कार्यमूलक अनुसन्धान :नमुना पचास

कार्यमूलक अनुसन्धान :नमुना पचास

अनुसन्धानकर्ता शिक्षक : चन्द्रकला दवाडी

विद्यालय : श्री सरस्वती माध्यमिक विद्यालय

ठेगाना : धनगढी ७, मनेहरा,कैलाली

 

अनुसन्धानको शीर्षक : नियमित गृहकार्य गर्ने विद्यार्थीहरूको संख्या कसरी बढाउन सकिएला ?

 

अनुसन्धानको पृष्ठभूमि :

विद्यार्थीहरूमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः सबै विद्यालयमा देखिन्छ । शिक्षकहरू जतिवेला पनि विद्यार्थीलाई दिएको काम कहिल्यै गर्दैनन्,घरमा कापी, किताब पल्टाउँदैनन् भनेर दोष मात्र दिइरहेका हुन्छन् तर विद्यार्थीलाई क्रियाकलापप्रति कति सक्षम बनाउन सकिएको छ भन्ने कुरातर्फ न त ध्यान दिएको पाइन्छ न त कार्यमूलक अनुसन्धान नै गरिएको पाइन्छ । न त शिक्षणमा आधुनिक प्रविधिको प्रयोग गरिएको पाइन्छ,न त विद्यार्थीहरूको रुची,चाहना बमोजिमका क्रियाकलापलाई समेटिएको पाइन्छ ।

प्रयोगात्मक शिक्षणलाइ बेवास्ता गरी परम्परागत शिक्षण सिकाइलाई नै निरन्तरता दिंदै आइरहेको पाइन्छ । मैले हाम्रो विद्यालयका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् भनेर थाहा पाउने प्रयत्न गरें तर धेरै शिक्षकका कक्षाहरूमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय बनाएर अधिकांश विद्यार्थीहरू गृहकार्य किन गर्दैनन् भन्ने कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।

 

समस्याको पहिचान :

मैले पढाउने विद्यालयको कक्षा १० को सेक्सन A मा जम्मा ८० जना विद्यार्थीहरू अध्ययनरत छन् । उक्त कक्षामा म पहिलो घण्टीमा बिज्ञान विषय पढाउँछु । मैले राम्ररी याद गरिरहेको छु कि गत वर्ष पनि तिनै विद्यार्थीहरू कक्षा ९ मा हुँदा उनीहरूमा सबैले गृहकार्य नगर्ने समस्या भोगीरहेको थिएँ । त्यसकारण उनीहरूले गृहकार्य किन नियमित रुपमा गर्दैनन् र उनीहरूलाई कसरी नियमित गृहकार्य गर्ने बनाउन सकिन्छ भनी मैले कार्यमूलक अनुसन्धानको प्रक्रिया सुरु गरेको हुँ ।

 

पहिलो चरण

योजना :

कक्षामा कतिजना सम्म विद्यार्थीले गृहकार्य बुझाउँछन् त्यसको जानकारी लिने ।

 

क्रियाकलाप :

पहिलो दिन विद्यार्थीलाई नियमित कक्षा सकिएपछि मैले पढाउँदै गरेको कक्षा १० बिज्ञान बिषयको एकाइ १६ मा रहेको “मानब शरीरमा रक्त संचार क्रिया” पाठ अन्तर्गतका देहाय बमोजिम २ वटा प्रश्नहरू सेतोपाटीमा लेखेर भोलीपल्ट त्यसको उत्तर अनिवार्य लेखेर ल्याउन विद्यार्थीलाई निर्देशन गरेँ । सबै विद्यार्थीहरूले प्रश्न कापीमा सारे र उक्त दिनको कक्षा सकियो ।

 

प्रश्नहरू :

क.रगतका मुख्य कार्यहरू लेख्नुहोस ।

ख.रगत कुन कुन पदार्थ मिलि बनेको हुन्छ ? सचित्र व्याख्या गर्नुहोस ।

 

अवलोकन :

भोलीपल्ट कक्षामा पुगेपछि सबैको गृहकार्य अगाडी राख्न आग्रह गरें । सबैले कापी अगाडी राखे तर ८० जना विद्यार्थी मध्ये उपस्थित ७१ जनामा ४५ जनाले पूरै २ वटै प्रश्नको उत्तर लेखेका थिए । १६ जनाले एउटा मात्र प्रश्नको उत्तर लेखेका र बाँकीले एउटा प्रश्नको पनि हल गरेको पाइएन ।

 

प्रतिबिम्बन :

पढाइमा जाँगर लगाउने राम्रो पढाइ भएका विद्यार्थीहरूले गृहकार्य गरेपनि पढाइमा पछाडी भएका अन्य विद्यार्थीले गृहकार्यलाई कुनै महत्व दिएको पाइएन । त्यसकारण उक्त समस्या केही मात्रामा भए पनि समाधान गर्नको लागि उनीहरूलाई सकारात्मक पृष्ठपोषण प्रदान गर्ने, शिक्षण शैली र गृहकार्य दिने शैलीमा परिवर्तन गर्ने तथा केही रचनात्मक तथा प्रयोगात्मक क्रियाकलापहरू मार्फत दोश्रो चरणको योजना बनाएर अघि बढ्ने निधो गरें । उक्त कार्यको लागि दुइ दिनको समयसीमा पनि निर्धारण गरें ।

 

दोश्रो चरण

योजना :

  • विषयगत मूल्यांकन प्रक्रियाको बारेमा विद्यार्थीलाई प्रष्ट गराई गृहकार्यका आधारमा पनि उनीहरूको उपलब्धी मूल्यांकन हुने बारेमा जानकारी गराएर गृहकार्य प्रतिको विद्यार्थीको आकर्षण बढ्छ वा बढ्दैन पत्ता लगाउने ।

 

  • प्रयोगात्मक विधिबाट रगतको बनावट अध्ययन गर्न लगाउने ।

 

  • विद्यार्थीहरूलाई रचनात्मक किसिमको गृहकार्य दिएर उनीहरूलाई कार्यमा अग्रसर बनाउने ।

 

  • प्रविधिको प्रयोगबाट गृहकार्य गर्न उत्साहित गर्ने ।

 

क्रियाकलाप :

  • पहिलो दिन कक्षामा प्रवेश गरेपछि माध्यमिक बिज्ञान विषयको मूल्यांकन पद्दतिका बारेमा जानकारी गराएँ । ७५ प्रतिशत सैद्दान्तिक र २५ प्रतिशत प्रयोगात्मक परीक्षा हुने जानकारी दिएर प्रयोगात्मकमा हरेक विद्यार्थीले बुझाएको गृहकार्यको रेकर्डका आधारमा पनि मूल्यांकन हुने कुरा जानकारी गराएँ ।

 

  • रगतको थोपा राखिएको स्लाइड सुक्ष्म दर्शक यन्त्रमा राखेर देखाउँदै राता रक्तकोश,सेता रक्तकोश र प्लेटलेट्स छुट्याउन लगाई चित्र कोर्न लगाएँ ।

 

  • दोश्रो दिन चार्ट पेपरमा रगतको बनावटको चित्र कोर्न लगाई राता रक्तकोश,सेता रक्तकोश र प्लेटलेट्सलाई अलग अलग रङ्गका धागोले प्रतिनिधित्व गर्ने गरी टाँस्न लगाएँ ।

 

  • रगतको कार्यहरू समेटिएको यु ट्युब भिडियो अवलोकन गर्न लगाई रगतको कार्य उनीहरू आफैलाई कापीमा टिप्न लगाएँ ।

 

कक्षा क्रियाकलाप सकिएपछि पूनः उक्त गृहकार्य पूरा गरेर ल्याउन निर्देशन दिएँ ।

 

अवलोकन :

भोलीपल्ट कक्षामा प्रवेश गरिसकेपछि अघिल्लो दिनझैं गृहकार्य देखाउन कापी अगाडी राख्न आग्रह गरेँ  । कतिपयले चार्ट पेपरमा पहिले दिन कक्षामा गरिएको क्रियाकलाप जस्तै रचनात्मक तरीकाले गृहकार्य गरेका थिए,कतिपयले कापीमा गरेका थिए । ८० जनामा ७२ जना (९० प्रतिशत) विद्यार्थीहरूले दिइएको गृहकार्य पूरा गरेको पाइयो । शुरुमा जम्मा ४५ जना (५६ प्रतिशत) ले मात्र गृहकार्य गरेकामा कसरी धेरैलाई गृहकार्य गर्ने उत्साह बढ्यो भनि जान्न खोज्दा प्रयोगात्मकमा छुट्याईएको अंकको केहि प्रतिशत अंक कक्षाकार्य र गृहकार्यका आधारमा मूल्यांकन हुने हुँदा अंकमा घाटा नलागोस् भनेर गृहकार्य गरेको, प्रयोगात्मक क्रियाकलापको आधारमा सिकाइ हुँदा राम्रोसंग बुझिएकोले गृहकार्य गर्न सजिलो भएको, रगतमा भएका बिभिन्न पदार्थहरूलाई अलग अलग रङ्गले जनाई चार्ट पेपरमा टाँस्दा रमाइलो तरीकाले सिकाइ भएको साथै तिनीहरूको नाम समेत कण्ठ भएको अनि गृहकार्य गर्न पनि सजिलो भएको, त्यस्तै यु ट्युब भिडियो हेर्दा अवलोकनबाट सिकाइ भएको जस्ता अनुभबहरू साटासाट गरे ।

 

प्रतिबिम्बन :

गृहकार्य नगर्नुमा विद्यार्थीको मात्र दोष हुँदैन । शिक्षकले विद्यार्थीमा कुनै उत्प्रेरणा दिन नसक्नु, परम्परागत सिकाइलाई मात्र प्रश्रय दिनु, रचनात्मक क्रियाकलाप नगर्नु नगराउनु, आधुनिक प्रविधिको प्रयोग नगर्नु, प्रयोगात्मक शिक्षण नगर्नु, विद्यार्थीको इच्छा,चाहनालाई नबुझी शिक्षण गर्नु मुख्य कारणहरू हुन् । सकारात्मक पुनर्बल,आधुनिक तथा प्रयोगात्मक शिक्षण शैलीले विद्यार्थीमा उत्प्रेरणा बढाउँछ,सक्रियता बढाउँछ,साथै विषयवस्तु प्रतिको ज्ञानलाई प्रष्ट तथा दिगो बनाउँछ ।

 

निश्कर्ष :

सबै विद्यार्थीले नियमित रुपमा गृहकार्य गर्दैनन् । उनीहरूलाइृ कसरी नियमित गृहकार्य गर्ने अवस्थामा लैजान सकिन्छ भन्ने विषयमा कार्यमूलक अनुसन्धानलाई अगाडी बढाउँदा दोश्रो चरणमा आइपुग्दा अवस्थामा सुधार भएकोले आउँदा दिनमा अन्य विषयवस्तुमा पनि कार्यमूलक अनुसन्धान गर्दै अगाडी बढेमा आफुलाई शिक्षण पेशामा सफल बनाउन सकिन्छ भनि महसुस गर्दै मैले अनुसन्धानको चरणलाई अन्त्य गरेँ ।

यो अनुसन्धानले विद्यार्थीमा काम गर भन्ने निर्देशन दिने तर गरेमा त्यसको प्रत्यक्ष उपलब्धी के हुने भन्ने बारेमा निश्चित नहुँदा उनीहरू क्रियाकलापप्रति आकर्षित हुँदैनन्,त्यस्तै विषयवस्तुप्रतिको सुगा रटानले मात्र सिकाइ दिगो हुँदैन । सिकाइ क्रियाकलापमुखी हुनुपर्छ, तबमात्र सिकारूलाई पनि क्रियाकलापप्रति उत्प्रेरित गर्न सकिन्छ भन्ने कुरालाई पुष्टि गरेको छ ।

 

तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।



  • Reviews (1)
  • rajudeep122
  • 4 Years, 5 Months ago

प्रस्तुत कार्यमूलक अनुसन्धानको नमुना राम्रो लाग्यो।

Leave a review

To leave a review, please login to your account. Login