- Home
- Show Content
कार्यमूलक अनुसन्धान :नमुना उनान्चालिस
कार्यमूलक अनुसन्धान :नमुना उनान्चालिस
अनुसन्धानकर्ता: हरिप्रसाद दाहाल
पद : मा. शि. तृतीय
विद्यालय : नेपाल आदर्श मा. वि. ,गणबहाल, काठमाडौं
शीर्षक :“नेपालको नक्सा बनाउने र आवश्यक तथ्य भर्ने सीपको विकास गराउन गरिएको प्रयास” एक कार्यमूलक अनुसन्धान प्रतिवेदन"
१. पृष्ठभूमि
कुनै संस्था वा पेशामा आबद्ध पेशाकर्मीले आफूले गर्दै आएको पेशागत कार्यमा देखिएका समस्या तत्काल निदान गरि सो कार्यमा सुधार ल्याउन पेशागत दक्षता अभिवृद्धिका लागि तत्काल गरिने प्रयत्न नै कार्यमूलक अनुसन्धान हो । कुनै पेशाकर्मीले आफ्नो काममा तत्काल आईपरेका समस्या पहिचान गरि त्यसको समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्नु पर्दछ ।
एउटा शिक्षकले शिक्षण सिकाइका क्रममा आइपरेका सिकाइ सम्बन्धी समस्याको पहिचान गरि त्यसको समाधान गर्न र सिकाइमा सुधार गर्नको लागि कार्यमूलक अनुसन्धान गर्नु पर्दछ । हामी अध्यापन कार्यमा संलग्न शिक्षकहरुले कक्षाकोठामा शिक्षण क्रियाकलाप सञ्चालन गरिरहँदा आइपर्ने अनेकौं समस्याहरुबारे आफैंले उत्सुकतापूर्वक खोजिनीति गरि समाधानका उपायहरु पत्ता लगाई व्यवहारमा उपयोग गर्दछौं भने यथार्थमा त्यसैलाई कार्यमूलक अनुसन्धान भनिन्छ । यसबाट कार्य र अनुसन्धान एकीकृत गर्दै निरन्तर सुधारात्मक दिशातर्फ अग्रसर हुन मद्दत पुग्दछ ।
यहाँ मैले श्री नेपाल आदर्श मा. वि. गणबहाल काठमाडौंमा कक्षा ९ मा सामाजिक अध्ययन विषयको शिक्षण गर्ने क्रममा नेपालको नक्सा बनाइ बिभिन्न तथ्यहरु भर्ने पाठ शिक्षण गर्दा देखिएको समस्या समाधानमा केन्द्रित रहेर एउटा कार्यमूलक अनुसन्धान गरेको छु । यस अनुसन्धान प्रक्रियालाई अपेक्षित लक्ष्य प्राप्त नहुन्जेल चक्रिय रुपमा सञ्चालन गरिएको छ ।
२. समस्याको पहिचान
यस अध्यायमा मैले श्री नेपाल आदर्श मा. वि. गणबहाल काठमाडौंमा कक्षा ९ मा सामाजिक अध्ययन विषयको शिक्षण गर्ने क्रममा नेपालको नक्सा बनाइ बिभिन्न तथ्यहरु भर्ने पाठ शिक्षण गर्दा विद्यार्थीहरुलाई आफूले चाहेजस्तो सिकाइ उपलब्धि हासिल गराउन नसकेकोले उक्त अपेक्षित सिकाइ उपलब्धि कसरी पुरा गर्न सकिएला भनी शैक्षिक वर्ष २०७७ को माघ २६ देखि २९ सम्म ४ कार्य दिनमा गरिएको कार्यमूलक अनुसन्धानलाई यहाँ प्रस्तुत गरेको छु । अनुसन्धानको क्रममा पत्ता लागेका समस्याहरु निम्न छन् ।
- विद्यार्थीहरुमा नक्सा बनाउने अभ्यास कम हुनु ।
- विद्यार्थीहरुले नक्सा बनाउने र भर्ने कार्यलाई झन्झटिलो मान्नु ।
- सबै विद्यार्थीहरुसँग एट्लस नहुनु ।
- विद्यार्थीहरुमा नक्सा बनाउन सिक्ने रुची कम हुनु ।
- थपिएको नेपालको भूभाग सहितको नयाँ चुच्चे नक्सा बनाउन कठिन मान्नु ।
३. उद्देश्य
यस कार्यमूलक अनुसन्धानको मुख्य उद्देश्य विद्यार्थीहरुलाई निम्न कुरामा सक्षम तुल्याउनु रहेको छ ।
- विद्यार्थीहरुमा नक्सा कार्यप्रति रुचि बढाउनु ।
- नक्साको महत्व बताउन सक्षम तुल्याउनु ।
- नेपालको हालै परिवर्तित चुच्चे नक्सा बनाइ उपयुक्त संकेत प्रयोग गरि बिभिन्न तथ्यहरु भर्न सक्ने बनाउनु ।
४. अनुसन्धानको औचित्य
शिक्षकका लागि नक्सा महत्वपूर्ण शिक्षण सामग्री हो भने विद्यार्थीको लागि महत्वपूर्ण पाठ्य सामग्री हो । सामाजिक अध्ययन विषयको छैठौं एकाइ पूर्णरुपमा नै नक्साको सहायताले अध्यापन गर्न सकिन्छ भने अन्य एकाइहरुको अध्यापनमा समेत यसको व्यापक प्रयोग हुने गर्दछ । त्यसैले शिक्षण सिकाइलाई प्रभावकारी एवं सिकाइलाई दिगो बनाउन नक्साको प्रयोग अति आवश्यक हुन्छ ।
त्यस्तै सामाजिक अध्ययन विषयको ग्रीड अनुुसार विद्यार्थीले परीक्षामा लामो उत्तर समूहको प्रश्नमा नेपालको नक्सा बनाई विभिन्न तथ्यहरु भरेर देखाउनु पर्ने हुन्छ । त्यस्तै सामाजिक अध्ययन विषयलाई विद्यालय तहमा अनिवार्य विषय अन्तर्गत समावेश गरी आफ्नो स्थानीय परिवेश, राष्ट्रको भूबनोट, सिमाना, आकार, पृथ्वीको स्थलमण्डल, जलमण्डल र विभिन्न महादेशहरुका पाठको माध्यमबाट विद्यार्थीहरुलाई भौगोलिक ज्ञान दिने लक्ष्य राखिएको छ । यसको लागि विद्यार्थीहरुमा स्थानीय समुदाय, जिल्ला, भौगोलिक प्रदेश र देशको नक्सा कोर्ने सीप विकास हुनु आवश्यक हुन्छ । यहाँ विद्यार्थीहरुलाई नक्सा निर्माण गर्ने सीप विकास गर्नका लागि शिक्षकले बिभिन्न विधि र तरिका अपनाउनु जरुरी हुन्छ ।
सामाजिक अध्ययन विषयमा विद्यार्थीहरुले निर्धारित सिकाइ उपलब्धि हासिल गर्नको लागि उचित ढंगबाट नक्सा बनाई दिइएका तथ्यहरुलाई उचित संकेतको प्रयोग गरी भर्न जान्नु पर्ने हुन्छ भने शिक्षक पनि विद्यार्थीहरुमा नक्सा निर्माण कलाप्रति उत्पे्ररणा जगाउनको लागि सधैं प्रयत्नशील रहनु पर्ने हुन्छ ।
५. अनुसन्धानको योजना
कक्षा ९ का विद्यार्थीहरुमा नक्सा बनाउने सीप कसरी विकास गराउन सकिएला ? भनेर चिन्तन मनन गर्ने क्रममा निम्नानुसार विकल्पहरुको पहिचान गरी योजना बनाइयो ।
- सबै विद्यार्थीहरुलाई School Atlas of Nepal ल्याउन लगाउने ।
- एट्लसमा भएका नेपालका नक्साहरु र नक्सामा उल्लेख भएका तथ्यहरु अध्ययन गर्न लगाउने ।
- शिक्षकले आफूले ल्याएको नेपालको टेम्प्लेट नक्सा कक्षामा प्रदर्शन गर्ने ।
- सबै विद्यार्थीहरुलाई प्रदर्शित नक्सा हेरेर आ आफ्नो कापीमा नक्सा कोर्न लगाउने ।
- नक्सा बनाउनका लागि नक्सा बनाउने विधिहरु जस्तै टेम्प्लेट विधि, कार्बन विधि, ट्रेसिङ्ग विधि, वर्ग विधि, स्वतन्त्र विधि आदिको क्रमशः प्रयोग गरि नेपालको नक्सा बनाउन लगाउने ।
- उपयुक्त संकेत सहित बिभिन्न तथ्यहरु नक्सामा भर्न अभ्यास गराउने ।
- शिक्षकले आफूले कोरेको हस्त निर्मित नक्सामा उपयुक्त संकेत दिई तथ्यहरु भरेको नक्सा देखाई सो बमोजिम प्रत्येका विद्यार्थीहरुलाई पनि आफ्नो कापीमा नक्सा बनाई तथ्यहरु भर्न लगाउने ।
- शिक्षकले सबै विद्यार्थीहरुले बनाएको नक्सा अवलोकन गरि पृष्ठपोषण प्रदान गर्ने ।
- यस प्रक्रियालाई विद्यार्थीहरुले राम्रोसँग नसिकेसम्म निरन्तरता दिने ।
६. योजनाको कार्यान्वयन
लक्ष्य किटान गरिसकेपछि त्यसलाई व्यवहारमा उतार्न योजना आवश्यक हुन्छ भने उक्त योजनालाई सफल बनाउन अथवा तोकिएको लक्ष्य हासिल गर्नको लागि योजनाको उपयुक्त ढंगबाट कार्यान्वयन हुनुपर्दछ । प्रस्तुत समस्याको समाधान गरि अपेक्षित उपलव्धि हासिल गर्न निम्नानुसार यसलाई कार्यान्वयन गरियो ।
पहिलो चरण
| योजना |
- टेम्प्लेटको प्रयोग गरि नक्सा कोर्ने अभ्यास गराउने ।
- विद्यार्थीहरुलाई २० से.मी. लम्बाई र १२ से.मी.चौडाइभएको आयात कोर्न लगाउने ।
- आयातभित्र नेपालको नक्साको रुपरेखा कोर्न लगाउने ।
- शिक्षकले आफूले कोरेको नक्सा प्रदर्शन गरि सोही अनुसार विद्यार्थीलाई नक्सा कोर्न लगाउने ।
- शिक्षकले निर्देशन गरि विभिन्न तथ्यहरु नक्सामा उपयुक्त संकेत प्रयोग गरि भर्न लगाउने ।
| कार्यान्वयन |
- नक्सा बनाउनु भन्दा पहिले ध्यान दिनु पर्ने कुराहरु र तयार पार्नु पर्ने रुपरेखाहरु के के हुन् ? भनेर प्रश्न सोधियो ।
- विद्यार्थीहरुको उत्तरको आधारमा विद्यार्थीहरुलाई त्यसका बारेमा प्रष्ट पारियो ।
- सबै विद्यार्थीलाई एटलसको राम्रोसँग अध्ययन गर्न लगाइयो र प्रयोग गर्ने तरिका सिकाइयो ।
- नेपालको नक्सामा कुन कुन भाग माथि उठेको र कुन कुन भाग भित्र घुसेको हुन्छ भन्नेकुरा विद्यार्थीलाई नक्सा अध्ययन गर्न लगाई प्रष्ट पारियो ।
- नक्सामा तथ्यहरु भर्नको लागि प्रयोग गर्नु पर्ने संकेतहरु छलफल गर्दै प्रष्ट पारियो ।
- नेपालको थपिएको भूभाग सहितको चुच्चे नक्सा कोर्न लगाइयो ।
| अवलोकन |
- सबै विद्यार्थी उपस्थित भए नभएको, आवश्यक पर्ने सामग्रीहरु जस्तै ः स्केल, पेन्सिल, सादा पेपर, एटलस आदि ल्याए नल्याएको अवलोकन गरियो ।
- तोकिएको नापको आधारमा विद्यार्थीले आयात बनाए नबनाएको अवलोकन गरियो ।
- सबै विद्यार्थी सक्रिय सहभागी भइ कार्य गरे नगरेको अवलोकन गरियो ।
- नेपालको नक्सामा उठेको र भित्र पसेको स्थान मिलाएको नमिलाएको अवलोकन गरियो ।
- उपयुक्त संकेत प्रयोग गरि तथ्य सही ढंगले भरे नभरेको अवलोकन गरियो ।
| प्रतिविम्वन |
- तोकिएको नाप अनुसार रुपरेखा कोर्न सफल भएको पाइयो ।
- प्रदर्शन गरेको नक्सा हेरेर नक्सा बनाउने कोशिस गरेको भएपनि आंशिक रुपमा मात्र सफल भएको पाइयो ।
- नक्साको वास्तविक आकार आंशिक विद्यार्थीले बनाएको र अधिकांशले बनाउन नसकेको पाइयो ।
- नयाँ चुच्चे नक्सा बनाउन र एटलस हेरि तथ्य भर्न अल्मलिएको पाइयो ।
- सिकाइको अपेक्षित उपलव्धि आंशिक मात्र पुरा भएको र धेरै विद्यार्थीको पुरा हुन बाँकी रहेको पाइयो ।
- पुनः योजना बनाई कार्यान्वयन गर्नुपर्ने आवश्यकता महसुस गरियो ।
माथि उल्लिखित प्रथम चरणको योजना कार्यान्वयन पश्चात आंशिक सुधार भएपनि पूर्ण सफलता प्राप्त हुन नसकेकोले पुनः दोस्रो चरणको योजना निर्माण गरि कार्यान्वयन गरियो ।
ख) दोस्रो चरण
| योजना |
- नक्सा बनाउने विभिन्न विधिको प्रयोग गरि विद्यार्थीहरुलाई साना, मझौला र ठूला तीन साइजका नक्साहरु कोर्न धेरै पटक अभ्यास गराउने ।
- नक्सालाई भौगोलिक प्रदेश अनुसार विभाजन गर्न सिकाउने ।
- नक्सा बनाइ ७ ओटा प्रदेशमा विभाजन गरि देखाउन लगाउने ।
- सुरुमा एटलसको सहयोगमा र पछी एटलसको प्रयोग बिना देशका महत्वपूर्ण नदीनाला, धार्मिक स्थल, प्रमुख उत्पादन क्षेत्र, प्रमुख राजमार्ग आदि विभिन्न तथ्यहरु उपयुक्त संकेत प्रयोग गरि नक्सामा भर्न अभ्यास गराउने ।
| कार्यान्वयन |
- विभिन्न विधिको प्रयोग गरि फरक फरक आकारका नक्सा कोर्न लगाइयो ।
- नक्साभित्र प्रादेशिक विभाजन गर्न लगाइयो ।
- प्रशासनिक विभाजन अनुसार ७ प्रदेशमा विभाजन गर्न लगाइयो ।
- सुरुमा एटलसको सहयोगमा र पछी एटलसको प्रयोग बिना देशका महत्वपूर्ण नदीनाला, धार्मिक स्थल, प्रमुख उत्पादन क्षेत्र, प्रमुख राजमार्ग आदि विभिन्न तथ्यहरुलाई उपयुक्त संकेत प्रयोग गरि नक्सामा भर्न लगाइयो ।
- नक्सा बनाउन सिकिसकेका विद्यार्थीहरुलाई नजान्नेलाई सहयोग गर्न लगाइयो ।
| अवलोकन |
- प्रत्येक विद्यार्थी भएको स्थानमा गएर उनीहरुले उपयुक्त नक्सा बनाए नबनाएको अवलोकन गरियो ।
- नाप अनुसारको रुपरेखा कोरेर नक्सा बनाए नबनाएको नापेर हेरियो ।
- उपयुक्त संकेत दिएर तथ्य भरे नभरेको अवलोकन गरियो ।
- सबै तथ्यहरुलाई नक्सा भित्रनै अटाउने गरि देखाए नदेखाएको अवलोकन गरियो ।
- सबै विद्यार्थीहरु प्रफुल्ल भएर आफ्नो कार्यमा सहभागी भए नभएको अवलोकन गरियो ।
| प्रतिविम्वन |
- नापको आधारमा आयात खिचेर रुपरेखा कोर्न अधिकांश विद्यार्थी सफल भएको पाइयो ।
- नेपालको थपिएको भूभाग सहितको चुच्चे नक्सा कोर्न जानेको पाइयो ।
- नक्सामा उपयुक्त संकेतको प्रयोग गरि तथ्यहरु सही ठाउँमा भरेको पाइयो ।
- संकेत हेरेर नक्सामा भएका तथ्यहरुको जानकारी प्राप्त गर्न सक्ने भएको पाइयो ।
- फुर्सदको समयमा पनि नक्सा अध्ययन गर्ने बानीको विकास भएको पाइयो ।
७. निष्कर्ष
सामाजिक अध्ययन विषयको औषत सिकाइ उपलब्धि न्यून रहेको वर्तमान परिस्थितिमा सिकाइ उपलब्धि वृद्धि गर्न यसबाट सहयोग पुग्ने निश्चित छ । सामाजिक अध्ययन विषयको वर्तमान ग्रीड अनुसार नेपालको नक्सा बनाई त्यसमा विभिन्न तथ्यहरु भर्ने लामो उत्तर समूहको प्रश्न सोधिने भएकोले यस प्रश्नको सही उत्तर मिलाई विद्यार्थीहरुलाई माथिल्लो ग्रेड प्राप्त गरि सफल हुनको लागि सहयोग पुग्दछ । यसको साथै आफ्नो देशलाई बुझ्ने, देशलाई माया गर्ने, देशको सीमानाको ज्ञान हुने, आफ्नो देशका महत्वपूर्ण स्थानको जानकारी विद्यार्थीहरुले राख्नेछन् भन्ने मेरो निष्कर्ष रहेको छ । यस्तै आजको विश्व सानो गाउँको रुपमा विकास हुँदै गइरहेको वर्तमान सन्दर्भमा नक्साको ज्ञानबाट विद्यार्थीले संसारलाई सजिलै चिन्न र नियाल्न सक्ने हुँदा नक्सा बनाउने र भर्ने सीप सबै विद्यार्थीको जीवनमा कोशेढुंगा सावित हुन सक्ने अपेक्षा मैले गरेको छु ।
तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।
facebook :


यो अनुसन्धान कति बिद्यार्थी बिच गरियो र कति जनामा कस्तो कस्तो परिवर्तन देखियो भन्ने तथ्यांक सहित भएमा अझ राम्रो हुने थियो ।
Leave a review