कार्यमूलक अनुसन्धान:नमुना चार

कार्यमूलक अनुसन्धान:नमुना चार

अनुसन्धानकर्ता : प्रकाश सिम्खडा 

विद्यालयको नाम:  जनसेवा माध्यमिक विद्यालय

 ठेगाना : कीर्तिपुर नगरपालिका -, पाँगा, काठमाडौं 

 अनुसन्धानमा समावेश कक्षा :

विषय:  विज्ञान

तह : माध्यमिक

अनुसन्धान कार्यको शीर्षक :  बिज्ञान बिषयमा विद्यार्थीहरुलाई कसरी सिर्जनशील बनाउने ?

 

 .अनुसन्धान गरिएको समस्याको कथन :

विज्ञान भनेको कुनै पनि विषयमा क्रमबद्ध  अध्ययन गरी व्याख्या विश्लेषण गर्ने शास्त्र हो । कुनैपनि कुराको अध्ययन विश्लेषण गर्दा के,किन  र कसरी गर्ने भन्ने चेतनाको उत्पत्ति हुनु नै बिज्ञान हो । वर्तमान युग वैज्ञानिक युग भएकाले युग अनुकूलको  ज्ञान,सीप र आचरणका लागि विज्ञानसम्बन्धी ज्ञान,सीप आवश्यक पर्दछन् । नेपालमा विज्ञान विषयको सिकाइ उपलब्धि कमजोर रहेको तथ्य माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजाबाट देख्न सकिन्छ । यसका विभिन्न कारणहरु औंल्याउने गरिएको पाइन्छ ।

वास्तवमा शिक्षकले सिर्जनशील शिक्षण विधिको  प्रयोग गरेर सिकाइ गर्दा विद्यार्थीको सिकाइ उपलब्धि बढन सक्छ ।  कुनै व्यक्तिमा भएको छुट्टै प्रकारको गुण जुन समाजका लागि उपयोगीमूलक छ, त्यसलाई सिर्जनशीलता भनिन्छ । आफ्नो विचार प्रस्तुत गर्दा मौलिकपन देखाई अरुभन्दा भिन्न क्रियाकलाप गरी समाजमा विशेष प्रतिभा देखाउनु नै सिर्जनशीलता हो । 

 

 .अध्ययनको उद्देश्य

  • विज्ञान विषयमा विद्यार्थीहरूको सिर्जनशील सीपको अभिवृद्धि गराउने ।

 

 .समस्याका कारण

क. विद्यार्थीको शिक्षण सिकाइ प्रक्रियामा अर्थपूर्ण सहभागितामा कमी ।

ख. विद्यार्थीले प्रयोगात्मक एवं परियोजना कार्यहरु गर्दा पर्याप्त मात्रामा सम्बन्धित विषयमा प्रश्न नगर्नु ।

ग. शिक्षण सिकाइ क्रियाकलापमा सिर्जनशील विधीको पर्याप्त प्रयोग हुन नसक्नु ।

 घ.विद्यार्थीको सिकाइको स्तर र विषयसँग सम्बन्धित पूर्वज्ञानमा भएको भिन्नता ।

 

 . समस्या समाधानका लागि अपनाइएको कार्ययोजना

 विज्ञान विषयमा विद्यार्थीहरुलाई कसरी सिर्जनशील बनाउने भन्ने कुरालाई प्रमुख आधार बनाई समस्या समाधानका लागि अपनाइएको कार्ययोजना निम्न बमोजिम प्रस्तुत गरिएको छ :

क. २०७६ मंसिर महिनामा गरिएका चारवटा प्रयोगात्मक कक्षामा विद्यार्थीको अर्थपुर्ण सहभागिताको लागि विद्यार्थीमा परिकल्पना गर्न सक्ने खालको उद्देश्य राखेर विज्ञान शिक्षण गर्ने ।

ख. विद्यार्थीहरूमा रचनात्मक र सिर्जनात्मक क्षमताको विकास गर्न परियोजना कार्य विद्यार्थीको रुचि एवं क्षमता अनुसार गर्न दिई प्रयोगात्मक परीक्षाको लागि अङ्क प्रदान गर्ने ।

 

. कार्यप्रक्रिया

क. विद्यार्थीहरुलाई रोल नम्बरको आधारमा ५/५ जनाको समूहमा विभाजन गरियो । प्रत्येकमा एकजना समूह नेताको छनौट गर्न लगाइयो ।

 ख.प्रत्येक समूहलाई प्रयोगात्मक क्रियाकलापको उद्देश्य स्पष्ट पारी विद्यार्थीले गर्नुपर्ने कार्यहरु बताइयो ।

ग. शिक्षक एउटा सहजकर्ताको रुपमा मात्र रही विद्यार्थीलाई आफै नतिजा र निष्कर्ष निकाल्ने जिम्मा दिइयो ।

घ.प्रत्येक समूहबाट आएको नतिजालाई तुलनात्मक अध्ययन गर्न लगाइयो ।

ङ.आफ्नो समूहमा निम्न प्रश्नहरु माथि छलफल,व्याख्या,विश्लेषण गरी निष्कर्ष निकाल्न लगाइयो ।

  • फरक-फरक समूहमा भिन्नभिन्न वा समान नतिजा आउनुको कारण के होला ?
  • दिइएको उद्देश्य पूरा गर्न के अन्य प्रयोगात्मक विधिको प्रयोग गर्न सकिएला ? कसरी ?
  • प्रयोगात्मक कार्य गर्दा के कस्ता समस्याहरु उत्पन्न भए ? उक्त समस्याको समाधान कसरी खोज्नुभयो ?
  • यस क्रियाकलापलाई हामी हाम्रो दैनिक ब्यबहारिक जिबनसँग कसरी जोड्न सक्छौं ?
  • यस क्रियाकलापसँग सम्बन्धित सिद्धान्तको प्रयोग भएका कुनै दुईवटा उदाहरण दिनुहोस् ?

 च.अन्तमा आफूले गरेको क्रियाकलापको सम्पूर्ण विवरण शिक्षकले दिएको ढाँचामा प्रयोगात्मक फाइलमा लेख्न    लगाइयो ।

छ. यसरी गराइएको प्रयोगात्मक क्रियाकलापमा जस्तै अन्य प्रयोगात्मक क्रियाकलापमा पनि आफ्नो समूहमा सिर्जनात्मक एवं रचनात्मक प्रश्नहरु आफै निर्माण गर्दै छलफल गरेर नतिजा विश्लेषण गर्न लगाइयो ।

ज.विद्यार्थीहरुलाई दुईओटा परियोजना कार्य गर्न लगाइयो । पहिलो परियोजना कार्य गर्दा विद्यार्थीहरुलाई शिर्षकसँग सम्बन्धित विषयवस्तुको सामान्य जानकारी दिएर प्रतिवेदन तयार गर्न लगाइयो तर दोस्रो परियोजना कार्य गर्न लगाउँदा व्यवहारिक पक्षसँग जोडी परियोजना कार्यको उद्देश्य र प्रतिवेदन तयार गर्ने नमुना प्रष्टसँग छलफल गराइयो ।

 

 

. अनुसन्धानका प्राप्ति

  • समूहमा छलफल गराउँदा विद्यार्थीहरुमा आलोचनात्मक अबलोकन र प्रमाणमा आधारित भई समस्या समाधानको उपाय खोजी गर्ने बानीको विकास भएको पाइयो।
  • विज्ञान शिक्षक एउटा प्रवचन कर्ताको रुपमा नरहेर एउटा सहयोगी, पथ प्रदर्शक, वातावरण निर्माता र सहजकर्ताको रुपमा सिकाइमा सहभागी भएमा विद्यार्थीहरूको वैज्ञानिक अभिवृत्ति विकास भएको पाइयो ।
  • प्रयोगात्मक क्रियाकलापको दौरानमा प्रश्न राख्दा आफ्नो समूहमा पर्याप्त मस्तिष्क चिन्तनको लागि अवसर पाउने र विद्यार्थीहरूको विचार अभिव्यक्त गर्ने सीपको विकास भएको पाइयो ।
  • शिक्षकले सकारात्मक पृष्ठपोषणका विभिन्न जुक्ति लगाई परियोजना कार्य गर्न लगाउँदा विद्यार्थीहरुले उत्कृष्ट परियोजना कार्य गरेका पाइयो ।

 

  यसरी प्रयोगात्मक क्रियाकलाप गराउँदा नतिजा मात्र निकाल्न नलगाई नतिजा र उद्देश्यसँग सम्बन्धित भएर विभिन्न पक्षहरुको चुनौतीपूर्ण समस्या केलाई विभिन्न ढङ्गबाट हेर्न र सोच्न सिकाउनाले विद्यार्थीहरुलाई सिर्जनशील बनाउन सकिन्छ भन्ने यो अध्यनको निष्कर्ष हो ।

 

 . प्राप्त अनुभवलाई कार्यान्वयनका लागि पुनः कार्ययोजना

  हरेक प्रयोगात्मक क्रियाकलाप गराउँदा यही प्रक्रियाद्वारा शिक्षण गर्ने निधो गरियो । साथै विद्यार्थीहरुमा एक्काइसौं शताब्दीको शैक्षिक सीपहरु जस्तै समालोचनात्मक बिचार, सिर्जनशीलता, सहकार्य र सञ्चार जस्ता गुणहरूको उजागर गर्न शिक्षण सिकाइसँग सम्बन्धित भिन्न भिन्न क्रियाकलाप गराउने र अघिल्लो बर्षको शिक्षणबाट भन्दा यस प्रकारको शिक्षणबाट बढी सफलता मिल्ने अनुभूति प्रस्ट्याउँछु ।

 

Note : यो कार्यमूलक अनुसन्धान हामीलाई प्रकाश सिम्खडा   सरले पठाउनु भएको हो । तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च  Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login