कार्यमूलक अनुसन्धान :नमुना छत्तिस

कार्यमूलक अनुसन्धान :नमुना छत्तिस

 अनुसन्धान कर्ता - रेणुका दाहाल

विद्यालय : जलपादेवी मावि, 

ठेगाना:मेलम्ची १२, बाहुनीपाटी, सिन्धुपाल्चोक

 

शीर्षक : विद्यार्थीलाई जीवनी लेख्न सिकाउन कसरी सकिएला ?

                    

अनुसन्धानको पृष्ठभूमि

नेपाली विषयमा कक्षा ६ देखि नै जीवनी लेख्नु पर्ने हुन्छ तर अधिकांश विद्यार्थीहरू बुँदामा आधारित निर्देशित जीवनी लेख्दैनन् । परीक्षामा पनि अनिवार्य रुपमा जीवनी लेख्नुपर्ने हुन्छ । गृहकार्य दिँदा पनि प्रश्नमा जस्तो दिइएको छ त्यस्तै सारेर ल्याउँछन् । म कक्षा ८ देखि नै नेपाली विषय अध्यापन गराउने शिक्षक भएकाले यसै विषय बनाएर कार्यमूलक अनुसन्धान गर्ने चाहना मलाई जागृत भयो । त्यसैले विद्यार्थीहरूलाई जीवनी लेख्न सिकाउन कसरी सकिएला भन्ने विषयवस्तुलाई कार्यमूलक अनुसन्धानको विषय बनाएर अनुसन्धान सुरु गरेँ ।

 

समस्याको पहिचान

मैले नेपाली विषय अध्यापन गराउने कक्षा ८, ९ र १० मा सबैभन्दा बढी जीवनी लेख्ने समस्या कक्षा ८ मा भएकाले यो अनुसन्धान कक्षा ८ मा गर्न चाहेँ । मेरो विद्यालयको कक्षा ८ मा ५९ जना विद्यार्थीहरू अध्ययनरत छन् । उक्त कक्षामा म नेपाली विषय छैटौँ घण्टीमा अध्यापन गर्दछु । कक्षा ७ सम्म नेपाली विषय अर्कै शिक्षकले शिक्षण गर्ने हुँदा मेरा लागि ती विद्यार्थीहरू नयाँ हुन् । जीवनी सजिलो भइकन पनि विद्यार्थीहरूले नलेख्दा र परीक्षामा पनि अनिवार्य प्रश्न भएकाले यो समस्याप्रति मेरो चिन्ता र चासो बढी नै रह्यो । उनीहरू किन जीवनी लेख्दैनन् र उनीहरूलाइृ कसरी जीवनी लेख्न सक्ले बनाउन सकिन्छ भनी मैले कार्यमूलक अनुसन्धानको प्रक्रिया सुरु गरेको हो ।

 

पहिलो चरण

योजना

कक्षामा जीवनी शिक्षण गर्ने र कति जनाले जीवनी लेख्छन् भनी जानकारी लिने ।

 

कार्यान्वयन

पहिलो दिन विद्यार्थीहरूलाई जीवनी शिक्षण गरेँ । मैले जीवनीको नमुना लगेकी थिएँ । त्यो नमुना फलाटिन पाटीमा झुन्ड्याएँ ।जीवनी कसरी लेख्ने भनेर उत्तः नमुना प्रस्तुत गर्दै बताएँ । त्यसपछि एउटा बेन्चलाई एउटा समूह बनाएर समुह नेता तोकी बुँदा दिएर समय निर्धारण गरी निर्देशित जीवनी लेख्न लगाएँ । समय सकिएपछि पाँचओटा समूहको जीवनी सुनाउन लगाएँ । विद्यार्थीहरूबाटै प्रतिक्रिया दिन लगाएँ । त्यसपछि म आफैँले पृष्ठपोषण दिएँ । अनि गृहकार्यको रुपमा पाठको अभ्यासमा दिइएको जीवनी लेखेर ल्याउन सबै विद्यार्थीलाई निर्देशन गरेँ । यसरी पहिलो दिनको कक्षा सकियो ।

 

अवलोकन

भोलिपल्ट कक्षा कोठामा गएपछि सबै विद्यार्थीलाई गृहकार्य अगाडि राख्न लगाएँ ।३३ जना विद्यार्थीबाहेक अरुले जीवनी लेखेका रहेनछन् ।  २ जना विद्यार्थी अनुपस्थित थिए । गृहकार्य गरेकामध्ये २५ जनाले लेखेको राम्रै थियो । ३ अनुच्छदमा मिलाएर लेखेका थिए । ५ जना विद्यार्थीले लेखे पनि अनुच्छेद मिलाएका थिएनन् । ३ जनाले प्रश्नमा जस्तो छ त्यस्तै सारेको पाइयो । धेरैले जीवनी नलेख्नुको कारण नभ्याएर, बिर्सिएर, नबुझेर र समूह नेताले गरेकोले आफूले ध्यान नदिएर भन्ने जवाफ दिए ।  

 

प्रतिविम्बन

राम्रो पढाइ भएका, मेहनती, लगनशील र पढाइप्रति आकर्षित विद्यार्थीहरूले जीवनी राम्रोसँग लेखे । मध्यम खालका विद्यार्थीको लेखाइ ठिकै थियो । अल्छी र कमजोर विद्यार्थीहरूले जीवनी सिक्न ध्यान नदिएको, समूह कार्यमा सक्रिय नभएकाले नसिकेको र गृहकार्य गर्न अल्छी मानेको पाइयो । धेरै विद्यार्थी अघिल्लो दिनजस्तो झोला लगेको त्यस्तै किताब कापी नपल्टाइ विद्यालय आएको पाइयो ।

 

 

दोस्रो चरण

 

योजना

कक्षाकोठामा जीवनी व्यक्तिगत रुपमा लेख्न लगाउँदा प्रभावकारी भई जीवनी शिक्षण कार्य सफल बनाउन सकिन्छ कि पत्ता लगाउने ।

 

कार्यान्वयन

सबै विद्यार्थीहरूलाई जीवनी लेखनप्रति आकर्षित गर्दै पहिलो, दोस्रो र अन्तिम अनुच्छेदमा लेख्नुपर्ने बूँदाहरूको बारेमा छलफल गराएँ । जेहेनदार, मध्यम र कमजोर विद्यार्थीहरूलाई उठाएर पहिलो अनुच्छेदमा कहाँसम्मका बुँदा समावेश गर्ने, दोस्रो र अन्तिम अनुच्छदमा कहाँ सम्मका बुँदा समावेश गर्ने , क्रियापद कस्तो राख्ने भन्ने बारेमा छलफल गराई स्पष्ट पारेँ । त्यसपछि पन्ध्र मिनेटको समय तोकी अभ्यासमा भएको निर्देशित बुँदामा आधारित भएर व्यक्तिगत रुपमा जीवनी लेख्न सबै विद्यार्थीहरूलाई निर्देशन गरेँ । म आफू प्रत्येक बेन्चमा गएर मध्यम र कमजोर विदार्थीलाई सहजीकरण गरेँ । राम्रो पढ्ने विद्यार्थीलाई सँगै बस्ने साथीलाई सहयोग गर्न आग्रह गरेँ ।

 

अवलोकन

विद्यार्थीहरूले जीवनी लेख्दै गर्दा कोही साथीहरूको सहयोग लिँदै थिए भने कोही मलाई सोध्दै थिए । समय सकिएपछि तीनओटा जीवनी छनौट गरी विद्यार्थीहरूलाई    भन्न लगाएँ । अरुलाई सुनेर प्रतिक्रिया दिन लगाएँ । अनि विद्यार्थीहरूलाई प्रश्न गरेँ, हिजो सिकाउँदा जम्मा ३३ जनाले मात्र गरेका थियौ, आज त सबैले गर्यौ नि ,कसरी गर्न सक्यौ त ? अनुच्छेद विभाजनको बारेमा प्रष्ट भएको, क्रियापद कस्तो राख्ने भन्ने बारेमा प्रष्ट भएको र आफैँ सहभागी भएर लेखेकाले सिक्न सफल भयौँ, अब परीक्षामा पनि जीवनी लेख्न सक्छौँ भनने जवाफ दिए ।

 

प्रतिविम्बन

विद्यार्थीहरूले जीवनी नलेख्नुको कारण धारणा स्पष्ट नभएर, अल्छी गरेर रहेछ । उनीहरूलाई पटक पटक दोहोराएर स्पष्ट धारणा दिएपछि व्यक्तिगत रुपमा लेख्न लगायो र आफूले र आफूले राम्रो सहजीकरण गर्यो भने सिकाइ प्रभावकारी हुने रहेछ । कक्षाकोठामा व्यक्तिगत रुपमा पनि क्रियाकलापमा जोड दिनुपर्ने रहेछ । यसो गर्दा विद्यार्थी सक्रियता बढेर सिकाइमा सकारात्मक प्रभाव पर्दछ ।

 

निष्कर्ष

नेपाली विषयमा विद्यार्थीहरूलाई जीवनी लेख्न सिकाउन कसरी सकिएला भन्ने विषयमा कार्यमूलक अनुसन्धानलाई अगाडि बढाउँदा दोस्रो चरणमा आइपुग्दा आवश्यक सुधार भएकाले मैले अनुसन्धानको चरणलाई अन्त्य गरेँ । यो अनुसन्धानले शिक्षकले एकोहोरो भनेर मात्र विद्यार्थीले सिक्न सक्दैनन् । विद्यार्थीलाई सामूहिक र व्यक्तिगत रुपमा सक्रिय सहभागी बनाउनु पर्दछ । सिकाइमा स्पष्ट धारणा बसाउनु पर्दछ । अनि मात्र शिक्षण सिकाइ प्रभावकारी र उपलब्धिमूलक हुन्छ भन्ने महसुस भयो ।

 

तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login