- Home
- Show Content
कार्यमूलक अनुसन्धान :नमुना अठतीस
कार्यमूलक अनुसन्धान :नमुना अठतीस
अनुसन्धान कर्ता : दिपक तिवारी(माध्यमिक तह, तृतीय श्रेणी )
कार्यरत विद्यालय: रणभुवनेश्वरी मा. बि.
ठेगाना:विदुर-३, नुवाकोट
कार्यमूलक अनुसन्धानको शीर्षक: अनुच्छेद लेखन सीप विकास गर्ने
१.अध्ययनको परिचय
१.१अध्ययनको पृष्ठभूमि: यस रणभुवनेश्वरी मा.बि. कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीहरूको लेखाइ स्तर ज्यादै कमजोर भएको थियो। कोभीड महामारीको कारण विद्यालयमा भौतिक रूपमा उपस्थित भएर प्रत्यक्ष माध्यमबाट शिक्षण गर्न सक्ने वातावरण थिएन।बन्दाबन्दीको समयावधि भएपनि विद्यार्थीको सिकाइलाई निरन्तरता दिन विद्यालयले वैकल्पिक सिकाइ माध्यमको रूपमा अनलाइन कक्षा सञ्चालन गरेको थियो।
अनलाइन कक्षामा प्रायः सबै विद्यार्थीको उपस्तिथिले हामी शिक्षकलाई उत्साहित बनाए पनि साप्ताहिक गृहकार्यको पुस्तिका परिक्षण गर्दा ज्यादै निराशाजनक पाइयो। विशेषगरी लेखन सिपको कमजोरीका कारण विद्यार्थीहरूका समग्र लिखित अभिव्यक्ति नै खजमजिएको थियो।यसै परिप्रेक्ष्यमा शै. स. २०७७ को जेठ महिनामा रणभुवनेश्वरी मा. बि. विदुर-३, नुवाकोटको कक्षा १० मा अनलाइन माध्यमबाट पढ्ने विद्यार्थीहरूमा नेपाली विषय अन्तर्गत अनुच्छेद लेखन सिपमा देखिएका समस्याहरू तत्काल समाधान गर्न यो कार्यमूलक अनुसन्धान गरिएको थियो ।
१.२ समस्याको कथन: यस विद्यालयको कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीहरूका लेखन सिप धेरै कमजोर थियो। विशेषगरि अनलाइन कक्षा सञ्चालनपश्चात् यो समस्या बढ्दै गएको देखियो। अनुच्छेद लेखनमा देखिएको असङ्गतीयुक्त वाक्यले सिङ्गो नेपाली विषयको सक्षमता हासिल गर्न कठिन देखियो त्यसैले कक्षा १० को विद्यार्थीका अनुच्छेद लेखन लगाएत समग्र लेखन सिपमा कमजोर हुनुको कारणमा यो अध्ययन केन्द्रित थियो।
१.३ अध्ययनको उद्देश्य: यस विद्यालयको कक्षा १० मा अनुच्छेद लेखन सिपको विकास गर्ने उद्देश्यले प्रस्तुत अध्ययन गरिएको थियो। यो अध्ययनमा निम्न उदेश्य राखिएका थिए।
- कक्षा १० को नेपाली विषयमा लेखन सीप कमजोर हुनुको कारण पत्ता लगाउने।
- विभिन्न शीर्षकहरूमा स्वतन्त्ररूपमा अनुच्छेद लेखन सिपको विकास गर्ने।
२.अध्ययन विधि: प्रस्तुत समस्या अध्ययनका लागि निम्न प्रकारको अध्ययन विधि प्रयोग गरियो।
२.१ नमुना छनौट : अध्ययनका लागि यस रणभुवनेश्वरी माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थीहरूलाई आधार मानी अध्ययन गरियो।
२.२ तथ्याङ्क सङ्कलन: यस विद्यालयका कक्षा १० का विद्यार्थी, शिक्षक , अभिभावक, प्र. अ. विद्यालय व्यवस्थापन समितिका सदस्यसँग जुम मिटिङ एंव अनलाइन प्रश्नावली दिएर तथ्याङ्क सङ्कलन गरियो।
२.३ तथ्याङ्कको विश्लेषण: प्रश्नोत्तरको आधारमा तथ्याङ्क विश्लेषण गरियो।तथ्याङ्क विश्लेषणबाट लेखाइ सिपमा कमजोर हुनाका कारण निकालियो।
३.कार्यविधि/ कार्यान्वयनको चरण:
३.१ कार्य योजना: समस्याको पहिचानपश्चात् माथि उल्लेखित उद्देश्य प्राप्तिका लागि निम्नलिखित कार्यहरू गर्ने योजना गरियो।
- लेखाइ सिपसँग सम्बन्धित समस्याहरूलाई क्रमबद्ध सूचीकरण
- लेखाइ सिप शिक्षण गर्न सहयोग पुग्ने शैक्षिक सामग्री सङ्कलन, निर्माण, तथा खरिद
- शैक्षिक सामग्रीको उचित प्रयोग गरी उद्देश्य अनुरुपको अनलाइन कक्षा सञ्चालन
- अनु लेखन र श्रुति लेखन
- अनुभव लेखन
- निबन्ध लेखन
- दैनिक व्यावहारिक कागजात तथा चिठी लेखन
- अवलोकन र मूल्याङ्कन
३.२ योजना कार्यान्वयन :यस चरणमा कार्यमूलक अनुसन्धानका उद्देश्यहरू पूरा गर्न योजना अनुरुपको निम्न कार्यहरू गरियो।
- शैक्षिक सामग्रीहरूको छनोट र सङ्कलन
- विद्यार्थीहरूको समूह विभाजन
- सामूहिक र व्यक्तिगत कार्य:
- अनु लेखन र श्रुति लेखन
- अनुभव लेखन
- निबन्ध लेखन
- दैनिक व्यावहारिक कागजात तथा चिठी लेखन
३.३ अवलोकन: उद्देश्य अनुसारको परिणाम प्राप्त भयो कि भएन, अपेक्षित सुधार हुन सक्छ कि सक्दैन, के के कुरा राम्रा र सन्तोषजनक भए कुन कुन सोचेअनुसार भएनन् भन्ने कुराहरूलाई ख्याल गर्दै कक्षा १० का विद्यार्थी भाइबहिनीहरूलाई अनलाइन माध्यमबाट गरिएका माथिका सम्पूर्ण कार्यहरूको शूक्ष्म अवलोकन जुम मिटिङबाट गरियो।
३.४ प्रतिविम्वन: कार्यमूलक अनुसन्धानको क्रममा विद्यार्थीहरूको मूल्याङ्कन गर्दा सम्पूर्ण विद्यार्थीहरूका लेखन सिपमा कमजोर हुनुको साझा र व्यत्तिगत कारण पत्ता लागेको थियो भने अनुच्छेद लेखन सीप विकास गर्ने उद्देश्य पाँच जनाबाहेक बाँकी सबै विद्यार्थीहरूमा पूरा भएको थियो।त्यसैले पहिलो चरणको क्रियाकलापमा नै अनुसन्धान कार्य प्रभावकारी भएकोले सोही समयमा नै कार्यमूलक अनुसन्धान सम्पन्न गरिएको थियो।
४.निष्कर्ष र प्राप्ति : कक्षा दसका विद्यार्थीहरूलाई कक्षाकार्य र गृहकार्य गर्न दिएपछि विद्यालयको माथिल्लो तह त भनी कार्यहरूको परिक्षण नगर्नु नै लेखाइ सीप कमजोर हुनुको मुख्य समस्याको जड रहेछ। एस्.इ.इ. परीक्षालाई मध्यनजर गर्दै छिटो किताब सक्ने हतार गर्दा लेखाइ सिपमा ध्यान नजानु वा बिर्सनु पनि यो सिप सिकाइलाई प्रभावित पार्ने अर्को कार तत्त्व रहेको पाइयो। यसकाअलवा अनलाइन कक्षामा प्रत्यक्ष सिकाइमा जस्तो लेखाइ सिपको अवलोकन गर्न नपाइनु, बन्दाबन्दीको समयमा पनि पढाइमा किन ध्यान दिई रहनु पर्यो भन्ने मानसिकता विद्यार्थीले बनाउनु, नेपाली विषयको शिक्षकबाहेक अरू सबै शिक्षक, सिङ्गो विद्यालय, अभिभावक, समुदाय आदिले नेपालीभन्दा अङ्ग्रेजीमा लेख्न र बोल्न बढी जोड दिनु जस्ता कारणले गर्दा पनि विद्यार्थीहरूको लेखाइ सिप कमजोर भएको निष्कर्ष निकालियो।
अनलाइनको माध्यमबाट शिक्षण सिकाइ क्रियाकलापसँगै मूल्याङ्कन गर्दै विद्यालयमा गरिएको कार्यमूलक अनुसन्धान सफल एवम् प्रभावकारी पाइयो। अनुसन्धानबाट प्राप्त निष्कर्षलाई ख्याल गर्दै सरलतादेखि जटिलताको क्रममा विद्यार्थीहरूलाई विभिन्न शीर्षकमा पहिला सामूहिक र पछाडि व्यक्तिगत रूपमा अनुच्छेदलगायत अन्य क्रियाकलापहरूको लेखन शिक्षण गर्दा विद्यार्थीहरूको लेखाइ सिपको सिकाइस्तर सहजै उकास्न सकिने ठहर गरियो।
तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review