- Home
- Show Content
मनोवाद परिचय
मनोवाद परिचय
मनोवादको परिचय
मनोवाद शब्दको शाब्दिक अर्थ आफूमात्र एक्लै गुनगुनाउने काम, स्वगत कथन वा एकालाप भन्ने हुन्छ । यसरी मनोवाद भन्नाले कुनै पनि विषयमा मनमनै गरिने कुराकानी भन्ने बुझिन्छ । कुनै पनि विषयलाई लिएर मानिसले कल्पना गर्दछ, सोचविचार गर्दछ र मनमनै आफूसँग आफै केही कुरा गर्दछ । यसरी मानिसमा पैदा हुने यस्ता कल्पना, भावना, सोचविचार, खुल्दुली, द्विविधा आदिलाई कुरा गराइको शैलीले अभिव्यक्त गर्नु नै मनोवाद हो।
कुनै विषय वा प्रसङ्गलाई लिएर एक्लो अवस्थामा आफैँसँग गरिने एकोहोरो कुराकानी नै मनोवाद हो यो साहित्यको एउटा पक्ष पनि हो । मनोवादले पात्रको एक्लो गुनगुन वा मनमनै गरिएको कुरा भन्ने बुझाउँछ । यसले कुनै विषयप्रति मानिसका मनमा आउने विशृङ्खलित सोचाइलाई सङ्गठित रूपमा राख्ने काम गर्दछ ।
आफैँप्रतिका अनुभूति, सम्झना, प्रतिक्रिया आदिलाई समावेश गरिने हुनाले मनोवादलाई काल्पनिक पात्र नै भए पनि वर्णन चाँही प्रथम पुरुषमै गरिन्छ । यसले मनको खुलदुलीलाई तर्कवितर्कका साथ प्रस्तुत गर्दछ, जसले पात्रको मानसिक अवस्थालाई देखाउँछ । यसमा पात्रले आफ्नै मनसँग गरेका प्रश्नोत्तर, सहमति-असहमति तथा कल्पनाको उडानलाई पनि चित्रण गरिएको हुन्छ ।
मनोवाद लेख्ने तरिका
(१) मनोवाद लेख्ने पृष्ठको सिरानको विच भागमा शीर्षक राख्नुपर्छ
(२) मनोवाद लेख्ने पृष्ठको सिरानमा दायाँतिर साल, महिना, गते र बार लेख्ने, जस्तै : २०७३ वैशाख १ गते बुधबार
(३) त्यही पृष्ठको वायाँतिर स्थान,समय र पात्र उल्लेख गर्नुपर्छ
(४) त्यसको लगत्तै परिवेशको सिर्जना गरेर कोष्ठकभित्र राख्नुपर्छ
(५) परिवेशको जानकारीबाहेक मनोवाद कम्तीमा दुई वा आवश्यकताअनुसार सोभन्दा बढी अनुच्छेद लेख्न सकिन्छ।
(६)मनोवाद प्रथम पुरुषात्मक शैलीमा रचना गर्नुपर्छ र आत्मपरक शैलीमा विषयवस्तुको कुतूहलपूर्ण विस्तार हुनुपर्छ। बीचबीचमा पात्रले गर्ने क्रियाकलाप र उसको हाउभाउलाई कोष्ठकमा लेख्नुपर्छ। (जस्तै: पानि खाँदै ,झयाल खोल्दै )
(७)मनोवाद लेखकले आफूलाई प्रभाव पार्ने व्यक्ति तथा घटनाको सन्दर्भ उल्लेख गर्दै त्यसले आफ्नो मनमा उब्जिएका भावनाहरूलाई सिलसिलाबद्ध रूपमा लेख्ने ।
(८) मनोवादको प्रस्तुतीकरण अत्यन्त मन छुने खालको हुनुपर्छ ।
(९) आवश्यकता अनुसारका अनुच्छेदहरू राख्ने ।
(१०) मनोवादले अप्रत्यक्ष रूपमा मान्छेलाई सचेतता वा प्रोत्साहन दिने काम गर्नुपर्छ।
मनोवाद लेखनका सम्भाव्य शीर्षकहरू
(क) एसइइ परीक्षाको पहिलो दिनको परीक्षाको कल्पना गर्दा आफ्नो मनमा उब्जेका मनोभाव
(ख) आफ्नो मन मिल्ने साथी रिसाउँदा मनमा उत्पन्न मनोभाव
(ग) विदेशमा खर्च सकिंदा परेको सङ्कटको अनुभूति समेटिएको मनोवाद
(घ) आफ्ना नेपाली पढाउने शिक्षक खुसी हुँदा आफ्ना मनमा खेलेका विचार
ङ) आफू जन्मेको ठाउँ छोडेर अन्यत्र पढ्न जाँदा आफ्ना मनमा खेलेका विचार
च) अस्पतालमा मिल्ने साथीको शल्यक्रिया हुँदाको अनुभूति समेटिएको मनोवाद
मनोवादका नमुना अर्को Post मा हेर्नुहोस्
facebook :


- Reviews (0)
Nothing Found...Leave a review