- Home
- Show Content
कार्यमूलक अनुसन्धान : नमुना सात
कार्यमूलक अनुसन्धान : नमुना सात
अनुसन्धानकर्ता : सुनिल थापा
विद्यालयको नाम:श्री ज्ञानोदय नमुना माध्यमिक विद्यालय
ठेगाना : चन्द्रकोट - ८, मजुवा गुल्मी
अनुसन्धान कार्यको शीर्षक : विज्ञानमा गणितीय समस्या र समाधानका उपायहरु
१) पृष्ठभूमि
म गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ मजुवामा अवस्थित श्री ज्ञानोदय नमुना माध्यमिक विद्यालयको विज्ञान शिक्षक हु | मैले कक्षा ९ र १० मा विज्ञान सहजीकरण गर्छु | यस वर्ष कक्षा ९ मा ७८ जना र कक्षा १० मा ४९ जना विद्यार्थी भर्ना भएका छन् | विद्यार्थीहरूमा जातिगत र भाषागत विविधता हुनुको साथै सामाजिक आर्थिक अवस्था पनि फरक - फरक पाइएको छ | विद्यालयको सेवाक्षेत्र एकनासको छैन | कतिपय विद्यार्थीहरू ४/५ मिनेटमै विद्यालय आइपुग्छन् भने कतिपय विद्यार्थीहरुलाई विद्यालय आउन झण्डै डेढ घण्टासम्म समय लाग्दछ | विद्यालयले विद्यार्थीको सहजताको लागि एउटा बस पनि सञ्चालनमा ल्याएको छ तर कच्ची पहाडी बाटोको कारण सबै ठाउँमा बस पुग्न सकेको छैन | अधिकांश विद्यार्थीका अभिभावकहरु कृषिमा संलग्न हुनुहुन्छ त्यसैगरी वैदेशिक रोजगारमा संलग्न हुनेको संख्या पनि बढ्दो छ | कोभिड महामारीले २०७६ सालको चैत्र महिनादेखि लकडाउन भयो र स्कुलहरु क्वारेन्टाइनमा परिणत भए | स्कुलमा पठनपाठन गर्न सकिएन | विभिन्न वैकल्पिक विधिहरु अगाडि आए | २०७७ साउन ७ गतेदेखि लकडाउन हटे पनि अझै पठनपाठन सहज हुने अवस्था देखिएको छैन | यसैबीच हाम्रो विद्यालयले अनलाइन कक्षा, सामाजिक दूरी कायम गर्दै टोलटोलमा समूह शिक्षण गर्दै आएकोमा हाल आएर अनलाइन कक्षा, मेसेन्जर ग्रुप, फोन सम्पर्क मार्फत सिकाइ सहजीकरण गर्दै आइरहेको छ | गणित, विज्ञान जस्तो विषयमा राष्ट्रिय रुपमै नतिजा कमजोर देखिएको कुरा सर्वविदितै छ | विज्ञान विषयमा रहेका गणितीय समस्याहरु समाधान गर्न विद्यार्थीहरुमा कठिनाइ देखिएको छ | विज्ञानका धारणाहरु बुझाउनको साथै विज्ञानमा रहेका गणितीय समस्याहरु समाधान गर्न पनि त्यत्तिकै चुनौतीपूर्ण देखिन्छ |
२) अनुसन्धान गरिएको समस्याको कथन
नयाँ शैक्षिकसत्र २०७७ सालको सुरुदेखि लकाडाउनको कारण विद्यार्थीहरुलाई स्कुलमा पठनपाठन गर्न सकिएन | तसर्थ, हाम्रो विद्यालयले सञ्चालन गरेको अनलाइन कक्षामा विद्यार्थीहरु मूल्यांकन गर्दा तथा कक्षा ९ र १० दुवै कक्षा रहेको मेसेन्जर ग्रुपमा मैले विद्यार्थीहरुलाई एउटा गुगल फारम भर्न लगाएको थिए | मेसेन्जर ग्रुपमा रहेका ६० जनामध्ये २८ जना विद्यार्थीले गुगल फाराम भरेका थिए जसमा ८ विषय मध्ये सबैभन्दा धेरै ३२% विद्यार्थीले गणित विषय सबैभन्दा गाह्रो मानेका थिए भने विज्ञानमा रहेका गणितीय समस्या सजिलो लाग्छ भन्ने २४% मात्र देखिए ६४% ले अलिअलि आउँछ भनेको पाइयो | विज्ञानमा रहेका गणितीय समस्या समाधान गर्न आधारभूत गणितीय सीप हुनुपर्ने भएकोले मैले गणितलाई पनि समावेश गरेको छु | तसर्थ, अध्ययनाबाट प्राप्त तथ्याङ्कलाई हेर्दा विज्ञानमा रहेका गणितीय समस्याहरु धेरैजसो विद्यार्थीलाई कठिन लागेकोले मैले “विज्ञानमा गणितीय समस्या र समाधानको उपायहरु” लाई अनुसन्धानको शीर्षकको रुपमा छनौट गरेको छु |
३) अध्ययनको उद्देश्य
क) विज्ञान विषयमा रहेका गणितीय समस्याहरु समाधानका कठिनाइ पहिचान गर्नु |
ख) विज्ञानमा रहेका गणितीय समस्याहरु समाधान गर्नु |
४) अध्ययनको औचित्य
कुनै पनि अनुसन्धानको आफ्नै औचित्य हुने गर्दछ | विज्ञानमा रहेका गणितीय समस्या समाधानमा रहेका कठिनाईहरु पहिचान गरी ती समस्याहरुलाई समाधान गर्नु यस अनुसन्धानको औचित्य रहेको छ |
५) अध्ययनको सीमा
यस शैक्षिकसत्रमा कोभिड महामारीको कारणले गर्दा विद्यालयमा विद्यार्थीहरुसँग सिकाइ सहजीकरण गर्न सकिएको छैन | सरकारले जारी गरेको बैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका - २०७७ अनुसार हाम्रो विद्यालयका अनलाइन कक्षाको पहुँच नहुने विद्यार्थीहरु स्थानीय रेडियो कार्यक्रम तथा टेलिभिजन बाट सिक्दै आएका छन् | इन्टरनेटको पहुच हुने विद्यार्थीलाई अनलाइन कक्षा तथा मेसेन्जर ग्रुपमा सिकाइ सहजीकरण गर्दै आइरहेको छ | कक्षा ९ र १० को अनलाइन कक्षा र मेसेन्जर ग्रुपमा विदार्थीहरुसंग भएको छलफल तथा सहजीकरण नै यस अनुसन्धानको सीमा रहेको छ |
६) अध्ययन विधि र ढाँचा
कक्षा ९ र १० को अनलाइन कक्षा र मेसेन्जर ग्रुपमा संलग्न विदार्थीहरुलाई मैले विज्ञान विषय सहजीकरण गर्दा अपनाएका केही विधिहरु यसप्रकार छन् |
१) अनलाइन कक्षामा विद्यार्थीहरुसंग भएको प्रत्यक्ष अन्तरक्रिया तथा छलफल विधि
२) प्रश्नोत्तर विधि
३) समस्या समाधान विधि
४) सर्वेक्षण विधि ( गुगल फाराम भर्न लगाइ )
७) तथ्यांक संकलन र विश्लेषण
अनलाइन कक्षा र मेसेन्जर ग्रुपमा जोडिएका जम्मा ६० जना विद्यार्थीमध्ये २८ जनाले गुगल फाराम भरेका थिए | जसमा कक्षा ९ का ३१.४% र १० कक्षाका ७८.६% विद्यार्थी थिए | ५७.१% को घरमा इन्टरनेट सेवा राम्रो, २८.६% को ठिकैठिकै र १४.३% को नराम्रो भएको पाइयो त्यसैगरी ४२.९% विद्यार्थी मोवाइल डाटाबाट र ५७.१% वाइफाइ बाट जोडिएको पाइयो | सबैभन्दा बढी मन पर्ने विषय गणित भएको सबैभन्दा धेरै ३७.१%, सबैभन्दा बढी गाह्रो लाग्ने विषय गणित भएको सबै भन्दा धेरै ३४.३%,घरमा सबैभन्दा बढी पढ्ने विषय विज्ञान भएको सबै भन्दा धेरै ६०%, दोश्रोमा गणित भएको पाइयो | गणितको नतिजा धेरै राम्रो भएका कत्ति पनि भेटिएनन भने विज्ञान सजिलो लाग्ने २८.६%, ठिकठिकै लाग्ने ६५.७%,गाह्रो लाग्ने ५.७% पाइयो | विज्ञानमा भएका गणितीय समस्या सजिलो लाग्छ भन्ने १७.१%, ठिकठीकै लाग्छ भन्ने ६५.७% र गाह्रो लाग्छ भन्ने १७.१% पाइयो | घरमा पढ्ने समय बढी ४ घण्टा र कम १ घण्टा , औसतमा २.५ घण्टा विद्यार्थीले सबै विषय घरमा पढेको पाइयो | ४८.६% विद्यार्थीले घरको काममा धेरै सहयोग गरेको पाइयो भने पढ्नको लागि घर परिवारबाट राम्रो सहयोग भएका ८५.७% पाइयो |
माथिको तथ्यांकलाइ विश्लेषण गर्दा, विद्यार्थीले घरमा सबै भन्दा बढी पढ्ने विषय विज्ञान, गणित भएको पाइयो भने गाह्रो लाग्ने विषय पनि गणित नै भयो | गणितको नतिजा धेरै राम्रो भएका कत्ति पनि भेटिएनन भने विज्ञान सजिलो लाग्छ भन्ने पनि न्यून देखिए | त्यसैगरी विज्ञानमा भएका गणितीय समस्या सजिलो लाग्छ भन्ने पनि न्यून भेटिए | विज्ञानमा भएका गणितीय समस्या गाह्रो लाग्नुको कारण विद्यार्थीको गणितमा नतिजा कमजोर हुनु, आधारभूत गणितीय सीप नहुनु, गाह्रो लाग्छ भनेर पर्याप्त अभ्यास नगर्नु तथा विज्ञानका सूत्र, एकाइ, परिभाषाको धारणा सजिलोसंग बुझ्न नसक्नु नै हो |
८) सुधारका उपाय तथा रणनीति
पहिलो चक्र
क) योजना
- अनलाइन कक्षामा सम्मिलित कक्षा ९ र १० का विद्यार्थीलाई मैले बनाएको विज्ञानमा गणितीय समस्या समाधानको सजिलो तरिकाको भिडियो हेर्न लगाउने |
- आधारभूत गणितीय सीप ( जस्तै जोड, घटाउ, गुणन, भाग, समीकरण हल ) सिकाउने |
- त्यसपछि कुनै एउटा समस्या गर्न दिएर त्यसको उत्तर अनालाइन कक्षामा पोस्ट गर्न लगाउने |
- विद्यार्थीबाट आएको उत्तरमा थप पृष्ठपोषण दिदै पर्याप्त गृहकार्य दिदै अगाडी बढ्ने |
ख ) कार्य योजना
- माथिको योजना अनुसार पहिको दिन विद्यार्थीलाई स्क्रीन सेयर गरी भिडियो हेर्न लगाइयो | त्यसपछि, गणितीय समस्या समाधानका चरणहरु केही विद्यार्थीलाई भन्न लगाइयो | केही विद्यार्थीहरुलाई गणितका सामान्य समस्या सोधियो र त्यसबाट उनीहरुलाई आधारभूत गणितीय सीप सिकाइयो |
- दोश्रो दिनको सुरुवातमा पहिलो दिनको विषयवस्तु स्मरण गर्न लगाइयो | त्यसपछि, विद्यार्थीहरुलाई अनलाइन कक्षामा ९ कक्षाको लागि प्रवेग निकाल्न लगाइयो भने १० कक्षाको लागि चन्द्रमाको सतहमा गुरुत्वप्रवेग निकाल्न लगाइयो | र, पोस्ट गर्न लगाइयो |
- विद्यार्थीबाट आएको उत्तरमा थप पृष्ठपोषण दिइयो र अभ्यासको लागि गृहकार्य दिइयो |
ग) अवलोकन
पहिलो दिन आधारभूत गणीतीय सीप सम्बन्धी केही समस्या सोधी गर्न लगाएर प्रश्न्नोत्तर विधिमार्फत अवलोकन गरियो | दोश्रो दिन माथिको कार्ययोजनामा भएको समस्या दिएर विद्यार्थीहरुलाई उत्तर पोस्ट गर्न लगाइयो | उत्तर कक्षामा उपस्थित सबै विद्यार्थीहरुले अवलोकन गरे | आफूले गरेका गल्ती कमजोरी बोध भयो |
घ) प्रतिविम्बन
पहोलो दिन विद्यार्थीहरुले विज्ञानमा गणितीय समस्या समाधानका चरणहरु बताउन सक्ने हुनुको साथै आधारभूत गणितीय सीप विकास भयो | दोश्रो दिनमा दिइएको समस्या ९०% विद्यार्थीले पूर्ण समाधान गरे | योजना, कार्य योजना, अवलोकन पश्चात विद्यार्थीहरुमा गल्ती कमजोरी बोध गराई थप पृष्ठपोषण प्रदान गरियो र अभ्यासको लागि पाठसंग सम्बन्धित केही समस्या दिइयो | शत प्रतिसत विद्यार्थीलाई समस्या समाधानको लागि दोश्रो चक्रमा जानुपर्ने देखियो |
दोश्रो चक्र
प्रत्येक विद्यार्थीको सिकाइ क्षमता फरक फरक हुन्छ | पहिलो चक्रमा ९०% विद्यार्थीले समस्या समाधान गरे भने बाकी १०% विद्यार्थीको लागि लक्षित गरी उपचारात्मक शिक्षण पद्दति अनुरुप दोश्रो चक्रमा जानुपर्ने देखियो |
क) योजना
- अनलाइन कक्षामा सम्मिलित कक्षा ९ र १० का विद्यार्थीलाई मैले बनाएको विज्ञानमा गणितीय समस्या समाधानको सजिलो तरिकाको भिडियो पुन: हेर्न लगाउने |
- आधारभूत गणितीय सीप ( जस्तै जोड, घटाउ, गुणन, भाग, समीकरण हल ) पुन: सिकाउने |
- त्यसपछि कुनै एउटा समस्या गर्न दिएर त्यसको उत्तर अनालाइन कक्षामा पोस्ट गर्न लगाउने |
- विद्यार्थीबाट आएको उत्तरमा थप पृष्ठपोषण दिदै पर्याप्त गृहकार्य दिदै अगाडी बढ्ने |
ख) कार्य योजना
- माथिको योजना अनुसार दोश्रो चक्रको पहिको दिन विद्यार्थीलाई स्क्रीन सेयर गरी भिडियो हेर्न लगाइयो | त्यसपछि,पहिलो चक्रमा समाधान गर्न नसकेका विद्यार्थीलाई गणितीय समस्या समाधानका चरणहरु भन्न लगाइयो | केही विद्यार्थीहरुलाई गणितका सामान्य समस्या सोधियो र त्यसबाट उनीहरुलाई आधारभूत गणितीय सीप सिकाइयो |
- दोश्रो चक्रको दोश्रो दिनको सुरुवातमा पहिलो दिनको विषयवस्तु स्मरण गर्न लगाइयो | त्यसपछि, पहिलो चक्रमा समाधान गर्न नसकेका विद्यार्थीहरुलाई अनलाइन कक्षामा ९ कक्षाको लागि पहिलो चक्रको जस्तै प्रवेग निकाल्न लगाइयो भने १० कक्षाको लागि चन्द्रमाको सतहमा गुरुत्वप्रवेग निकाल्न लगाइयो | र, पोस्ट गर्न लगाइयो | पहिलो चक्रमा जानिसकेका विद्यार्थीहरुलाई नै थप पृष्ठपोषण दिन लगाइयो | जान्ने विद्यार्थीले नजान्ने विद्यार्थीलाई सहजीकरण गरे |
ग) अवलोकन
दोश्रो चक्रको पहिलो दिन आधारभूत गणीतीय सीप सम्बन्धी केही समस्या सोधी गर्न लगाएर प्रश्न्नोत्तर विधिमार्फत अवलोकन गरियो | दोश्रो दिन माथिको कार्ययोजनामा भएको समस्या दिएर विद्यार्थीहरुलाई उत्तर पोस्ट गर्न लगाइयो | उत्तर कक्षामा उपस्थित सबै विद्यार्थीहरुले अवलोकन गरे | आफूले गरेका गल्ती कमजोरी बोध भयो | पहिलो चक्रमा समाधान गरिसकेका विद्यार्थीले दोश्रो चक्रमा आफ्ना साथीहरुले पोस्ट गरेको उत्तर अवलोकन गरी सहजीकरण गरे |
घ) प्रतिविम्बन
दोश्रो चक्रको पहोलो दिन विद्यार्थीहरुले विज्ञानमा गणितीय समस्या समाधानका चरणहरु बताउन सक्ने हुनुको साथै आधारभूत गणितीय सीप विकास भयो | दोश्रो दिनमा दिइएको समस्या शत प्रतिशत विद्यार्थीले पूर्ण समाधान गरे | सबै विद्यार्थीले समस्या समाधान गरेकोले तेश्रो चक्रमा जानु परेन |
९) निष्कर्ष तथा सुझावहरु
- विज्ञानमा रहेका गणितीय समस्या समाधान गर्न सबभन्दा पहिले विद्यार्थीहरुको पूर्वज्ञान परिक्षण गरी आधारभूत गणितीय सीप विकास गराउनुपर्छ |
- विज्ञानमा रहेका सुत्र, एकाइ, परिभाषाको धारणा बसाल्नुपर्छ |
- गणीतीय समस्या समाधान चरणबद्ध रुपमा सिकाउनुपर्छ |
- एउटा समस्या दिएर त्यस्तै प्रकारका थुप्रै समस्याहरु अभ्यासको लागि दिनुपर्छ |
- प्रत्येक विद्यार्थीको सिकाइ क्षमता फरक - फरक हुने हुदा पहिलो चरणमा जान्न नसकेका विद्यार्थीको लागि उपचारात्मक शिक्षण विधि अपनाउनुपर्छ |
अत: विद्यार्थीहरुमा आधारभूत गणितीय धारणाको विकास गरी चरणबद्ध रुपमा पर्याप्त गृहकार्य गर्न लगाई थप पृष्ठपोषण दिइ विज्ञानमा रहेका गणितीय समस्या समाधान गर्न सकिन्छ |
Note : यो कार्यमूलक अनुसन्धान हामीलाई सुनिल थापा सरले पठाउनु भएको हो । तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review