लघुकथा : तथास्तु

लघुकथा : तथास्तु

   शीर्षक : तथास्तु

 

रातको बाह्र बजेको थियो । कोठामा म थिएँ । स्वास्नी थिई बिरामी र सोचिरहेको थिएँ, अप्रेसनका लागि जुटाउनुपर्ने पाँच लाख रुपियाँ कहाँबाट ल्याउने ?

एकाएक प्रकट भए भगवान् कोठामा । झस्किएँ । के भयो ! के यो सत्य त हो ! चिमोटें आफैलाई । रहेनछ यो कुनै सपना वा भ्रान्ति ।

मुस्कुराउँदै भने भगवान्ले- 'ए मनुवा ! के माग्छस् माग् ।'

यो अप्रत्यासित क्षण । म के मागु? 'छिटो माग । भने भगवानले ।

हड्बडिएँ सायद । के माग्ने ? बिल्डिङ,गाडी, पैसा ? सोचे माग्छु पैसा | चाहिएको छ अप्रेसनका लागि खुसी जीवनका लागि । तर कति माग्ने ? दश लाख, पचास लाख, एक करोड, दश करोड ?

'छिटो माग । समय सकिन लाग्यो । भगवानले घडी हेर्दै भने ।

'एकै सासमा भने- दश करोड रुपियाँ दिनुस् प्रभु !'

'तथास्तु !' भगवान् बिलाए । एकाएक थुप्रिए करोडका नोटहरू ।

खुसीले उफ्रिएँ र उठाउन खोजें स्वास्नी चिसो भइसकेकी थिई । नाडी छामें । थिएन नाडी । थियो स्वास्नीको लास एकातिर । अर्कोतिर नोटका बिटाहरू थिए अनि थिएँ म बिचमा अवाक् । चिच्याएँ- 'प्रभु । मलाई स्वास्नीको जीवन दिनुस् । तर थिएनन् भगवान् त्यहाँ । थियो शून्यता । केवल शून्यता । थिए नोटका बिटाहरू ।

 

- अशेष मल्ल

(मधुपर्क, लघुकथा अक : २०५६ बाट साभार)



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login