- Home
- Show Content
संवाद लेखन
संवाद लेखन
संवाद के हो ? (Dialogue)
सम् + वाद = संवाद
संवाद = कुराकानी, छलफल, वार्तालाप, गफ, कथोपकथन, वार्ता ।
परिचय : संवाद भनेको दुई पक्ष अर्थात् वक्ता र श्रोताका बीचमा हुने कुराकानीलाई संवाद भनिन्छ ।संवाद हुनका लागि कम्तिमा दुई वा दुईभन्दा बढी पात्रहरू हुनुपर्दछ । संवादमा सुरुमा विचारको भिन्नता रहे पनि अन्त्यमा निष्कर्षमा पुऱ्याइन्छ । व्यवहार, स्थान ,परिवेश र विषयको प्रकृतिअनुसार संवादमा पात्र संलग्न हुन्छन्।
संवाद लेख्ने तरिका :
- दिइएको प्रश्नले के मागेको हो त्यसलाई राम्ररी बुझौ ।
- मनमनै दुई वा तिन पात्रको छनोट गरौं।
- शीर्षक सवैभन्दा माथि तर वीचमा पारेर लेख्ने
- पहिला शीर्षक लेखौं।
- त्यसपछि पात्रको नाम र नाता र स्थान उल्लेख गरौं ।
- परिवेश कोष्ठकमा लेख्ने वा त्यसमुनि कोष्ठकमा संवाद हुन लागेको परिस्थितिलाई राखौं ।
- संवादको प्रारम्भ औपचारिक भेटघाटको कुराकानीबाट सुरु गरौं।
- कुराकानीको प्रारम्भमा सुन्दर, शान्त र सौहार्दपूर्ण वातावरण निर्माण गरौं।
- भाषाको स्तर, शब्दचयन, कथ्य वा लेख्य रूप पात्रअनुसार निर्धारण गर्ने ।आवश्यकताअनुसार टुक्का, उखान, निपात आदिको पर्याप्त प्रयोग गर्ने ।
- केही क्षणपछि आपसमा कुरा बाझेको वा द्वन्द्वको स्थिति सिर्जना गरौं।
- अन्त्यतिर सत्य र असलको जित र असत्य वा खराब पक्षको हार देखाऔं ।
- अन्त्यमा दुबै जना सकारात्मक निष्कर्षमा पुगेको देखाऔं ।
- स्मरण रहोस् संवादको ठाउँठाउँमा पात्रले परिस्थितिअनुसार गरेको हाउभाउलाई कोष्ठकमा उल्लेख गरौं।
नमुना संवाद-१ :
शीर्षक :धूम्रपान
(बिहानको समयमा राम पसल जाँदै गर्दा सडकमा सीतासँग भेट हुन्छ ।)
सीता : ओहो ! राम धेरै दिनपछि देखियौ नि ?
राम : होइन म त यतैतिर थिएँ । तिम्रो र मेरो भेट नभएको मात्र हो।
सीता : अनि तिमी सात दिनदेखि विद्यालय आएका छैनौ नि । तिमीलाई के भो ?
राम : मेरा बबा बिरामी हुनुहुन्छ । बुबाको हेरविचार गर्न घरमै बसेको थिएँ ।
सीता : अनि तिम्रो बुबालाई के भएको नि ?
राम : बुबाको छाती दुख्छ । सास फेर्न गाह्रो हुन्छ ।
सीता: साँच्ची तिम्रो बुबा चुरोटको अमली हुनुहुन्छ, होइन र ?
राम : हो, तिमीले ठिक भन्यौ ।
सीता: तिमीलाई थाहा छ ? धूम्रपान गर्ने मानिसलाई तिमीले भनेको जस्तो स्वास्थ्यमा समस्या पर्छ । कतै तिम्रो बुबालाई पनि त्यसकै असर परेको त होइन ?
राम : हुन सक्छ । अनि धूम्रपान सेवनले कसरी शरीरमा असर गर्दछ नि ?
सीता : हेर राम ! सूर्ती तथा चुरोटमा निकोटिन नाम गरेको विष हुन्छ । जब मानिसले धूम्रपानमा लत बसाल्दछ तब त्यस विषले रक्तसञ्चार, फोक्सो, कलेजो, मस्तिष्क, पेट र मुटुलाई पनि असर पार्दै लान्छ । धूम्रपानकै कारण फोक्सो, मुख, रगतका नसाको क्यान्सर पनि हुन सक्छ । धूम्रपान गर्ने मानिसले पैसा तिरेर रोग किनेका हुन्छन्।
राम : त्यसो भए म पनि बुबालाई चुरोट छोड्न दबाब दिन्छु ।
सीता : त्यति मात्र होइन, राम ! हाम्रो गाउँलाई नै धूम्रपानरहित बनाउन तिमी हामी सकिय हुनुपर्छ ।
राम : हो, तिमीले बेस कुरा गर्यौ । ल आजदेखि म पनि यो अभियानमा दत्तचित्त भई लाग्ने भएँ । म त यो अभियान घरवाट सुरु गर्छ । म आमा र दाजुलाई गएर सम्झाउँछु ।
सीता: म पनि तिमीसँग जान्छु नि त ।
राम : ल हिँड, सँगै जाऊँ । ( दुवै जान्छन् । )
....................................................................................
नमुना -२
शीर्षक : किताबको महत्त्व
(रमा र दिनेश किताब च्याती कागजको डुंगा बनाउँदै गरेको बेला प्रेरणा पुग्छिन् ।)
प्रेरणा: होइन, यो धमाधम किताब च्याती के पुरुषार्थ देखाइदै छ ?
रमा: केही पुरुषार्थ होइन प्रेरणा । यो कक्षा आठको किताब हो । अब यो किताब काम लाग्ने होइन क्यारे । त्यसैले थुन्गा बनाउन लागेको ।
प्रेरणा : हेर, हेर यत्रो पढ्न लागेको मान्छेको बुद्धि ? किताब के काम लाग्छ रे ? तिमीलाई थाहा छ, यो किताब बनाउन कति मिहिनेत लाग्छ ? कति खर्च लाग्छ ?
दिनेश : अनि के गर्ने त यो किताब ?
प्रेरणा : हेर, एकथान किताब बनाउनका लागि धेरै मिहिनेत परेको हुन्छ । पैसा उत्तिकै खर्च भएको हुन्छ । हामी त बजारमा गएर किताव किन्छौं । तर हामीले कहिल्यै सोचेनौं कि यस्ता किताब किन्न नसक्ने मानिसहरू पनि छन् भनेर । मानिस किताव किन्न नसक्दा एउटा किताव सात जनाले पढ्छन् । स्कुल जान छोडिदिन्छन् । हामी भने हुँदाखाँदाका किताब काम लाग्दैन भनेर च्यात्छौं।
रमा : कसलाई लगेर दिने त ? ए, मसंग किताब छ लिने हो भनेर कराउँदै हिँड्नु ।
दिनेश : त्यही त भन्या । काम गर्न लागेको ठाउँमा भाँजो त हाल्न भएन नि ।
प्रेरणा : हेर, हिजोआज प्रयोग भइसकेका किताव आधा मोलमा किन्ने पसलहरू खोलिएका छन् । त्यही लगेर बेच्ने । नभए अहिले दिनेश कति कक्षा रे ?
दिनेश : अब त सात कक्षा ।
प्रेरणा ; हो, अर्को साल दिनेशलाई त काम लाग्थ्यो नि । त्यसमाथि कहिलेकाहीँ माथिल्लो कक्षामा पुगे पनि तल्ला कक्षाका पाठहरू भुलेर फसाद पर्छ । त्यसबेला आफूलाई हेर्न काम लागिहाल्छ नि ।
रमा: बल्ल मलाई तिम्रो कुरा ठिक लाग्यो । (बाँकी किताब चाङ लाउँछन्।)
दिनेश : धन्न, तिमीले बेलैमा आएर सम्झायौ दिदी । नत्र मैले दुईओटा किताब त च्यातिसकेको थिएँ । बाँकी अरु किताब र मलाई काम लाग्ने दिदीका किताब पनि च्यातिदिन्थें ।
रमा : प्रेरणा, तिमीले नरिसाई हामीलाई किताबको महत्त्वबारे ज्ञान दिएकोमा धन्यवाद । हिँड गएर खाजा खाऔं । (तीनैजना खाजा खान भित्र छिर्छन्।)
facebook :


- Reviews (0)
Nothing Found...Leave a review