतिसुकै महान् र सुखी घोषणा गरे पनि उनीहरू जति दुःखी र नीच अरू हुनै सक्दैनन् । उनीहरूको सोचाइ जसरी भए पनि सम्पत्ति कमाउने र अरूलाई पीडा दिएर भए पनि आफ्नो स्वार्थ सिद्ध गर्ने हुन्छ । मानिसलाई विश्वमा अमर बनाउने कुरा त उसको उच्च विचार हो । विलासी जीवनले आडम्बर र घमण्डलाई जन्म दिन्छ, जसले मान्छेलाई पशुको स्तरमा झार्दै छ । त्यसको सट्टा सादा जीवनले प्रेम करुणा र मानवीय व्यवहारलाई प्राथमिकता दिन्छ र उच्च विचारले उसलाई ईश्वरको स्थानमा पुऱ्याउँछ । यसबाट मानवीय सभ्यताको विकास उच्च विचारबाट हुने कुरा प्रस्ट हुन्छ ।

मेरा पूर्ववक्ता मित्रले सादा जीवनले गर्दा मानिसले दुःखकष्ट भोग्नुपर्छ भन्ने तर्क राख्नुभयो तर साधनको अभावले मानिसको मनलाई कष्ट दिँदैन भन्ने कुरा महाकवि देवकोटाको यस कविताले पनि स्पष्ट पारेको छ (अलि जोसिएर) गरिब भन्छौ सुखको मझै धनी। मिल्दैन संसारभरि कतै पनि ॥ मानिसलाई सादा जीवनले विशिष्ट र महान बनाउँछ भन्ने करा बुद्ध, महात्मा गान्धी, अब्राहम लिङ्कन, देवकोटा आदिको जीवनबाट बुझ्न सकिन्छ । के विलासी जीवनले कसैलाई संसारमा चर्चित र महान् बनाएको उदाहरण छ ? यदि रहेछ भने पनि तिनको नाम निकृष्ट व्यक्तिका रूपमा रहेको होला । विलासी जीवन रोगको घर हो तर परिश्रमी र सादा जीवनले प्रकृतिकै सामीप्यता प्राप्त गर्ने हुँदा निरोगीपना उसमा ज्यादा हुन्छ । (जनाउ घन्टी बज्छ)

 

विलासी जीवनले अपराध र स्वार्थलाई मात्र बढाउँछ, जुन का संसारकै लागि हानिकारक हुन्छ तर संसारकै कल्याण तथा उन्नतिका लागि भने सादा जीवन र उच्च विचार नै सदैव महान् छन् भन्दै आफ्नो भनाइ यहीँ टुङ्ग्याउँछु । धन्यवाद ! (घन्टी बज्छ)

 

नमुना -२

शीर्षक : विदेशको बसाइभन्दा स्वदेशको बसाइ राम्रो

१. सबैभन्दा पहिले सम्बोधन गर्ने

आदरणीय सभापतिज्यू,

प्रमुख अतिथिज्यू,

निर्णायक मण्डल, श्रद्धेय गुरु गुरुआमाहरु,

प्रतिस्पर्धी साथीहरु एवम् उपस्थित अन्य साथीहरु ।

 

 २ कार्यक्रममा भाग लिन पाउँदा खुसी प्रकट गर्ने र आफू बोल्न लागेको पक्ष वा विपक्षको कुरा गर्ने।

हाम्रो श्री जनकल्याण माध्यमिक विद्यालयमा आयोजित वादविवाद प्रतियोगितामा भाग लिने अवसर पाएकोमा मैले आफूलाई भाग्यमानी ठानेको छ । आजको वादविवादको विषय - विदेशको बसाइभन्दा स्वदेशको बसाइ राम्रो हो भन्ने रहेको छ । यस विषयको म पक्षमा बोल्दै छु।

३. अव विषयवस्तुसँग सम्बन्धित बुंदाहरु प्रस्तुत गर्ने

आफू जुन धर्तीमा जन्मिएको हो त्यसैका लागि मरिमेट्नुपर्छ। प्रत्येक नागरिकका लागि आफ्नो जन्मभूमिप्रति नैतिक, सामाजिक तथा सांस्कृतिक दायित्व हुन्छ । आफू जन्मिएको भूमिलाई चटक्कै विर्सिएर आफ्नो सुखसुविधा र स्वार्थका लागि विदेसिनु कदापि राम्रो होइन । पढ्न तालिम लिएर सिप सिक्न ,नयाँनयाँ प्रविधिको जानकारी लिन, धर्मसंस्कृतिको खोज अनुसन्धान गर्न अनुसन्धान गर्न , व्यापार व्यवसाय वृद्धि गर्न एवम् पर्यटनका सन्दर्भमा विदेश जानु नराम्रो कुरा होइन तर आफ्नो सिप र श्रमले स्वदेशलाई सिगार्नु सट्टा 'विदेशी भूमिलाई सिगार्नेतर्फ लाग्नु कदापि उचित होइन । आफ्नो जविनलाई सार्थक पार्न, जन्मभूमिको ऋण चुक्ता गर्न आफू जुन धर्तीमा जन्मिएको हो त्यसैका लागि मरिमेट्नुपर्छ। धन्यवाद !

 

नमुना -३

प्रश्न : अधिकारभन्दा कर्तव्य नै ठुलो' भन्ने वादविवादको विषयमा पक्षका तर्फबाट आफ्ना तर्कहरू प्रस्तुत गर्नुहोस्।

उत्तर -               अधिकारभन्दा कर्तव्य नै ठुलो

श्रद्धेय सभाध्यक्षज्यू,

 निष्पक्ष निर्णायक मण्डल,

 गुरुवर तथा उपस्थित सम्पूर्ण साथीहरू !

 

म ‘अधिकारभन्दा कर्तव्य नै ठुलो' भन्ने विषयको वादविवादमा पक्षको तर्फबाट आफूलाई लागेका केही कुरा राख्दै छु। अधिकार र कर्तव्यलाई एउटा रथका दुइटा पाङ्ग्राका रूपमा व्याख्या गर्ने चलन छ, तर म के भन्छु भने अधिकार रथमा सवार यात्री हो भने कर्तव्य त्यस रथलाई हाँक्ने सारथि हो । जसरी एउटा रथले गन्तव्यमा पुग्ने सवालमा त्यसमा सवार यात्रीभन्दा त्यसलाई हाँक्ने सारथिको महत्त्वपूर्ण भूमिका हुन्छ ;त्यसरी हरेक नागरिकमा विद्यमान् अधिकारप्रतिको सचेतताभन्दा आफ्नो जिम्मेवारीप्रतिको सचेतता महत्त्वपूर्ण हुने भएकाले अधिकारभन्दा कर्तव्य नै ठुलो हो भन्ने मेरो ठम्याइ छ।

 

आदरणीय सभापतिज्यू, मेरा विपक्षी मित्रले अधिकारलाई विजयले उठेको शिर र कर्तव्यलाई लाचारीले झुकेको शिरका रूपमा अर्थ्याउनुभयो । हो, निश्चय नै अधिकार खोज्दै हिँड्ने तर कर्तव्यबाट टाढा भाग्नेहरूको शिर ठाडो हुन सक्छ, तर मेरो दृष्टिमा त्यो शिर विजयले होइन अभिमानले उठेको हो, दम्भले उठेको हो, घमण्डले ठडिएको हो, सङ्कीर्णताले ठडिएको हो । कर्तव्यलाई बुझ्नेहरूको शिर झुकेको हुनसक्छ, तर त्यो शिर लाचारीले होइन, गुणवत्ताले झुकेको हो, जिम्मेवारीको बोझले नुहेको हो, समाज, राष्ट्र र मानवताप्रतिको सम्मानले नुहेको हो, उदारताले उध्रेको हो । अब तपाईंहरू नै भन्नुस्, कर्तव्यलाई बिर्सेर अधिकारको नारा लगाउँदै सडकसडकमा उठ्ने जमात ठुला हुन् कि राष्ट्रियता र मानवतालाई बुझेर हरपल खेत र खलिहानमा, कारखाना र कार्यालयहरूमा, चेतना र मान्छेका मनहरूमा शिर निहुराउँदै काम गरिरहने जमात ठूला हुन् ?

अधिकारको अभिमानले फुल्नेहरू ठूला हुन् कि कर्तव्यको चेतनाले उदार हुनेहरू ठूला हुन् ? निश्चय नै पछिल्लाहरू ठुला हुन् अर्थात् अधिकारका पछि लाग्नेभन्दा कर्तव्यलाई बुझ्नेहरू ठुला हुन् भन्दै मेरो मन्तव्य यही अन्त्य गर्दछु ।धन्यवाद !



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login