एकाङ्की परिचय र लेखन

एकाङ्की परिचय र लेखन

एकाङ्की विधाको परिचय

जीवनजगत्सँग गाँसिएको कुनै एउटा विशेष घटनालाई नाटकीय रूपमा प्रस्तुत गरिने रचनालाई एकाङ्की भनिन्छ।साहित्यका कथा , कविता , निवन्ध जस्तै एकाङ्की अभिनेयात्मक नवीनतम विधा हो ।

एकाङ्की भनेको एक अङ्क मात्र हुने एक प्रकारको दृश्यात्मक विधा हो । यो नाटककै समरूप तर नाटकभन्दा सानो एक विशिष्ट प्रकारको नाट्यरूप हो। यसमा नाटकमा जस्तो सिङ्गो जीवनको चित्रण नभएर जीवन वा परिस्थितिको एक विशेष क्षण वा घटनाको चित्रण हुन्छ।

 

एकाङ्कीका तत्त्वहरू

  • कथानक

 

  • चरित्र

 

  • संवाद

 

  • भाषाशैली

 

  • उद्देश्य

 

  • परिवेश

 

  • दृश्यविधान

 

  • अभिनेयता

 

एकाङ्की लेखन

क.एकाङ्कीको थालनी गर्दा सर्वप्रथम शीर्षक दिनुपर्छ अनि मञ्चको वर्णन गर्नुपर्छ।

 

ख.पात्रको उल्लेख गर्नुपर्छ, पात्रको छनौट गर्दा एकखाले विषयप्रति सचेत र अकोखाले विषयका बारेमा थाहा नभएका हुनुपर्छ। पात्रका हाउभाउहरू स्पष्टसँग कोष्ठकमा लेख्नुपर्छ ।

 

ग.एउटा पात्रले लामो भाषण गरिरहने र अर्काले सुनिरहने खालको लेखन हुनुहुँदैन, सबै पात्र बराबर सक्रिय हुनुपर्छ।

 

घ.विषयवस्तुलाई स्वाभाविक रूपमा अगाडि बढाउनुपर्छ।

 

ङ.सन्देशात्मक परिवेशमा पुयाई एकाङ्कीको अन्त्य गर्नुपर्छ ।

 

च.पाठकले सकारात्मक सन्देश पाउनुपर्छ तर लेखकले वा पात्रले आफैं सन्देश नदिई घटनाबाट थाहा पाउनुपर्छ।

 

एकाङ्की लेखनको नमुना

गुरुभक्ति

(पात्रहरू : राजेश, दिनेश, रमेश गुरु र अन्य विद्यार्थीहरू)

 

(पर्दा खुल्दा मञ्चमा एउटा मूल बाटोको चौतारो देखिन्छ। त्यहाँ एउटा विद्यार्थी बसेको छ । परबाट विद्यालयको घन्टी बजेको आवाज आउँछ। अर्को एउटा विद्यार्थी विद्यालयबाट फर्कंदै गरेको देखिन्छ। ती दुईको भेट हुन्छ। आश्चर्य भावमा एउटा विद्यार्थी अर्काको वरिपरि घुम्छ र ती दुई कुरा गर्न थाल्छन्।)

 

राजेश - (छेउमा गएर आश्चर्य मान्दै) ओहो ! दिनेश, तिमी यहाँ ।किन आज स्कुलबाट छिटै भागेको ? स्कुल भर्खर छुट्टी हुँदै छ त ?

 

 दिनेश -(उठेर रिसाउँदै) छि ! भो मसँग त्यो स्कुल र त्यहाँका शिक्षकहरूको कुरा नगर । मलाई तिनको कुरा सुन्न पनि मन छैन । (फन्किँदै अर्कातिर फर्कन्छ ।)

 

राजेश -(छक्क पर्दै) अरे ! आज तिमीलाई के भयो ? किन स्कुल र गुरुहरूलाई गाली गर्दै छौ ? हेर, हाम्रो स्कुल र त्यहाँका गुरुगुरुआमाहरूले त गुणस्तरीय शिक्षामा नाम कमाएका छन् । त्यस्तो स्कुललाई खाते भन्न मिल्छ र ?

 

दिनेश -(राताराता आँखा पार्दै) बाहिर नाम कमाएर के गर्नु ? भित्र विद्यार्थीको खुसीलाई ध्यान दिनु छैन ।

 

राजेश -(नजिक गएर दिनेशको हात समाउँदै) किन र ? के खुसीमा ध्यान दिएन स्कुलले ? (अलि पर जङ्गलमा चराहरू कराएको आवाज सुनिन्छ। दुवै विद्यार्थीहरू यताउता हेर्छन्)

 

दिनेश -(अलि शान्त भएर) अस्ति म सिनेमा हेर्न गएको प्रिन्सिपलले अफिसमा बोलाएर गाली गर्यो । हिजो साथीहरूले ढिपी गरेर चुरोट खाइदिएको गन्धबाटै थाहा पाएर विनोद सरले पिट्यो । आज रमेश सरले गृहकार्य गरिनस् भन्दै पिट्यो । (हातमा इँटा लिँदै) म पिटाइ खान यो स्कुलमा भर्ना भएको हुँ र ? यही बाटो त आओस् न त्यो रमेशको टाउको म यही इँटाले फुटाइदिन्छु ।

 

राजेश -(नजिकै गएर) ओहो ! दिनेश तिमी यो के भन्दै छौ ? गुरुलाई त भन्दै होच्याएर बोल्दै छौ अनि आफूलाई ज्ञान दिने गुरुलाई इँटाले हान्ने कुरा गर्दै छौ । (हात समात्दै) तिमी साँच्चै भन त, के तिमीले भनेका यी सबै कुराहरू राम्रा हुन् ? अनि यिनले तिम्रो जीवनमा राम्रो भूमिका खेल्छन् ?

 

 दिनेश -(हात हटाउँदै) मैले जेसुकै गरूँ नि ! ती शिक्षकहरूलाई के मतलब ? तिनलाई महिना महिनामा पैसा तिरेकै छ, त्यति भए भइगयो नि ! (फन्किँदै पर जान्छ)

 

राजेश -(छेउमा गएर) हेर, दिनेश ! स्कूल र शिक्षकहरूले हाम्रो मतलब नराख्ने हो भने कसले राख्ने ? गुरुहरू हाम्रा आमाबुबा समान हुन् । उनीहरूले पैसा कमाउनका लागि मात्र हामीलाई पढाएका होइनन्, पैसा त तिनले जसरी पनि कमाउन सक्थे नि हैन र ? हेर, ती हाम्रा जीवनदाताहरूको त्यागलाई यसरी पैसासँग जोडेर हेरियो भने तिनको निःस्वार्थ सेवाको घोर अपमान हुनेछ।

 

दिनेश -(हाँस्दै) तिमी त निकै दार्शनिक र गुरुभक्त भएछौ ? तिमीलाई पनि अलिअलि मिल्छ कि क्या हो ? कि ती फटाहाहरू तिम्रा आफन्त हुन् ? (अचानक रिसाएको भावमा) मलाई तिम्रो प्राण सुन्नु छैन । यो पुराण अरूलाई सुनाउनू । मलाई विद्यार्थीको भावना नबुझ्ने शिक्षक भनाउँदाहरू पनि मन पर्दैनन् र साथीको भावना नबुझेर उपदेश दिने साथी भनाउँदाहरू पनि मन पर्दैनन् । (यत्तिकैमा अरू चारपाँचजना विद्यार्थीहरू आइपुग्छन् र तिनका कुरा सुन्न खोज्छन् तर दिनेशले रिसाएर तिनलाई त्यहाँबाट लखेट्छ अनि सबै भाग्छन्)

 

राजेश -(सम्झाउँदै) हेर दिनेश ! तिमीले मलाई दार्शनिक र गुरुभक्त भनी उडाउन खोज्यौ । सही कुरा गर्दा कसरी दार्शनिक भइन्छ ? अनि राम्रो कुरा गर्ने जति सबैले घुस खाएकै हुन्छन् त ? ( अलि रिसाएको भावमा) ल, तिमी नै भन, स्कुल लागेका बेलामा सिनेमा हेर्न जाने, बाटामा बसेर चुरोट खाने तिमी ठीक कि योग्य नागरिक बन्न प्रेरित गर्ने गरुहरू ठीक ? (अलि खिन्न हँदै) आफ्नो गल्ती कहिल्यै नदेख्ने र गुरुहरूलाई मात्र दोष लगाइरहने परम्पराको अन्त्य कहिले होला हरे !

 

दिनेश -(अलिकति मुस्कुराउँदै) ल, तिमी त मसँग पो रिसाउन थाल्यौ त ! अनि निकै भावुक पनि बन्न थाल्यौ त ! हे गुरुभक्त ! मैले 'मेरो गल्ती छैन' भनेको होइन नि ! कहिलेकाहीँ त हामीले पनि स्वतन्त्रता पाउनुपर्यो नि, भनेको पो त !

 

राजेश -(अलि आवेगमा आएर) तिमीलाई कस्तो स्वतन्त्रता चाहियो ? अहिले हाम्रो बिग्रिने बेला हो ? अहिले तिमीलाई स्वतन्त्र छाडिदियो भने तिमीले अहिले रहरले हेर्ने सिनेमा भोलि बानी बन्छ । अहिले रहरले तान्ने चुरोट भोलि लत बस्छ । अनि तिमी चुरोटमा मात्र सीमित नरहेर गाँजा चरेसतिर लागौला अनि तिम्रो भविष्य के होला ? सोचेका छौ ? (शान्त भएर) हेर, गुरुलाई दुःखित पार्ने मान्छेले कहिल्यै पनि असल शिक्षा पाउन सक्दैन।

 

दिनेश -(लज्जित हुँदै) ओहो ! राजेश म भोलि नै गएर गुरुहरूसँग माफी माग्छु र तिमीजस्तै गुरुभक्त शिष्य बन्नेछु । (यत्तिकैमा मुसुमुसु हाँस्दै रमेश गुरुको मञ्चमा प्रवेश)

 

रमेश -(ठट्टाको भावमा) भोलिसम्म पर्खिनै पर्दैन नि दिनेश ! मैले तिमीहरूका सबै कुरा सुनिसकें । माफी माग्नु र माफी दिनु ठूलो कुरा होइन, मान्छेले आफूले गरेको गल्तीलाई स्विकार्नु नै सबैभन्दा ठूलो कुरा हो । आज मलाई राजेशसँग जति गर्व छ त्यति नै गर्व तिमीसँग छ । कुरा बुझाउने र बुझ्ने दुवै महान् हुन् । आजदेखि म पनि तिमीहरू दुवैलाई गुरु मान्छु । ल, हिँड अब घर जाऔं

 

 (दिनेश लज्जित हुँदै हातको इँटा खुसुक्क पछाडि फाल्छ । गुरु मुसुक्क हाँस्छन् र दुवैलाई दुईतिर अँगालो हालेर घरतिर लाग्छन् । पर्दा बन्द हुन्छ ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login