कार्यमूलक अनुसन्धान :नमुना एकाउन्न

कार्यमूलक अनुसन्धान :नमुना एकाउन्न

अध्ययनकर्ताको नाम  : बसन्त कुमार खनाल

विद्यालयको नाम :  श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय

विद्यालयको ठेगाना : बर्जु गा.पा., वार्ड नं. ५, अमाहीबेल्हा

 

अनुसन्धानको शीर्षक : विद्यार्थीहरूले विद्यालयमा ज्यामितिय बाकस ल्याउने कसरी बनाउने ?

 

पृष्ठभूमि

श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, बर्जु ५ , अमाहीबेल्हाको नि.मा. तृतिय श्रेणीको गणित + विज्ञान विषयको दरबन्दीमा कार्यरत म कक्षा ७ र ८ कक्षामा गणित विषय पढाउँछु ।  म कार्यरत विद्यालयमा प्राय मध्यम तथा निम्न आय भएका अभिभावकका छोराछोरी अध्ययनरत रहेका छन् ।

प्रायजसो अभिभावकहरू किसान तथा दैनिक ज्यालादारीका मजदुरहरू रहेका छन् । खेती किसानी गर्ने अभिभावकका सन्ततिहरू प्राय हप्तामा एक दुईदिन तरकारी र कृषि वस्तुको बिक्री गर्न जाने भएकोले विद्यालयमा अनुपस्थित हुने गर्दछन् । तर मध्यम वर्गका विद्यार्थीहरू विद्यालयमा नियमितरुपमा नै उपस्थित हुने गर्दछन् । उनीहरू विहान बेलुका कृषि क्षेत्रमा संलग्न भएतापनि समय मिलाएर अध्ययनमा संलग्न रहेको पाइन्छ ।

 

समस्याको पहिचान

 

प्रायजसो विद्यार्थीहरू जटिल विषयवस्तुको रुपमा ज्यामितिलाई मान्दछन् । यो एक प्रयोगात्मक विषयवस्तु भएकोले उनीहरू विना प्रयोगको सहजिकरणको कारण यसलाई जटिल बिषय मान्दछन् । त्यसैले ज्यामितिय वाकसबिना ज्यामितिको अवधारणा शिक्षण गर्न सकिंदैन । प्रदर्शन विधीबाट गरिएको सहजिकरण केही समयको लागि आकर्षक भएतापनि विद्यार्थीको सिकाइ दिगो रहदैन । तरपनि अधिकाशं विद्यार्थीहरू ज्यामिति शिक्षणको समयमा ज्यामितिय बाकस विना विद्यालयमा उपस्थित रहने गर्दछन् । प्रायजसो विद्यार्थीलाई बारम्बार अनुरोध र आग्रह गर्दापनि आफ्ना अभिभावकले ज्यामितिय बाकस किनिदिन आनाकानी गरेको गुनासो विद्यार्थीले गर्दछन् ।

 

अनुसन्धानको उदेश्य

विद्यार्थीले ज्यामिति शिक्षणको समयमा ज्यामिति बासक नल्याउने समस्याको समाधानका लागि गरिएको अनुसन्धानको मुख्य उदेश्य निम्नानुसार रहेको छ ।

  • कक्षाका सबै विद्यार्थीहरू ज्यामितिय बाकस लिएर ज्यामिति अध्ययन गर्न आउने बनाउनु

 

  • कक्षाका सम्पूर्ण विद्यार्थीहरूलाई ज्यामितिय बाकस प्रयोग गरेर प्रयोगात्मक विधीले अवधारणा प्रदान गर्नु

 

पहिलो चरण

क. योजना निर्माण

सबै विद्यार्थीहरूले ज्यामिति शिक्षण तथा सहजिकरणको समयमा अनिवार्य रुपमा ज्यामितिय औजार तथा ज्यामिति बाकस ल्याउने बनाउने

 

ख. योजनाको कार्यान्वयन

ज्यामिति शिक्षण गर्नुभन्दा एक दुईदिन अघि नै  विद्यार्थीहरूलाई ज्यामिति बाकसको उपयोगिता तथा ज्यामितिय औजारको प्रयोग तथा आवश्यकताको बारेमा जानकारी दिदैं ज्यामिति शिक्षणको दिन अनिवार्य रुपमा सबैजनाले ज्यामिति शिक्षणको दिन ज्यामिति बाकस ल्याउन निर्देशन दिइयो ।

 

ग. अवलोकन

ज्यामिति शिक्षण तथा सहजिकरणको दिन कक्षाका धेरैजसो विद्यार्थीहरूस¤ग ज्यामिति बाकस रहेको थिएन । ज्यामिति बाकस नल्याउनाको कारण सोध्दा केही विद्यार्थीहरूले किनेको तर ल्याउन बिर्सिएकको बताए भने केहीले अभिभावकले नकिनिदिएको र वास्ता नगरेको बताएका थिए । ज्यामिति बाकस ल्याउन बिर्सिएकालाई भोली ल्याउनको लागि निर्देशन दिइयो । त्यसैगरी ज्यामिति बाकस नकिनेकालाई जसरीपनि किनेर भोली ल्याउन निर्देशन दिइयो ।

 

घ. प्रतिबिम्बन

ज्यामितिय बाकस सबैजनाले अनिवार्य ल्याउनुपर्छ नत्र सिकाइ तथा सहजिकरणमा पछि परिन्छ भन्ने निर्देशनले विद्यार्थीहरूमा काम नगरेको देखियो । केही विद्यार्थीले ज्यामिति बाकस दैनिक ल्याउनेगरेको, केही विद्यार्थीले कहिलेकाहींमात्र ल्याउने गरेको, केही विद्यार्थीले वास्ता नगरेको र केही विद्यार्थीकको अभिभावकले नकिनिदिएको देखिएकाले फेरी अर्को योजना बनाउनुपर्ने आवश्यकता रहेको देखिन्छ ।

 

दोश्रो चरण

क. योजना निर्माण

ज्यामिति बाकस नल्याउने विद्यार्थीलाई ज्यामितिय बाकस ल्याउने विद्यार्थीसँगै राखेर सहजिकरण गराउने

 

ख. योजनाको कार्यान्वयन

गणितको कक्षामा उपस्थित रहेका विद्यार्थीहरूलाई ज्यामिति बाकस ल्याएका र नल्याएका विद्यार्थीहरूको समूह निर्माण गर्नेक्रममा केही ज्यामिति बाकस ल्याउने विद्यार्थीसँग केहि ज्यामिति बाकस नल्याउने विद्यार्थी मिसाएर राखियो । यसरी समूह निर्माण गर्दा ज्यामिति बाकस नल्याउने विद्यार्थीहरूले ज्यामिति बाकस ल्याउने विद्यार्थीहरूको ज्यामितिय औजारहरू साटासाट गरेर सबैजना विद्यार्थीले ज्यामितिय औजार प्रयोग गर्न सक्ने भए ।

 

ग. अवलोकन

एउटा ज्यामितिय औजारहरू पटक पटक गरेर धेरैजनाले प्रयोग गरेको देखियो । यसरी एउटा औजार पटक पटक धेरैजनाले प्रयोग गर्दा अर्को समस्या देखा पर्यो । पाठ योजनामा निर्दिष्ट गरिएको समय अनुसार ज्यामितिका पाठहरू पुरा गर्न सकिएन । एउटा औजार साटासाट गरेको हुनाले पाठ पुरा गर्न अत्याधिक समय लाग्यो । त्यसको साथसाथै केही ज्यामिति बाकस ल्याउने विद्यार्थीले आफ्नो औजार प्रयोग गर्न नपाएको देखियो भने केही विद्यार्थीले आफ्नो औजार अन्य विद्यार्थीलाई दिन आनाकानी गरेको देखियो । त्यस्तै एउटा सामान धेरैजनाले प्रयोग गर्न खोज्दा तानातान भएर टुटे फुटेको पनि देखियो ।

 

 

घ. प्रतिबिम्बन

समूहमा यसरी काम गराउ¤दा ज्यामिति बाकस र ज्यामितिय औजारहरू सबैजनाले प्रयोग गर्न र सिक्न अवसर पाउने भएतापनि सिकाइ र सहजिकरण गर्न धेरै समय लाग्ने भएको तथा ज्यामिति बाकस ल्याउने विद्यार्थीहरूले आफ्ना औजारहरू प्रयोग गर्न नपाउने समस्या भएकोले पून: अर्को योजना बनाउनुपर्ने आवश्यकता पर्न गयो ।

 

तेस्रो चरण

क. योजना निर्माण

विद्यालयको आन्तरिक खर्चमा केही सेट ज्यामितिय औजारहरू खरीद गरी ज्यामिति शिक्षणको समयमा विद्यार्थीलाई प्रयोग गर्न दिने तथा अन्य समयमा विद्यालयमा भण्डारण गरी राख्ने

 

ख. कार्यान्वयन

विद्यालयका प्राचार्य र विद्यालय व्यवस्थापन समितिलाई माथिको समस्या सबिस्तार बताइ र समस्या समाधानको लागि केही सेट ज्यामितिय औजार खरीद गर्न अनुरोध गरियो । ती सेट सामानहरूको बजार मूल्य अनुसार कूल खर्च लगभग रु.२५०० हुने देखियो । विद्यालयको आन्तरिक खर्चमा २० सेट ज्यामितिय औजारहरू खरीद गरियो । एक सेट ज्यामितिय औजारहरूमा एउटा कम्पास, एकजोर सेट स्कायर, एउटा प्रोटेक्टर, एउटा स्केल, इरेजर र सार्पनर पनि १/१ वटाको दरले राखियो ।

 

ग. अवलोकन

यी २० सेट ज्यामितिय औजारका सेटहरू पुस्तकालय कोठामा रहेको शैक्षिक सामाग्री राख्ने स्थानमा सुरक्षितसाथ भण्डारण गरियो । विभिन्न कक्षाका ज्यामिति शिक्षण गर्दा विद्यार्थीलाई प्रयोग गर्न दिएर उनीहरूले प्रयोग गरीसकेपछि पूनः फिर्ता लिएर सोही स्थानमा राख्ने व्यवस्था गरियो । यसरी विद्यालयको सामान सामान भएकोले विद्यार्थीले जतनले चलाउने ,समयमै फिर्ता दिने गरेको देखियो ।

 

घ. प्रतिबिम्बन

यसरी प्रत्येक विद्यार्थीले आ-आफ्नो ज्यामितिय औजारहरू प्रयोग गर्ने हुनाले उक्त औजारको प्रयोगबाट ज्यामितिय रचना गर्न तथा ज्यामितिय आकृतिका कोण,भुजा र दुरी नाप्न सजिलो हुनाको साथै समयको पनि वचत भयो । प्रायजसो सबै विद्यार्थीहरूले उत्साहको साथ ज्यामिति सिक्ने गरेको पाइयो। अन्य विद्यार्थीहरूको सामान मागेर प्रयोग गर्दा विद्यार्थीहरूमा हुने हिनताबोधबाट विद्यार्थीहरू बच्ने गरेको देखियो ।

 

निष्कर्ष

विषय शिक्षकले शिक्षण तथा सहजीकरणको लागी अत्यावश्यक वस्तुहरूको संकलन गर्नुपर्दछ ।यसरी अत्यावश्यक भएका सामाग्री संकलनका लागि आन्तरीक श्रोतको परिचालन गर्नुपर्दछ । ती संकलिनत सामाग्रीहरू उचित स्थानमा भण्डारण गरी आवश्यक परेको अवस्थामा अनिवार्य रुपमा प्रयोग गर्नुपर्दछ । प्रयोग पश्चात ती सामाग्री पूनः संकलन गरी भण्डारण गरी सुरक्षित राख्नु पर्दछ ।

एउटा सामाग्री धेरैजनाले एकैसाथ प्रयोग गर्नाले सहजिकरण निर्धारीत समयमै सम्पन्नन गर्न सकिन्छ । साथै सामाग्रीको प्रयोग तथा उपलब्धताको कारणले विद्यार्थीको सहजिकरण रोकिनुहुन्न ।

एउटा कक्षा कोठामा उपस्थित भएका विद्यार्थीहरू भिन्न परिवेश , अवस्था र वातावरणबाट आएका हुन्छन् । त्यसकारणले उनीहरूका समस्यामा पनि विविधता रहेको हुन्छ । ती विविध समस्या समाधानका लागि सम्बन्धित शिक्षक लागिरहनु पर्दछ र समाधानका विकल्पहरू खोजिरहनु पर्दछ । आफ्नो पेशाप्रति इमान्दार र निष्ठावान रहने हो भने समस्या समाधानका उपायहरू आफैं निस्कदै जान्छन् ।

कक्षा कोठामा देखिएका समस्याहरू कहिले पनि पूर्ण रुपमा समाधान हुन सक्दैनन् । एउटा समस्या समाधान हुन नसक्दै पूनः अर्को समस्या टुप्लुक्क देखापर्न थाल्दछ । तरपनि शिक्षकले दत्तचित्त भएर ति समस्या समाधानका लागि निरन्तर पहल गरिरहन आवश्यक छ ।

 

तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login