कार्यमूलक अनुसन्धान : नमुना १

कार्यमूलक अनुसन्धान : नमुना १

कार्यमूलक अनुसन्धानको शीर्षक : कक्षा १० मा वर्ग विधिबाट नेपालको नक्सा निर्माण गर्न कसरी सिकाउन सकिएला ?

 

समस्याको पहिचान

कक्षा १० मा सामाजिक शिक्षणको क्रममा वर्ग विधिबाट नेपालको नक्सा निर्माण सम्बन्धमा गरिएको योजनाबद्ध अध्ययनबाट उक्त समस्या आउनुमा निम्न कारणहरू जिम्मेवार रहेको कुरा पत्ता लगाएँः

१. नक्सामा कोरिएको वर्ग र खाली कागजमा कोरिएको वर्गाकार कोठाको संख्या र आकारको अनुपात नमिलेको ।

 

२. विद्यार्थीहरूले नक्सामाथि कोरिएको वर्ग र खाली कागजमा कोरिएको वर्गको सम्बन्ध पहिचान गर्न नसकेको ।

 

३. कुन वर्गमा नक्साको रेखा कसरी गएको छ भन्ने हेक्का राख्न नसकेको ।

 

४. विद्यार्थीहरूमा सूक्ष्म अवलोकन गरेर नक्साको रेखा कोर्ने धैर्यको कमी भएको ।

 

५. यस विधिलाई विद्यार्थीले एक झन्झटिलो विधिका रूपमा लिएको ।

 

६. विद्यार्थीहरूमा नक्सा निर्माण गर्ने काम कठिन कार्य हो भन्ने भय रहेको ।

 

७. विगतदेखि नै नक्सा निर्माण गर्ने ज्ञान, सीप र आदतको कमी रहेको ।

 

८. उनीहरूमा नक्सा निर्माण गर्ने सीपमा उत्साह जगाउन नसकिएको ।

 

यसपछि वर्ग विधिबाट नेपालको नक्सा निर्माण शिक्षणलाई मैले नै उपयुक्त तरिकाले सहजीकरण गर्न नसकेको अनुभूति भयो । त्यसैले वर्ग विधिको प्रयोग गरी सहज रूपमा नेपालको नक्सा शिक्षण गर्ने परम्परागत तरिकामा के–कस्ता परिवर्तन गर्नु पर्ला भन्ने कुरा को खोजी नै मेरो अध्ययनको मुख्य विषयवस्तु बन्न गएको हो ।

 

अध्ययनको उद्देश्य : वर्ग विधिबाट नेपालको नक्सा निर्माण गर्न सक्षम बनाउनु

 

चरणबद्ध प्रयास (Interventions)

क. पहिलो चक्र

१. योजना (Plan): मोटरकारको एउटा सरल चित्रलाई वर्ग विधिबाट उतार्ने अभ्यास गराउने ।

 

२. कार्य (Action): पहिलो चरणमा मैले बोर्डमा मार्करले ६×५ वर्ग भएको आयात बनाएँ । विद्यार्थीलाई पनि उक्त आयात आ–आफ्नो कापीमा पेन्सिलले सार्न लगाएँ । त्यसपछि उक्त आयातमा मैले नम्बर दिएँ र विद्यार्थीलाई पनि त्यसै गरी वर्ग कोठामा नम्बर दिन लगाएँ । उक्त आयातभित्र वर्ग कोठाहरूलाई समेट्दै मोटरकारको एउटा सरल चित्र कोरें । त्यसपछि मैले विद्यार्थीलाई कुन कुन वर्गबाट कसरी रेखाहरू गएर उक्त मोटरकारको चित्र बनेको छ, त्यसको रराम्रोसित अवलोकन र पहिचान गर्न लगाएँ ।

त्यसपछि आ–आफ्नो कापीमा यसअघि बनाएको आयातमा त्यसै गरी नम्बर पहिल्याउँदै त्यस्तै मोटरकारको आकृति बनाउन लगाएँ । त्यसपछि बनेको कारको आकृति माथि साइनपेन वा डटपेनले कोर्न लगाएँ र पेन्सिलले कोरिएको वर्गलाई इरेजरले मेटाउन लगाएँ ।

३. अवलोकन (Observation):

वर्ग विधिको प्रयोग गरेर विद्यार्थीले मोटरकारको आकृति निर्माण गरे पछि कालोपाटीमा रहेको चित्र र विद्यार्थीले आ–आफ्नो अभ्यास पुस्तिकामा उतारेको कारको चित्रको आकार र प्रकार तुलना गर्न लगाएँ । त्यसपछि मैले विद्यार्थीहरूले अभ्यास पुस्तिकामा बनाएको मोटरकारको चित्र अवलोकन गरे । अधिकांश सबै विद्यार्थीले वर्ग विधिको प्रयोग गरी मोटरकारको चित्र उतारे । सबै विद्यार्थीले वर्गको नम्बरलाई पहिल्याउँदै पहिले बोर्डमा भएको मोटरकारको अगाडि को आयताकार भाग बनाए । त्यसपछि छानो र कारको बीचको मुख्य भाग बनाए । त्यसपछि चक्का रहेको वर्गको स्थान पहिल्याएर चक्काको भाग उतारे । यसरी वर्ग कोठाको ठीक विन्दु पहिल्याएर विद्यार्थीले कारको दुरुस्त आकृतिलाई सही रूपमा उतार्न सक्षम भए । यसरी उक्त मोटरकारको पूरा आकृति बनाउन विद्यार्थीलाई औसत ५ देखि ७ मिनेट जति समय लाग्यो ।

४. प्रतिबिम्बन (Reflection): प्रायः सबै विद्यार्थीहरूको कापीमा बोर्डमा बनाइए जस्तै गरी कारको चित्र उतारेको देखि यो । वर्ग विधिको प्रयोग गरी ५—७ मिनेटको छोटो समयमा नै कारको चित्र उतार्न सक्षम भएको मा सबै विद्यार्थी खुशीले दंग भए । विद्यार्थीहरू आफूले बनाएको कारको चित्र साथीलाई देखाउँदै अनुभव साटासाट गरिरहेका थिए । यसरी पहिले सजिलो चित्रबाट सिक्न शुरू गराउनु पर्ने रहेछ भनी विद्यार्थीले प्रतिक्रिया व्यक्त गरे । अब हामी अन्य नक्साहरूलाई पनि यसरी नै उतार्न सिक्नेछौं भनी आ–आफ्नो प्रतिबद्धता व्यक्त गरे । आउँदा दिनका कक्षाहरूमा यो विधिलाई निरन्तरता दिन सकिने रहेछ भन्ने निष्कर्षमा पुगें ।

ख. दोस्रो चक्र

१. योजना (Plan): दोस्रो चरणमा मैले पहिलेको जस्तै तर अलिक फरक किसिमको अभ्यास गराउने/ गर्ने योजना बनाएँ । यस चरणमा मैले वर्ग विधिबाट वक्ररेखाले बनेका सरल तर अलिक जटिल आकृति जस्तै फूल, पात, मानिसको आकार आदि उतार्ने अभ्यास गराउने निधो गरे ।

२. कार्य (Action): फ्ल्यास कार्डमा यस्ता चित्रहरूको नमूना तयार गरी कक्षाकोठामा लगें । मैले ह्वाइट बोर्डमा मार्करले ७×५ वर्ग भएको आयात बनाएँ । विद्यार्थीलाई पनि उक्त आयात आ–आफ्नो कापीमा सार्न लगाएँ । त्यसपछि उक्त आयातमा मैले नम्बर दिएँ र विद्यार्थीलाई पनि त्यसै गरी वर्ग कोठामा नम्बर दिन लगाएँ । उक्त आयातभित्र वर्ग कोठाहरूलाई समेट्दै पहिले पात, फूल र त्यसपछि मानिसको सिन्के चित्रको आकृति कोरें । त्यसपछि मैले विद्यार्थीलाई कुन कुन वर्गबाट कसरी रेखाहरू गएर उक्त चित्रहरू बनेका छन्, तिनको रराम्रोसित अवलोकन गर्न लगाएँ र आफ्नो कापीमा यसअघि बनाएको आयातमा पहिलो चरणमा गरे जस्तै गरी नम्बर पहिल्याउँदै त्यस्तै चित्रहरू उतार्ने अभ्यास गराएँ ।

 

३. अवलोकन (Observation): यस पटक पनि विद्यार्थीले वर्ग विधिको प्रयोग गरेर पात, फूल र त्यसपछि मानिसको सिन्के चित्रको आकृति निर्माण गरे । पछि पुनः कालोपाटीमा रहेको चित्र र विद्यार्थीको अभ्यास पुस्तिकामा रहेको कारको चित्रको आकार र प्रकार तुलना गर्न लगाएँ । त्यसपछि मैले विद्यार्थीहरूले अभ्यास पुस्तिकामा बनाएका ती वस्तुहरूको चित्र अवलोकन गरे । अधिकांश सबै विद्यार्थीले वर्ग विधिको प्रयोग गरी ती वस्तुहरूको चित्र उतारेको पाएँ । सबै विद्यार्थीले वर्गको नम्बरलाई पहिल्याउँदै बोर्डमा भएको ती वस्तुहरूको चित्रले लिएको रेखा र वर्गको स्थान पहिल्याई ती आकृतिहरू सही रूपमा उतारेको पाएँ । यस पटक उक्त वस्तुहरूको एउटा चित्र बनाउन विद्यार्थीलाई औसत ७ मिनेट जति समय लागेको थियोे ।

 

४. प्रतिबिम्बन (Reflection): प्रायः सबै विद्यार्थीको कापीमा बोर्डमा बनाइए जस्तै कारको चित्र बनेको थियो । वर्ग विधिको प्रयोग गरी छोटो समयमा ती वस्तुहरूको चित्र उतार्न सक्षम भएको मा सबै विद्यार्थी अझ् बढी खुशी भएका थिए । विद्यार्थीले आफूले बनाएको कारको चित्र साथीलाई देखाउँदै अनुभव साटासाट गरिरहेका थिए । यसरी पहिले सजिलो र त्यसपछि क्रमशः कठिन चित्र प्रयोग गरी अभ्यास गर्नु पर्ने रहेछ भनी विद्यार्थीले आफ्नो प्रतिक्रिया व्यक्त गरे । अब हामी यसरी नै नक्सा उतार्नेछौं भनी पुनः प्रतिबद्धता जनाए । पहिलो र दोस्रो चरणको क्रियात्मक अनुसन्धानको प्रयासबाट पाएको सफलताले मलाई तेस्रो चरणमा जाने हौसला प्राप्त भयो ।

 

ग. तेस्रो चक्र

१. योजना (Plan): यस चरणमा मैले अलिक फरक किसिमको हस्तक्षेपकारी प्रयास ९ष्लतभचखभलतष्यल० गर्ने यस्तो योजना बनाएँः पहिले ट्रान्सपरेन्सी सीटमा नेपालको नक्सा फोटोकपी गर्ने र त्यस माथि वर्गकोठा कोर्ने । हरेक वर्गकोठामा क्रमैसित देब्रेबाट दाहिनेतिर १, २, ३ ... गर्दै नम्बर दिंदै जाने । त्यस्तै अर्को एउटा खाली ट्रान्सपरेन्सी सीटमा वर्गकोठा कोर्ने र पहिलेको नक्सा माथि कोरेको जस्तै गरी वर्गको नम्बर दिने । त्यसपछि ओएचपीबाट ट्रान्सपरेन्सी सीटमा कोरेको वर्ग र फोटोकपी गरिएको नक्सा एकैचोटि देखाउने । तयारी नक्सा माथि कोरिएको वर्गको नम्बरको सहारा लिंदै खाली ट्रान्सपरेन्सी सीटमा नक्सा निर्माण गर्ने तरिका ओएचपीबाट देखाएर बताउने ।

२. कार्य (Action): मैले तेस्रो चरणको योजना बमोजिम ती दुवै प्रकारका सीटका एक–एक प्रति फोटोकपीहरू हरेक विद्यार्थीलाई वितरण गरे । उक्त दुवै सीटहरूलाई एकैचोटि ओएचपीमा देखाएँ । ती दुवै सीटमा नेपालको तयारी नक्सा र वर्गकोठा भएको खाली सीट अवलोकन गर्न लगाएँ । त्यसपछि विद्यार्थीलाई आफूसित भएका ती दुवै सीटहरूलाई डेस्कमा राख्न लगाएँ । तयारी नक्सामा सिमाना रेखा गएको वर्ग हेरी खाली सीटको वर्गमा विन्दु अंकित गर्न लगाएँ । यसै गरी क्रमैसित नेपालको नक्साको वरिपरि सिमानाको सबै रेखाहरूको विन्दुलाई खाली सीटको वर्गमा अंकित गरिसकेपछि ती विन्दुहरू जोड्न लगाएँ ।

३. अवलोकन (Observation): यसरी वर्ग विधिको प्रयोग गरेर विद्यार्थीले नेपालको नक्साको आकृति निर्माण गरे पछि पुनः ओएचपीमा रहेको चित्र र विद्यार्थीले उतार गरेको नेपालको नक्साको आकार र प्रकार तुलना गर्न लगाएँ । त्यसपछि मैले विद्यार्थीले खाली कागजमा बनाएको नेपालको नक्सा अवलोकन गरे । विद्यार्थीले वर्गको नम्बरलाई पहिल्याउँदै नेपालको नक्साको सिमानाले वर्गमा लिएको रेखा र स्थान पहिल्याई ती आकृतिहरू वर्गको सही स्थानमा कोरें । यो विधिबाट अधिकांश विद्यार्थीले नेपालको नक्सा ठीकसित उतारे । यस विधिबाट नेपालको एउटा खाली नक्सा बनाउन विद्यार्थीलाई औसत २० मिनेट जति समय लाग्योे ।

 

४. प्रतिबिम्बन (Reflection): प्रायः सबै विद्यार्थीले नेपालको नक्सा उतारेको देखि यो । वर्ग विधिको प्रयोग गरी छोटो समयमा नेपालको नक्सा उतार्न सक्षम भएको मा सबै विद्यार्थी सन्तुष्ट भएको पाइयो । विद्यार्थी आफूले बनाएको नेपालको नक्सा साथीलाई देखाउँदै अनुभव साटासाट गरिरहेका थिए । यसरी वर्ग विधिबाट पहिले सजिलो र त्यसपछि क्रमशः कठिन चित्र प्रयोग गरी चित्र उतार्न सिकेपछि मात्र नेपालको पूर्ण आकृतिको नक्सा निर्माण अभ्यास गर्नु पर्ने रहेछ भनी विद्यार्थीले प्रतिक्रिया व्यक्त गरे । अब हामी यसरी नै अरू देशको पनि नक्सा उतार्न सिक्न सक्छौं भनी प्रतिबद्धता जनाए । विद्यार्थीले यसरी चरणबद्ध रूपमा वर्ग विधिबाट नेपालको नक्सा निर्माण गर्ने अभ्यास गर्न पाउँदा प्रसन्नता व्यक्त गरे । तर केही विद्यार्थीले भने यो रमाइलो तरिका रहेछ तर अलिक झन्झटिलो पनि रहेछ भनी प्रतिक्रिया दिए ।

 

३. चौथो चक्र

१. योजना (Plan): यस चरणमा मैले यसअघिको भन्दा अलिक जटिल किसिमको हस्तक्षेप गर्ने योजना बनाएँः विद्यार्थीलाई चार समूहमा विभाजन गर्ने । हरेक समूहलाई एक–एक वटा नेपालको नक्साको फोटोकपी र सादा न्युजप्रिन्ट पेपर दिने । साथमा पेन्सिल, इरेजर र साइनपेन पनि दिने । नेपालको नक्साको फोटोकपी माथि विद्यार्थीलाई नै वर्ग कोर्न लगाउने । अर्को खाली न्युजप्रिन्ट पेपरमा पनि विद्यार्थीलाई नै वर्ग बनाउन लगाउने र फोटोकपी नक्साको वर्ग हेरी न्युजप्रिन्ट पेपरमा नेपालको नक्सा उतार गर्न लगाउने ।

 

२. कार्य (Action): यस चरणमा योजनाबमोजिम विद्यार्थी चार समूहमा विभाजित गरेर बसाएँ । हरेक समूहलाई एक–एक वटा नेपालको नक्साको फोटोकपी र सादा न्युजप्रिन्ट पेपर र अन्य सामग्री वितरण गरे । विद्यार्थीलाई योजनाबमोजिम निर्देशन दिएँ । मैले निर्देशन अनुसार विद्यार्थीले समूहमा नेपालको नक्साको फोटोकपी माथि वर्ग कोरे । खाली न्युजप्रिन्ट पेपरमा वर्ग बनाए । फोटोकपी नक्साको वर्ग हेरेर विद्यार्थीले समूहमा रही न्युजप्रिन्ट पेपरमा चार वटा नेपालको नक्सा उतार गरे । फोटोकपीको सानो नक्सासित र विद्यार्थीले न्युजप्रिन्टमा उतारेको नेपालको ठूलो नक्साको आकार तुलना गर्न लगाएँ ।

३. अवलोकन (Observation): यसरी नेपालको नक्सा निर्माण गरे पछि फोटोकपी र विद्यार्थीले न्युजप्रिन्टमा उतारेको नक्सा अवलोकन गरे । विद्यार्थीले समूहमा रही कार्य विभाजन गरेर नक्सा निर्माण गरे । यो विधिबाट चार वटै समूहका विद्यार्थीले नेपालको नक्सा ठीकसित उतारे । यस विधिबाट नेपालको एउटा खाली नक्सा बनाउन विद्यार्थीलाई औसत ३० मिनेट जति समय लाग्योे ।

४. प्रतिबिम्बन (Reflection): समूहका सबै विद्यार्थीरूचिपूर्वक नक्सा निर्माणको समूह कार्यमा सहभागी भए । वर्ग विधिको प्रयोग गरेर सानो नक्सालाई ठूलो आकारमा उतार्न सक्षम भएको मा विद्यार्थी दंग भए । उनीहरूले आफूले बनाएको नेपालको नक्सा साथीलाई देखाउँदै भित्तामा टाँसे । यसबाट वर्ग विधिबाट सानो नक्सालाई ठूलो सानो आकारमा पनि उतार्न सकिने रहेछ भन्ने अर्को एउटा नयाँ पाठ सिकेको कुरा व्यक्त गरे ।

त्यसपछि मैले वर्ग विधिको सिर्जनात्मक प्रयोग सम्बन्धमा केही रोचक र रमाइला केही सुझाव (tips) हरू दिएँ । जस्तैः वर्ग कोर्ने झन्झटबाट मुक्त हुन पहिले नै एउटा ट्रान्सपरेन्सी सीटमा पाना भरिने गरी नम्बरसहितको वर्गहरू (grid) बनाउने । उक्त सीटलाई नहल्लिने गरी उतार्नुपर्ने तयारी नक्सा माथि हल्का रूपमा टाँसेर राख्ने र आफूले वर्ग बनाएको खाली पानामा उक्त वर्ग हेर्दै नक्सा कोर्ने । यसरी वर्ग विधिबाट भौगोलिक स्थानको मात्र होइन, आफ्नो वा कसैको तस्वीर वा कुनै पनि फोटोलाई कापीमा उतार्न सकिन्छ भनी केही उदाहरणहरू बोर्डमा बनाएर देखाएँ । विद्यार्थीले यो सुझावलाई औधी रुचाए ।

प्राप्ति

माथिका अभ्यासहरूबाट अघिल्ला दुईवटा कक्षाहरूमा भन्दा पछिल्ला तीन वटा कक्षाहरूमा नक्सा निर्माण सम्बन्धी पाइएका कमजोरी, त्रुटि सङ्ख्या र वर्ग विधिबाट पनि नक्सा निर्माण गर्न जानिएन भनी प्रतिक्रिया व्यक्त गर्ने विद्यार्थीको सङ्ख्या क्रमशः घट्दै गएको पाएँ । नक्सामा कोरिएको वर्ग र खाली कागजमा कोरिएको वर्गाकार कोठाको संख्या र आकारको अनुपात मिलाउन सिके । नक्सा माथि कोरिएको वर्ग र खाली कागजमा कोरिएको वर्गको सम्बन्ध पहिचान गर्न सक्षम भए । विद्यार्थीमा मूल नक्साको सूक्ष्म अवलोकन गरेर वर्गमा नक्साको रेखा कोर्ने धैर्यको सीप विकास गरे । नक्सा निर्माण गर्ने यस विधिलाई विद्यार्थीले उपयोगी र रमाइलो विधिका रूपमा लिए । नक्सा निर्माण गर्ने सीपमा उत्साह र जाँगर पैदा गराउन सकियो । वर्ग विधिको प्रयोग गरी नक्सा निर्माण गराउने क्रियाकलाप ले नक्साको आकार, सीमारेखाको अवस्थिति, नक्साको ढल्काइ, लम्बाइ र चौडाइको अनुपात, सीमा रेखाको खुम्च्याइ र फैलावटको अन्तर पहिचान गर्न र मनमा नक्साको अवधारणा बसाउन सजिलो हुने रहेछ भन्ने कुरा सिकियो । विद्यार्थीमा नक्सा निर्माण सम्बन्धी त्रुटिहरू क्रमशः घट्दै गएको पाएँ । नेपालको नक्सा मात्र होइन, कुनै पनि स्थानको नक्सालाई अर्को खाली कागजमा उतार गर्नका लागि वर्ग विधिलाई उपयोग गर्न सकिने रहेछ भन्ने पाठ विद्यार्थीले सिके । नक्सा शिक्षण गर्दा शिक्षकले एकपछि अर्को गरी नछुटाइकन निर्देशनहरू क्रमैसित र प्रष्टसित दिन आवश्यक हुने रहेछ, पाठ पनि सिकियो ।

निचोड

यस अध्ययनबाट मैले वर्ग विधिबाट नेपालको नक्सा निर्माण गर्ने एउटा रोचक र सरल विधि पत्ता लगाएँ । नक्सा शिक्षण सीपमा सुधार ल्याएँ । वर्ग विधिबाट नेपालको नक्सा निर्माण सम्बन्धी विषयवस्तुलाई निर्धक्क भएर शिक्षण गर्ने क्षमताको विकास भयो । यसबाट के गरी नेपालको नक्सा शिक्षण निर्माण पाठ विद्यार्थीलाई सरल तरिकाले शिक्षण गर्न सकिएला त भन्ने विषयमा मैले गरेको क्रियात्मक अनुसन्धान ठीक किसिमले अगाडि बढेको रहेछ भन्ने निष्कर्षमा पुगें । मैले गरेको प्रस्तुत अनुसन्धान हाललाई तेस्रो चरणमा अन्त्य गर्ने निधो गरे । क्रियात्मक अनुसन्धानको मुख्य अभिप्राय आफूले गर्ने कार्यमा सुधार ल्याउनु नै हो भन्ने मैले सिकेको पाठलाई यस अध्ययनले अझ् मजबुत बनाएको महसूस भयो । यस अध्ययनबाट उजागर भएका सबल पक्षहरूको सही उपयोग भएमा त्यसको सकारात्मक प्रभाव शिक्षण–सिकाइ क्रियाकलाप मा मात्र होइन, विद्यार्थीको सिकाइ–उपलब्धि परीक्षण तथा मूल्यांकनमा समेत पर्नेछ भन्ने मलाई लागेको छ । यसबाट हरेक वर्ष विद्यालयको वार्षिक परीक्षा तथा बोर्ड इक्जाममा सोधिने नेपालको नक्सा निर्माण सम्बन्धी प्रश्न हल गर्न विद्यार्थीलाई मद्दत गर्ने छ । यस किसिमको अध्ययनले त्यसता प्रश्नहरू कसरी हल गर्ने होला भन्ने विद्यार्थीको चिन्तालाई दूर गर्न र परीक्षामा नक्साको खाका कोर्ने प्रश्नको उत्तरमा हुने चोरी नियन्त्रण गर्न समेत मद्दत पुग्नेछ ।

 

लेखक : अनन्त  कुमार पौड्याल (शिक्षक मासिकमा लेखेको खबर )



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login