- Home
- Show Content
वक्तृता वा वक्तृत्वकला
वक्तृता वा वक्तृत्वकला
वक्तृता वा वक्तृत्वकला
परिचय : वक्तृता वा वक्तृत्वकला कुनै खास विषयमा केन्द्रित रही वक्ताले श्रोताहरूसमक्ष प्रभावशाली रूपमा आफ्नो विचार प्रस्तुत गर्ने सिप तथा कला हो। सामान्य अर्थमा भाषण वा प्रवचनलाई वक्तृताको पर्यायका रूपमा लिन सकिन्छ। यसमा वक्ताबाट कुनै विषयमा यथातथ्य आफ्नो ठोस विचार प्रस्तुत हुने अपेक्षा गरिन्छ।
वक्तृता मौखिक र लिखित दुवै रूपमा सम्पन्न गर्न सकिन्छ तर मौखिक माध्यममा धाराप्रवाह तथा लिखित माध्यममा कथ्य विशेषतासहितको सहज र प्रभावशाली प्रस्तुतिको आवश्यकता पर्दछ। कक्षामा वक्तृताको अभ्यास गराउनुको मुख्य उद्देश्य विद्यार्थीहरूलाई भविष्यका कुशल वक्ता बनाउनु हो । यस्तो कुशलताका लागि आत्मविश्वास, आकर्षक शैली, स्पष्ट, शुद्ध र सरल भाषा, तथ्यपरक प्रस्तुति आदि गुणको आवश्यकता पर्दछ। यीबाहेक वक्तामा श्रोतालाई आकर्षित गर्ने अन्य कतिपय चतुऱ्याइँको पनि आवश्यकता हुन्छ।
वक्तृता वा वक्तृत्वकलाको महत्त्व :
वक्तृता एउटा बौद्धिक कला हो । यसबाट व्यक्तिमा तर्क शक्ति बढ्छ । आफ्ना भनाइ वा विचारलाई कलात्मक तरिकाले शिष्ट शैलीमा अरुसमक्ष राख्ने क्षमताको पनि विकास हुन्छ । आफ्ना कुराहरू अघि सारेर अरुको मन जित्ने मान्छेहरू नै सफलताको शिखरमा पुग्छन् । त्यसकारण यस्ता खालका विषयहरूमा बारम्बार अभ्यास गरिरहनुपर्छ । यो एक किसिमको बोलाइ सिप हो।
बोलाइका सन्दर्भमा व्यक्त विचारहरू
- बोल्नेको पीठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन
- मुख छ कि मुलुक छ
- बोल्नलाई पैसा तिर्नुपर्दैन
- हाने मर्छ ,बोले टर्छ
- शत्रुता र मित्रताको जड नै बोली हो।
- हजार गोलीको काम एउटै बोलीले गर्न सक्छ ।
- बोलीवचन सभ्यताको कसी हो ,
फरक सन्दर्भ
- बोल्यो कि पोल्यो
- बेल्न पाएँ भनेर प्याच्च नबोल्नू बस्न पाएँ भनेर थ्याच्च नबस्नू
- तोलाको वचन खोलामा नफाल्नू
- धेरै सुन , धेरै गुन तर थोरै बोल।
वक्तृत्वकलाका लागि विषय
- छुवाछुत उन्मूलनमा विद्यार्थीको दायित्व
- भू-कम्पीय सुरक्षाप्रति हाम्रो दायित्व
- अपाङ्ग मैत्रीव्यवहारका लागि सामाजिक सचेतना
- दाइजो प्रथा एक सामाजिक विकृति
- नेपालमा पर्यटनका सम्भावना र समस्या
- देश विकासमा नारी शिक्षाको महत्त्व
- युवाहरूको विदेश पलायन
- व्यावसायिक तथा प्राविधिक शिक्षाको महत्त्व आदि ।
वक्तृत्वकला सञ्चालनमा सहभागी हुने व्यक्तित्वहरू
- उद्घोषक
- सभापति
- प्रमुख अतिथि,
- अतिथि
- निष्पक्ष निर्णायक मण्डल
- समय सचेतक
- वक्ता ,श्रोता
वक्तृत्वकला प्रतियोगितामा भागलिँदा पालना गर्नुपर्ने नियमहरू
(क) हरेक वक्तालाई पाँच मिनेटको समय दिइने छ। चार मिनेटमा जनाउ घन्टी बज्ने छ । अन्तिम घन्टीपछि वक्ताले आफ्नो भनाइ रोक्नुपर्ने छ।
(ख) समाज र राष्ट्र विरोधी भावना फैलाउने र व्यक्तिगत आक्षेप लाग्ने किसिमका विचारहरू प्रस्ततु गर्न पाइने छैन ।
(ग) कुनै पनि प्रकारका लिखित सामग्री प्रयोग गर्न पाइने छैन ।
(घ) निर्णायक मण्डलको निर्णय नै अन्तिम हुने छ।
वक्तृता लेखनको ढाँचा :
१.सम्बोधन
- (सभाध्यक्षलाई, निर्णायक मण्डललाई, गुरुवर्गलाई र उपस्थित महानुभावहरूलाई, आफ्ना प्रतियोगी र अन्य साथीभाइहरूलाई)
२.आभार प्रकट
३.विषय प्रवेश र शीर्षक सम्बन्धी परिचय पुष्टि
४.विषय शीर्षक सम्बन्धी
- व्याख्या, तर्क, पुस्ट्याई सम्बन्धी ख"दिलो लेखन (करिब तिन मिनेटमा भनिने कुरा)
५.जनाउ घन्टी
६.निष्कर्ष
- (विषयको सारभूत कुरा निचोडका रूपमा लेख्ने (करिब एक मिनेटको समयमा भनिसकिने कुरा)
७. धन्यवादसहित आफ्ना भनाइ टुङ्ग्याउने
facebook :


- Reviews (0)
Nothing Found...Leave a review