- Home
- Show Content
कार्यमूलक अनुसन्धान : नमुना सोर
कार्यमूलक अनुसन्धान : नमुना सोर
अनुसन्धानकर्ता शिक्षकः सरस्वती पुलामी
विद्यालय : श्री जनहित माध्यमिक विद्यालय,खानीखोला गाउँपालिका ७,महाङ्काल,काभ्रेपलाञ्चोक
शीर्षक : कक्षा ६ मा नियमित गृहकार्य नगर्ने विद्यार्थीलाई नियमित गृहकार्य गर्न सक्षम बनाउने
१.अनुसन्धानको पृष्ठभूमि :
शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउनका लागि कक्षा कार्यको साथसाथै गृहकार्यको पनि महत्वपूर्ण भूमिका रहेको हुन्छ । तर विविध कारण देखाउदै गृहकार्य नगर्ने विद्यार्थीको जमात पनि प्रशस्तै हुन्छ । शिक्षक विद्यार्थीलाई अल्छी भयो, दिएको काम कहिल्यै गर्दैन, घरमा कपी किताव पनि पल्टाउँदैन भनेर दोस थुपारी आफु पन्छिने उपाय खोजिरहेको हुन्छ तर शिक्षण क्रियाकलापमा विद्यार्थीलाई कति सक्रिय बनाउन सकियो भन्ने कुरामा ध्यान त्यति गएको पाइदैन । मैले हाम्रो विद्यालयमा विद्यार्थीको सरदर गृहकार्य गराईको अवस्था कस्तो छ थाहा पाउने प्रयत्न गरे र अधिकांश शिक्षकबाट विद्यार्थीले गृहकार्य नगर्ने वा कम गर्ने गरेको गुनासो सुने । त्यसै कुरालाई अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमुलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको कार्य शुरु गरे ।
२. समस्याको पहिचान :
म श्री जनहित माध्यमिक विद्यालयमा कक्षा ६ देखि १० सम्म अङ्ग्रेजी विषयको शिक्षण गर्छु । कक्षा ६ मा ३८ जना विद्यार्थी अध्ययनरत छन । उक्त कक्षामा म छैटौँ घण्टीमा शिक्षण गर्छु । उक्त कक्षाका विद्यार्थीहरु अन्य विद्यालयबाट पढ्न आउने भएको हुँदा मैले आधा महिनाको अन्तरालमा अधिकांश विद्यार्थीलाई नजिकबाट चिन्दथे तर गृहकार्य नगर्ने समस्या उक्त कक्षामा पनि व्यापक थियो । गृहकार्य गरेपनि सवै नगरेको पाइयो । त्यसैले नियमित गृहकार्य नगर्ने विद्यार्थीलाई कसरी गृहकार्य गर्ने बनाउन सकिन्छ भनि मैले कार्यमुलक अनुसन्धानको प्रकृया शुरु गरेको हो ।
३. अध्ययनको उदेश्यहरु :
यस अनुसन्धानको प्रमुख उदेश्यहरु निम्नानुसार राखिएको छ ।
- विद्यार्थीहरुले गृहकार्य नगर्नुका कारणहरु पहिचान गर्नु ।
- गृहकार्य गर्नका लागि उत्प्रेरणा जगाउन गर्न सकिने समाधानहरुको खोजी गरी समस्या समाधान गर्नु ।
४. समस्याका सम्भावित कारणहरु :
- कक्षा ६ का विद्यार्थीहरु अन्य विद्यालयबाट पनि आउने हुनाले उनिहरुको गृहकार्य गर्ने अवस्था कमजोर हुनु र गरेता पनि सवै नगर्नु ।
- प्राथमिक तहमा अंग्रेजी भाषा शिक्षणको माध्यम नेपाली हुनु ।
- शब्दार्थ र शब्द भण्डारको अभाव हुनु ।
- सधै गृहकार्य गर्नेलाई प्रोत्साहनको अभाव हुनु ।
- गृहकार्य गरेतापनि शिक्षकले गृहकार्य परिक्षण समयमै नगर्नु र गरे पनि अल्छिपना देखाउनु ।
५. समस्या समाधानका सम्भावित विकल्पहरु :
- विषय शिक्षकले सकभर अंग्रेजी भाषामा नै जोड दिने र सोहि भाषा प्रयोग गरि शिक्षण गर्ने ।
- शब्दार्थ र शब्दभण्डार बृद्धिका लागि प्रशस्त ध्यचम mभबलष्लन पढ्न लगाउने ।
- गृहकार्यबाट हुने फाइदा र गृहकार्य गर्न उत्प्रेरणा प्रदान गर्ने ।
६. पहिलो चरण
क) योजना :
विद्यार्थीले गृहकार्य नगर्नुका कारणहरु अनेकन हुन सक्छ । कतिपय अवस्थामा विषयवस्तुको अस्पष्टताले गृहकार्य नगरेको पाइन्छ भने कतिपय अवस्थामा गृहकार्यलाई महत्व नै नदिएको पाइन्छ । ति बाहेक अन्य केही कारण हुन सक्छ जसले गृहकार्य नगर्ने अवस्थामा पु¥याउँछ । यो कार्यमूलक अनुसन्धानमा मुख्य के कारणले गृहकार्य नगर्ने गरेका छन् त्यसको कारण पहिल्याई समाधानका उपाय खोज्ने गरी योजना निर्माण गरेको छु उक्त कुरा पत्ता लगाउन कक्षा शिक्षणको अन्त्यमा नियमित गृहकार्य दिने र गृहकार्य गर्ने विद्यार्थीको विवरण टिपोट राख्ने ।
ख) क्रियाकलाप :
केही समयसम्म नियमित कक्षा सकाएपछि केही गृहकार्य दिए र उक्त गृहकार्य निरन्तर गरेर ल्याउन निर्देशन दिए । सबै विद्यार्थीले गृहकार्य गरेर ल्याउने कवुल गरे । केही विद्यार्थीले नियमित रुपमा सबै गृहकार्य गरे भने केही विद्यार्थीले केही केही माग गरे । गृहकार्यको शुरुवात नै नगर्ने विद्यार्थी संख्या पनि प्रशस्तै देखियो । गृहकार्य गर्न नसक्नुको कारण विषयवस्तुको अस्पष्टताको कारण हुन सक्छ भनी ति अवधिमा फरक फरक तरिका अपनाई कक्षा शिक्षण गरेँ । कक्षामा विषयवस्तुमा अस्पष्टता छ ? भनी सोध्दा समग्रमा छैन भन्ने जवाफ पाएँ । एव्म रितले केही दिनको कक्षा सुचारु भयो ।
ग) अवलोकन :
प्रत्येक दिन कक्षामा पुगेपछि सबै विद्यार्थीलाई गृहकार्य अगाडि राख्न आग्रह गरे । एक दिनको कक्षामा रेकर्ड राख्दा २५ जना विद्यार्थीले सबै प्रश्नको सहि उत्तर लेखेको पाए । ५ जनाले केही गरेको केही नगरेको पाए भने ३ जना विद्यार्थीले उत्तर लेख्न शुरुवात नै नगरेको पाए । बाँकी ५ जना विद्यार्थी अनुपस्थित रहेको पाए । लेखिएको उत्तरहरु राम्रो नै रहेको पाए । उक्त अवधिमा गृहकार्य नगर्नुको कारण खोज्दा केहीले विषयवस्तु स्पष्ट नभएकोले गृहकार्य नगरेको बताए भने, केहीले गृहकार्य गर्न विर्सिएको कुरा बताए । केही विद्यार्थीको भनाइ भने गृहकार्य गरेको तर ल्याउन विर्सिएको भन्ने थियो । कतिले अंग्रेजी भाषा शिक्षणमा भाषिक बुझाईमा समस्या रहेको बताए ।
घ) प्रतिविम्वन :
पढाइप्रति उत्प्रेरित विद्यार्थीले गृहकार्य नियमित गरे पनि पढाइमा पछि रहेका र कक्षामा अनुपस्थित विद्यार्थीले गृहकार्यलाई कुनै महत्व नदिएको पाइयो ।
७. दोस्रो चरण :
क) योजना :
गृहकार्यलाई केवल शिक्षण सुधारको माध्यमको रुपमा मात्र नलिई निरन्तर विद्यार्थी मूल्याङ्कनको साधनको रुपमा प्रयोग गर्ने र गृहकार्यको आधारमा निरन्तर मूल्याङ्कन गर्दा विद्यार्थीको गृहकार्य गराइमा परिवर्तन आउँछ वा आउदैन पत्ता लगाउने । विद्यालयबाट प्राप्त हुने सरकारी तथा गैरसरकारी संघ संस्थाको सहयोगलाई गृहकार्यसँग आवद्ध गरी गृहकार्य गर्ने र सिकाइ उपलब्धी उच्च भएका विद्यार्थीलाई उक्त सुविधाको विशेष व्यवस्था गर्ने कुरा विद्यार्थीलाई अवगत गराउने ।
ख) क्रियाकलाप :
अर्को दिनको कक्षामा प्रवेश गरेपछि अङ्ग्रेजी विषयको विद्यार्थी मूल्याङ्कन प्रक्रियाको बारेमा जानकारी गराए । ७५ प्रतिशत सैद्धान्तिक र बाँकी २५ प्रतिशत प्रयोगात्मक परीक्षा भए पनि प्रयोगात्मक परीक्षामा गृहकार्यको रेकर्डको आधारमा केही अंक छुट्याउन सकिने कुरा बताए । जसले प्रयोगात्मक परीक्षाको तयारी र अधिकतम अंक प्राप्त गर्न अनुकुल वातावरण सृजना गर्ने कुरा बताए । र गृहकार्यको नियमित रेकर्ड राख्ने कुराको जानकारी गराए । नियमित गृहकार्य गर्ने विद्यार्थीलाई विद्यालयबाट प्रत्येक त्रैमासिक परीक्षामा पुरस्कृत गर्ने तथा छात्रवृत्ति तथा विभिन्न गैरसरकारी तथा सरकारी संघसंस्थाबाट प्राप्त सहयोग गृहकार्य गर्ने विद्यार्थीलाई प्राथमिकताका साथ प्रदान गर्ने गरेको विगतको अनुभव सुनाए र उक्त दिनको नियमित कक्षा सञ्चालन गरे । कक्षाको अन्त्यमा पून : केही गृहकार्य टिपाए र उक्त गृहकार्य गरेर आउन निर्देशन दिए ।
ग) अवलोकन :
भोलिपल्ट कक्षामा प्रवेश गरिसकेपछि अधिल्लो दिन झै गृहकार्य देखाउन कपि अगाडि राख्न आग्रह गरे । उपस्थित भएका ३८ जना विद्यार्थी सबैले गृहकार्य गरेको पाइयो । तत्पश्चात विद्यार्थीलाई आज सबै विद्यार्थीले गृहकार्य गर्नुको कारण सोधे । उनीहरुले निरन्तर मूल्याङ्कनको रुपमा गृहकार्यलाई प्रयोग गर्न सकिने कुराले गर्दा गृहकार्य गर्न उत्प्रेरणा जागेको तथा छात्रवृत्ति र विभिन्न संघसंस्थाबाट प्राप्त हुन सक्ने सहयोगले गृहकार्य गर्न थप उत्प्रेरित भएको कुरा उल्लेख गरे । र अर्को योजनामा विद्यार्थीको नियमितता वृद्धि गर्ने उपायको खोजी गर्ने सोच निर्माण गरे ।
घ) प्रतिविम्ब :
गृहकार्य नगर्नुको पछाडि विद्यार्थीलाई उत्प्रेरणा दिन नसक्नु हो । सकारात्मक पूर्नवलले विद्यार्थीमा उत्प्रेरणा बढाउने र विद्यार्थी सक्रियता बढ्ने कुरा पत्ता लगाए ।
८. निष्कर्ष :
सबै विद्यार्थीले नियमित गृहकार्य गर्दैनन् । उनीहरुलाई कसरी गृहकार्य गर्ने अवस्थामा लैजान सकिन्छ भन्ने विषयमा कार्यमूलक अनुसन्धानलाई अगाडि बढाउदा दोस्रो चरणमा आइपुग्दा गृहकार्यको अवस्थामा सुधार भएकोले मैले अनुसन्धानको चरणलाई अन्त्य गरे । यो अनुसन्धानले विद्यार्थीमा काम गर भनेर निर्देशन दिने तर काम गर्दा त्यसको प्रत्यक्ष उपलब्धि के हुने भन्ने बारेमा निश्चित नहुँदा उनीहरु क्रियाकलाप प्रति आकर्षित हुँदैनन् भन्ने कुरा पुष्टि गरेको छ । मानिस तत्कालको प्रतिफलका लागि पहिला अग्रसर हुन्छन् । त्यसैले जतिसक्दो छिटै कामको उपलब्धि देखिने गरी क्रियाकलाप गर्न प्रोत्साहन गर्न सके बालबालिकाका क्रियाकलापमुखी बन्न सक्छन् भन्ने पुष्टि भयो ।
तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review