दैनिकी : नमुनाहरू

दैनिकी : नमुनाहरू

नमुना -१

शीर्षक :परीक्षाफल प्रकाशित भएको दिन

 

 मितिः२०७६।१२।२९ गते शुक्रबार  

 

 आज बिहान ४ बजे नै निद्रा खुल्यो। हिजो राति पनि राम्ररी निद्रा परेको थिएन। यसको एउटै कारण थियो। आज हाम्रो कक्षा ८ को परीक्षाफल प्रकाशित हुने दिन थियो। विद्यालयमा गुरुहरूले ल है यो त अब आधारभूत तह पार गरेर माध्यमिक तहमा प्रवेश गर्ने मौका हो भन्नु भएको थियो। बाबा ममीले पनि मबाट यसपालि अलि बढी नै अपेक्षा राख्नु भएको थियो ।

 

बाबा जतिखेर पनि भन्नुहुन्थ्यो, ‘ल है अलिकति मात्रै बढी मिहिनेत गर्ने हो भने तिमीले धेरै राम्रो गर्न सक्छौं ।' आफ्नो पनि तह बढ्ने अनि कक्षा नौमा जान पाइने कुरा सम्झेर ल्याउँदा मन त्यसै त्यसै रमाएर आयो तर कता कता डर पनि लाग्यो। यसपालि हामी परीक्षा दिन पनि अर्कै स्कुलमा गएका थियौं । प्रश्नपत्र निर्माण गर्नेदेखि लिएर कापी जाँच्ने काम सबै अरु स्कुलका शिक्षकबाट हुने व्यवस्था मिलाइएको थियो।

 

हामी पहिलोपल्ट परीक्षा दिन अर्को विद्यालय गएका थियौं । कापी कस्तो सरको हातमा पर्ने हो भनेर चिन्ता पनि लागिरहेको थियो। 'आफूले राम्रो लेखेपछि जसको हातमा परे पनि के भो र ? राम्रो कामको राम्रै परिणाम आउँछ' हेडसरले यसै भनेर बेला बेलामा सम्झाउनु हुन्थ्यो। जे भए पनि आखिर जाँच त जाँचै हो नि भनेर डर लागिरहेको थियो।

 

आज ममीलाई अलि सञ्चो थिएन । उठेर हातमुख धुने लगायतका नित्यकर्म गरिसकेपछि चिया बसालें । ममीलाई मैले पकाएको चिया मन पर्थ्यो । सबैभन्दा पहिले मन तातो पारेर पानी खान दिएँ । त्यसपछि ल्वाङ, सुकुमेल लगायतका मसला हालेर एकछिन भुक्लुक भुक्लुक उमालेर चिया पकाएँ । ममीलाई जरो आएको भए पनि मीठो मानेर चिया खानु भयो । मलाई आनन्द लाग्यो। आज खाना पनि आफै बनाउनु थियो । खाना बनाउनचाहिँ मेरो ढङ्ग पुगेको थिएन ।

मैले सातै बजे राइस कुकुरमा भात जोडें । तीन कप चामलमा कति पानी राख्नुपर्छ भनेर ममीले पहिल्यै सिकाउनु भएको थियो । दाल तरकारी पो कसरी मिठो पार्ने होला भनेर सोचिरहेको थिएँ । भान्छामा बुबा आएर ल केटा म दाल तरकारी पकाउँछु भन्नु भयो । मलाई पनि ढुङ्गा खोज्दा देउता मिले जस्तो भइगयो । बुबाले जॉगर लगाएर मुगीको दाल पकाउनु भयो । आलु, सिमी र भेडे खुर्सानीको तरकारी पकाउनु भयो । पुदिनाको अचार बनाउनु भयो । ममीलाई अलिकति जाउलो पनि बनाई दिनु भयो । मेरो नाउँ मात्रै भयो । प्रायः सबै काम बाबाले नै गर्नुभयो । बहिनीको पनि विदा भएकाले खेल्न निस्किएकी थिइन् । धन्न बोलाउन जानु परेन । नौ बजे नै आइन् । खाना खाएपछि बुबा अड्डातिर लाग्नु भयो, म स्कुलतिर लागें ।

 

बाटोमा जाँदै गर्दा मनको ढुकढुकी बढ्न थाल्यो। रौनक, जिवेश, रिदिमा र आर्या पनि भेट भए। आर्याले एकछिन नजिकैको चौतारीमा बसौं भनिन् । बसे उठ्न मन लाग्ने। उठे बस्न मन लाग्ने । मलाई छटपटीले छोइसकेको थियो। अरुको मनोदशा पनि यस्तै थियो। परीक्षा आउँदा पनि डर लाग्ने, नतिजा प्रकाशित हुँदा पनि डर लाग्ने। यस्तोचाहिँ किन हुन्छ होला ? मेरो मनले यस्तै । सोचिरहेको थियो। उताबाट मन्जिल हस्याङ् फस्याट् गर्दै आयो। 'यसलाई पनि नतिजाको चिन्ता लागेछ कि के हो ?' मैले यति सोच्न के भ्याएको थिएँ उसले एउटा प्रस्ताव राख्यो। 'नयाँ वर्षको दिन पिकनिक जानु पर्छ है।' 'वेला न कुवेला बजी नेउला।

आफूलाई नतिजाको चिन्ता छ। ऊ भने वनभोज जाने कुरा गर्छ ।' रिदिमाले आँखा तर्दै भनिन् ।'पास भइहालिन्छ नि। लौ तिमीहरूचाहिँ चिन्तै गरेर बस । चिन्ताले मानिसलाई चितामा पुऱ्याउँछ भनेर हाम्री हजुरआमा भन्ने गर्नुहुन्थ्यो। तिमीहरू नजाने नै हो भने अर्को समूह खोजिन्छ।' यति भन्दै मन्जिल कुदिहाल्यो। हामी पनि एकछिन बसेर विद्यालयतिर लाग्यौँ।

 

दश बजे नतिजा प्रकाशित हुन्छ भनिएको थियो । हामी साँढे १० बजे पुग्दा पनि केही चालचुल थिएन। कार्यालयभित्र शिक्षकहरूको बैठक चलिरहेको रहेछ । एघार बजे कक्षा शिक्षक नुमा लामा बाहिर आउनुभयो। आआफ्नो कक्षाको नतिजा भएको फाइल बोकेर अरु शिक्षकहरू पनि आउन भयो । हामी नमा गुरुमा नजिक गयौं। उहाँले पालैपालो हामीलाई नतिजा देखाउन भयो । मेरो नतिजा देखेर मलाई दिक्क लाग्यो। कम्ती आउँछ भन्ने विश्वास थियो। रौनक र आर्याल त ए प्लस नै ल्याएछन। जिवेश र रिदिमाको ए आएछ। मेरोचाहिं। बि प्लस मात्रै । मेरो मन अमिलो भयो । नुमा गुरुमाले पनि मेरो यो भन्दा रानै हुनुपर्ने भन्नुहुन्थ्यो। म २ बजे घर आएँ। मलाई खाजा खाने जाँगर पनि चलेन। ममी उठेर बाहिरै बस्नु भएको रहेछ।

मेरो मुख हेरेर आत्तिनु भयो । 'नतिजा बिग्रियो कि के हो ?' ममीले चिन्ता मिसिएको आवाजमा सोध्नु भयो । मैले बि प्लस मात्रै आएछ भने। ममीले आत्तिनु पर्दैन भनेर मलाई सम्झाउनु भयो। साँझको सात बजे खाना खाने बेलासम्म पनि मलाई चित्तै बुझेको थिएन। बाबाको कुरा सुनेपछि मन हल्का भयो। उहाँले भन्नुभयो-'परीक्षा र नतिजा भनेका प्राविधिक कुरा हुन्। कहिलेकाहिँ आफूले सोचे जस्तो नहुन पनि सक्छ। बि प्लस पनि नराम्रो होइन। त्यसमाथि यो नै तिम्रो अन्तिम परीक्षा पनि होइन । अब नौ कक्षामा सुरुदेखि नै मिहिनेत गर्नू। मलाई तिमीमाथि भरोशा छ। तिमी पक्कै राम्रो गर्न सक्छौ । त्यसमाथि तिम्रो नम्बर पो घटेको हो त, दिमाग त घटेको छैन नि।

मलाई तिमीमाथि गर्व छ।' बाबाका कुरा सुनेपछि मन हल्का भयो । अहिले रातको नौ बजेको छ। म दैनिकी लेख्न बसेको छु । बाबाको अन्तिम वाक्य मेरो कानमा गुञ्जिरहेको छ 'तिम्रो नम्बर पो घटेको हो त, दिमाग त घटेको छैन नि। मलाई तिमीमाथि गर्व छ।' मलाई पनि मेरा बाबाममीमाथि गर्व छ। भोलि मन्जिललाई भेटेर वनभोज जाने चाँजोपाँजो मिलाउनु पर्ला।

 

नमुना -२ विद्यालयद्वारा आयोजना गरिएको सरस्वतीपूजा

उत्तरः २०७६ साल, माघ १७ गते

 

आज माता सरस्वतीको पूजा धूमधामसँग सम्पन्न गरियो। एक हप्ता पहिलेदेखि नै भव्य रूपमा सरस्वती पूजा सम्पन्न गर्न हामी विद्यार्थीहरू विद्यालयका तर्फबाट सूचित थियौं । पूजा आयोजना र व्यवस्थापनको नेतृत्व प्रधानाध्यपकबाटै भएकाले सबै शिक्षक-शिक्षिका र विद्यार्थीहरू सक्रिय सहभागी भए। विद्यालय दुलहीझै सिङ्गारियो। यसपालि सबै खर्च विद्यालयतर्फबाट नै बेहोरियो।

मेरो काम नगरका गण्यमान्य व्यक्तिहरू, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, शिक्षाविद् र समाजसेवीहरूकहाँ निमन्त्रणा कार्ड पुयाउनु थियो। जो मैले बिहानैदेखि साइकलमा दगुरेर मात्र भ्याउन सकें। आमन्त्रित महोदयहरूलाई स्वागत गर्ने, सम्मानसाथ आसन ग्रहण गराएर प्रसादी वितरण गर्ने कार्यचाहिं रचना म्याडमहरूले गर्नुभयो।

 

 विद्याकी देवी माता सरस्वतीको कृपा र आशीर्वाद पाउन लालायित हामी विद्यार्थीहरू उत्साहसाथ आज पूजाकार्यमा सरिक भयौं। प्रसादी ग्रहण गरेर साँझमा घर फर्कंदा म दिनभरिका खटाइको थकाइले पलस्त थिएँ। आमाको करले अलिकति खाना खाएर पढाइ-लेखाइ केही नगरी दैनिकी पूरा गरेपछि सुत्न हतारिदै छु।

 

नमुना -३  आफूले देखेको कुनै एउटा जात्रा वा मेला

उत्तर : २०७६ साल, माघ ७ गते

 

जीवनमा अनेकौं मेला जात्रा देखियो, तर आज जनकपुरमा देख्न पाएको  विवाहपञ्चमी मेलाको सम्झना भने आजीवन रहिरहने छ। भक्तजनहरूको घुइँचाले मन्दिर हाताभित्र पाइलै राख्न मुश्किल पर्ने । भारततर्फबाट अपार संख्यामा आएका तीर्थयात्रीहरूले धर्मशालाहरू पनि खचाखच भरिएका । बारबिघा मैदानमा पाल टाँगेर बस्ने भक्तजनहरू त झन् कति हुन् कति ।

मलाई त कटटुमात्र लाएका भक्तहरूले जिउ लम्पसार पारेर घस्रदै रामजानकीको दर्शनका लागि फुझै भएर दण्डवती यात्रा गरेको देख्ता उदेकै लाग्यो । कति प्रगाढ आस्था यी भक्तहरूको भगवानप्रति  ।   

 

बिहानै नुहाईधुवाई फूलमाला लिएर माता जानकीको दर्शन गर्न गएको म बल्लबल्ल एक घण्टापछि मात्रै भीडमा हुरिदै दर्शन गर्न सफल भएँ। स्वयम्सेवकहरूको पर्याप्त व्यवस्था हुँदाहुँदै पनि अपार भीड थेगिनसक्नु हँदा उनीहरूसमेत अस्तव्यस्त देखिन्थे। दिउँसो सीतारामका विवाहको डोला उठाएर बारबिघा मैदान ल्याउँदा लाखौं भक्त ,नरनारीहरू जयजयकार गर्दै पछिलाग्दा रहेछन् ।

हेलिकप्टरले आकाशमा घुमीघुमी पुष्पवृष्टि गरेको देख्ता अर्कै आनन्द आउने ! भारततर्फबाट जादू, सर्कस र नानाभाँतीका पिङ खेलाउने टोलीहरूले १५ दिन अगाडि नै बारबिघा डेरा जमाउँदा रहेछन् । जता हेयो उतै नाचगान, भजनकीर्तन, किनमेल र खानपानको व्यस्ततामा निमग्न मानिसका जमातहरू। म त आज दिनभरि कहिले यता र कहिले उता घुमिरहें। साँझ पर्न लागेपछि खाना खाएँ र अब सुत्ने तरखरमा छु।

 

नमुना -४ प्राकृतिक सौन्दर्यका दृष्टिले रमणीय ठाउँको भ्रमण

उत्तर :२०७६ साल चैत २ गते ।

 

नेपालमा धेरै ठाउँ घुमेपनि पोखराझै रमाइलो मलाई अन्त कतै लागेन । मुग्लिनबाट मोटर चढेर रमणीय वन-पाखाहरूको अवलोकन गर्दै पोखरा आइपुग्दा दिउँसोको २ बजिसकेको थियो। मोटरबाट उत्रेर खाजासाजा खाई पहिले हामी फेवातालका लाग्यौं ।

साथी महेशले मोटरबोटमा सैर गर्ने रहर गरेको थियो। साँच्चै फेवाताल  सुनेभन्दा राम्रो र रमाइलो लाग्यो। विशाल क्षेत्रमा फैलिएको यस तालमा उत्तरतर्फ हिमशृङ्खलाहरूको छाया छर्लङ्ग देखिंदो रहेछ।

टाउको उठाएर हेरे पनि र टाउको निहुराएर हेरे पनि माछापुच्छ्रेको दर्शन पाइँदोरहेछ फेवातालमा। साथीको इच्छाबमोजिम मोटरबोटमा सैर गर्दा अलौकिक आनन्द लाग्यो। पृथ्वीको पेटमा भासिंदै दक्षिणतर्फबाट प्रवाहित भएर गएको सेतीगण्डकीको दृश्य पनि साहै दर्शनीय थियो। नदी नदेखिए पनि माथिबाट खसालेका ढुङ्गा धेरै बेरपछि पानीमा छर्लङ्ग गरेको सुनिदो रहेछ।

पर्यटन उद्योगको विकासका लागि पोखराले राष्ट्रलाई राम्रो टेवा दिनसक्ने कल्पना  मेरो मनमा पलायो। यहाँका फेवाताल, माछापुच्छे, सेतीगण्डकी र महेन्द्रगुफा पर्यटकहरूका लागि आकर्षणको केन्द्र बन्न सक्छन्। वरिपरिको दृश्यावली पनि कम रोचक र आकर्षक छैन। उपमहानगरपालिकाको दर्जा पाएको पोखराले सरसफाइमा र सहरी योजनामा चाहिं त्यति ध्यान पुयाएको जस्तो लागेन।

पर्यटकहरूको सुविधाका लागि होटल आदिको अपेक्षित प्रबन्ध हुने हो भने र माथि औंल्याइएका कमजोरीहरूलाई सुधार गर्ने प्रवृत्ति अघि बढ्ने हो भने पर्यटकहरूको घुइँचो पोखरामा कहिल्यै नघट्ने मैले ठानें । आज पोखरा नै बस्ने योजना भएकाले बाँकी ठाउँ भोलि घुम्ने निश्चय गरेर 'माइतीलज' मा कोठा लिई त्यहीं खानपान गरेर रातभर थकाई मार्न लागेका छौं।

 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login