मनोवाद लेखनका नमुनाहरू

मनोवाद लेखनका नमुनाहरू

मनोवादको नमुना :

नमुना -१ शीर्षक : छात्रवृत्ति पाउँदा

 

स्थान : सुत्ने कोठा

समय : राति दस बजे

पात्र : इभा शर्मा

 

(इभा ओछ्यानमा पल्टेर निदाउने प्रयास गरिरहेकी छे । छेउमा पानीको जग र गिलास छ । बाहिरबाट कुकुर भुकेको आवाज मात्र आउँछ।)

 

(गिलासबाट पानी पिएर पल्टँदै) साँच्ची, मैले त नसोचेकै सफलता पाएकी छु तर, यसलाई राम्ररी उपयोग गर्न सकिएन भने त मेरो मात्र हो र ? देशको इज्जत पनि जान्छ बा ! सबै साथीहरू त अन्तर्वार्तामै अनुत्तीर्ण भए अनि म मात्र .....। अलिकति भाग्यले पनि साथ दिएकै हो । (अर्कोतिर कोल्टे फेर्दै) नाइँ, के भाग्यले दिन्थ्यो - मेरो परिश्रम र लगनशीलताकै फल हो यो त । कति साथीहरू त अन्तर्वार्तामा आफ्नो मान्छे छ भनेर मख्ख परेका थिए तर पनि लगभग नब्बे जनामध्येबाट म मात्र पो छानिएँ, प्रतिस्पर्धा पनि कत्रो ?

 

यो जमाना त चुनौती नै चुनौतीको एउटा अत्यन्त जटिल शृङ्खला पो बन्दै छ बा ! यता मेरो यत्रो उत्साह र अध्ययन छ, उता आमाचाहिँ छोरीलाई विदेश पठाउनहुन्न भनेर...। के छोरीमान्छेले आफ्नो भविष्य आफैं बनाउन नपाउने ? यस्तो रूढिवादी सोचाइले पनि कहीँ हाम्रो समाज अगाडि बढ्ला ! खै, छोडूं, यस्ता कुरा, अब मेरो सफलता परिवारभन्दा देशकै इज्जत हुनेछ । (उठेर झ्यालको पर्दा खोलेर बाहिर हेर्छ र फेरि खाटमै बस्छे ।)

 

आहा ! अमेरिकामा गएर कानुन पढ्न पाउनु कत्रो ठूलो मौका ! त्यसमा पनि 'येल' विश्वविद्यालयमा ! अमेरिकाका धेरैजसो राजनेताहरू जन्माउने विश्वविद्यालय पो रहेछ त्यो त ! कस्तो होला त्यो ! सबै विदेशी विद्यार्थीहरू, सबै सुविधासम्पन्न ! तर पनि एउटा सानो एसियाली मुलुकबाट त्यहाँ गएर आफ्नो खुबी देखाउनु नै मेरो उद्देश्य हुनेछ । पन्ध्र दिनपछि त उडिने भयो, जे होस् । हुन त भिसाको समस्या छैन ।

 

अब भोलिदेखि नै नातेदारहरू र साथीहरूलाई भेटेर आशीर्वाद र शुभेच्छा प्राप्त गर्नपर्ला । गएपछि अब चार वर्षपछि मात्र फर्कन पाइन्छ । (सम्झंदै) माइजूले भान्जी विधर्मी हुने भइन् भनेर कराउँदै हुनुहुन्थ्यो, के विदेशमा गएपछि आफ्नो धर्म र व्यवहार सबै भुल्नुपर्छ र ? त्यहाँ त राम्रा कुराहरू पो सिक्न जाने त । फेरि फर्केर यही देशमा बस्नुपर्छ, आफ्नो आमाको काख जति पराइको एकछिनको माया कहिल्यै मूल्यवान् हुँदैन । बुबाले भनेझै विदेशमा आर्जित ज्ञान स्वदेशमै लगाउनुपर्छ नत्र त देशले छात्रवृत्ति दिएर पढाएको काम नै के भो र ? (घडी हेर्दै) ओहो ! एघार बज्न आँटिसकेछ । भोलि बिहानै सिद्धबाबा मन्दिरमा जाने भनेर साथीहरूसँग कुरा गरेको, भुसुक्कै निदाइएला फेरि । (लामो श्वास फेर्दै सिरक ओढेर निदाउन बल गर्छ )

 

 ....................................................................

नमुना -२ समाजमा रहेका करीति र अन्धविश्वास देख्दा मनमा उब्जेका मनोभाव

 

स्थान : सुत्ने कोठा

समय: रातको १० बजे

पात्र : प्रज्योति

 (सुदुर पश्चिमको बैतडी जिल्लामा पर्ने एउटा दुर्गम गाउँमा जन्मिएकी प्रज्योति कक्षा दसमा पछिन् । आज उनको मिल्ने साथी रमिता पहिलो पटक महिनावारी भएकीले विद्यालय जान पाइनन् । रमिताकी आमाले रमितालाई घरदेखि धेरै टाढाको गोठमा लगेर राखेकी छन् । यी कुरा सम्झदा प्रज्योतिलाई आज पटक्के निद्रा लागेको छैन त्यसैले उनको मनमा विभिन्न कुराहरू खेलिरहेका छन् ।)

 

हे भगवान् ! यी गाउँका मानिसहरूलाई पनि के भएको होला । किन कुरा नबुझेको होला ? विश्व कहाँबाट कहाँ पुगिसक्यो । हाम्रो देशका मानिस भने अझै पनि यस्ता सानातिना कुरामा अल्झिएर बसेका छन् । (कोल्टो फेर्छिन्।) यस्तै हो भने  त खै.....देशको विकास पनि कहिले होला र ।

 

महिनावारी हुनु भनेको प्रकृतिको शाश्वत नियम हो । यो विना मानव जीवनको सृष्टि नै चल्दैन तर यस्ता कुरा यहाँका मानिसले कहिले वुझ्लान् र खै ? आफ्नी छोरी प्रजनन् क्षमताको लागि योग्य रहिछन् भन्ने कुरा बुझी खुसी हुँदै छोरीलाई बधाइ दिने र उचित स्याहार र पोषणयक्त खानेकुराको व्यवस्था गर्ने दिन यहाँ कहिल्यै आउला र ?(उठेर टेबुलमा राखिएको पानी घुटुघुटु ... खान्छिन्।)

 

घाम देख्न नहुने, दाजुभाइ र बुवालाई हेर्न नहुने, घरको धुरी देख्न नहुने, कसैलाई र केही छुन नहुने, विद्यालय जान पनि नपाइने त्यतिमात्र हो र ? घरदेखि धेरै टाढा छाउपडीमा गएर बस्नुपर्ने रे । सम्झदा पनि आडै सिरिङ्ग हुन्छ । ओहो !  कस्तो गर्मी भएको उठेर झ्याल खोल्नुपर्यो । (झयाल खोलेर केही बेर त्यहीं बसी बाहितिर हेर्छिन्।) कठै ! रमिताले यतिवेला के गरिरहेकी होली ।

 

कति डर लागेको होला । जङ्गलतिरबाट जङ्गली जनावरको आवाज आइरहेको होला । निदाउन पनि के सकेकी होली र ! धिक्कार होस् यी गाउँलेहरूलाई ! यिनीहरूको बुद्धि पनि कहिले आउला खै ?(कुकुर भुकेको आवाज सुनिन्छ) पोहोर साल तल्लाघरे पवित्रा छाउपडीवाटै हराइन् ।अहिलेसम्म पत्तो लागेको छैन ।यति हुँदा पनि यी गाउँलेको बुद्धि फिर्ने होइन।  

 

छोरी गुमाउन बरु तयार हुन्छन् तर छोरीलाई घरमा राख्न तयार हुने होइनन् । अस्ति भर्खर शिक्षक, विद्यार्थी र सङ्घ संस्थाका मानिसहरू मिलेर सडक नाटक देखाएको पनि केही काम लागेन । (विस्तारामा पल्टिन्छिन्) दस कक्षाको पढाइ धेरै दिन बिग्रने भो । भोलि विद्यालयमा गएर गुरुआमासंग कुरा गर्नुपर्ला ।

 

गुरुआमाले सम्झाई बुझाई गरेमा रमिताकी आमा मान्नुहुन्छ कि ? के मान्नुहोला र ? समाजमा जरो गाडेर बसेको यो कुरीतिलाई नउखेलेसम्म गाउँका सारा छोरीले कति दुःख पाउने हुन् । कसैको एक्लो प्रयासले त यसको अन्त्य गर्न असम्भव नै छ । सबैजना मिलेर कुरीति र अन्धविश्वासको नाम निसान मेटाउन पाए..... । ओहो ११.३० भइसकेछ तैपनि निद्रा लाग्ने सुर छैन । निद्रा लागोस् पनि कसरी ? (अर्को कोल्टो फेर्छिन्।) हुन त मैले पिर गरेर मात्र समस्या समाधान हुने होइन । जति पिर गरेपनि समस्या जहाँको त्यहीँ नै छ। अब त सुत्नुपर्छ नत्र भोलि समयमै उठन नसकिएला । उठेर शौचालय जान्छिन् । फर्केर बिस्तारामा आई सिरकमा गुटुमुटु पर्छिन् र निदाउँछिन् ।

 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login