कार्यमूलक अनुसन्धान :नमुना त्रिपन्न

कार्यमूलक अनुसन्धान :नमुना त्रिपन्न

अनुसन्धानकर्ताको नाम : भोजराज भूर्तेल

विद्यालयको नाम र  ठेगाना : श्री यशोधरा माध्यमिक विद्यालय टक्सार, भोजपुर नगरपालिका ­ १२, भोजपुर ।

तह : माध्यमिक 

 

 कार्यमूलक अनुसन्धानको शीर्षक :कक्षा १० का विद्यार्थीहरूलाई कोभिड–१९ को विषम परिस्थितिमा विज्ञान विषय अध्ययनमा उत्सुकता जगाउने”

 

१. परिचय

मैले शिक्षण गर्ने विद्यालय श्री यशोधरा माध्यमिक विद्यालय टक्सार, भोजपुर नगरपालिका ­१२, भोजपुरमा कक्षा १० को विज्ञान विषय मिति २०७७ सालको शैक्षिक सत्रको सुरुवातमा नै पाँचौं घण्टीमा शिक्षण गर्न दैनिक कार्य तालिका बनेको थियो । सन् २०१९ डिसेम्बर ३१ (वि. सं. २०७६ पौष १५) का दिन चिनको वुहान शहरमा पुष्टि भएको COVID-19 (Corona Virus Disease-2019) को संक्रमण चिनमा मात्र नभएर विश्वका अधिकांश देशहरूमा फैलिएर लाखौं मानिसको ज्यान गइसकेको छ ।

यसै सन्दर्भमा वि. सं. २०७६ चैत्र ६ गतेदेखि सुरु हुन गैरहेको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (SEE) कोभिड–१९ को संक्रमणकै कारणले अघिल्लो दिन अर्थात्  चैत्र ५ गते नेपाल सरकारले स्थगित गर्नाले परीक्षा दिन भनी परीक्षा केन्द आसपासमा पुगिसकेका लाखौं विद्यार्थीहरू अन्यौलग्रस्त भई भविष्यको चिन्ताले मानसिक रूपमै विक्षिप्त अवस्थामा पुग्न बाध्य भएका थिए ।

यस्तो विषम एवं भयावह परिस्थितिले नेपालभरका विद्यार्थीहरूमा स्वास्थ्यस्थितिप्रति उब्जिएको डर–त्रास र भविष्यको चिन्ताको परिणामस्वरूप उनीहरूमा अध्ययनप्रति नैराश्यता जाग्नु स्वाभाविकै देखिन्छ । यसको असरबाट यशोधरा मा. वि. टक्सार, भोजपुरका सम्पूर्ण विद्यार्थीहरू पनि अछुतो रहने कुरै भएन । यसमाथि विगतका केही वर्ष अघिदेखि राष्ट्रियस्तरमै शैक्षिक उपलब्धि तुलनात्मक रूपमा कम तथा गाह्रो विषय मानिंदै आइरहेको विज्ञान विषयको अध्ययनमा उत्सुकता जगाउन झनै मुश्किल पर्ने नै भयो ।

यसै सिलसिलामा मैले कक्षा १० का ६० जना विद्यार्थीहरूमध्ये १३ जना बाहेक बाँकी अरुले विज्ञान विषय रुचिपूर्वक अध्ययन नगरेको पाएँ । त्यसैले मैले यस्तो विषम एवं भयावह परिस्थितिमा कक्षा १० का ६० जना विद्यार्थीहरूलाई ‘ विज्ञान विषय कसरी उत्सुकतापूर्वक अध्ययन गर्ने बनाउन सकिएला ?’ भनी  एकाहोरिएर  चिन्तन मनन गरी यसका लागि सोही बमोजिम सकेसम्म भयरहित वातावरणमाबिना तनाव सहजीकरण, परामर्श  र शिक्षण गर्न थालें । साथै सबै विद्यार्थीहरूले विज्ञान उत्सुकतापूर्वक अध्ययन नगर्नुका कारणहरूको खोजी गरी पहिचान गरेँ । त्यस्ता कारणहरू निम्नानुसार पाएँ :

  • अघिल्लो शैक्षिक सत्रका विद्यार्थीहरू एस. ई. ई. परीक्षा नदिइकनै विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा कक्षोन्नति भएकोले यसपालि पनि त्यस्तै हुने हो कि भन्ने आशंका यस शैक्षिक सत्रका विद्यार्थीहरूमा उब्जिएकोले गर्दा अध्ययन अन्यौलग्रस्त हुनु

 

  • कोभिड–१९ को संक्रमण त्रासले अध्ययनमा ध्यान नदिनु वा मन एकाग्र हुन नसक्नु

 

  • अध्ययन पछिको भविष्यलाई सम्झी अन्यौलमा पर्नु

 

  • तल्लो कक्षादेखि नै अन्य विषयको तुलनामा विज्ञानमा कम शैक्षिक उपलब्धि हासिल गर्दै आउनु

 

  • घरमै स्व–अध्ययन गर्नुपर्ने बाध्यता भएको तर यसरी अध्ययन गर्दा विज्ञानका पदावलीहरू नबुझी अलमलमा पर्नु

 

  • विज्ञानमा गणितीय समस्याहरू पनि हुने हुँदा आँफैं समाधान गर्न नसक्नु

 

  • सबै विद्यार्थीहरूसँग विषय शिक्षकसित सम्पर्क र परामर्श गर्नका लागि आर्थिक स्थिति नुहुनु वा संचारका साधनहरू (मोबाइल, ल्यापटप, आदि) को अभाव हुनु

 

  • विषय शिक्षकले सबै विद्यार्थीहरूसँग सम्पर्क, सहजीकरण र परामर्श गर्न आवश्यक न्यूनतम सञ्चारका साधन/सामग्रीहरू भएता पनि भौगोलिक/भौतिक दुरताले सम्भव नहुनु

 

  • कोभिड–१९ को संक्रमणको प्रभाव कहिलेसम्म हुने हो, टुङ्गो नहुनु

 

  • विद्यालयमा शिक्षक–विद्यार्थी आमनेसामने भएर अन्तक्र्रिया गर्न सम्भव नहुनु यदि सम्भव भैहाले पनि निर्धारित समयको करिब आधा समय मात्र छुट्याइनु

 

  • विद्यालयले तय गरेका वैकल्पिक सिकाइ सहजीकरण केन्दमार्फत् सहजीकरण गर्दा पनि सबै विद्यार्थीहरूलाई समेट्न नसकिनु

 

  • नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ अनुसार सार्वजनिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी भएका प्रत्येक घरधुरी समेट्ने गरी एउटा सीम कार्ड र सो विद्यालयका प्रत्येक शिक्षकको सीमकार्डलाई शिक्षक र विद्यार्थीबीच सिकाइ सम्पर्क कायम गराउन मोबाइल सेवाको Closed User Group (CUG) मा आबद्ध गर्ने कार्य नहुनु

 

  • विद्यालयमा आधुनिक सुविधा सम्पन्न भवन तथा कक्षाकोठाको आवश्यक व्यवस्था नहुनु

 

  • मल्टिमिडिया वा प्रोजेक्टरबाट सबै विद्यार्थीहरूले सुन्ने र बुझ्ने गरी उपयुक्त उपकरण, फर्निचर तथा ठाउँको व्यवस्था गर्न नसक्नु

 

  • प्रयोगात्मक तवरले विज्ञानका धेरै विषयवस्तुहरू शिक्षण गर्न नसक्नु

 

उपर्युक्त कारणहरूको पहिचान गरिसकेपछि मैले उक्त समस्याहरूको समाधानका उपायहरू खोजी गरेँ र तिनको निदानात्मक, सुधारात्मक/उपचारात्मक रूपमा एवं खोजमा आधारित भएर कार्यान्वयन गरी यो कार्यमूलक अनुसन्धानात्मक प्रतिवेदन तयार पारेको छु ।

  

२. उद्देश्य/ अपेक्षित उपलब्धि 

  • कक्षा १० का विद्यार्थीहरूलाई कोभिड–१९ को महामारीको समयमा विज्ञान विषय अध्ययनमा उत्सुकता जगाउनु ।

 

३. अनुसन्धान प्रक्रिया र कार्यविधि 

३.१  कार्यान्वयन अवधि  : २०७७/०३/०१ देखि २०७७/०८/१९ सम्म

 

३.२  अनुसन्धान विधि : गुणात्मक र परिमाणात्मक

 

४. कार्यमूलक अनुसन्धानका चरणहरू

पहिलो चक्र

क) योजना :

यस चरणमा विद्यार्थी केन्द्रित विधिबाट निम्न बमोजिम कार्य गर्ने योजना गरियो ।

  • सुरुमा २०७७/०३/०१ गतेसम्ममा विद्यालयका सबै विद्यार्थीहरू (सम्भव भएसम्म) लाई समेट्ने गरी पायक पर्ने ठाउँमा विद्यालयले ८ ओटा वैकल्पिक सिकाइ सहजीकरण केन्द्र कायम गर्ने । उक्त वैकल्पिक सिकाइ सहजीकरण केन्द्रमार्फत् विद्यालयमा मौजुदा शिक्षकहरूबाट सकेसम्म सबै विषयहरू समेटिने गरी शिक्षकहरूको समूह निर्माण गरेर पालैपालो ती केन्द्रहरूमा विश्व स्वास्थ्य संगठनले निर्धारण गरेका स्वास्थ्यसम्बन्धी सुरक्षाका मापदण्डहरू अपनाएर विद्यार्थीहरूलाई सहजीकरण गर्ने ।

 

  • विद्यार्थीहरूलाई कोभिड–१९ का विशेषताको बारेमा बताई यसबाट सुरक्षित रहने तरिकाबारे सचेत गराउने साथै सकारात्मक सोच राख्न र आत्मबल बलियो पार्न प्रोत्साहित गर्ने ।

 

  • विद्यार्थीहरूलाई पनि विश्व स्वास्थ्य संगठनले निर्धारण गरेका स्वास्थ्यसम्बन्धी सुरक्षाका मापदण्डहरू अपनाउन लगाउने ।

 

  • विद्यार्थीहरूलाई पाठ्यक्रमले निर्दिष्ट गरेका विज्ञानसम्बन्धी विषयवस्तुबारे अध्ययन गर्न लगाएर महत्त्वपूर्ण बुँदाहरू समेटी नोट बनाउन लगाउने र उनीहरूले नबुझेका पदावलीहरू प्रष्ट पारिदिने ।

 

  • सबै विद्यार्थीहरूलाई सिकाइ सामग्रीसम्बन्धी विभिन्न Web-Portal, Websites, App आदिको Access बारे जानकारी गराई यथासम्भव यिनीहरूको प्रयोग गर्न प्रोत्साहित गर्ने । साथै यस्ता सिकाइ सामग्रीको प्रयोग गरेमा विज्ञानको अध्ययन रुचिकर हुने कुरा समेत बताईदिने ।

 

  • विज्ञान अध्ययन गर्दा आफूलाई सजिलो लाग्ने पाठ सुरुमा र सोही पाठसँग सम्बन्धित हुने गरी क्रमशः अप्ठ्यारो पाठको अध्ययन गर्दा अध्ययन रुचिकर हुन्छ भनी सो अनुसार विज्ञान अध्ययन गर्न प्रोत्साहित गर्ने ।

 

  • लगातार अध्ययन नगरिकन घरि मनोरञ्जन गर्ने, घरि खेल्ने, नाच्ने, गीत गाउने, टि.भी. हेर्ने, घरि घरको काम सघाउने, अनि वरिपरिको वातावरण र दैनिक जीवनका कार्यहरूसँग विज्ञानका विषयवस्तुको तुलना गर्ने आदि कार्यले विज्ञान अध्ययन झनै रुचिकर हुने भएकाले त्यस्ता कार्यहरू गर्न प्रोत्साहित गर्ने ।

 

  • ICT Pedagogy र खोजमा आधारित सिकाइको प्रयोगमार्फत् आधुनिक शिक्षणका प्रभावकारी विधि, प्रविधि वा नवप्रवर्तन (वा अन्य) बारे अद्यावधिक हुन प्रयास गर्ने ।

 

  • विज्ञानका विषयवस्तुहरू प्रयोगात्मक तवरले शिक्षण गर्ने कार्यलाई बृद्धि गर्दै जाने ।

 

 

ख) कार्यान्वयन :

यस चरणमा उल्लिखित योजनालाई निम्नानुसार कार्यान्वयनमा ल्याइयो ।

  • सुरुमा २०७७/०३/०१ गतेसम्ममा विद्यालयका सबै विद्यार्थीहरू (सम्भव भएसम्म) लाई समेट्ने गरी पायक पर्ने ठाउँमा विद्यालयद्वारा ८ ओटा वैकल्पिक सिकाइ सहजीकरण केन्द्रहरू कायम गरियो । उक्त वैकल्पिक सिकाइ सहजीकरण केन्द्रमार्फत् विद्यालयमा मौजुदा शिक्षकहरूबाट सकेसम्म सबै विषयहरू समेटिने गरी शिक्षकहरूको दुई ओटा समूहहरू निर्माण गरियो र पालैपालो प्रत्येक समूहले हप्तामा ४/४ ओटा केन्द्रहरूमा विश्व स्वास्थ्य संगठनले निर्धारण गरेका स्वास्थ्यसम्बन्धी सुरक्षाका मापदण्डहरू अपनाएर विद्यार्थीहरूलाई २०७७/०३/०२ देखि २०७७/०३/१५ सम्म (दुई हप्ता) सहजीकरण गरियो ।

 

  • विद्यार्थीहरूलाई कोभिड–१९ का विशेषताको बारेमा बताई यसबाट सुरक्षित रहने तरिकाबारे सचेत गराइयो साथै सकारात्मक सोच राख्न र आत्मबल बलियो पार्न प्रोत्साहित गरियो ।

 

  • विद्यार्थीहरूलाई पनि विश्व स्वास्थ्य संगठनले निर्धारण गरेका स्वास्थ्यसम्बन्धी सुरक्षाका मापदण्डहरू अपनाउन लगाइयो ।

 

  • विद्यार्थीहरूलाई पाठ्यक्रमले निर्दिष्ट गरेका विज्ञानसम्बन्धी विषयवस्तुबारे अध्ययन गर्न लगाएर महत्त्वपूर्ण बुँदाहरू समेटी नोट बनाउन लगाइयो र उनीहरूले नबुझेका पदावलीहरू प्रष्ट पारिदिने काम गरियो ।

 

  • उपरोक्त दुई हप्ताको सहजीकरणको क्रममा सबै विद्यार्थीहरूलाई सिकाइ सामग्रीसम्बन्धी विभिन्न Web-Portal, Websites, App आदिको Access बारे जानकारी गराइयो (जस्तैः Tubemate/Vidmate बाट विज्ञानसम्बन्धी विभिन्न भिडियोहरू (शैक्षिक जनशक्ति विकास केन्दको website मा राखिएका शिक्षण वा भर्चुअल शिक्षणका भिडियोहरू र स्व­अध्ययन सामग्रीहरू), पाठ्यक्रम विकास केन्द« र परीक्षा नियन्त्रण कार्यालयको website मा राखिएका शिक्षक निर्देशिका तथा डकुमेन्टहरू, आदि डाउनलोड गर्न, सिकाइ चौतारी, e-Pustakalaya, सिक्ने थलो, आदि सिकाइसँग प्रत्यक्ष सम्बन्धित Apps को डाउनलोड गर्न   सिकाइयो) र यथासम्भव यिनीहरूको प्रयोग गर्न प्रोत्साहित गरियो । साथै यस्ता सिकाइ सामग्रीको प्रयोग गरेमा विज्ञानको अध्ययन रुचिकर हुने कुरा समेत बताइयो ।

 

  • डउपरोक्त दुई हप्ताको सहजीकरणले कक्षाका सम्पूर्ण विद्यार्थीहरूलाई अपेक्षित तवरले समेट्न नसकिएकोले नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न समयमा तय गरेका विद्यार्थी सिकाइ सहजकिरण ढाँचा, २०७७, विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७, पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ र विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ अनुसारका मापदण्ड अनुरुप शिक्षण र मूल्याङ्कन गर्ने कार्य गरियो ।

 

  • लगातार अध्ययन नगरिकन घरि मनोरञ्जन गर्ने, घरि खेल्ने, नाच्ने, गीत गाउने, टि.भी. हेर्ने, घरि घरको काम सघाउने, अनि वरिपरिको वातावरण र दैनिक जीवनका कार्यहरूसँग विज्ञानका विषयवस्तुको तुलना गर्ने आदि कार्यले विज्ञान अध्ययन झनै रुचिकर हुने भएकाले त्यस्ता कार्यहरू गर्न प्रोत्साहित गरियो ।

 

  • मल्टिमिडिया मार्फत सबै विद्यार्थीहरूले स्पष्ट देख्ने, सुन्ने, बुझ्ने र अभ्यास गर्न मिल्ने गरी आवश्यक उपकरण, फर्निचर तथा कोठा (ICT Lab) को व्यवस्था विद्यालयमा भएको तैपनि पर्याप्त  चैं नभएकोले सो सम्बन्धी थप व्यवस्थापनको लागि विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिलाई अनुरोध गरियो । यसरी ICT Pedagogy  र खोजमा आधारित सिकाइको प्रयोगमार्फत् आधुनिक शिक्षणका प्रभावकारी विधि, प्रविधि वा नवप्रवर्तन (वा अन्य) बारे अद्यावधिक हुन केही हदसम्म प्रयास पनि गरियो ।

 

  • प्रत्येक दिन आमने सामने कक्षाको समयावधि पनि कम र विद्यालय खुलेको दिन पनि कमै भएकोले अपेक्षित रूपमा विज्ञानका विषयवस्तुहरू प्रयोगात्मक तवरले शिक्षण गर्ने कार्यलाई बृद्धि गर्न भने सकिएन भने गरेका क्रियाकलाप जतिमा विद्यार्थीहरूलाई उत्सुकतापूर्वक सहभागी गराइयो ।

 

  ग) अवलोकन :

यस चरणमा विद्यार्थीको उपलब्धिको परीक्षण गर्ने कार्य गरियो । विज्ञान अध्ययनमा उल्लेख्य रूपमा उत्सुकता जगाउने विद्यार्थीहरूको संख्या अवलोकन गरियो । त्यसबाट निम्नानुसारको नतिजा प्राप्त भयो ­

मिति   : २०७७।०८।१९

विद्यार्थी संख्या  : ६० जना

विज्ञान अध्ययनमा उत्सुकता जगाउने विद्यार्थीहरूको संख्या : ५५ जना

 

६० जनामध्ये बाँकी ५ जना विद्यार्थीहरू उनीहरूको अस्वस्थता, उनीहरूमा परेको विविध पारिवारिक तथा सामाजिक­ साँस्कृतिक प्रभावका कारणले नियमित उपस्थित हुन नसकी अपेक्षित तवरले उपरोक्त किसिमका समस्याहरूको समाधान गर्न नसकेको पाइयो ।

घ) प्रतिबिम्बन : 

निर्धारित योजना अनुसार कार्यान्वयन र अवलोकन गर्दा पहिलो चक्रमा प्रयोग गरिएका उपायद्वारा नै कक्षा १० का प्रायः सबै विद्यार्थीहरू (९१.६७ प्रतिशत) ले विज्ञान अध्ययनमा उल्लेख्य रूपमा उत्सुकता जगाएर अध्ययन गरेको तथा बाँकी ८.३३ प्रतिशत विद्यार्थीहरूले समसामयिक स्वास्थ्यसम्बन्धी समस्या तथा बाह्य कारणले असमर्थ भएको) ले सिकाइमा उल्लेखनीय प्रगति भएको पाइयो ।

 

दोश्रो चक्र 

माथि उल्लेखित पहिलो चक्रका सबै उपायहरू एक अर्कोसँग अन्तर सम्बन्धित भएकोले यस चक्रमा पनि निरन्तररूपले सोही चरणहरूलाई प्रयोग गर्ने निर्णय गरियो ।

 

५. निष्कर्ष  र प्राप्ति 

सुरुका दिनमा विज्ञान अध्ययनमा मुस्किलले १३ जनाले मात्रै उत्सुकता देखाएको पाइएकोमा पहिलो चक्रमा प्रयोग गरिएका ३ उपायहरू अवलम्बन गर्दा समस्या समाधान भएको पाइयो । तसर्थ, सबै विद्यार्थीहरूको लागि विज्ञान अध्ययन रुचिकर बनाउने हो भने निम्नानुसारका क्रियाकलापहरू गराउँदा सफल हुने कुराको जानकारी यो अनुसन्धानबाट प्राप्त निष्कर्षले दिन्छ :

  • सुरुमा वैकल्पिक सिकाइ सहजीकरण केन्द्रमार्फत् कोभिड–१९ को संक्रमणले सिर्जित विषम परिस्थितिमा वैकल्पिक सिकाइ सहजीकरण केन्द्रमार्फत् विश्व स्वास्थ्य संगठनले निर्धारण गरेका स्वास्थ्यसम्बन्धी सुरक्षाका मापदण्डहरू अपनाएर विद्यार्थीहरूलाई सहजीकरण गर्दा भय–त्रास र अध्ययनसम्बन्धी भविष्यको चिन्ताले विक्षिप्त मानसिकता बोकेर गुज्रिरहेका विद्यार्थीहरूको वास्तविक स्थिति र उनीहरूको गाउँघरको सामाजिक परिवेशको समेत जानकारी पाउनुले उनीहरूमा अध्ययनमा कौतुहलता र उत्सुकता जागेको पाइयो साथै विज्ञान अध्ययनमा उनीहरूको सकारात्मक सोचको विकास हुँदै गएको पाइयो । शिक्षकलाई पनि भावि दिनमा विद्यार्थीको पारिवारिक पृष्ठभूमि, शैक्षिक स्तर र मनोभावनालाई बुझेर विज्ञान शिक्षण गर्नुपर्ने रहेछ भन्ने कुराको हेक्का भयो ।

 

  • विद्यार्थीहरूलाई पाठ्यक्रमले निर्दिष्ट गरेका विज्ञानसम्बन्धी विषयवस्तुबारे अध्ययन गर्न लगाएर महत्त्वपूर्ण बुँदाहरू समेटी नोट बनाउन लगाउनाले उनीहरूमा आफूले गरको कार्यमाथि आत्मविश्वास र गौरव बढ्न जाँदो रहेछ भनी बुझियो । साथै उनीहरूले नबुझेका विज्ञानसम्बन्धी पदावलीहरू प्रष्ट पारिदिंदा उनीहरूमा विज्ञान पढूं पढूं भन्ने भावनाको विकास हुने रहेछ भनी बोध भयो ।

 

  • दैनिक जीवनमा गरिने कार्य र विद्यार्थीको घर वा विद्यालय वरिपरिको वातावरणसित विज्ञानका विषयवस्तुहरूलाई सहचार्य गराउन वा तुलना गराउन साथै दैनिक जीवनमा विज्ञानको महत्त्वको बारेमा दर्शाउन सकेमा विद्यार्थीहरूले विज्ञान झनै उत्सुकतापूर्वक अध्ययन गर्ने रहेछन् भन्ने कुराको महशुश भयो ।

 

  • विज्ञानका विषयवस्तुहरू जति धेरै प्रयोगात्मक तवरले शिक्षण गरियो उति नै विद्यार्थीहरू विज्ञान अध्ययन गर्न उत्साहित भएको पाइयो ।

 

  • सबै विद्यार्थीहरूलाई सिकाइ सामग्रीसम्बन्धी विभिन्न Web-Portal, Websites, Apps , Apps आदिको Access गराई यथासम्भव यिनीहरूको प्रयोग गराउन सकेमा विज्ञान अध्ययन अत्यन्तै रुचिकर हुने देखियो ।

 

  • ICT Pedagogy , Multimedia  र खोजमा आधारित सिकाइको प्रयोगमार्फत् आधुनिक शिक्षणका प्रभावकारी विधि, प्रविधि वा नवप्रवर्तन (वा अन्य) बारे अद्यावधिक हुनसकेमा विद्यार्थीहरूले यस्तो शिक्षण सिकाइलाई बढी रुचाउँदा रहेछन् भनी बुझियो ।

 

  • गाउँघरमा विद्यार्थीहरूले विश्व स्वास्थ्य संगठनले निर्धारण गरेका स्वास्थ्यसम्बन्धी सुरक्षाका मापदण्डहरू अपनाउन त्यति चासो नदेखाएको पाइयो ।

 

  • नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ अनुसार सार्वजनिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी भएका प्रत्येक घरधुरी समेट्ने गरी एउटा सीम कार्ड र सो विद्यालयका प्रत्येक शिक्षकको सीमकार्डलाई शिक्षक र विद्यार्थीबीच सिकाइ सम्पर्क कायम गराउन मोबाइल सेवाको Closed User Group (CUG)मा आबद्ध गर्ने गराउने कार्य जतिसक्दो छिटो गराएमा विद्यार्थीहरू पनि लाभान्वित हुने र सिकाइ पनि प्रभावकारी हुने देखिन्छ ।

 

  • कोभिड–१९ को संक्रमणले सिर्जित विषम परिस्थितिमा विज्ञान लगायत अन्य विषयमा पनि उपर्युक्त विधिहरूबाट सहजीकरण, शिक्षण र परामर्श गर्दा सिकाइ प्रभावकारी हुने देखिन्छ ।

 

६. प्रतिवेदन प्रबोधिकरण प्रक्रिया

मैले भोगेका उल्लिखित कोभिड–१९ को संक्रमणले सिर्जित विषम परिस्थितिमा विज्ञानका विषयवस्तु उत्सुकतापूर्वक अध्ययन नगर्ने समस्यामा कक्षा १० का विद्यार्थीहरूमाथि कार्यमूलक अनुसन्धान गरी तयार पारेको यो प्रतिवेदन विद्यालयका आधारभूत र माध्यमिक दुवै तहका विज्ञान शिक्षकहरू, अन्य विषय शिक्षकहरू र सरोकारवालाहरूसित प्रबोधिकरण गरियो । साथै यसप्रकार प्राप्त नतिजालाई अन्य कक्षा र विषयमा पनि यथासम्भव लागू गर्ने र यसलाई निरन्तरता दिनुपर्ने कार्यदिशा तयार भयो । यसरी, कार्यमूलक अनुसन्धान गरी विद्यार्थीको सिकाइ उपलब्धिमा उल्लेखनीय सुधार गर्न सकिने भएकाले कुनै पनि शैक्षणिक समस्याको निराकरणका लागि यसको प्रयोग गर्नु अत्यन्तै आवश्यक देखिन्छ ।

 

तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login