कार्यमूलक अनुसन्धान :नमुना सैतिस

कार्यमूलक अनुसन्धान :नमुना सैतिस

अनुसन्धान गरिएको कक्षा :

अनुसन्धानकर्ताको नाम : बसन्त कुमार खनाल

कार्यरत संस्था : श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, बर्जु , अमाहीवेल्हा, सुनसरी

 

शीर्षक : कक्षा ८ को गणित  विषय अन्तरगत ल.. र म.. शिक्षण सिकाइमा समस्या

 

पृष्ठभूमि :

म श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वर्जु ५ को शिक्षक हुँ। विगत चार वर्षदेखि यस विद्यालयमा कार्यरत रहेको छु । वि.स. २००८ सालमा स्थापित यस विद्यालयमा २२ जना शिक्षक ,२ जना कर्मचारी कार्यरत रहेका छन् । कक्षा शिशुदेखि १२ कक्षा सम्म पढाइ हुने यस विद्यालयमा औसत रुपमा विद्यार्थी संख्या मध्यम रहेको छ ।

  

गणित तर्क,सोचाइ, समालोचनात्मक चिन्तनमा आधारीत विषय हो । त्यसैले यो विषय शिक्षण गर्दा विद्यार्थीमा तर्क गर्ने, सोच्ने, समालोचनात्मक चिन्तन गर्ने, अभ्यास गर्ने अवसरहरु प्रशस्त मात्रामा प्रदान गरिनु पर्दछ । गणितमा कतिपय विषयमा आएका वस्तुहरु ठ्याक्कै व्यवहारमा प्रयोगमा नआउने तर दिनहुजसो अमुर्त रुपमा त्यसको स्थान र अस्तित्व रहिरहने खालका हुन्छन् । त्यस्ता विषयवस्तुहरु मध्ये विजगणित पनि एक हो ।

 

विजगणितमा अमूर्त क्रियाहरुको प्रयोग बढी भएकाले पनि यो विषयवस्तु शिक्षण गर्दा समालोचनात्मक चिन्तनको अझ बढी आवश्यकता पर्दछ । तर्क गर्ने, सोच्ने, अमूर्त क्रियालाई मूर्त रुप दिई बुझ्ने क्षमताको विकास हुन नसक्दा विद्यार्थीहरुलाई गणितका विषयवस्तुहरु मध्येमा सबैभन्दा कठिन विजगणित नै हुने गर्दछ । त्यस्तै विजगणितका अमूर्त क्रियाहरुलाई मूर्त रुपसँग तुलना गरी विद्यार्थीहरुमा धारणा दिन शिक्षकलाई पनि हम्मेहम्मे पर्न जान्छ । भावनात्मकतालाई ठोस बनाउने काम मनोवैज्ञानिक पनि छ त्यसैले पनि विजगणित शिक्षणमा शिक्षक अनि विद्यार्थीहरुले बढी समय र श्रम खर्चिनुपर्ने हुन्छ। तल्ला कक्षाहरु देखि नै विजगणितका धारणाहरु स्पष्ट नहुँदा माथिल्ला कक्षामा यसको शिक्षण सिकाइ फलामका च्युरा चपाएजस्तै हुन्छ । यसो भनेर माथिल्ला कक्षाहरुका शिक्षकहरुले प्रयास गर्दै नगर्ने भन्ने हुनुहुदैन । विषयवस्तु सम्बन्धि विद्यार्थीहरुको धारणा पहिचान गर्ने र विभिन्न उपायहरुबाट उनीहरुको धारणालाई बलियो बनाउने प्रयत्न गरि रहनु पर्छ । जुन धारणाले उसलाई जटिल विषयवस्तुको महत्वपूर्ण सहयोग गर्न सकोस् । यसर्थ शिक्षकले त हरसमय अनुसन्धनात्मक कार्यबाट शिक्षणसिकाइमा देखिएका समस्याहरुको समाधान निकाली प्रयोग गर्नुपर्ने हुन्छ ।यसै सन्दर्भमा कक्षा ८ को विजगणित विषयवस्तुको मस र लस पा७मा आधारीत रहेर सो पाठको शिक्षण सिकाइका समस्याहरुको निराकरण गरी विद्यार्थीमा मस र लसको सिकाइ उपलब्धि अभिवृद्धि गर्नका लागि एक कार्यमुलक अनुसन्धान गरी यो प्रतिवेदन तयार गरिएको छ ।

 

समस्याको कथन :

कक्षा ८ को विजगणित अन्तर्गत मस र लस विषयवस्तु शिक्षण गर्दा धेरैजसो विद्यार्थीहरु अलमलमा पर्नु,शिक्षण सिकाइ क्रियाकलाप पश्चात मूल्याकंनका लागि दिइएको समस्याको समाधान धेरैजसो विद्यार्थीले गर्न नसक्नु, विजिय अभिव्यन्जकको अर्थ र प्रकार बताउन नसक्नु, खण्डीकरण गर्ने तरीकामा स्पष्ट हुन नसक्नु जस्ता समस्याहरु यस अनुसन्धानको आधार बनेका छन् । त्यसै गरि मस र लस शिक्षणमा विद्यार्थीहरुले ध्यान नदिनु, विजगणितीय पदावली र संकेतहरु लेखनमा शुद्धता नहुनु जस्ता समस्याहरु पनि अनुसन्धानका आधार बनेका छन् ।शिक्षण गर्दाको अवस्थामा विद्यार्थीहरुले बुझेको प्रतिक्रिया दिनु तर परीक्षा तथा मूल्याकंनमा सिकाइ उपलब्धि कम देखिने समस्यापनि एक जटिल समस्या हो ।

 

अध्ययनको उदेश्य

क. कक्षा ८ का विद्यार्थीहरुको म.स. र ल.स. सम्बन्धि शिक्षण सिकाइमा देखिएका वास्तविक समसयाहरु पत्ता लगाउने

 

ख. समस्याहरुको समाधानका उपायहरु खोजी विद्यार्थीहरुको सिकाइ उपलब्धि अभिवृद्धि गर्ने

 

समस्याका सम्भावित कारणहरू :

विजगणितीय अभिव्यन्जकहरुको मस तथा लस शिक्षण सिकाइमा देखिएका समस्याहरु निम्न सम्भावित कारणहरू रहेका छन् ।

 

क. विद्यार्थीहरुमा मस र लस सिकाइका लागि आवश्यक आधारभुत धारणाहरु नहुनु ।

 

ख. विद्यार्थीले विभिन्न स्वरुपका अभिव्यन्जक पहिचान गर्न नसक्नु ।

 

ग. विद्यार्थीमा गुणनखण्ड र साझा गुणनखण्डकको धारणा स्पष्ट नहुनु ।

 

घ. विद्यार्थीमा मस र लसको परिभाषा सम्बन्धि ज्ञानको अभाव हुनु ।

 

ङ. विद्यार्थीमा प्रशस्त मात्रामा अभ्यासको कमि हुनु ।

 

च. शिक्षण सिकाइ प्रकृयामा विद्यार्थीहरुको सक्रिय सहभागिता नहुनु

 

छ. तल्ला कक्षाहरुमा वीजगणितको पठनपाठन राम्रो नहुनु ।

 

ज. वीजगणितलाई व्यवहारिकतासँग जोडेर शिक्षण गर्न नसकिनु ।

 समस्या समाधानका सम्भावित विकल्पहरु :

यस अनुसन्धानका लागि लिइएको समस्या समाधानका सम्भावित विकल्पहरु निम्न अनुसार रहेका छन् ।

 

क. व्यक्तिगत तथा सामुहिक सिकाइमा जोड दिने

 

ख. विद्यार्थीलाई समस्याको पहिचान गर्न लगाई समाधानका उपायहरु खोज्न लगाउने

 

ग.शिक्षणासिकाइ प्रकृयामा विद्यार्थीहरुको सक्रिय सहभागिताको लागि उत्प्रेरणाका विभिन्न उपायहरु अवलम्बन गर्ने ।

 

घ. अतिरिक्त समय र पाठ्यभारको व्यवस्था गरी मस र लसका लागि आवश्यक धारणाको निर्माण गर्ने जस्तै : मसको परिचय, अंक गणितका संख्याहरुको लस र मसको धारणा, विभिन्न स्वरुपका विजगणितीय अभिव्यन्जक सम्बन्धि धारणा र खण्डीकरण, मस तथा लस निकाल्ने तरीका आदि

 

ङ.अभ्यासका लागि प्रशस्त अवसर प्रदान गर्ने

 

च. समालोचनात्मक सीप सिकाइका विधिहरु अवलम्बन गर्ने

 

छ. क्रमवद्ध सिकाइमा जोड दिने

 

विकल्पको प्राथमिकताक्रम :

क. अतिरिक्त समयको व्यवस्था गरी योजनाबद्ध रुपमा मस र लसका लागि आवश्यक धारणाको निर्माण गर्ने । जस्तै : मस तथा लसको परिचय, अंकगणितका संख्याहरुको लस र मस सम्बन्धि विभिन्न धारणाहरु, विभिन्न स्वरुपका विजगणितीय अभिव्यञ्जक सम्बन्धि धारणा र खण्डीकरण, मस र लस निकाल्ने तरीका आदि

ख. समालोचनात्मक सीप सिकाइका विधि अवलम्बन गर्ने ।

 

 

ग. अभ्यासका प्रशस्त अवसर प्रदान गर्ने ।

 

तथ्याकं प्रस्तुतीकरण र विश्लेषण :

अनुसन्धानका लागि तयार गरिएका साधनहरु र ती साधनहरुबाट प्राप्त तथ्याकं तथा सूचनाहरुलाई निम्नानुसार परिमाणात्मक र गुणात्मक प्रस्तुतीकरण र विश्लेषण गरिएको छ ।

 

क) प्रश्नपत्र

मस तथा लसको नियमित शिक्षण सिकाई क्रियाकलाप पश्चात कक्षा ८ का ५५ जना विद्यार्थीहरुलाई विशेष गरी विजगणितीय अभिव्यन्जकहरुको मस र लस विषयवस्तुमा केन्द्रित रहेर २० पूर्णांकको १०ओटा फरक फरक प्रश्नहरु बनाई समाधान गर्न दिइएको थियो । जसबाट प्राप्त उपलब्धिलाई निम्नानुसार प्रस्तुत गरिएको छ ।

माथिको प्रश्नपत्रबाट के देखियो भने ५५ जना विद्यार्थीहरु मध्ये सबैभन्दा बढी अंक ७ प्राप्त गर्ने विद्यार्थीको संख्या ८ रहेको, ६ अंक प्राप्त गर्ने ५ जना र सबैभन्दा कम अंक प्राप्त गर्ने २० जना पाइयो । यसबाट के भन्न सकिन्छ भने विद्यार्थीहरुको मस र लस सम्बन्धि उपलब्धि ज्यादै न्युन रहेको छ ।

 

ख) प्रश्नावली :

कक्षा ८ मा अध्ययन गर्ने सबै विद्यार्थीहरूलाई प्रश्नावलीमार्फत विभिन्न प्रश्नहरु सोधिएको थियो । जसबाट विद्यार्थीहरुमा निम्न समस्याहरु रहेको देखियो ।

  • विद्यार्थीहरुले विभिन्न स्वरुपका अभिव्यन्जकहरुको पहिचान गर्न नसक्नु।

 

  • विद्यार्थीहरु अभिव्यन्जकको खण्डीकरण कसरी गर्ने भन्ने कुरामा अलमलिनु।

 

  • विद्यार्थीमा गुणनखण्ड र साझा गुणनखण्डको धारणा स्पष्ट नहुनु ।

 

  • विद्यार्थीमा मस र लसको परिभाषा सम्बन्धि ज्ञानको अभाव हुनु ।

 

  • विद्यार्थीले तल्ला कक्षाहरुमा प्रशस्त मात्रामा अभ्यासको अवसर नपाउनु ।

 

  • तल्ला कक्षाहरुमा वीजगणितको पठनपाठन राम्रो नहुनु

 

  • वीजगणितलाई व्यवहारिकतासँग जोडेर शिक्षण गर्न नसकिनु ।

 

ग) छलफल :

विद्यार्थीहरुको कक्षा ६ र ७ तहमा वीजगणित सम्बन्धि सिकाइ उपलब्धि, पठनपाठनको अवस्था बुझ्न निमावि तहमा शिक्षण गर्ने शिक्षकसँग प्रत्यक्ष्ँ रुपमा छलफल गरिएको थियो । सो छलफलबाट निमावि तहका धेरैजसो विद्यार्थीहरुले वीजगणितमा राम्रो गरेको, कक्षाकोठामा शिक्षण गर्दा बुझेको प्रतिक्रिया दिएको पाइयो । तथापि कक्षा ८ मा आइपुग्दा विजगणितीय धारणामा कमजोर रहनुमा पहिलो त अर्थपूर्ण सिकाइ नहुनु र दोस्रो विद्यार्थीहरुले प्रशस्त मात्रामा अभ्यास नगर्ने गरेको समस्या देखियो ।

 

योजना निर्माण :

यस अनुसन्धानबाट प्राप्त भएको समस्याहरुको समाधान गरी विद्यार्थीहरुमा मस र लसको धारणा निर्माण गरी विषयवस्तुलाई दीर्घकालीन र स्थायी बनाई उनीहरुको सिकाइ उपलब्धि अभिवृद्धि गर्न निम्नानुसार दुईहप्ते योजना निर्माण गरिएको थियो ।

  • समालोचनात्मक सीप सिकाइका विधिहरु अबलम्बन गर्दै मस र लसका लागि आवश्यक धारणाहरुको निर्माण गर्ने जस्तै : मस र लसको परिचय, अंकगणितीय संख्याहरुको लस मस सम्बन्धि धारणा, विभिन्न स्वरुपका विजगणितीय अभिव्यन्जक सम्बन्धि धारणा र खण्डीकरण, मस र लस निकाल्ने तरीका आदि ( १ हप्ता)

 

  • विद्यार्थीहरुको समूह निर्माण गरी छलफल र समस्या समाधान विधिबाट विद्यार्थीहरुलाई प्रशस्त मात्रामा अभ्यासको अवसर दिई मस र लसशिक्षण गर्ने (१ हप्ता)

 

. कार्यान्वयन :

विद्यालय प्रशासनसँगको समन्वयमा अतिरिक्त २ हप्तामा १४ पिरीयडको व्यवस्था गरी एक हप्तासम्म समालोचनात्मक सीप सिकाइका विधिहरुको प्रयोग गरी म.स. तथा ल.स.का लागि आवश्यक आधारभुत धारणाहरु शिक्षण गरियो । समालोचनात्मक सीप अन्तर्गत मस्तिष्क मन्थन, द्रुतलेखन, जानेको वा जान्न चाहेको, सिकेको, एउटा दिने र एउटा लिने जस्ता सीप सिकाइ विधीहरुको प्रयोग गरियो । त्यस्तै विद्यार्थीहरुलाई विभिन्न चरणमा जान्ने जान्नेको समुह, जान्ने नजान्नेको समुह र नजान्ने नजान्नेको समुहमा विभाजन गरी छलफल गराउंदै समस्या समाधान गर्न लगाइयो ।

 

१०. अवलोकन :

योजनाको कार्यान्वयनको चरणमा नियमित अवलोकनलाई प्राथमिकता दिइयो भने निमावि तहका शिक्षक एवम् प्राचार्यलाई अवलोकनका लागि अनुरोध गरियो । उहाँहरुबाट समेत समय समयमा योजना कार्यान्वयनको अवलोकन गर्ने काम भयो । त्यस्तै समूह कार्यमा एउटा समूहबाट अर्को समूहको अवलोकन गर्ने व्यवस्था मिलाइयो । प्राचार्य तथा शिक्षकबाट अवलोकन पश्चात प्राप्त भएको पृष्ठपोषणलाई तत्कालै कार्यान्वयन गर्दै लगियो ।

 

११. प्रतिविम्बन :

कक्षा ८ को वीजगणित अन्तर्गत मस र लसको शिक्षण सिकाइमा देखिएका विभिन्न समस्याहरु पत्ता लगाई ती समस्याहरुको समाधानका लागि निर्माण गरिएको योजना कार्यान्वयन गर्दा विद्यार्थीहरुमा दुई किसिमबाट प्रतिविम्बन भएको पाइयो ।

 

क) योजना कार्यान्वयनको चरणमा विद्यार्थीहरुमा देखिएको उत्सुकता, छलफलमा सक्रिय सहभागिता, जिज्ञासाले उनीहरुमा विजगणितीय धारणाको पुनःस्मरण एवम् नयाँ सिकाइ भएको पाइयो  । जस्तै विभिन्न स्वरुपका अभिव्यन्जकहरुको पहिचान तथा तिनको खण्डीकरण, मस र लसको धारणा र प्रयोग आदि

 

ख) योजना कार्यान्वयनको समाप्तिपश्चात मस र लसका विभिन्न प्रश्नहरु निर्माण गरी लिइएको एकाइ परीक्षामा ८०%  विद्यार्थीहरुले शतप्रतिशत समाधान गरेको पाइयो भने बाँकी बीस प्रतिशत विद्यार्थीहरुले पनि असी प्रतिशत समस्याहरुको समाधान गरेको पाइयो ।

 

१२. पुनः योजना

योजनाको कार्यान्वयनको समाप्ति पश्चात मस र लसका विभिन्न प्रश्नहरु निर्माण गरी लिइएको परीक्षामा असी प्रतिशत विद्यार्थीले शतप्रतिशत समस्याको समाधान गरेको पाइयो भने बाँकी बीस प्रतिशत विद्यार्थीहरुको सिकाइमा अझै पनि समस्या देखिएकोले सोको समाधानका लागि पुनः योजना निर्माण गरी प्रतिविम्बन गर्नुपर्ने देखियो ।

 

तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login