- Home
- Show Content
कार्यमूलक अनुसन्धान : नमुना उन्नाईस
कार्यमूलक अनुसन्धान : नमुना उन्नाईस
अनुसन्धानकर्ता : रामकुमार प्रधान
विद्यालय : श्री विष्णु अमर आधारभूत विद्यालय ,रोङ - २. इलाम
अनुसन्धानको शीर्षक : विद्यालय परिसरमा फूलवारी व्यवस्थापनका उपाय
१. परिचय :
शिक्षा मृत्यूपर्यन्त निरन्तर चलिरहने प्रक्रिया हो । संसारमा कोहि पनि मानिस सबै कुरामा निपूर्ण हुन सक्दैन । अहिलेको विश्व परिवर्तनशील भएकाले शिक्षा पनि त्यसबाट अछुतो रहन सक्दैन । त्यसैले एउटा वातावरण र परिवेशमा सहि भएको कुरा अर्को वातावरण र परिवेशमा सहि नहुन पनि सक्छ । त्यसकारण हामीले परिवर्तित सन्दर्भमा समायोजित भई प्राप्त ज्ञान र सीपलाई परिमार्जन गर्दै लैजान सक्नु अहिलेको प्रमूख चुनौति हो । शिक्षण सिकाई क्रियाकलाप एउटा जटिल प्रक्रिया भएकाले यस क्रममा विभिन्न समस्याहरू उत्पन्न हुनु स्वाभाविक हो । समस्या समाधानका उपायहरु हुन्छन्, समस्या समाधान गर्न शिक्षक सदा प्रयत्नशील, क्रियाशील र तत्पर भएर विकल्पको खोजी गरी रहनु पर्दछ । यस्ता समस्याहरूको निराकरण गर्दै अपेक्षित उपलब्धि हासिल गर्ने दिशा तिर उन्मुख हुनु हरेक शिक्षकको कर्तब्य र जिम्मेवारी पनि हो ।
विद्यालय शिक्षक र विद्यार्थीहरुको अन्तरक्रिया, छलफल र अध्ययन अध्यापन गर्ने स्थल हो । विद्यालयको वातावरण स्वच्छ, सफा र आकर्षक हुन जरूरी छ । तर मैले पढाउने विद्यालय अगाडीको खालि ठाउँमा फूलबारी बनाउन धेरै पटक प्रयास गरेर पनि सकिरहेको थिइन । शिक्षक र विद्यार्थीहरु परिचालन गरेर शुक्रवारका पढाइ पछिको समय उपयोग गरेर बल्ल तल्ल फूलबारी बनाइन्थ्यो तर त्यसमा रोप्ने फूलहरुको अभाव हुने, भएका फूलहरुको पनि उचित रेखदेख र स्याहार सुसार नहुने भएकाले केहि समयमा नै उस्तै फूलबारी बिहिन विद्यालय हुन्थ्यो । लामो समयदेखिको यो समस्याले कसरी एउटा आकर्षक फूलबारी बनाउन र व्यवस्थापन गर्न सकिएला भन्ने सोचले पिरोली रहन्थ्यो । त्यसैले यो हाम्रो विद्यालयको एउटा जल्दोबल्दो समस्या भएको ठानी यस विषयमा अध्ययनलाई केन्द्रित गरेर उक्त समस्याको पहिचान गरी समस्या समाधान गर्नको लागि यस विषयमा अनुसन्धान गर्ने चाहना बढ्यो र कार्यमूलक अनुसन्धानको प्रक्रिया शुरु गरेको हो ।
२. अध्ययनको उद्देश्य :
यस अध्ययनको मुख्य उद्देश्य फूलवारी व्यवस्थापन गरेर विद्यालय परिसरको वातावरण आकर्षक बनाउनु रहेको छ ।
३. अध्ययन विधि र ढाँचा :
यस कार्यमूलक अनुसन्धानमा गुणात्मक र सङ्ख्यात्मक (मिश्रित) विधि अपनाएर विद्यार्थीहरुको व्यक्तिगत तथा सामुहिक व्यवहार तथा कार्यहरुको अवलोकन, सहजिकरण, गणना र मूल्याङ्कन आदि कार्य गरेर तथ्याङ्कहरुको सङ्कलन, विश्लेषण गरी प्राप्त नतिजाका आधारमा प्रतिवेदन तयार गरियो । अनुसन्धान ढाँचाका लागि कार्यमूलक अनुसन्धानका प्रमूख चार चरणहरुलाई उपयोग गरियो ।
४. रणनीतिक कार्ययोजना, चक्र र विश्लेषण :
४.१. प्रथम चक्र :
यस अध्ययनको समस्या समाधानका लागि निम्न अनुसार मुख्य कार्य चरणमा योजना, कार्यान्वयन, अवलोकन र प्रतिबिम्बनको चक्र सम्पन्न गरिएको थियो :
- योजना :
शिक्षकहरुको सहजिकरणमा कक्षाका सबै बिद्यार्थीहरु परिचालन गरेर शुक्रवारको पढाई पछि पुन: फूलबारी बनाउने योजना बनाइएको थियो ।
- कार्यान्वयन :
उपरोक्त रणनीतिक योजना अनुसार शिक्षक स्टाफ छलफलमा शुक्रबारको नियमित पढाई पछि फूलबारी बनाउने सहमति भयो । योजना अनुसार नै शुक्रवारको पढाइ पछि सबै विद्यार्थीहरु भेला गरेर अतिरिक्त कार्यकलापको रुपमा विद्यालय परिसरमा फूलबारी निर्माण गर्ने जानकारी गराई आवश्यक सामाग्रीहरु जुटाई फूलबारीको लागि जग्गा तयार गरियो । विदा हुने समय भएको साथै फूलका विरूवाहरु नभएकाले विद्यार्थीहरुलाई सवै जनाले आइतवार आफुलाई मनपर्ने एक एक वटा विरुवा ल्याएर तयार गरिएको फूलबारीमा रोप्न निर्देशन दिएर सबैले हात खुट्टा धोएर विद्यालय विदा भयो । यस क्रममा उक्त कार्य गर्ने र प्राप्त परिणामलाई विश्लेषण गर्ने कार्य पनि भयो ।
- अवलोकन :
फूलबारी निर्माण गर्ने जानकारी पाउँदा विद्यार्थीहरुमा उत्साह देखिएन । फूलबारीको जग्गा तयार गर्ने क्रममा केहि विद्यार्थीहरुले काम गर्ने र केहिले शिक्षकका आँखा छलेर लुक्ने, हो-हल्ला गर्दै काम छल्ने, ठग्ने गरेको पाइयो । अर्को दिन विद्यालय पुगेर प्रार्थना सभा समाप्त भए पछि क-कसले फूलका विरुवा ल्याएका छौ भनेर हात उठाउन लगाउँदा करिव ४०% विद्यार्थीहरुले मात्र विरुवा ल्याएको र नल्याउने विद्यार्थीहरुलाई किन नल्याएको भनेर सोध्दा बिर्सिएछ भन्ने जवाफ पाइयो ।
- प्रतिबिम्बन :
यस रणनीतिक योजना अनुसारको कार्यको अवलोकनबाट फूलबारी निर्माणमा विद्यार्थीहरु उत्साहित नभएकाले अन्य कुनै भरपर्दो विकल्पको खोजी गर्नुपर्ने भयो । कडा निर्देशनले विद्यार्थीहरुमा आफुहरुमाथि लादिएको कार्यमा सक्रियता कम रहेको महशुस यसको लागि अर्को रणनीतिक योजना बनाई दोस्रो चरणको कार्यमूलक अनुसन्धानलाई निरन्तरता दिन आवश्यक देखियो ।
५.२. दोस्रो चक्र :
यस अध्ययनको समस्या समाधानका लागि दोस्रो चरणमा पनि निम्न अनुसारको योजना, कार्यान्वयन, अवलोकन र प्रतिबिम्बनको चक्र सम्पन्न गरिएको थियो :
- योजना :
पहिलो चक्रको रणनीतिक योजना कार्यान्वयनबाट सन्तोषजनक उपलब्धि हासिल नभए पछि यस दोस्रो चक्रमा फुलबारी व्यवस्थापनमा विद्यार्थीहरुको सक्रियता बढाउन सकियो भने मात्र दीर्घकालीन रुपमा फुलबारी व्यवस्थापन हुने ठानेर फूलबारीको लागि तयार जग्गालाई ४ खण्डमा खण्डिकरण गर्ने र पूर्व विभाजित विद्यालयको ४ ओटा सदनका समूहलाई एक-एक खण्ड फूलबारी हस्तान्तरण गरेर आ-आफ्नो खण्डको फूलबारी व्यवस्थापन गर्न लगाएर बढ्छ वा बढ्दैन पत्ता लगाउने योजना बनाइएको थियो ।
- कार्यान्वयन :
फूलबारीको लागि जग्गा तयार भइ सकेकोले ढिलाई गर्न समय नभएकाले योजना अनुसार उक्त फूलबारीलाई चार वटा खण्डमा बाँडियो । अन्तिम घन्टीको पढाई पछि सबै विद्यार्थीहरुलाई प्रार्थना सभामा राखेर यो फूलबारी तिमीहरुको भएकाले तिमीहरूको सदन अनुसार ४ खण्डमा विभाजन गरिएको छ भन्दै हरेक सदन नायकलाई आ-आफ्नो सदनको खण्ड जिम्मा लगाएर अवदेखि आ-आफ्नो सदनको फूलबारीमा विरुवा रोप्ने, गोडमेल र रेखदेख गरेर कुन सदनको फूलबारी सबै भन्दा राम्रो हुन्छ त्यसलाई वार्षिकोत्सवमा हुने कार्यक्रममा पुरस्कृत गर्ने जानकारी दिइएर विदा भएको थियो । यस क्रममा उनीहरुको व्यवहार परीक्षण गर्ने र प्राप्त परिणामलाई विश्लेषण गर्ने कार्य पनि भयो ।
- अवलोकन :
यस पटक विद्यार्थीहरु उत्साहित देखिन्थे । आ-आफ्नो फुलबारी पाएकोमा सवै सदनका विद्यार्थीहरु दङ्ग थिए । सदन सदनको विद्यार्थीहरु जम्मा भएर सल्लाह गरेको देखिन्थ्यो । भोलिपल्ट विद्यालय पुगेर हेर्दा सवैले आ-आफ्नो फूलबारीमा फूल रोपेर भरी सकेर पनि र घेराबार लगाइ रहेका र हरेक सदनकाहरु सामूहिक रुपमा अरुको भन्दा आफ्नो राम्रो बनाउन व्यस्त रहेको अवलोकन क्रममा स्पष्ठ भयो ।
- प्रतिबिम्बन :
यस अनुसन्धानको दोस्रो चक्रको रणनीतिक योजना अनुसारको कार्यको अवलोकनबाट निरन्तरको प्रयास र प्रयत्नबाट समस्याको समाधान निस्कने देखियो । विद्यार्थीहरुलाई फूलबारी प्रति अपनत्वको विकास, कार्यबाट प्रतिफल र सकारात्मक पुनर्बलले विद्यार्थीमा उत्प्रेरणा बढाएर फुलबारी व्यवस्थापनमा अभिप्रेरित गर्न सकिएकोले यस अध्ययनको उद्देश्य अनुरुप यस चरणमा आइपुग्दा अधिकांश विद्यार्थीहरुमा फूलबारी प्रति चासो बढ्यो । फूलबारी हाम्रो हो, यसलाई हामीले नै राम्रो बनाउनु पर्दछ भन्ने भावनाको विकास भएकाले अर्को चरणको कार्यमूलक अनुसन्धान आवश्यक नरहेको ठानी यस अध्ययनलाई यहि चरणमा अन्त्य गरिएको थियो ।
६. सिकाइ/प्राप्ति :
यो अनुसन्धानले कुनै पनि समस्याको गहन अध्ययन, निरन्तरको प्रयास र प्रयत्नबाट समस्याको समाधान निस्कने देखियो । कुनै कार्य गर भनेर कडा निर्देशनले मात्र उक्त क्रियाकलाप प्रति विद्यार्थीहरु आकर्षित हुँदैनन् भन्ने कुरालाई पुष्टि गरेको छ । यस अनुसन्धानबाट विद्यार्थीहरुलाई कुनै पनि कार्य प्रति अपनत्वको भावना विकास गराएर र प्रतिफल स्पष्ठ गरेर कुनै पनि कार्य प्रति प्रोत्साहित गर्न सकिने रहेछ भन्ने देखियो । उनीहरुलाई त्यस्ता क्रियाकलापहरु गर मात्र भन्नु भन्दा यस्ता कार्य लागि उनीहरुलाई उत्प्रेरित गर्नु पर्ने रहेछ, सकारात्मक पुनर्बलले विद्यार्थीमा उत्प्रेरणा बढाउँने र विद्यार्थीहरुको सक्रियताले कुनै पनि कार्यमा प्रभावकारिता बढाउँने रहेछ भन्ने सिकाइ भयो ।
७. प्रवोधिकरण :
यस कार्यमूलक अनुसन्धानको सिकाइ र प्राप्तिलाई आफु कार्यरत विद्यालयका सहकर्मी शिक्षकहरु समक्ष राखेर अनुभवहरु साटासाट गरें । यस्तै आगामी दिनमा म आफु सहभागी हुने र आफुले गर्ने/ गराउने कार्यशाला, तालिम गोष्ठीहरूमा पनि यस अनुसन्धानको सिकाइ र प्राप्तिलाई आवश्यकता र सन्दर्भ अनुसार प्रवोधिकरण गर्दै जाने लक्ष्य राखेको छु ।
८. निष्कर्ष :
विद्यालय परिसरमा फूलबारी व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रस्तुत कार्यमूलक अनुसन्धानलाई अगाडी बढाउँदा पहिलो चरणमा विद्यार्थीहरुमा निर्देशन मात्र दिएर काम गर्न लगाउँदा उक्त कार्य प्रति सक्रियता नदेखिएकाले उनीहरुलाई प्रोत्साहित गरेर उक्त कार्य प्रति अभिप्रेरित गर्न पुन: अर्को चक्रको आवश्यकता महशुस भयो र दोस्रो चक्रको समापन पश्चात् मात्र अनुसन्धानको चरणलाई अन्त्य गरियो ।
विद्यार्थीहरुलाई कुनै कार्य गर भनेर निर्देशन मात्र दिने तर त्यसको प्रत्यक्ष उपलब्धि निश्चित नहुँदासम्म उनीहरु उक्त क्रियाकलाप प्रति आकर्षित हुँदैनन् भन्ने कुरालाई पुष्टि गरेको छ । विद्यार्थीहरुमा उनीहरुले गरेको काम प्रति अपनत्वको भावना विकास गराएर सकारात्मक क्रियाकलाप गर्न प्रोत्साहित गर्न सकिएमा उनीको व्यवहारमा परिवर्तन गरी सक्रिय सहभागिता अभिवृद्धि गर्न सकिने रहेछ । मानिस स्वभावैले तत्कालको प्रतिफलका लागि अग्रसर हुन्छ । त्यसैले विद्यार्थीहरुलाई पनि उनीहरुले गरेको कामको तत्काल उपलब्धि देखिने गरी प्रोत्साहित गर्न सकियो भने उनीहरुको व्यवहारमा परिवर्तन गरी सक्रिय सहभागिता अभिवृद्धि गर्न सकिने देखियो । निष्ठा र लगनपुर्वक काम गर्दा कम मूल्य र बिना मूल्य पनि समस्या समाधानका सहज, सरल र प्रभावकारी उपायहरु निस्कने रहेछन् ।
तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।
facebook :


धन्यवाद।
Leave a review